मधेसको असन्तुष्टि थप बढेको छ : रीता साह- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेसको असन्तुष्टि थप बढेको छ : रीता साह

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको संविधान जारी भएको ६ वर्ष बितेको छ । संवाधान जारी भएको यत्रो वर्ष बितिसक्दा पनि सर्वस्वीकार्य हुन सकिरहेको छ । मधेशवादी दलहरुले संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेका छन् ।

अधिकारकर्मी रीता साह संविधानको मर्म अनुसार सरकारले कानुन बनाउन ढिलाइ गरेको बताउँछिन् । उनले मधेसमा झन् असन्तुष्टिहरु बढेको बताइन् । साहसँग कान्तिपुरले गरेको कुराकानी:

संविधान कार्यान्वयनको अवस्था कस्तो छ ?

पहिलो कुरा त यो संविधान असन्तुष्टिका बीचबाट आएको थियो । मधेसी समुदायले उतिबेलै ठूलो विमति राखेको थियो । विशेषगरी मधेसी समुदायले नागरिकता, संघीयता, समावेशिता, निर्वाचन प्रणाली र भाषा–संस्कृति गरी ५ मुद्दामा असन्तुष्टि राखेको थियो । मधेसी दलले केही उपलब्धिलाई हेरेर संघर्ष र संशोधन गर्दै जाने नीति लिएका थिए । तर अहिलेसम्म ती असन्तुष्टिलाई सम्बोधन गर्ने ठोस प्रगति भएनन् । बरु मधेस थप असन्तुष्ट भएको छ ।

थप असन्तुष्ट हुने कारण कसरी सिर्जना भयो ?

सरकारले संविधानको मर्मअनुसार कानुन बनाउन ढिलाइ गर्‍यो । बनेका कानुन पनि संविधानको भावना र मधेसी समुदायले अपेक्षा गरेभन्दा प्रतिकूल आए । जस्तो– संसद्मा छलफलमा रहेको नागरिकतासम्बन्धी विधेयकमा बुबा बेपत्ता भएको प्रमाण पेस गर्नुपर्ने ‘कन्डिसन’ राखिएको छ । जन्मसिद्ध नागरिकका लागि कानुन बनेको छैन । विदेशी बुहारीलाई ७ वर्षमा नागरिकता दिने भनिएको छ । यस्ता कारणले मधेसको नागरिकतासम्बन्धी समस्या थप जटिल बनेको छ ।

मधेसको माग सम्बोधन हुन नसक्नुमा शासकीय अनिच्छा वा नियत के हो ?

वास्तवमा वर्तमान संविधानका प्रमुख विशेषता मानिने संघीयता, समावेशिताजस्ता मुद्दा मधेस आन्दोलन र माओवादी सशस्त्र द्वन्द्वले सिर्जना गरेका हुन् । केन्द्रीकृत शासन व्यवस्थाको विकल्पमा संघीयता र सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउन समावेशिताको आवाज उठेको थियो । कांग्रेस र एमालेजस्ता दल यसको विपक्षमा थिए । तर संविधान बनेपछि यिनै दल सत्तामा पुगे । मुद्दा उठान गर्ने दलहरू सत्ताबाहिर रहे । त्यसकै कारण सरकारले यी मूलभूत मुद्दामा चासो नदिएको हो । स्वाभाविक रूपमा शासनमा जो छ, उसको मनोविज्ञान हाबी हुन्छ । अहिले भएको त्यही हो ।

अबको अवस्था कस्तो देख्नुहुन्छ ?

असन्तुष्टिहरू समाधान हुनुको साटो थप बढेपछि नयाँ द्वन्द्वको सिर्जना हुन सक्छ । समावेशिता वा आरक्षणको प्रावधान संकुचित हुँदा मधेसीलगायत सीमान्तकृत समुदायले स्वाभाविक रूपमा आफ्नो हकअधिकार संरक्षण गर्न खोज्नेछन् । अर्को कुरा राजनीतिक दलहरूमा पहिलेजस्तै टुटफुट सुरु भएको छ । यसले राजनीतिक अस्थिरता निम्तिएको छ । यसले संविधानमा रहेका असन्तुष्टिलाई सम्बोधन गरेर संविधान कार्यान्वयन गर्नुको साटो थप जटिलता ल्याउने सम्भावना बढ्दै गएको छ ।

प्रकाशित : आश्विन ३, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्

अस्तित्व खोज्दै एक कलाकार

सुशीला तामा‌ङ

काठमाडौँ — ‘म सकिएको दिन यो ब्रह्माण्ड पनि सकिन्छ । त्यो दिन यो समय मृत सावित हुन्छ । कुनै पनि अस्तित्वको के अस्तित्व रहला, जब म विलीन हुन्छु ।’ अँध्यारो रंगमञ्चभित्र थोरै प्रकाशमा धुमिल देखिने ‘म’ पात्रले बोलेको संवाद । 

