‘हामीलाई कारबाही गर्ने प्रचण्डको हैसियत के छ ?’- कुराकानी - कान्तिपुर समाचार

‘हामीलाई कारबाही गर्ने प्रचण्डको हैसियत के छ ?’

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक कदमलाई साथ दिँदै माओवादी केन्द्रबाट एमालेतर्फ लागेका चार जना नेता बिहीबार सांसद पद खारेजीसँगै मन्त्रीबाट पदमुक्त भएका छन् । २०७४ सालको चुनावबाट निर्मित प्रतिनिधिसभामा दल त्याग गरेको आधारमा प्रत्यक्ष निर्वाचित सांसदको पद गएको यो पहिलो घटना हो ।

माओवादी केन्द्रको सिफारिसमा अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, कैलाली ४ बाट निर्वाचित लेखराज भट्ट, रौतहट ३ बाट निर्वाचित प्रभु साह र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीको सांसद पद गुमेको हो ।

सांसद पद गुमेसँगै मन्त्रीबाट पदमुक्त भएका चारै जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधानअन्तर्गत मन्त्रीमा पुनर्नियुक्ति गर्ने तयारी गरेका छन् । यसै सन्दर्भमा निवर्तमान सांसद तथा मन्त्री टोपबहादुर रायमाझीसँग कान्तिपुरका लागि मकर श्रेष्ठले गरेको कुराकानी :

माओवादी केन्द्रको सिफारिसमा संसद्ले तपाईंहरूको सांसद पद खारेज गरेको छ, यसलाई कसरी लिनुभएको छ ?

यो कारबाहीको औचित्य छ जस्तो लाग्दैन । मलाई कारबाही गर्न प्रचण्डले जिताएको हो र ? म त दुई पार्टीको एउटै घोषणापत्र देखाएर निर्वाचित जनप्रतिनिधि हुँ । माओवादीले कारबाही गर्ने हैसियत के छ ? त्यसैले यो निर्णयविरुद्ध कानुनी रूपमा लड्न तयारी गरिरहेको छु । प्रचण्डले आफ्नो स्वार्थ पूरा नभएपछि जे पनि गर्न सक्छन् भन्ने यो निर्णयले देखायो । लोकतान्त्रिक मूल्य, मान्यता र कानुनी हैसियतअनुसार हामीलाई कारबाही गर्न मिल्दैन ।

मौका मिल्दा प्रचण्ड कतिसम्म गिर्दा रहेछन् भन्ने यसले देखाउँछ । ओलीलाई निरकुंश, प्रतिगमन गर्‍यो भन्छन् तर प्रचण्डले मौका पाउँदा लोकतान्त्रिक विधिविपरीत जनप्रतिनिधिलाई मानौं आफैंले जिताएको हो जस्तो हठ राखेर कारबाही गरेका छन् । लोकतन्त्र र जनताको कदर हुन सकेको छैन ।

दाहालसँगको २९ वर्षे सहकार्य यति सहजै टुट्नुको कारण के हो ?

उहाँसँग २९ वर्षसम्म सहकार्य गरें । जनयुद्ध, शान्ति प्रक्रियाको काममा सहकार्य गरें । उहाँसँग जो–जो नजिक भएर काम गर्नुभयो, मोहन वैद्य, रवीन्द्र श्रेष्ठ, विप्लव, सीपी गजुरेल, गोपाल किराती, बाबुराम सबैले छाडे । हामीले अन्त्यमा छाड्यौं । इतिहास बोकेका, पार्टीका लागि लडेका योद्धाहरूकै कारण शान्ति प्रक्रियामा आइसकेपछि माओवादी पहिलो पार्टी बन्यो । ०७० को निर्वाचनमा तेस्रो पार्टी भयो ।

पछिल्लो चरणमा एमालेसँग मिलेर निर्वाचनमा गयौं । पार्टी एकता गर्‍यौं । एकतापछि विचार, राष्ट्र, जनता, योजना, विधि प्रक्रियामा उहाँलाई चिन्ता भएन । उहाँलाई केवल पार्टीको कार्यकारी अध्यक्ष र प्रधानमन्त्रीको मात्रै चिन्ता भयो । उहाँ चरम महत्त्वाकांक्षी भएको पाएँ । पद र प्रतिष्ठामा मात्रै केन्द्रित हुनुभयो । योग्यता, पार्टीमा लगानी गरेका मान्छेहरूको सट्टा उहाँ अवसरवादी र टपरटुइयाँहरूको घेराबन्दीमा पर्नुभयो । पार्टीलाई एकतातर्फ अघि बढाउनेभन्दा पनि फुटाउनेतिर लाग्नुभयो ।

माओवादीसँग रहँदा फेरि चुनाव जितिँदैन र पद पाइँदैन भन्ने लोभले तपाईंहरू ओलीतिर लाग्नुभएको त हैन ?

