'शासकीय तहमा मेरो पहुँचलाई क्षेत्रको विकासमा प्रयोग गरेको छु'

'महेश बस्नेत भनेको विकास गर्ने नेता हो भनेर जनताले बुझेका छन् । गठबन्धन मेरा लागि चुनौतीको विषय होइन, राम्रो मतान्तरले जित्छु भन्ने लागेको छ ।'

कार्तिक २१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — आसन्न निर्वाचनका लागि उम्मेदवारहरू घरदैलो गरिरहेका छन् । आमनिर्वाचनमा भावी सरकार निर्माण, कानुन निर्माण, नीति तथा कार्यक्रम, बजेट जस्ता राष्ट्रिय राजनीतिका विषयहरू चुनावी मुद्दा बन्नुपर्ने हो । तर, मतदाताको चासो स्थानीय विकास निर्माणका विषयमा केन्द्रीत हुँदा उम्मेदवारहरुले पनि त्यस्तै योजना अघि सारेर आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरिरहेका छन् । मतदानको मिति नजिकिँदा उम्मेदवारको दौडधुप झन् बढ्दो छ ।

 मुलतः देशभर नै नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को गठबन्धनबीच मुख्य प्रतिस्पर्धा छ । यसै सन्दर्भमा क्षेत्रको विकास निर्माण, चुनावी एजेन्डा र प्रतिस्पर्धाबारे नेकपा एमालेका पोलिट ब्यूरो सदस्य एवं भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतसँग ईकान्तिपुरका प्रकाश धौलाकोटीले गरेको संक्षिप्त कुराकानी:

चुनाव प्रचार प्रसार कस्तो भइरहेको छ ? 

वडा–वडा पुगेर मतदातासँग भेटिरहेका छौँ, चुनाव प्रचार समग्रमा उत्साहजनक छ । टोल–टोलमा पुग्दा मतदाताले स्वागत गर्नुभएको छ, शुभकामना र आशीर्वाद दिनुभएको छ । समग्रमा हामीले निर्वाचन आचारसंहितालाई पालना गरेर चुनावी प्रचार प्रसार गरिरहेका छौँ । 

मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ, गुनासा के–कस्ता छन् ?

पाँच वर्ष अगाडि उम्मेदवारकोरुपमा मतदातामाझ जाँदा जनताका गुनासाहरू धेरै थिए । मागहरू धेरै थिए । हामीलाई पनि उहाँहरूले शंकाको नजरले हेर्नुभएको थियो, किनभने उहाँहरूलाई ‘जुन गोरु आएपनि कानै चिरेको’  भनेजस्तो जो आएपनि उही त हो भन्ने परेको रहेछ । तर, अहिले खासै गुनासो सुन्नु परेको छैन । बरू यो पाँच वर्षमा हामीले राम्रो विश्वासको आधार खडा गर्न सफल भएछौँ भन्ने महसुस भएको छ । मतदाताबाट त्यति धेरै माग पनि आएको छैन ।

एमालेले जिते आवश्यक पर्ने विकास निर्माणको काम अघि बढिहाल्छ भन्ने खालको बुझाइ बनेको पाएको छु । अब जे पर्छ, एमालेले गर्छ, विकास गर्ने नेता महेश बस्नेत नै हो भनेर जनतामा विश्वासको वातावरण बनेको छ । त्यसैले मलाई चुनावी परिणाम निकाल्न पनि सहज छ ।

तपाईं आफैँले भन्नुभयो, जनताले तपाईंलाई विकास गर्ने नेता भनेर बुझेका छन् भनेर । बितेको पाँच वर्षमा त्यस्तो के गर्नुभयो र ? 

यो पाँच वर्षमा हामीले लगभग २६ अर्ब बजेट भित्राउन सफल भएछौँ । तपाईंलाई एउटा कुरा स्मरण गराऔं, जतिबेला सूर्यविनायक र चाँगुनारायण क्षेत्र नगरपालिका घोषणा भए, त्यो बेला दुर्गम क्षेत्रलाई नगरपालिका बनाइयो भन्ने गुनासो थियो । तर, अहिले यहाँका ७० प्रतिशत चालु सडकहरू व्यवस्थित भएका छन् । फुटपाथसहित ८ मिटर, ११ मिटर र १४ मिटरसम्मका दुई लेनका कालोपत्रे सडक निर्माण भएका छन् । त्यो तपाईंहरूले यहाँ घुमेर देख्न सक्ने कुरा हो । 