यो ब्रह्माण्ड, समय, अनेकौं सम्बन्ध, चरित्र र सँगै जोडिन आएका अनगिन्ती रूपमा तपार्इं/हामीभित्र ‘म’ कता छ ? ‘म’ को हुँ ? ‘म’ के खोजिरहेछु, ‘म’ बिना यी सब कुराको के अर्थ ? यिनै प्रश्नलाई खोतल्दै अघि बढ्छ नाटक ‘म’ । शुक्रबारदेखि सिनामंगलस्थित ‘पुरानो घर’ थिएटरमा मञ्चन सुरु गरिएको ‘म’ मा आफैंभित्रको ‘म’ को अस्तित्वलाई खोजी गर्ने जमर्को गरिएको छ । छेपारोको रंगझैं समय र परिस्थितिअनुसार बदलिरहने मानिसका अनेकौं शब्दभित्र बन्ने चरित्रमा ‘म’ खोतल्ने हो भने सबै अर्थहीन छन् । यो ब्रह्माण्डको केन्द्रबिन्दु ‘म’ मा निहित छ । जीवनका सुख, दुःख, असल, खराब सम्पूर्ण चिजबिज यसैभित्र छन् । ‘म’ को अन्त्यसँगै सबै कुरा सकिनेछन् भन्ने मूल भाव नाटकले बोलेको छ ।

नाटकमा लामो समयको अभिनय यात्रामा एक कलाकारले फेला पारेको ‘म’ को अस्तित्व खोजिएको छ । एउटै जीवनमा ऊ अभिनेताका रूपमा राजा, वकिल, नेता, क्रान्तिकारी योद्धाजस्ता अनेकौं चरित्रमा अभिनय गर्ने प्रयास गर्छ । चरित्र निर्वाह गर्दै जाँदा ऊ कहिले खराब त कहिले असल रूपमा देखिन्छ । थुप्रै चरित्रमा उसले आफैंभित्रको ‘म’ लाई भेटाउँदैन र प्रश्न गर्छ, ‘म को हुँ ? लाग्छ यहाँ केही सत्य छैन । मेरो ब्रह्मको, मेरो ग्रहको, हरेक ग्रहले झूट सावित गरिदिन्छ ।’

नाटकको अवधिभर पात्रले जसरी ‘म’ लाई अर्थ्याउँदै जान्छ, त्यसरी मञ्चमा रहेका प्रत्येक दर्शकले चुपचाप आफैंलाई नियालिरहेको भान हुन्छ । मानिस जन्मेपछि कसैको छोरा, छोरी, दाइ, भाइ, दिदीबहिनी, श्रीमती जस्ता अनेकौं सम्बन्धको नाम पाउँदै जान्छ । सम्बन्धमा बनेका शब्दानुसार उसको चरित्रको निर्माण हुन्छ र स्वभाव स्वतः परिवर्तन हुँदै जान्छन् । नाटकले भन्छ, ‘सबै मानिस वास्तविक जीवनका अभिनेता हुन् । सबैले अभिनय गरी नै रहेका छन् । जसमा ‘म’ गौण छ । म र मेरो भन्ने परिधिबाट मानिस दूर छन् ।’

नाटकले मुख्यतः कलाकारको जीवनको अनुभवमार्फत आम मानिसलाई स्वयंको अस्तित्व खोजी गर्न सुझाएको छ । रंगमञ्चको दुनियाँ, कलाकारको जीवन, अभिनेता बन्न उसले गरेका अनेक प्रयास र चरित्रलाई औंल्याउँदै नाटकले रंगकर्मीको भोगाइ प्रकाश पार्न खोजेको छ । पात्रले अभिनेता बन्ने महाज्ञान त प्राप्त गर्छ तर उसले यसलाई व्यर्थ मानेको छ । रंगमञ्च तथा फिल्मका कलाकारलाई ऊ फिक्का देख्छ । आफैंलाई भन्छ, ‘म रंगमञ्चको अभिनेता होइन ।’

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको नाटकमा भारतीकै सोलो प्रस्तुति छ । भारतीका अनुसार नाटक एक कलाकारले अनुभव तथा चरित्रको खोजीमा पत्ता लगाइएको ‘म’ हो । नाटक असोज २० गतेसम्म मञ्चन गरिनेछ ।

प्रकाशित : आश्विन ३, २०७८ १०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×