कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘पीसीआर परीक्षणको गुणस्तरमा ध्यान दिनुपर्‍यो’

‘कोरोना परीक्षणका लागि पीसीआरको विकल्पहरु प्रयोग गर्नैपर्छ’
हामीले देशमा कोरोना फैलन नदिने हो भने छिटो नतिजा दिने परीक्षणहरुलाई बढावा दिनैपर्छ । परीक्षणमा सबैको पहुँच पुग्ने खालको हुनुपर्छ । र, रिपोर्ट छिटोभन्दा छिटो प्राप्त हुनुपर्‍यो ।
स्वरूप आचार्य

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको रोकथामका लागि हाल उपलब्ध एकमात्र प्रभावकारी विकल्प भनेको परीक्षण गर्ने शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइन गर्ने नै हो । त्यसका साथै हरेक व्यक्तिले मास्क लगाउने र बेलाबेलामा साबुन पानीले हात धुनु वा स्यानिटाइजर दल्नुको विकल्प छैन ।

‘पीसीआर परीक्षणको गुणस्तरमा ध्यान दिनुपर्‍यो’

अहिले कोरोनाको परीक्षण गर्ने भरपर्दो विधि भनेर आरटी पीसीआरलाई लिइएको छ । तर, पीसीआर महंगो हुनुका साथै गर्न समय लाग्ने विधि हो । यसको विकल्पका बारेमा विश्वभरका वैज्ञानिकहरुले खोज तथा अनुसन्धान गरिरहेका छन् । यही सन्दर्भमा कान्तिपुरका लागि स्वरूप आचार्यले अमेरिकाको एमआईटीमा कार्यरत मोलिक्युलर बायोलोजिस्ट तथा वैज्ञानिक डा. दिग्विजय महतसँग गरेको कुराकानीको सम्पादित अंश :

कोरोनाको परीक्षणका लागि प्राय: सबै भर परिरहेको एउटा विधि भनेको आरटी–पीसीआर हो । विश्वमा अन्य धेरै विधिहरु प्रचलनमा आइरहेका छन् । मोलिक्यूलर बायोलोजीका विज्ञका रुपमा परीक्षणका विधिहरुको बारेमा तपाईंको भनाइ के छ ?

आरटी पीसीआर भनेको धेरै पुरानो प्रविधि हो । धेरै अन्य विधामा पनि यो विधि प्रयोग गरेर अनुसन्धान गरिन्छ । कुनै पनि नयाँ महामारी फैलन बित्तिकै पहिला त त्यसको जिनोम सिक्वेन्सिङ गरिन्छ । जसबाट त्यो भाइरस वा सुक्ष्म जीवाणुको गुणदोष थाहा पाउन मद्दत पुग्छ । यो भाइरसको केसमा पनि त्यही नै भयो र हामीलाई यो कोरोनाभाइरसको समूहमा पर्ने एक सार्स भाइरस हो भन्ने थाह भयो । जब हामीले सिक्वेन्स पत्ता लगायौं तब सबैको दिमागमा परीक्षण गर्ने सजिलो उपाय भनेको आरटी पीसीआर हो भन्ने आयो । त्यो किनभने यो आरएनए भाइरसको । भाइरसको जिनोमहरु कसैको सिंगल स्ट्य्रान्डेड आरएनए, कसैको सिंगल स्ट्य्रान्डेड डीएनए, कसैको डबल स्ट्य्रान्डेड डीएनए र कसैको डबल स्ट्य्रान्डेड आरएनए हुन्छ । यो रेट्रोभाइरस हो । जसको मतलब यसको सिंगल स्ट्य्रान्डेड आरएनए जिनोममा मात्रै हुन्छ ।

