२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सांसद पद गुमाएका चार मन्त्रीले फेरि लिए शपथ

काठमाडौँ — सांसद पद खारेज भएर पुनर्नियुक्ति पाएका चार मन्त्रीले शपथ लिएका छन् । सांसद बनेको दल नेकपा (माओवादी केन्द्र) परित्याग गरेर नेकपा (एमाले) प्रवेश गरेका चार मन्त्रीले सांसद पद खारेज भएको दोस्रो दिन पुनर्नियुक्ति पाएका थिए ।

सांसद पद गुमाएका चार मन्त्रीले फेरि लिए शपथ

उनीहरूले मन्त्रीमा पुनर्नियुक्ति पाएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार पद तथा गोपनियताको शपथ लिएका हुन् ।

माओवादीले दल त्याग गरेका सांसदहरूको पद खारेजीका लागि संसद् सचिवालयलाई पत्र लेखेको थियो । उक्त पत्रअनुसार चारैजनाको सांसद पद बिहीबार खारेज भएको थियो । दलसम्बन्धी ऐनमा एक दलबाट निर्वाचित भएको सांसदले अर्को दलमा प्रवेश गरेमा पद खारेज हुने र त्यसमा अर्को निर्वाचन हुने व्यवस्था छ ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले केपी शर्मा ओली र पुष्पकलम दाहाल नेतृत्वको नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भएको थियो । 'नेकपा' नाम भने अदालतले ऋषि कट्टेललाई दिएको थियो ।

त्यसपछि ब्युँतिएका एमाले र माओवादी सांसद विगतमा जुन पार्टीबाट जितेका हुन् त्यतैतिर लागेका थिए । यी चार सांसद भने विगतमा जितेको भन्दा फरक पार्टीमा लागेका थिए ।

भट्ट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए भने रायमाझी अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । रौतहट ३ बाट निर्वाचित साह र कैलाली ३ निर्वाचित चौधरी पनि माओवादी छोडेर एमालेतिर लागेका थिए । भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, रायमाझी ऊर्जा, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनीहरूले फेरि सोही मन्त्रालयको जिम्मेवारी पाएका राष्ट्रपतिले कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

माओवादी संसदीय दलका नेता पुष्पकलम दाहालले संसद् सचिवालयलाई पत्र लेखेर यी चार सांसदले दल त्याग गरेको सूचना दिएका थिए । उक्त सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा वाचन गरेर जानकारी गरेर जानकारी दिएका थिए । सभामुखले संसद् बैठकलाई दिएको उक्त जानकारीसँगै चारैजनाको सांसद पद बिहीबार मात्रै खारेज भएको थियो । ।

मन्त्रीको शपथ लिएपछि उनीहरू संवैधानिक प्रावधानअनुसार ६ महिना मात्रै मन्त्री बन्न पाउनेछन् । सांसद् नभएको व्यक्ति ६ महिनामात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : चैत्र २७, २०७७ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?