‘पीसीआर परीक्षणको गुणस्तरमा ध्यान दिनुपर्‍यो’

‘कोरोना परीक्षणका लागि पीसीआरको विकल्पहरु प्रयोग गर्नैपर्छ’

भाद्र १४, २०७७

स्वरूप आचार्य

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको रोकथामका लागि हाल उपलब्ध एकमात्र प्रभावकारी विकल्प भनेको परीक्षण गर्ने शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइन गर्ने नै हो । त्यसका साथै हरेक व्यक्तिले मास्क लगाउने र बेलाबेलामा साबुन पानीले हात धुनु वा स्यानिटाइजर दल्नुको विकल्प छैन ।

अहिले कोरोनाको परीक्षण गर्ने भरपर्दो विधि भनेर आरटी पीसीआरलाई लिइएको छ । तर, पीसीआर महंगो हुनुका साथै गर्न समय लाग्ने विधि हो । यसको विकल्पका बारेमा विश्वभरका वैज्ञानिकहरुले खोज तथा अनुसन्धान गरिरहेका छन् । यही सन्दर्भमा कान्तिपुरका लागि स्वरूप आचार्यले अमेरिकाको एमआईटीमा कार्यरत मोलिक्युलर बायोलोजिस्ट तथा वैज्ञानिक डा. दिग्विजय महतसँग गरेको कुराकानीको सम्पादित अंश :

कोरोनाको परीक्षणका लागि प्राय: सबै भर परिरहेको एउटा विधि भनेको आरटी–पीसीआर हो । विश्वमा अन्य धेरै विधिहरु प्रचलनमा आइरहेका छन् । मोलिक्यूलर बायोलोजीका विज्ञका रुपमा परीक्षणका विधिहरुको बारेमा तपाईंको भनाइ के छ ?

आरटी पीसीआर भनेको धेरै पुरानो प्रविधि हो । धेरै अन्य विधामा पनि यो विधि प्रयोग गरेर अनुसन्धान गरिन्छ । कुनै पनि नयाँ महामारी फैलन बित्तिकै पहिला त त्यसको जिनोम सिक्वेन्सिङ गरिन्छ । जसबाट त्यो भाइरस वा सुक्ष्म जीवाणुको गुणदोष थाहा पाउन मद्दत पुग्छ । यो भाइरसको केसमा पनि त्यही नै भयो र हामीलाई यो कोरोनाभाइरसको समूहमा पर्ने एक सार्स भाइरस हो भन्ने थाह भयो । जब हामीले सिक्वेन्स पत्ता लगायौं तब सबैको दिमागमा परीक्षण गर्ने सजिलो उपाय भनेको आरटी पीसीआर हो भन्ने आयो । त्यो किनभने यो आरएनए भाइरसको । भाइरसको जिनोमहरु कसैको सिंगल स्ट्य्रान्डेड आरएनए, कसैको सिंगल स्ट्य्रान्डेड डीएनए, कसैको डबल स्ट्य्रान्डेड डीएनए र कसैको डबल स्ट्य्रान्डेड आरएनए हुन्छ । यो रेट्रोभाइरस हो । जसको मतलब यसको सिंगल स्ट्य्रान्डेड आरएनए जिनोममा मात्रै हुन्छ ।

सामान्य रुपमा भन्दा यो सिंगल स्ट्य्रान्डेड पोजिटिभ स्ट्रेन आरएनए भाइरस भएको कारणले गर्दा वृद्धि हुनका लागि आफैं प्रोटिन बनाइ रहनुपर्दैन यसलाई । हाम्रो शरीरको कोषसँग टाँसिनेबित्तिकै प्रोटिन बन्न सुरु गर्छ र वृद्धि हुँदै जान्छ । तसर्थ आरएनएलाई पहिचान गर्नका लागि प्रयोग हुने सजिलो विधि आरटी पीसीआर हो । यो संसारभरका सबै प्रयोगशालामा उपलब्ध थियो र सबैले गर्नसक्ने पनि भए । त्यो नराम्रो होइन । किनभने विश्व महामारीका बेलामा हामीसँग परीक्षण गरेर पत्ता लगाउने विधि त थियो नि । जिनोम सिक्वेन्सिङ भइसकेपछि प्राइमर बनाउन ठूलो कुरा हुँदैन । त्यसैले पनि परीक्षण गर्न सहज भयो ।