सामान्य रुपमा भन्दा यो सिंगल स्ट्य्रान्डेड पोजिटिभ स्ट्रेन आरएनए भाइरस भएको कारणले गर्दा वृद्धि हुनका लागि आफैं प्रोटिन बनाइ रहनुपर्दैन यसलाई । हाम्रो शरीरको कोषसँग टाँसिनेबित्तिकै प्रोटिन बन्न सुरु गर्छ र वृद्धि हुँदै जान्छ । तसर्थ आरएनएलाई पहिचान गर्नका लागि प्रयोग हुने सजिलो विधि आरटी पीसीआर हो । यो संसारभरका सबै प्रयोगशालामा उपलब्ध थियो र सबैले गर्नसक्ने पनि भए । त्यो नराम्रो होइन । किनभने विश्व महामारीका बेलामा हामीसँग परीक्षण गरेर पत्ता लगाउने विधि त थियो नि । जिनोम सिक्वेन्सिङ भइसकेपछि प्राइमर बनाउन ठूलो कुरा हुँदैन । त्यसैले पनि परीक्षण गर्न सहज भयो ।

अझ आरटी पीसीआर भन्दा पनि धेरै सेन्सिटिभिटी भएको प्रविधि भनेको डीडी (ड्रपलेट डिजिटल) पीसीआर हो । त्यसले आरएनएको एउटा मोलिक्यूल पनि पत्ता लगाउन सक्छ । अब त्योभन्दा पनि सटिक भनेको त सिक्वेन्सिङ नै हो । तर, सबैतिर यी सबै प्रविधि प्रयोग गरेर परीक्षण गर्न सम्भव हुँदैन । त्यसैले आरटी पीसीआरलाई सर्वसुलभ र प्रयोग गर्न सहजताको हिसाबले परीक्षणका लागि पहिलो प्राथमिकतामा राखियो ।

अब यो भाइरसले विश्व महामारीको रुप लिएको पनि ६ महिना बढी भइसक्यो । अहिले संसारभर करिब दुई करोड ५० लाख मानिस संक्रमित हुन लागिसके । पीसीआरबाट परीक्षण गर्ने विधि महंगो भयो भन्ने सबै साना–ठूला देशहरुले गुनासो गरिरहेका छन् । यस्तो अवस्थामा वैज्ञानिकले कुनै आर्थिक रुपमा पनि सस्तो पर्ने र संक्रमण पत्ता लगाउने दर पनि उच्च भएको अन्य वैकल्पिक परीक्षण विधि पत्ता लगाउन सकेका छन् कि छैनन् ?

सबै जनसंख्याको पीसीआर गर्ने भन्ने कुरा दिगो होइन । किनभने पहिलो कुरा त यसको मूल्य नै हो । त्यसपछि भनेको परीक्षण गर्नका लागि लाग्ने समय हो । हामीले परीक्षण गर्नका लागि आर्थिक स्रोत जुटाए पनि परीक्षण गनुपर्ने सबैको एकैपटक त परीक्षण गर्न सकिँदैन । यो अवस्थामा नेपालमा मात्रै होइन अमेरिकमा मै पनि रिपोर्ट आउन ३–४ दिन लाग्ने गरेको सुनिन्छ । यस्तो त्यो शंकास्पद व्यक्तिले पोजिटिभ रैछ भने त अरुलाई सार्ने अवस्था रहन्छ । हामीले परीक्षण गरायौं तर रिपोर्ट आउन हप्ता दिन लाग्यो भने त्यो गर्नु नगर्नुको कुनै औचित्य नै छैन ।

अमेरिकाको बाल्टिमोरमा पीसीआरको रिपोर्टका लागि दुई हप्ताको लाइन छ भन्ने सुनेको छु । यसका साथै पीसीआर गर्नका लागि तालिमप्राप्त जनशक्ति, उच्च प्रविधियुक्त मेसिन, प्रयोगशाला अनि रिएजेन्ट चाहियो । सबैले सबै स्थानमा यो जुटाउन सक्छ भन्ने पनि त छैन । र, भोलि फेरि यसको महामारी बढ्न थालेको खण्डमा पीसीआरका लागि आवश्यक पर्ने रिएजेन्ट हामी जुटाउन नसक्ने अवस्था पनि आउन सक्छ । त्यसैले पनि हाम्रो जस्तो देशले अन्य वैकल्पिक बाटोहरुलाई पनि खुला राख्न जरुरी छ ।