प्रचण्डले अब कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्नुहुन्न । उहाँ एकताबाट टाढिएर जानुभएको हो । हामी त एकतातिरै छौं । पहिला एमालेसँग नमिल्दा पनि मैले दुईपटक चुनाव जितेकै थिएँ नि । ओलीतिर लाग्नुमा मेरो केही स्वार्थ छैन ।

अब माओवादीको के भविष्य हुन्छ ? चुनावले नै देखाउँछ । ०६४ को चुनावमा पहिलो पार्टी भयो, ०७० मा तेस्रो भयो । ०७४ को चुनावमा एमालेसँग सहकार्य नगरेको भए माओवादीको अवस्था के हुन्थ्यो ? अबको चुनावमा प्रचण्ड र ओलीको हैसियत के हुन्छ ? थाहा भइहाल्छ ।

माओवादीको सिफारिसमा सांसद र मन्त्री दुवै गएपछि प्रधानमन्त्रीले अब के आश्वासन दिनुभएको छ ?

उहाँले केही आस देखाउनुभएको छैन । हामीले मन्त्री, सांसद भन्ने कुरा गौण ठानेका छौं । विचार, योजना राम्रो भयो भने सांसद पद आइरहन्छ । सांसद, मन्त्री भइन्छ कि भइँदैन भन्ने कुरा धेरै गौण हो । विचार योजनामा जनता र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर काम गर्ने भएकाले हामीलाई केही चिन्ता छैन ।

जनताको अगाडि कसरी जानुहुन्छ ?

कानुनी बाटो खोज्छौं । प्रचण्डको यो हर्कत जनताले राम्रै गरी बुझ्छन् भन्ने लाग्छ । प्रचण्डको नियत के हो ? भन्नेमा सीमित मान्छेलाई भ्रम थियो, त्यो पनि अब टुट्छ ।

प्रकाशित : चैत्र २७, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

खुल्यो हनुमानढोका दरबारको ढुकुटी

सुशीला तामा‌ङ

काठमाडौँ — राणाकालीन समयमा महत्त्वपूर्ण बहुमूल्य सामग्री राख्ने गरिएको हनुमानढोका दरबारको ढुकुटी भवन सर्वसाधारणका लागि खुला गरिएको छ । ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका शाहकालीन बहुमूल्य गरगहना, सिक्का तथा मल्लकालीन सामग्रीसमेत ढुकुटीमा प्रदर्शनीका लागि राखिएका छन् ।

तस्बिर : बिजु महर्जन/कान्तिपुर

वृत्ताकार छानोसहित नवशास्त्रीय शैलीमा निर्माण गरिएको उक्त भण्डारण राणा प्रधानमन्त्री जंगबहादुर राणाले ११ करोड रुपैयाँ राख्नका लागि बनाएको अनुमान गरिन्छ । हनुमानढोका दरबारमा मल्लकालदेखि नै ढुकुटी रहेको ऐतिहासिक तथ्य रहे पनि जंगबहादुरले बेलायत भ्रमणपछि उतैको संरचनाको सिको गरेर उक्त भवन निर्माण गरेको हुन सक्ने हनुमानढोका हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दीप खनालले बताए ।

भवन जीर्ण भएपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले यसको पूर्वतर्फ अर्को भवन बनाई यहाँका खजाना स्थानान्तरण गरेका थिए । भवनलाई जीर्णोद्धार गरी २०७२ सालअघि नै प्रदर्शनी कक्षका रूपमा सञ्चालन गर्ने योजना भए पनि भूकम्पका कारण ढिलाइ भएको खनालले बताए ।