अझ आरटी पीसीआर भन्दा पनि धेरै सेन्सिटिभिटी भएको प्रविधि भनेको डीडी (ड्रपलेट डिजिटल) पीसीआर हो । त्यसले आरएनएको एउटा मोलिक्यूल पनि पत्ता लगाउन सक्छ । अब त्योभन्दा पनि सटिक भनेको त सिक्वेन्सिङ नै हो । तर, सबैतिर यी सबै प्रविधि प्रयोग गरेर परीक्षण गर्न सम्भव हुँदैन । त्यसैले आरटी पीसीआरलाई सर्वसुलभ र प्रयोग गर्न सहजताको हिसाबले परीक्षणका लागि पहिलो प्राथमिकतामा राखियो ।

अब यो भाइरसले विश्व महामारीको रुप लिएको पनि ६ महिना बढी भइसक्यो । अहिले संसारभर करिब दुई करोड ५० लाख मानिस संक्रमित हुन लागिसके । पीसीआरबाट परीक्षण गर्ने विधि महंगो भयो भन्ने सबै साना–ठूला देशहरुले गुनासो गरिरहेका छन् । यस्तो अवस्थामा वैज्ञानिकले कुनै आर्थिक रुपमा पनि सस्तो पर्ने र संक्रमण पत्ता लगाउने दर पनि उच्च भएको अन्य वैकल्पिक परीक्षण विधि पत्ता लगाउन सकेका छन् कि छैनन् ?

सबै जनसंख्याको पीसीआर गर्ने भन्ने कुरा दिगो होइन । किनभने पहिलो कुरा त यसको मूल्य नै हो । त्यसपछि भनेको परीक्षण गर्नका लागि लाग्ने समय हो । हामीले परीक्षण गर्नका लागि आर्थिक स्रोत जुटाए पनि परीक्षण गनुपर्ने सबैको एकैपटक त परीक्षण गर्न सकिँदैन । यो अवस्थामा नेपालमा मात्रै होइन अमेरिकमा मै पनि रिपोर्ट आउन ३–४ दिन लाग्ने गरेको सुनिन्छ । यस्तो त्यो शंकास्पद व्यक्तिले पोजिटिभ रैछ भने त अरुलाई सार्ने अवस्था रहन्छ । हामीले परीक्षण गरायौं तर रिपोर्ट आउन हप्ता दिन लाग्यो भने त्यो गर्नु नगर्नुको कुनै औचित्य नै छैन ।

अमेरिकाको बाल्टिमोरमा पीसीआरको रिपोर्टका लागि दुई हप्ताको लाइन छ भन्ने सुनेको छु । यसका साथै पीसीआर गर्नका लागि तालिमप्राप्त जनशक्ति, उच्च प्रविधियुक्त मेसिन, प्रयोगशाला अनि रिएजेन्ट चाहियो । सबैले सबै स्थानमा यो जुटाउन सक्छ भन्ने पनि त छैन । र, भोलि फेरि यसको महामारी बढ्न थालेको खण्डमा पीसीआरका लागि आवश्यक पर्ने रिएजेन्ट हामी जुटाउन नसक्ने अवस्था पनि आउन सक्छ । त्यसैले पनि हाम्रो जस्तो देशले अन्य वैकल्पिक बाटोहरुलाई पनि खुला राख्न जरुरी छ ।