परीक्षणको नयाँ प्रविधि विकास गर्नका लागि अमेरिकी सरकारले अनुसन्धान गर्ने १० संस्थाहरुलाई थोरैमा पनि २० मिलियन डलर दिएको छ । अब पीसीआर नै सर्वेसर्वा हुन्थ्यो भने अमेरिकामा सरकारले पैसा दिएर नयाँ प्रविधि विकास गर भन्नुपर्ने थिएन होला । यो महामारी अझै एक–दुई वर्ष हामीसँगै रहन्छ भनेर विज्ञहरुले भनिरहेको अवस्थामा परीक्षणका अन्य सर्वसुलभ विधि हामीलाई आवश्यक छ । त्यसका लागि हामी खुला रहनुपर्छ ।

अहिलेको परिपेक्षमा विश्वका धेरै कम्पनीहरुले पीसीआरकै तुलनामा पनि राम्रो रिपोर्ट दिने विधिहरु पत्ता लगाइसकेका छन् । ती पीसीआर भन्दा सस्तो र प्रयोग गर्न पनि सजिलो र छरितो छन् । तीमध्ये अधिकांशले भाइरसको आरएनए नै पत्ता लगाउने खालका नै छन् । त्यसमा पनि ती परीक्षणहरु जुनसुकै स्थानमा पनि गर्न मिल्ने खालका छन् ।

नयाँ–नयाँ परीक्षण विधिहरु पत्ता लागिरहेकाछन् भन्ने विषयमा विमती भएन । तर, के ती नयाँ परीक्षणहरु नेपाल जस्तो अतिकम विकसित देशमा प्रयोग गर्न सकिन्छ त ? हामीसँग त्यो जनशक्ति वा प्रयोगशाला छन् त भन्ने पनि प्रश्न होला नि ?

अहिले विश्वले लगानी गरेर खोजिरहेको नयाँ परीक्षण विधि भनेको पीसीआरभन्दा कम जटिल, सहज र सामन्य ज्ञान भएका मान्छेले पनि प्रयोग गर्न सक्ने खालका छन् । उदाहरणका लागि सरलक भन्ने एउटा परीक्षण गर्ने सामाग्री छ । एमआईटीको प्राध्यापकले विकास गर्नुभएको हो त्यो । त्यो परीक्षणका लागि तपाईंले एउटा ट्युबमा थुके पुग्छ । त्यसको परीक्षण गरिन्छ । त्यो थुकलाई पहिला ६० डिग्री तापक्रममा ड्रपरबाट एउटा रिएजेन्ट चुहाएर ३० मिनेट तताइन्छ । त्यसपछि त्यसमा एउटा विशेष प्रकारको कागज डुबाइन्छ । सो कागजमा दुई वटा धर्का देखियो भने तपाईं पोजिटिभ हुनुहुन्छ भन्ने थाहा लाग्छ ।

यो प्रयोग गर्न त कसलाई तालिम चाहिन्छ र ? फेरि कुनै पनि स्थानमा लगेर प्रयोग गर्न सकिन्छ ।

अहिले नेपालमा आरडीटी किटको विवादले गर्दा सबैको सात्तो खाइदिएको छ । परीक्षण गर्ने तरिका सजिलो भए कि काम गर्दैन कि भनेर मान्छेहरुले शंका गर्छन् । तपाईंले उदाहरण दिएजस्तो परीक्षण गर्ने तरिकाको सेन्सिटिभिटी र स्पेसिफिसिटी कस्तो छ ? कत्तिको भरपर्दो छ त ?

