कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

माग पूरा गरे यही सरकारलाई धन्यवाद : राजेन्द्र महतो

'देउवा र प्रचण्डको सरकार विगतमा पनि हेरिसकेकै हो नि ।'
'प्रधानमन्त्रीले जसपाका माग मुद्दा सम्बन्धमा सकारात्मक रुपमा पहल गर्नुभएको छ ।'

काठमाडौँ — नयाँ सत्ता समीकरणबारे छलफल गर्न कांग्रेसले शुक्रबार बोलाएको तीन दलको बैठक निष्कर्षविहीन रुपमा टुंगिएको छ । शुक्रबार आफ्नै निवासमा भएको कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूको बैठकमा सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली सरकारलाई हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखे ।

माग पूरा गरे यही सरकारलाई धन्यवाद : राजेन्द्र महतो

यो प्रस्तावमा विगतमा जस्तै जसपाले ठोस जवाफ दिएन । ओली नेतृत्वको सरकारसँग पनि समदूरीको सम्बन्ध बनाइरहेका जसपाका नेताहरूले देउवाको प्रस्तावलाई ‘पर्ख र हेर’ रणनीतिअन्तर्गत तत्काललाई तामेलीमा राखेका छन् । पार्टीभित्र छलफल गरेर मात्र निर्णय गर्ने जवाफ उनीहरूले कांग्रेसलाई दिएका छन् । यसै सन्दर्भमा कान्तिपुरका लागि दुर्गा खनालले जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग गरेको कुराकानी :

कांग्रेसले तीन दलको बैठक के प्रयोजनका लागि बोलाएको रहेछ ?

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको रहेछ । त्यो निर्णयबारे शेरबहादुर देउवाले हामीलाई सुनाउनुभयो । यसमा तपाईंहरूको प्रतिक्रिया के छ भनेर सोध्नुभयो । पहिलोपटक आधिकारिक रूपमा जानकारी दिनुभयो, तर यसबारे हाम्रो पार्टीमा कुनै छलफल भएको छैन । त्यसैले छलफल गरेर प्रतिक्रिया दिन्छौं भनेका छौं ।

नयाँ सरकार निर्माणको प्रस्ताव आइरहँदा तपाईंहरूले वर्तमान सरकारसँग भइरहेको वार्ता र छलफलबारे पनि केही कुरा गर्नुभयो ?

वर्तमान सरकारसँग हाम्रो माग मुद्दाको सम्बन्धमा गृहकार्य र छलफल भइरहेको र सकारात्मक रूपमा प्रक्रिया अघि बढिसकेको छ । हिजो (बिहीबार) मात्र २ सय ८ जना कार्यकर्तामाथि लगाइएका झूटा मुद्दालाई कसरी फिर्ता लिने भन्ने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको छ । प्रधानमन्त्रीले जसपाका माग मुद्दा सम्बन्धमा सकारात्मक रूपमा पहल गर्नुभएको छ र गर्ने विश्वास पनि दिलाउनुभएको छ । प्रक्रियासमेत अघि बढिसकेकाले हामीले आफ्ना मुद्दालाई बढ्ता प्राथमिकता दिएका छौं । त्यो कुरा पनि उहाँहरूलाई जानकारी दिएका छौं र सरकारले गरिरहेका काममा तपाईंहरूको पनि सहयोग चाहिन्छ भनेका छौं ।

सरकार प्रतिगमनकारी भयो भनेर तपाईंहरूले कांग्रेस–माओवादीसँग मिलेर आन्दोलन गर्नुभयो तर अहिले त्यही सरकारसँग मिलेर जान खोज्दै हुनुहुन्छ ?

असंवैधानिक काम भएको थियो, त्यसविरुद्ध हामी सबै मिलेर लडेको हो । र, सर्वोच्च अदालतको निर्णयबाट असंवैधानिक कदम सच्चियो । अब कांग्रेस, एमाले र माओवादी तीनवटै पार्टी सत्ताको खेलमा लागेका छन् । तर, हाम्रो प्राथमिकता माग र मुद्दालाई सम्बोधन गराउनेमा केन्द्रित छ । त्यहीअनुसार सरकारसँग कुरा भएको हो र सकारात्मक रूपमा अघि बढेको छ ।

माग/मुद्दा सम्बोधन भए भने वर्तमान सरकारलाई नै समर्थन दिने हो ?

हामी त जसरी पनि माग मुद्दा सम्बोधन गराउने पक्षमा छौं । हाम्रा मुद्दा सम्बोधन गरे यही सरकारलाई धन्यवाद दिने हो । अर्को सरकार कहिले बन्ने/नबन्ने थाहा छैन । देउवा र प्रचण्डको सरकार विगतमा पनि हेरिसकेकै हो नि । सही मागलाई उहाँहरूले विगतमा सम्बोधन गरिदिनुभएन । केपी ओलीले पनि गर्नुभएको थिएन तर अहिले उहाँहरूले आफ्नो आवश्यकताले सम्बोधन गर्ने वचन दिएर प्रक्रिया अघि बढाउनुभएको छ । त्यसैले सरकारले गर्छु भनेपछि हेरिहालौं, गरिदियो भने राम्रै हुन्छ नि ।

जसपाभित्र बाबुराम भट्टराई र उपेन्द्र यादवले तत्कालै ओलीको विकल्प खोज्नुपर्छ भन्दै आउनुभएको छ नि ?

उहाँहरूको व्यक्तिगत विचार हो । लोकतन्त्रमा व्यक्तिगत विचार राख्न पाइन्छ । सत्ता समीकरणबारे पार्टीले निर्णय गर्छ ।

नयाँ सरकार बनाउने प्रस्ताव आइसक्यो, अब कहिलेसम्म निष्कर्षमा पुग्नुहुन्छ ?

प्रस्ताव त आयो तर अर्को प्रक्रिया पनि सकारात्मक रूपमा अघि बढिसक्यो । सरकारको प्रक्रिया कसरी अघि जान्छ, हेर्छौं ।

मुद्दा फिर्ताका प्रक्रियामा निलम्बित सांसद रेशम चौधरीका विषयमा पनि कुरा भएको छ ?

चौधरीको त अदालती प्रक्रियाअनुसार अघि बढ्छ । चौधरी निर्दोष छन्, अदालतले न्याय दिन्छ भन्ने विश्वास छ । त्यसबाहेक विभिन्न प्रकारमा मुद्दा सन्दर्भमा प्रथम चरणमा २ सय ८ जनाको फाइल गृह मन्त्रालयमा पठाएका हौं । अर्को दोस्रो चरणको सूची पनि चाँडै पठाउँछौं । वर्षौंसम्म थाती रहेका विषय सरकारले सकारात्मक रूपमा अघि बढाएकाले पार्टीले त्यसलाई पर्खेर हेर्छ र निर्णयमा पुग्छ ।

प्रकाशित : चैत्र २८, २०७७ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?