परीक्षणको नयाँ प्रविधि विकास गर्नका लागि अमेरिकी सरकारले अनुसन्धान गर्ने १० संस्थाहरुलाई थोरैमा पनि २० मिलियन डलर दिएको छ । अब पीसीआर नै सर्वेसर्वा हुन्थ्यो भने अमेरिकामा सरकारले पैसा दिएर नयाँ प्रविधि विकास गर भन्नुपर्ने थिएन होला । यो महामारी अझै एक–दुई वर्ष हामीसँगै रहन्छ भनेर विज्ञहरुले भनिरहेको अवस्थामा परीक्षणका अन्य सर्वसुलभ विधि हामीलाई आवश्यक छ । त्यसका लागि हामी खुला रहनुपर्छ ।

अहिलेको परिपेक्षमा विश्वका धेरै कम्पनीहरुले पीसीआरकै तुलनामा पनि राम्रो रिपोर्ट दिने विधिहरु पत्ता लगाइसकेका छन् । ती पीसीआर भन्दा सस्तो र प्रयोग गर्न पनि सजिलो र छरितो छन् । तीमध्ये अधिकांशले भाइरसको आरएनए नै पत्ता लगाउने खालका नै छन् । त्यसमा पनि ती परीक्षणहरु जुनसुकै स्थानमा पनि गर्न मिल्ने खालका छन् ।

नयाँ–नयाँ परीक्षण विधिहरु पत्ता लागिरहेकाछन् भन्ने विषयमा विमती भएन । तर, के ती नयाँ परीक्षणहरु नेपाल जस्तो अतिकम विकसित देशमा प्रयोग गर्न सकिन्छ त ? हामीसँग त्यो जनशक्ति वा प्रयोगशाला छन् त भन्ने पनि प्रश्न होला नि ?

अहिले विश्वले लगानी गरेर खोजिरहेको नयाँ परीक्षण विधि भनेको पीसीआरभन्दा कम जटिल, सहज र सामन्य ज्ञान भएका मान्छेले पनि प्रयोग गर्न सक्ने खालका छन् । उदाहरणका लागि सरलक भन्ने एउटा परीक्षण गर्ने सामाग्री छ । एमआईटीको प्राध्यापकले विकास गर्नुभएको हो त्यो । त्यो परीक्षणका लागि तपाईंले एउटा ट्युबमा थुके पुग्छ । त्यसको परीक्षण गरिन्छ । त्यो थुकलाई पहिला ६० डिग्री तापक्रममा ड्रपरबाट एउटा रिएजेन्ट चुहाएर ३० मिनेट तताइन्छ । त्यसपछि त्यसमा एउटा विशेष प्रकारको कागज डुबाइन्छ । सो कागजमा दुई वटा धर्का देखियो भने तपाईं पोजिटिभ हुनुहुन्छ भन्ने थाहा लाग्छ ।

यो प्रयोग गर्न त कसलाई तालिम चाहिन्छ र ? फेरि कुनै पनि स्थानमा लगेर प्रयोग गर्न सकिन्छ ।

अहिले नेपालमा आरडीटी किटको विवादले गर्दा सबैको सात्तो खाइदिएको छ । परीक्षण गर्ने तरिका सजिलो भए कि काम गर्दैन कि भनेर मान्छेहरुले शंका गर्छन् । तपाईंले उदाहरण दिएजस्तो परीक्षण गर्ने तरिकाको सेन्सिटिभिटी र स्पेसिफिसिटी कस्तो छ ? कत्तिको भरपर्दो छ त ?

