'एमालेसँग एकीकरणको सम्भावना छैन । कांग्रेस र माओवादीबीच एकताको सम्भावना जति छ, त्यति नै हो राप्रपा नेपाल र एमालेबीचको एकताको सम्भावना ।'
काठमाडौँ — पाँचदलीय सत्ता गठबन्धनले देशभर नै तालमेल गर्ने निर्णय गरेसँगै दबाबमा रहेको एमाले राप्रपा नेपाल र परिवार दललाई साथमा लिएर स्थानीय तह चुनावमा उत्रने भएको छ । बुधबार भएको सम्झौताअनुसार कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकालको परिवार दलका उम्मेदवार एमालेको चुनावचिह्न सूर्यबाट प्रतिस्पर्धा गर्नेछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धन एक्लाएक्लै लड्न सक्ने अवस्थामा नभएको बताउने गरेका थिए । सार्वजनिक मञ्चमा एमालेको सामर्थ्यअघि अन्य दल टिक्न नसक्ने दाबी गर्दै आए पनि नेताहरूले अन्य दलसँग तालमेलका लागि गृहकार्य गरिरहेका थिए । यसै सन्दर्भमा राप्रपा नेपालका अध्यक्ष कमल थापासँग गरिएको कुराकानी :
राप्रपा नेपाल र एमालेको सम्झौतालाई नयाँ प्रकारको पार्टी एकीकरण भनेर टिप्पणी भइरहेको छ । एकतै भएको हो ?
आरोप लगाउनेहरूले अनेक भन्छन् । ठूला राजनीतिक दलहरूले तालमेल गर्ने भएपछि तुलनात्मक रूपमा सानो राजनीतिक दल राप्रपा नेपाल एक्लै चुनावमा जानु बुद्धिमानी होइन । त्यसैले एमालेसँग सहकार्य गर्ने निर्णय गरेका हौं । राष्ट्रियता, आर्थिक समृद्धि र स्थिरताजस्ता मुद्दाका कारण पनि हामीले एमाले रोजेका हौं ।
एमालेको चिह्न लिएर चुनावमा जाने निर्णय गर्नुभयो, आफ्नै चुनाव चिह्न किन छाड्नुभयो ?
सूर्य चुनाव चिह्न लिनुका पछि मुख्य तीन कारण छन् । पहिलो, निर्वाचनसम्बन्धी कानुनमै राजनीतिक दलहरूले सहमति गरेर साझा चिह्न लिएर जान सक्ने व्यवस्था छ । दोस्रो, मतपत्रमा उम्मेदवार नभएको ठाउँमा पनि सबै पार्टीको चुनाव चिह्न हुन्छ । हाम्रो चिह्न र एमालेको चिह्नमा छाप लगाउँदा धेरै मत बदर हुन सक्छ । चुनाव जितेपछि हाम्रा उम्मेदवार राप्रपा नेपालमै रहन्छन् । चुनाव प्रचारमा हाम्रै तर्फबाट हुन्छ । तेस्रो, यसअघि पनि ठूला दलले यस्तो अभ्यास गरिसकेका छन् । राप्रपा नेपालको निर्णय अत्यन्तै स्वाभाविक, व्यावहारिक, बुद्धिमानीपूर्ण छ ।
एमालेसँग विचारधारा फरक छ । एकै ठाउँमा बस्ने अवस्था कसरी बन्यो ?
पूर्व र पश्चिम हिँडेका ५ दलको गठबन्धन चलिरहेको छ । राप्रपा नेपाल राजसंस्थाको अजेन्डा छाडेर लोकतन्त्रमा आएका छौं । लोकतन्त्रको अजेन्डामा हामी एमालेसँगै छौं । राष्ट्रियता, समृद्धि र स्थिरताका विषयमा पनि साझा धारणा छ । स्थानीय चुनाव स्थानीय विकाससँग सम्बन्धित हुने भएकाले धेरै टाउको दुखाउनु आवश्यक छैन ।
चार दशकभन्दा बढी राजतन्त्रको पक्षमा राजनीति गर्नुभयो । अहिले राजतन्त्रको मुद्दा छाड्दा सार्वजनिक रूपमा पश्चाताप गर्नुपर्छ जस्तो लाग्दैन ?
