तनहुँका युवक एमआईटीको क्यान्सर वैज्ञानिक !

बुनु थारु

काठमाडौँ — सन् २००७ को कुरा हो । उनी लाइब्रेरीमा किताब पढ्न ध्यान मग्न थिए । त्यतिबेला उनका काकाको छोराले फोन गरे- ‘दाइ आत्तिनुपर्दैन है ।’ कुराकानीको सुरुवातमा नै यसरी भन्दा उनको मनमा चिसो पस्यो । उनी के भयो भनेर अड्कल लाउँदै मात्र थिए, भाइले आमालाई स्तन क्यान्सर भएको सुनाए ।

केही समयपछि आमा ठिक त भइन् तर उनलाई क्यान्सर जस्तो भयावह रोगमा के गर्न सकिन्छ भन्ने हुटहुटीले पछ्याइरह्यो। आमाको त्यो रोगले उनकाे जीवनको करिअर नै मोडिदियो। र, कुनै समय चराचुरुंगीको अध्ययनमा रुची राख्ने दीग्विजय महत बन्न पुगे- क्यान्सर वैज्ञानिक। त्यो पनि संसारकै अब्बल मानिएको युनिभर्सिटी मासाच्युट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा।


यस सफलतामा उनी आफ्नो मिहिनेत तथा परिवारलाई मात्र श्रेय दिन्‍नन्,भाग्यले पनि साथ दिएको स्वीकार्छन्। ती भाग्यमानी महत आखिर कसरी तनहुँदेखि एमआईटीसम्म पुगे? यात्रा सहज थियो त?


जग्गा बेचेर पढाइ


तनहुँ ढोरफिर्दीका ३६ वर्षीय महतको परिवार सम्पन्‍न थियो। दीग्विजय जन्मदा बुवा प्रधानपञ्च थिए। जन्मिँदा सारा गाउँलेले खुसियाली मनाए। पछि भूमिसुधार ऐन लागू भएपछि भने परिवारमा आर्थिक समस्या आउन थाल्यो। जमिन्दारी पुस्तामा जन्मिएका उनका बुवाले काम कहिल्यै घरबारीको काम गरेनन्। आम्दानीको स्रोत केही थिएन। जग्गा फेरि भनेको बेला नबिक्ने।


दीग्विजयका बुवालाई जग्गा बेचेरै भएपनि छोरालाई राम्रो स्कुलमा पढाउनुपर्छ भन्ने ध्याउन्‍न थियो। त्यसैले त दीग्विजयका बुवाले कुनैपनि स्कुलको पढाइ चित्त नबुझाएपछि १० कक्षासम्म अध्ययन गर्दासम्म ९ वटा स्कुल फेरे। ‘परिवार नै मेरो बलियो जग बन्‍नपुग्यो। सबैले मलाई धेरै पढ्नुपर्छ भन्ने प्रेरित गरिराख्नुहुन्थ्यो,’महत भन्छन्।


दीग्विजयले दीपेन्द्र प्रहरी माध्यामिक विद्यालयबाट एसएलसी र काठमाडौं विश्वविद्यालयमा आईएससी पूरा गरे। त्यसपछि उच्चशिक्षा अध्ययनका लागि सन् २००५ मा अमेरिका गए।

...

अमेरिका त पुगे तर, उनले छनोट गरेको विश्वविद्यालय भने नराम्रो पर्‍यो। ती दिन सम्झिँदै महत भन्छन्, ‘त्यो अमेरिकाको सबैभन्दा सस्तो युनिभर्सिटीमा अप्लाइ गरेको थिएँ। साह्रै नराम्रो युनिभर्सिटीमा पढ्न पुगें।’ यतिसम्म की विज्ञान पढाउने शिक्षक खेलकुद प्रशिक्षक थिए। वेस्ट भजिर्नियाको बीचमा रहेको युनिभर्सिटीमा उनकाे मन रमाउन सकेन। त्यहाँ उनी एक वर्षसम्म पढे।


त्यसपछि सन् २००९ मा अध्ययनका लागि टाउसन युनिभर्सिटीमा पुगे। तर यस युनिभर्सिटीमा उनलाई मनपर्ने विषय रिसर्च थिएन। रिसर्च पढ्न उनीयुनिभर्सिटी अफ मेरिल्यान्डमापढ्ने सोच बनाए।