तपाईंले भने झैं हरेक परीक्षणको सेन्सिटिभिटी र स्पेसिफिसिटी जति धेरै भए त्यो राम्रो हो । तर, अल्ट्रा सेन्सिटिभ भयो भने पनि समस्या हुन्छ । पीसीआर परीक्षण गर्दा केही तल–माथि हुनेबित्तिकै फल्स निगेटिभ आउने सम्भावना पनि हुन्छ । त्यस्तै संक्रमणमुक्त भइसक्दा पनि पीसीआर परीक्षण पोजिटिभ आयो भने त्यसको पनि सामाजिक प्रतिकुलताहरु हुन्छ अहिलेको अवस्थामा । त्यो पनि विचार गर्नुपर्ने हुन्छ ।

हाम्रो देशको भोगोलिक र आर्थिक अवस्थाको आधारमा मैले देखेको सबैभन्दा सहज विधि भनेको आइसोथर्मल एम्प्लिफिकेसन हो । यस विधिबाट परीक्षण गर्ने विभिन्न तरिकाहरु छन् ।

कुरा के हो भने दुई चारवटा आरएनए वा डीएनए पत्ता लगाउन सक्ने सजिलो उपाय नै छैन अहिलेसम्म । पत्ता लागे पनि त्यो निकै महंगो हुन्छ जुन भएर पनि नभए सरह नै हुन्छ । त्यसैले हामीले के गर्‍यौं भन्दा थोरै हुँदा पत्ता लागेन भने त्यसैलाई फोटोकपी गरेर धेरै बनाउन त भन्ने सोच्यौं । सामान्य रुपमा बुझ्दा पीसीआरले गर्ने भनेको त्यही नै हो । एउटालाई धेरै बनाएर देखाइदिने हो ।

आरएनएबाट आरएनए बनाउने इन्जाइम त्यति धेरै भरपर्दो छैन । तर, आरएनएबाट डीएनए बनाउने चाहिँ छ । त्यसैले आरटी पीसीआरमा हुने भनेको एउटा आरएनएलाई पहिला डीएनए बनाइन्छ र त्यो डीएनएलाई कपी गरेर धेरै डीएनए बनाइन्छ । तर एउटा डीएनएलाई छुट्याएर दुइटा बनाउन गाह्रो हुन्छ । त्यही छुट्याउन र कपी गरेर अर्को बनाउनका लागि केही सेकेण्डको बिचमा तापक्रम ९५ डिग्रीसम्म पुर्‍याउनुपर्छ र फेरि ६० डिग्रीमा झार्नुपर्छ र त्यो प्रक्रिया निरन्तर चल्छ । हो, यो प्रविधि युक्त मेसिन भएकैले पीसीआर मेसिन महंगो परेको हो ।

यसको विकल्प भनेको आइसोथर्मल एम्ल्पिफिकेसन हो । आइसोथर्मलको अर्थ एउटै तापक्रम भन्ने हो । यसमा एउटै तापक्रममा डीएनए छुट्याउन सकिन्छ । यो आरटी पीसीआरभन्दा नयाँ विधि हो त्यसैले अझै पनि अनुसन्धानहरु भइ नै रहेका छन् । तर, सस्तो, सरल र जहाँ पनि गर्न मिल्ने प्रविधि पनि यही नै हो ।

किनभने सबैले एकेप्रकारको वस्तुको माग गरे त्यसको मूल्य त बढ्छ । तर, फरकफरक स्थानमा फरकफरक वस्तुको माग भए उपलब्धता पनि सहज हुन्छ र मूल्य पनि कम हुन्छ । आरटी पीसीआरलाई यो नयाँ विधिले पूर्ण रुपमा प्रतिस्थापन गर्ने होइन, त्यसको विकल्पमा मात्रै प्रयोग हुने हो । केही दिन लगाएर रिपोर्ट दिन मिल्ने अवस्था छ भने आरटी पीसीआर नै गरे हुन्छ । तर, सकेसम्म चाँडो रिपोर्ट चाहिएको छ भने विकल्प तिर जानै पर्छ ।

यति प्रभावकारी विधि हो भने नेपालमा यसको प्रयोग किन भइरहेको छैन ? विश्वास नलागेर कि नजानेर ?