यो प्रश्न किन एमाले र कांग्रेससँग गरिँदैन ? किन मलाई मात्रै चरित्र हत्या गर्ने प्रकारले आरोप लगाइन्छ ? कांग्रेसले स्थापनाकालदेखि २०६३ सालसम्म संवैधानिक राजसंस्थाको अजेन्डा बोकेको थियो । ऊ किन संवैधानिक राजतन्त्रको अजेन्डा छाडेर गणतन्त्रमा गयो ? एमालेले २०४७ देखि २०६२/०६३ सालसम्म राजसंस्थासँग सहकार्य गर्यो । एमाले किन राजसंस्थालाई छाडेर गणतन्त्रमा गयो ? राजनीतिक दलले अवलम्बन गर्ने विचार सर्वकालीन हुँदैन ।
समय, परिस्थिति र जनताको भावनाअनुसार विचार, नीति र सिद्धान्त परिमार्जन गर्दै जानुपर्छ । हामीले १५ वर्षसम्म राजसंस्थासहितको प्रजातन्त्रका लागि संघर्ष गर्यौं । त्यसमा पश्चाताप छैन । अहिले पनि राजसंस्थाप्रति मेरो सम्मान छ । १५ वर्षको राजनीतिक अभ्यासबाट जनताको भावनामा के देख्यौं भने राजसंस्था पुनःस्थापना सम्भव छैन । राप्रपा नेपाल सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणको बृहत् मान्यता बोकेर खडा भएको हो । एउटा अजेन्डा कमजोर भएपछि त्यसैलाई सधैं समातेर बसिराख्नुपर्छ भन्ने छैन ।
गणतन्त्र वा राजतन्त्र राजनीतिको सामान्य विषय हो र ?
निश्चय समय र परिस्थितिअनुसार आफ्ना मान्यता परिमार्जन गर्दै जानुपर्छ । हामीले पनि त्यही गरेका हौं । जसले ममाथि राजतन्त्रको अजेन्डा छाडेको आरोप लगाइरहेका छन्, उहाँहरूले के बुझ्नुपर्यो भने कमल थापा जस्तो व्यक्तिले २०६३ सालमा मुलुक गणतन्त्रमय भएको समयमा टाउकोमा कफन बाँधेर राजसंस्थाको अजेन्डा बोकेको थियो । त्यस्तो व्यक्तिले राजसंस्थाको अजेन्डा छाड्नुपर्ने स्थिति किन सिर्जना भयो ? कसले सिर्जना गर्यो ? यस्ता विषयमा प्रश्न गर्नु भने जायज हुन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीमा पौराणिक राष्ट्रवाद देखिन्छ, तपाईं हिन्दु राष्ट्रका लागि रथयात्रा गर्ने नेता हुनुहुन्छ । तपाईंहरूलाई हिन्दु धर्मको अजेन्डाले एकै स्थानमा ल्याएको हो ?
अहिले कुनै अजेन्डाले तालमेल भएको होइन । चुनाव जित्ने मुख्य उद्देश्य हो ।
एमालेसँगको गठबन्धनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पनि सहभागिता हुन्छ ?
यो विषय थाहा छैन । सत्ता गठबन्धनले अन्य दलसँग चुनावी तालमेल नगर्ने भनेपछि साना पार्टीले अस्तित्व रक्षाका निम्ति कुनै न कुनै आधार खोज्नुपर्यो नि । ५ दल एकातिर र एमाले अर्कोतिर छ । हामी एक्लै चुनावमा जाँदा निरर्थक हुन्छ । हामीसँग तुलनात्मक रूपमा निकट देखिएको एमाले हो । त्यसैसँग सहकार्य गरेका हौं । नयाँ दल राप्रपा नेपालसँग सहकार्य गर्न तयार भएकामा एमालेलाई धन्यवाद दिन चाहन्छु ।
एमालेसँग एकीकरणको सम्भावना कति छ ?
छैन । कांग्रेस र माओवादीबीच एकताको सम्भावना जति छ, त्यति नै हो राप्रपा नेपाल र एमालेबीचको एकताको सम्भावना ।