‘म आफ्‍नोपढाइ खर्च जुटाउन पिज्जा डेलिभरी ब्वाइको रूपमा पनि काम गरेको छु, एक हप्तामा १ सय ५ घण्टा पिज्जा डेलिभरी गरेको त्यो दिन आजै जस्तो लाग्छ,’ महतले आफ्‍नाअतितका दिन सम्झिए। उनी दिनभर टाउसनमा पढ्थे र साँझ युनिभर्सिटी अफ मेरिल्याण्डमा रिसर्च सिक्न जान्थे।


उनले १ वर्ष युनिभर्सिटी अफ मेरिल्यान्डको बायोकेमेस्ट्रिी र मोलिक्युलर बायोलोजी डिपार्टमेन्टमा टेक्निसियन भएर काम गरे। आफ्‍नोपहिलो रिसर्च अनुभव सुनाउँदै उनले भने, ‘रिसर्च गर्ने मान्छेको तरिका कस्तो हुने रहेछ, कसरी सोच्दा अनि सोध्दा रहेछन् भनेर जान्‍नेमौका मिल्यो।’


सन् २००९ मा उनले टाउसन युनिभर्सिटीमा मोलिक्युलर बायोलोजी, बायोकेमिस्ट्री र बायो इन्फर्मम्याटिक्स तीनवटा विषयमा डिग्री लिए। टाउसन युनिभिर्सटीबाट डिग्री लिएपछि उनलाई कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। विस्तारै अवसरले आफैं ढोका ढक्ढक्याउन आइपुगे। फलस्वरुप कोर्नेल युनिभर्सिटीमा भर्नाको लागि उनको नाम निक्लियो।


रिसर्चको लागि कहलिएको युनिभर्सिटीमा भर्ना पाउँदा महतको खुसीको सीमा रहेन। उनले दिलाेज्यान लगाएर अध्ययन गरे। सन् २०१० देखि १६ सम्म साढे ६ वर्ष लगाएर पिएचडी सके। उनले पिएचडी मोलिक्युलर बायोलोजी र जेनेटिक्समा गरेका हुन्।


एमआईटी छिर्दा


हरेक खुड्किलामा माथि उक्लिँदै गइरहेका महतलाई अनुसन्धान गर्ने रुचिलाई छोड्न सकिरहेका थिएनन्। आमाको त्यो घटनाले उनलाई क्यान्सर अनुसन्धानमै लाग्न प्रेरित गरिरहेको थियो। त्यसपछि उनले सन् २०१७ मा एमआइटीमा अप्लाई गर्ने आँट गरे, त्यो पनि नोबेल पुरस्कार विजेता फिलिप ए सार्पसँग काम गर्नका लागि।


अन्तर्वार्ताका लागि एमआइटी छिर्दा उनलाई सपना झैँ लागिरहेको थियो। त्यो सुनौलो दिनलाई सम्झदैं उनी भन्छन्, ‘सिसैसिसा भएको त्यो भव्य भवन देख्दा त्यहाँ काम गर्न पाउला–नपाउँला भन्नेमा मन ढुकढुक भइरहेको थियो।’


उनको साथैमा गएकी थिइन् जीवनसंगिनी रुपालक्ष्मी शाह।


‘भवन छिर्नेबितिकै एउटा भित्तामा नोबेल पुरस्कार विजेताहरुको विवरण राखिएको थियो। त्यही भवनमा मात्रै ५ जना नोबेल पुरस्कार विजेताहरु रहेछन्। कति उच्चस्तरको अनुसन्धान हुने रहेछ भन्ने मनमनै सोच्दै गइरहेको थिएँ,’ उनले मुस्कुराउँदै त्यो क्षणको बयान गरे।


अन्तर्वार्ता १ घण्टासम्म चल्यो। सार्पले उनको रुचि तथा खोजका बारेमा जिज्ञासा व्यक्त गरे। उनले क्यान्सर कसरी उत्पत्ति हुन्छ? क्यान्सर उपचारमा लाग्ने प्रविधि विकास गर्ने भनेर दुईवटा आइडिया व्यक्त गरे।