तपाईंले भने झैं हरेक परीक्षणको सेन्सिटिभिटी र स्पेसिफिसिटी जति धेरै भए त्यो राम्रो हो । तर, अल्ट्रा सेन्सिटिभ भयो भने पनि समस्या हुन्छ । पीसीआर परीक्षण गर्दा केही तल–माथि हुनेबित्तिकै फल्स निगेटिभ आउने सम्भावना पनि हुन्छ । त्यस्तै संक्रमणमुक्त भइसक्दा पनि पीसीआर परीक्षण पोजिटिभ आयो भने त्यसको पनि सामाजिक प्रतिकुलताहरु हुन्छ अहिलेको अवस्थामा । त्यो पनि विचार गर्नुपर्ने हुन्छ ।

हाम्रो देशको भोगोलिक र आर्थिक अवस्थाको आधारमा मैले देखेको सबैभन्दा सहज विधि भनेको आइसोथर्मल एम्प्लिफिकेसन हो । यस विधिबाट परीक्षण गर्ने विभिन्न तरिकाहरु छन् ।

कुरा के हो भने दुई चारवटा आरएनए वा डीएनए पत्ता लगाउन सक्ने सजिलो उपाय नै छैन अहिलेसम्म । पत्ता लागे पनि त्यो निकै महंगो हुन्छ जुन भएर पनि नभए सरह नै हुन्छ । त्यसैले हामीले के गर्‍यौं भन्दा थोरै हुँदा पत्ता लागेन भने त्यसैलाई फोटोकपी गरेर धेरै बनाउन त भन्ने सोच्यौं । सामान्य रुपमा बुझ्दा पीसीआरले गर्ने भनेको त्यही नै हो । एउटालाई धेरै बनाएर देखाइदिने हो ।

आरएनएबाट आरएनए बनाउने इन्जाइम त्यति धेरै भरपर्दो छैन । तर, आरएनएबाट डीएनए बनाउने चाहिँ छ । त्यसैले आरटी पीसीआरमा हुने भनेको एउटा आरएनएलाई पहिला डीएनए बनाइन्छ र त्यो डीएनएलाई कपी गरेर धेरै डीएनए बनाइन्छ । तर एउटा डीएनएलाई छुट्याएर दुइटा बनाउन गाह्रो हुन्छ । त्यही छुट्याउन र कपी गरेर अर्को बनाउनका लागि केही सेकेण्डको बिचमा तापक्रम ९५ डिग्रीसम्म पुर्‍याउनुपर्छ र फेरि ६० डिग्रीमा झार्नुपर्छ र त्यो प्रक्रिया निरन्तर चल्छ । हो, यो प्रविधि युक्त मेसिन भएकैले पीसीआर मेसिन महंगो परेको हो ।

यसको विकल्प भनेको आइसोथर्मल एम्ल्पिफिकेसन हो । आइसोथर्मलको अर्थ एउटै तापक्रम भन्ने हो । यसमा एउटै तापक्रममा डीएनए छुट्याउन सकिन्छ । यो आरटी पीसीआरभन्दा नयाँ विधि हो त्यसैले अझै पनि अनुसन्धानहरु भइ नै रहेका छन् । तर, सस्तो, सरल र जहाँ पनि गर्न मिल्ने प्रविधि पनि यही नै हो ।

किनभने सबैले एकेप्रकारको वस्तुको माग गरे त्यसको मूल्य त बढ्छ । तर, फरकफरक स्थानमा फरकफरक वस्तुको माग भए उपलब्धता पनि सहज हुन्छ र मूल्य पनि कम हुन्छ । आरटी पीसीआरलाई यो नयाँ विधिले पूर्ण रुपमा प्रतिस्थापन गर्ने होइन, त्यसको विकल्पमा मात्रै प्रयोग हुने हो । केही दिन लगाएर रिपोर्ट दिन मिल्ने अवस्था छ भने आरटी पीसीआर नै गरे हुन्छ । तर, सकेसम्म चाँडो रिपोर्ट चाहिएको छ भने विकल्प तिर जानै पर्छ ।

यति प्रभावकारी विधि हो भने नेपालमा यसको प्रयोग किन भइरहेको छैन ? विश्वास नलागेर कि नजानेर ?