‘प्रदर्शनीमा राखिएका बहुमूल्य सामग्री फरासखाना र न्हुच्छें चोकबीच भत्किएको राणाकालीन दरबारमा पुरिएको अवस्थामा भेटाइएको हो,’ उनले भने, ‘२०६८ सालमा भवन जीर्णोद्धार क्रममा फलामको सेफमा सामग्रीहरू पाइएपछि हनुमानढोका दरबारको स्टोरमा नै सुरक्षित राखेका थियौं ।’

शाहकालीन बहुमूल्य गरगहना र सिक्कासँगै राजतन्त्र रहँदा राजपरिवारको स्वामित्वमा रहेका दरबारका सामग्री पनि प्रदर्शनीमा राखिएका छन् । राजतन्त्र अन्त्यसँगै सरकारको स्वामित्वमा आएपछि गृह मन्त्रालयले हेरचाह अड्डालाई ती सामग्री हस्तान्तरण गरेको थियो ।

चैत १ देखि खुला गरिएको ढुकुटी भवनको प्रदर्शनी कक्षलाई दुई खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा शाहकालीन बहुमूल्य गरगहना, सिक्का तथा सामग्री छन् भने दोस्रोमा राजालाई विभिन्न संघ तथा संस्थाबाट प्रदान गरिएका उपहार, इन्द्रजात्रासम्बन्धी तस्बिर, परिचयात्मक अन्य सामग्री समावेश छन् । आमसर्वसाधारणलाई ऐतिहासिक मल्लकालीन, शाहकालीन तथा राणाकालीन सामग्रीसँगै अमूर्त सांस्कृतिक पक्षबारे जानकारी दिन इन्द्रजात्रासम्बन्धी गतिविधिलाई तस्बिर तथा लिखित सामग्रीमा देखाइएको खनालले बताए ।

प्रदर्शनी कक्षमा प्रवेश गर्नेबित्तिकै भगवान् श्रीकृष्णलाई समर्पण गर्न मयूर पंखाको आकृतिसहित बनाइएको सुन र चाँदीको मुकुट देख्न सकिन्छ । सुनको मुकुटमा पाँच थान माणिक र चाँदीकोमा ६० थान हीरा जडित छ । राज्याभिषेक समारोहमा हात्तीको सजावट गर्दा शिरमा सजाइने चन्द्र कलश, विवाह उत्सवमा जन्तीको अग्रपंक्तिमा बोकिने शुभ सामग्री, महिषमर्दिनीको चित्र कुँदिएको सुन मोलम्बा भएको कलश, चाँदीको करुवा, अम्खोरा, धार्मिक कार्य गर्दा जल लिने चाँदीको चम्चा, शंख, चाँदीकै जलदानीजस्ता सामग्री पनि प्रदर्शनीमा राखिएका छन् । खनालका अनुसार मूल ढुकुटीभित्र रहेका महत्त्वपूर्ण सामग्रीको वैज्ञानिक तवरबाट लगत राख्न २०७० सालमा विशेष समिति गठन गरी सूचीकरण गरिएको थियो ।

‘सुरक्षा र भौतिक संरचनाका कारण भौतिक रूपमा सबै सामग्री प्रदर्शन गर्न नसक्ने अवस्था भएपछि तस्बिर भए पनि प्रदर्शन गरेका हौं,’ उनले भने, ‘तत्कालीन समयको कला तथा वास्तुकलाबारे आममानिसलाई केही जानकारी मिलोस् भन्ने उद्देश्यले प्रदर्शनीमा तस्बिर भए पनि समावेश गर्‍यौं ।’

प्रदर्शनीमा भगवान्लाई चढाइने सुन र चाँदीको कमलपत्र, शाहकालीन मुद्रा, चुनदाम र हातमा राखेर फु गर्दा उड्ने फुक्का दाम मुद्रा, पूरा र आधा बनाइएका कम्पनी सुनका डबल मोहर देख्न सकिन्छ । तिनताका आर्थिक संकट टार्न मुद्रालाई आधा बनाउने प्रचलन रहेको खनाल बताउँछन् । प्रदर्शनीमा रणबहादुर शाहकी जेठी रानी राजराजेश्वरीले सती जाँदा वायु (आकाश देवता) लाई चढाइएका गरगहना ऐतिहासिक रूपमा अझ विशेष रहेको उनको भनाइ छ । ‘यी सामग्रीले नेपालको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पक्षलाई बुझ्न सघाउ पक्कै पुर्‍याउँछ,’ उनले भने ।

प्रकाशित : चैत्र २७, २०७७ ०७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×