हामीले आरडीटीमा धोका पाएकोले पीसीआर बाहेका सबै खाले परीक्षण गुणस्तरहीन हुन्छन् भन्ने भ्रम परेको छ । तर, यथार्थमा त्यसो होइन । अमेरिकाको एफडीएले आइसोथर्मल एम्प्लिफिकेसन विधि प्रयोग गर्ने किटहरुलाई आपत्कालीन प्रयोग अनुमति दिइसकेको छ । त्यो त्यसै प्राप्त गर्न सकिँदैन । त्यसैले यी सामग्रीहरुको गुणस्तर राम्रो छ भन्ने एउटा आधार त यही नै भयो । त्यसपछि अन्य अध्ययन अनुशन्धानले पनि यो कतिको भरपर्दो छ भनेर देखाइसकेको छ ।

हामीले अहिले कोरोनाभइरस परीक्षण गर्न खोजेको रोकथामका लागि हो न कि कुनै व्यक्तिको शरीरमा कति भाइरस छ भनेर थाह पाउनका लागि हो । त्यसैले कुनै लक्षण भएको व्यक्तिको परीक्षण गर्दा ९४ प्रतिशत सेन्सिटिभिटी भएको किटले गरे पनि ९६ प्रतिशत सेन्सिटिभिटी भएको किटले जाँच गरे पनि केही फरक पर्दैन । हामीले व्यवहारिक रुपमा पनि हेर्नुपर्‍यो ।

सबैभन्दा महत्वपूर्ण कुरा त के भने वैज्ञानिक अनुसन्धानको आधारमा परिवर्तन गर्नुपर्ने नीति, योजना बनाउने स्थानमा त्यो ज्ञान भएका व्यक्तिहरु कति हुनुहन्छ भन्ने हो । यसका साथै सरकारको काम कारबाहीलाई अगाडि बढाउने कर्मचारीहरु पनि यसमा कति जानकार हुनुहुन्छ भन्ने पनि हो ।

भनेपछि तपाईंको विचारमा परीक्षण गर्ने नयाँ–नयाँ तरिकालाई नेपालले अपनाउनुपर्छ हैन त ?

हो, परीक्षण गर्ने तरिकामा विविधता हुनुपर्छ । हामीले अहिले सबै कुरालाई एउटै डालोमा राखेका छौं त्यो आरटी पीसीआर हो । हामीले देशमा कोरोना फैलन नदिने हो भने छिटो नतिजा दिने परीक्षणहरुलाई बढावा दिनैपर्छ । परीक्षणमा सबैको पहुँच पुग्ने खालको हुनुपर्छ । र, रिपोर्ट छिटोभन्दा छिटो प्राप्त हुनुपर्‍यो ।

यस्तै के गर्ने के नगर्ने भनेर निर्णय लिन वैज्ञानिकहरुको समीक्षा बोर्ड भयो भने पनि राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।

सरकारले पीसीआरलाई नै निरन्तरता दिन खोज्यो भने चाँहि के गर्ने त ?

नेपालमा आरटी पीसीआर नै गर्ने हो भने पनि ठिकै छ । तर त्यसको पनि त गुणस्तरमा ध्यान दिनुपर्‍यो नि । सस्तो भनेर जुन पायो त्यही किटबाट गर्नुभएन । मल्टिप्लेक्सिङ गरेर धेरैवटा जिन एकैपटक हेर्नुपर्‍यो ताकि संक्रमितहरु नछुटुन् । तर, सस्तो हुन्छ भनेर एउटा मात्रै जिन हेर्ने गरेको भन्ने पनि सुनिन्छ । त्यो हुनु भएन । यस्तै एउटै किटबाट विभिन्न मेसिनमा परीक्षण गर्दा नतिजा भिन्न भिन्न आएको अध्ययनहरुले देखाएको छ । त्यसैले त्यो सबै अनुमगन गर्ने संयन्त्र हुनुपर्‍यो ।

यस्तै कसरी स्वाब संकलन गरिएको छ भन्ने विषयले पनि धेरै कुरा निर्धारण गर्छ । त्यसैले त्यसमा पनि ध्यान दिनुपर्छ ।

कोरोना भाइरस

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

Link copied successfully