हामीले आरडीटीमा धोका पाएकोले पीसीआर बाहेका सबै खाले परीक्षण गुणस्तरहीन हुन्छन् भन्ने भ्रम परेको छ । तर, यथार्थमा त्यसो होइन । अमेरिकाको एफडीएले आइसोथर्मल एम्प्लिफिकेसन विधि प्रयोग गर्ने किटहरुलाई आपत्कालीन प्रयोग अनुमति दिइसकेको छ । त्यो त्यसै प्राप्त गर्न सकिँदैन । त्यसैले यी सामग्रीहरुको गुणस्तर राम्रो छ भन्ने एउटा आधार त यही नै भयो । त्यसपछि अन्य अध्ययन अनुशन्धानले पनि यो कतिको भरपर्दो छ भनेर देखाइसकेको छ ।

हामीले अहिले कोरोनाभइरस परीक्षण गर्न खोजेको रोकथामका लागि हो न कि कुनै व्यक्तिको शरीरमा कति भाइरस छ भनेर थाह पाउनका लागि हो । त्यसैले कुनै लक्षण भएको व्यक्तिको परीक्षण गर्दा ९४ प्रतिशत सेन्सिटिभिटी भएको किटले गरे पनि ९६ प्रतिशत सेन्सिटिभिटी भएको किटले जाँच गरे पनि केही फरक पर्दैन । हामीले व्यवहारिक रुपमा पनि हेर्नुपर्‍यो ।

सबैभन्दा महत्वपूर्ण कुरा त के भने वैज्ञानिक अनुसन्धानको आधारमा परिवर्तन गर्नुपर्ने नीति, योजना बनाउने स्थानमा त्यो ज्ञान भएका व्यक्तिहरु कति हुनुहन्छ भन्ने हो । यसका साथै सरकारको काम कारबाहीलाई अगाडि बढाउने कर्मचारीहरु पनि यसमा कति जानकार हुनुहुन्छ भन्ने पनि हो ।

भनेपछि तपाईंको विचारमा परीक्षण गर्ने नयाँ–नयाँ तरिकालाई नेपालले अपनाउनुपर्छ हैन त ?

हो, परीक्षण गर्ने तरिकामा विविधता हुनुपर्छ । हामीले अहिले सबै कुरालाई एउटै डालोमा राखेका छौं त्यो आरटी पीसीआर हो । हामीले देशमा कोरोना फैलन नदिने हो भने छिटो नतिजा दिने परीक्षणहरुलाई बढावा दिनैपर्छ । परीक्षणमा सबैको पहुँच पुग्ने खालको हुनुपर्छ । र, रिपोर्ट छिटोभन्दा छिटो प्राप्त हुनुपर्‍यो ।

यस्तै के गर्ने के नगर्ने भनेर निर्णय लिन वैज्ञानिकहरुको समीक्षा बोर्ड भयो भने पनि राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।

सरकारले पीसीआरलाई नै निरन्तरता दिन खोज्यो भने चाँहि के गर्ने त ?

नेपालमा आरटी पीसीआर नै गर्ने हो भने पनि ठिकै छ । तर त्यसको पनि त गुणस्तरमा ध्यान दिनुपर्‍यो नि । सस्तो भनेर जुन पायो त्यही किटबाट गर्नुभएन । मल्टिप्लेक्सिङ गरेर धेरैवटा जिन एकैपटक हेर्नुपर्‍यो ताकि संक्रमितहरु नछुटुन् । तर, सस्तो हुन्छ भनेर एउटा मात्रै जिन हेर्ने गरेको भन्ने पनि सुनिन्छ । त्यो हुनु भएन । यस्तै एउटै किटबाट विभिन्न मेसिनमा परीक्षण गर्दा नतिजा भिन्न भिन्न आएको अध्ययनहरुले देखाएको छ । त्यसैले त्यो सबै अनुमगन गर्ने संयन्त्र हुनुपर्‍यो ।

यस्तै कसरी स्वाब संकलन गरिएको छ भन्ने विषयले पनि धेरै कुरा निर्धारण गर्छ । त्यसैले त्यसमा पनि ध्यान दिनुपर्छ ।

प्रकाशित : भाद्र १४, २०७७ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?