कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गृहमन्त्री थापालाई सांसदबाट पदमुक्त गर्न संसद् सचिवालयलाई दाहालको पत्र

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रिय सभा सदस्य भएका गृहमन्त्री रामबहादुर थापाको पद पनि खारेज हुने भएको छ । थापाले दल परित्याग गरेकाले सांसदबाट कारबाही गरिएको भन्ने माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहालले संसद् सचिवालयलाई पत्र पठाएका छन् । 

गृहमन्त्री थापालाई सांसदबाट पदमुक्त गर्न संसद् सचिवालयलाई दाहालको पत्र

राष्ट्रिय सभामा माओवादी केन्द्र दलका नेता दिनानाथ शर्माले दलत्याग गरेकाले राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार गरिएको जानकारी दिए । 'निर्वाचित भएको दल त्याग गरी अर्को दलमा गएकाले कानुनअनुसार सांसदको पद रहँदैन । प्रष्टिकरण सोधिएको थियो तर चित्तबुझ्दो जवाफ भेटिएन । अब दल त्याग गरेर गएपछि यताबाट भएको सांसद पद त रहँदैन नि !'

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिएको जानकारीअनुसार राष्ट्रिय सभा सदस्य थापाले दल त्याग गरेकाले सांसद पद खारेज गरिदिन भनेर दाहालले शुक्रबार पठाएको पत्र संसद् सचिवालयमा दर्ता भएको छ ।

अहिले राष्ट्रिय सभाको अधिवेशन छैन, त्यसैले थापाको सांसद पद खारेज भएको सूचना संसद् सचिवालयले प्रकाशित गरेपछि थापाको सांसद पद खारेज हुनेछ । 'सांसद् पद खारेज भएको राजपत्रमा सूचना जारी गरी मन्त्रिपरिषद् र निर्वाचन आयोगलाई जानकारी गराएपछि प्रक्रिया पूरा हुन्छ,' सहायक प्रवक्ता धमलाले भने ।

उक्त प्रक्रिया तत्काल भने अगाडि नबढ्ने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना हाल स्पेन भ्रमणमा छन् । उनी स्पेनबाट फर्किएपछि मात्रै थापाको सांसद पद खारेजीको प्रक्रिया अगाडि बढ्नेछ । उनी २०७८ साल वैशाख १ गते मात्रै नेपाल फर्किने कार्यक्रम छ ।

थापा माओवादी केन्द्र परित्याग गरेर नेकपा (एमाले)प्रवेश गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट केन्द्रीय सदस्यमा मनोनीत थापालाई वाग्मती प्रदेशको इन्चार्जको जिम्मेवारी पनि दिइएको छ ।

यसअघि एमाले प्रवेश गरेका अन्य चार मन्त्रीलाई पनि माओवादीले सांसद्‍बाट हटाएको थियो । लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई दल त्याग गरेपछि माओवादीले सांसदबाट हटाएको थियो ।

प्रकाशित : चैत्र २७, २०७७ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?