त्यस्तै, तीस वटाभन्दा धेरै खानेपानी ट्यांकीहरू बनाएर वितरण गरिएको छ । मेलम्चीलाई पहिलो चरणमै भक्तपुरमा भित्राउने गरी करिब ४ करोड रुपैयाँ खर्चिएर डिपीआर गर्ने काम भएको छ । ढल विकासमा पनि एसियाली विकास बैंकबाट झण्डै ५ अर्बको योजना टेण्डर लागेको छ । शिक्षा क्षेत्रको कुरा गर्ने हो भने हामीले ९२ वटा विद्यालयहरूको पुनर्निर्माण गरेका छौँ ।

स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै सुधार भएको छ, क्यान्सर अस्पताल हिजो निजी क्षेत्रले चलाएको थियो, अहिले हामीले सरकारी अस्पतालको रुपमा विकास गर्ने र अझै क्यान्सर सेन्टरको रुपमा विकास गर्ने आवश्यक पूर्वाधार निर्माण गर्ने भनेर लागेका छौँ । मानव अंग प्रत्यारोपण केन्द्रले विगतमा मिर्गौलाको मात्रै उपचार हुन्थ्यो, अब कलेजो, फोक्सो र मुटुको समेत उपचार हुने सुविधा विस्तार हुँदैछ । कोरोना महामारीका बेला पनि हामीले राम्रो उपचार सेवा प्रदान गर्‍यौँ, त्यही बेलामात्रै २८ करोड बजेट भक्तपुर भित्रिएको छ, त्यसमा हाम्रो भूमिका छ । 

यस्तै, एकीकृत सरकारी कार्यालय निर्माणको लागि ठेक्का लागेको छ, प्राणी उद्यानको डिपीआर बनिसकेको छ । कोटेश्वरको अण्डर पास बनाउने योजनाको डिपीआर बनेको छ । सूर्यविनायक–धुलिखेल सडक ठेक्का लागेको छ । यसरी थुप्रै कामहरू भएका छन् । भौतिक पूर्वाधारको क्षेत्रमा हामीले ठूलो फड्को मारेका छौँ । 

यसपटक चाहिँ जनताले कस्तो खालको अपेक्षा गरिरहेका छन् ? 

यो निर्वाचनबाट वास्तवमा सरकार निर्माण, नीति कार्यक्रम र कानुनहरू बनाउने प्रतिनिधि चयन हुने हो । तर, निर्वाचन क्षेत्रमा मतदाताको चासो चाहिँ त्यसमा भन्दा पनि क्षेत्रको विकासमै हुँदोरहेछ । काठमाडौं नजिकै शिक्षित मतदाताकै संख्या धेरै भएपनि यहाँ पनि त्यस्तै अवस्था छ । यो तीब्र सहरीकरण भएको क्षेत्र हो ।

त्यसैले जनताको मनोविज्ञान चाहिँ स्थानीय विकास निर्माण र पूर्वाधारका जे–जस्ता आवश्यकताहरू छन्, त्यसैमा केन्द्रित भएको पाइन्छ । अघिल्लो पटक चाहिँ मान्छेहरूले सडक, ढल, खानेपानीको व्यवस्थापनको कुरा गर्नुहुन्थ्यो । तर, अहिले त्यस्तो माग २० प्रतिशतमात्रै छ । 

अहिले धेरै मतदाताको चासो यहाँका ठूला योजनाहरूमा भएको पाउँछु । हामीले यहाँ थुप्रै ठूला पूर्वाधार योजनाहरू निर्माण थालेका छौँ, तिनको कार्य सम्पन्न गर्ने कुरामा मतदाताले जोड दिनुभएको छ । यहाँ स्मार्ट सिटीको योजना अघि बढेको छ, अहिले मानिसहरूले यो कसरी बन्छ ? कहिले पूरा हुन्छ ? भनेर चासो लिनुभएको छ ।

त्यस्तै, प्राणी उद्यान बन्दैछ, त्यसको पूर्णता, हनुमन्ते र मनोहरा करिडोर निर्माण, कोटेश्वरको अन्डरपास, सूर्यविनायक–धुलिखेल सडक विस्तार, वीर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र लगायत योजनाहरूमा बजेट विनियोजन भएको छ, जनताले ती कामहरू छिटो हुनुपर्‍यो भनेका छन् । मुलतः हामीले जे कामहरू थालेका छौँ, ती कामको पूर्णतामै अहिले यहाँका जनताको चासो छ । यसरी यी मागहरू हेर्दा खेरि भक्तपुर  विकासको एउटा नयाँ उचाईमा पुगेको महसुस पनि हुन्छ । 

अघिल्लो निर्वाचनमा पनि तपाईंले भनेका योजनाहरूमै जनताको चासो थियो, अहिले पनि उही अवस्थामा छन् । जनताले माग गरेका कुराहरू पूरा गर्न नसकिने नै हुँदो रहेछ कि ? 

०७४ र अहिलेको अवस्था धेरै फरक छ । म त्यो बेला उम्मेदवार बन्दै गर्दा उहाँहरूले जे माग गर्नुहुन्थ्यो, मैले हेरौँला, बुझौँला, पहल गरौँला भन्नुपर्ने अवस्था थियो । तर, अहिले म आफैँ त्यो हुन्छ, त्यो हुँदैन, यसो गर्न सकिन्छ, यतिसम्म गर्न सकिँदैन भनेर भन्न सक्ने अवस्थामा छु । शासकीय तहमा मैले जुन पहुँच बनाएँ, हैसियत पाएँ, त्यसलाई मैले आफ्नो क्षेत्रको र राज्यको विकासमा प्रयोग गरेको छु ।

अहिलेको अवस्था हेर्दा फेरि पनि प्रदेशदेखि केन्द्रसम्मै हाम्रो पार्टीको सरकार बन्ने सम्भावना बढेको छ, त्यसैले म अलि ढुक्कका साथ कुरा गर्न सक्ने अवस्थामा छु । अहिले जे जति योजनाहरू, एजेण्डाहरू मतदाताले उठाएका छन्, ती काम म आगामी दिनहरूमा पूरा गर्न सक्छु नै भन्ने लागेको छ ।

यसपटक नयाँ योजना के छन् त ? 

भक्तपुरमा मुलतः तीन वटा फ्याक्टरको सम्मिश्रण छ– त्यो भनेको एउटा कोर सिटी, अर्को काँठ बस्ती र अर्को नयाँ बस्तीहरू । मैले यहाँ अब काम गर्नका लागि एउटा थिंक ट्यांकको परिकल्पना गरेको छु । हरेक वडामा बौद्धिक समूह बनाउने, ती बौद्धिक समूहहरूमा हरेक वर्ष राज्यको नीति निर्माण, कानुन निर्माण र बजेट निर्माणमा इनपुट दिने हिसाबले छलफल गर्ने अभ्यास गर्ने योजना बनाएको छु ।

किनभने ०७० मा यहाँ कांग्रेसले जित्दा सदनमा भक्तपुरको आवाज सुनिएन भन्ने जनताको गुनासो थियो । तर, ०७४ मा मैले जितेपछि भक्तपुरको आवाज सुन्ने होइन, घन्कियो नै । त्यसैले अब हामीले सदनमा आवाज सुनाउनेमात्रै होइन, अब त्योभन्दा बलियो गरी नीति निर्माणको क्षेत्रमा राज्यलाई नै योगदान पुग्ने गरी काम गर्ने भन्ने हो । 

गत निर्वाचनमा तपाईं एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार हुनुहुन्थ्यो, अहिले अर्कोतिर गठबन्धन बनेको छ । त्यसमाथि एमाले फुटेको बेला छ । कांग्रेसबाट पनि स्थानीय उम्मेदवार नै हुनुहुन्छ । चुनावी प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ? 

तपाईंले भनेजस्तो अहिले जुन गठबन्धन बनेको छ, त्यो गठबन्धनभित्र एक अर्कामा समझदारी र एकता छैन । अर्को कुरा एमाले विभाजनको असर यहाँ छैन । त्यस्तै, विगतमा माओवादी केन्द्रसँगको गठबन्धन भएको, अहिले नभएको भन्ने जुन कुरा छ, त्यसले पनि यहाँ ठूलो असर गर्दैन ।

यहाँ माओवादीको मत नै कम हो । त्यसमाथि माओवादीकै नेता साथीहरू पनि मप्रति  सकारात्मक भएको पाएको छु, त्यहाँ मेरो व्यक्तिगत मत धेरै छ । फेरि यहाँ महेश बस्नेत भनेको विकास गर्ने नेता हो भनेर जनताले बुझेका छन् ।

अन्य दलहरूप्रति जनतामा आकर्षण छैन, आकर्षण भएको एमालेमै हो । एमालेमा जनलहर नै छ । त्यो भनेको मैले यहाँ विगतमा पाँच वर्षसम्म गरेको काम नै हो । त्यसैले गठबन्धन मेरो हकमा, मेरा लागि चुनौतीको विषय होइन, म राम्रो मतान्तरले जित्छु भन्ने लागेको छ ।

कान्तिपुर

Link copied successfully