उनका विचारले सार्प महतसँग एकदम प्रभावित भए। किनकी उनको ७४ वर्षको इतिहासमा क्यान्सरमै रिसर्च गर्छु भनेर एमआईटीमा कोही पनि नेपाली आएका थिएनन्। आफ्‍नोकामले बिस्तारै सबैको मन जित्न सफल भए महतले। त्यसैले त आज उनी ‘सार्प ल्याब’को प्रमुख जस्तै भएर काम गरिरहेका छन्। सार्पकाे विश्वास पात्र बनेका महतलाई सबैजसाे जिम्मेवारी सुम्पिदिएका छन्।


क्यान्सर वैज्ञानिकको रुपमा कार्यरत उनले ‘सिंगल सेल नेसेन्ट आरएनए सिक्वेन्सीङ’ को आविष्कार गरेको दाबी गरेका छन्, जसले इम्युनोथेरापीमा क्यान्सर रेसिसटेन्सको काम गर्छ। पोस्ट डक्टरल फेलोसीप गरिरहेका उनी अझै २ वर्ष उक्त ल्याबमा काम गर्नेछन्।

उनले एमआइटीबाट लाइसेन्स लिएर नयाँ कम्पनी सुरु गर्ने विचार राखेका छन्। यो कम्पनीले सुरुमा क्यान्सर लागेको पत्ता लगाउने प्रविधि विकास गर्ने आशा राखेका छन् उनले।


नेपाल फर्किने धोको


अमेरिकाको बसाइँ र एमआइटीजस्तो प्रतिष्ठित क्षेत्रमा काम गर्ने अवसर हुँदा पनि महतलाई भने आफ्नै देशमा केही गरौं भन्ने लागिरहेको छ। त्यसैले त उनले अमेरिकामा रहेको घर बैंकमा राखेर नेपालमा घर किनिसकेका छन्। यसको संकेत नेपाल नै बस्‍ने इच्छा हो? भन्ने प्रश्नमा महतले भने, ‘मेरो अनुभव तथा ज्ञान आफ्नो देशमा बाँड्न चाहन्छु। त्यसका लागि मैले केही भिजन तयार पारेको छु।’


‘पहिलो कुरा क्यान्सर रोगको बारेमा अध्ययन तथा अनुसन्धान गर्ने, नेपालको जडीबुडीबाट उपचार विधि खोज्ने तथा तेस्रो कम्प्युटरमा हुने बिग डाटाहरुको पहुँच कसरी बढाउने?’ यी तीनवटा भिजन डा. महतले बनाएका छन्।


महतले आफ्‍नोभिजनबारे प्रष्ट्याए, ‘संसारभर सिक्वेन्सिङ डाटाहरु निःशुल्क छन्। जस्तै अमेरिकामा सिक्वेन्स गरिएको डाटा यहाँ पनि हेर्न सकिन्छ। त्यसैले त्यो उच्च प्रविधि विकसित गर्नुपर्छ जसले क्यान्सर अनुसन्धान धेरै सहयाेग पुग्छ।’


उनले नेपालमा अझैसम्म क्यान्सरको उपयुक्त तथ्यांक नभएकोमा दुःख व्यक्त गर्दै भन्छन्, ‘यसमा तथ्यांककाे नै कमी छ अनि नीतिनियम कसरी बन्छ? त्यसैले तथ्यांक हुन अत्यन्त जरुरी देखिन्छ।’


छुट्टिँदै गर्दा उनले भने, ‘पक्कै पनि एमआइटीमा जस्तो त्यो लेभलको अध्ययन अनुसन्धान नेपालमा सम्भव छैन तर, हामीसँग जे छ त्यसलाई नयाँ ढंगले प्रस्तुत गर्‍यौं भने क्यान्सर उपचारमा सफलता हात पार्न सकिन्छ।’ प्रकाशित : फाल्गुन १३, २०७६ १७:५६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विशेष सेवा विधेयकको समाचार संकलनमा रोक लगाइएकोप्रति संसदीय मामिला पत्रकार समाजको आपत्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — संसदीय समितिले पत्रकारहरूलाई प्रवेश रोक लगाएर विधेयकमाथि छलफल गरिरहेको घटनाप्रति संसदीय मामिला पत्रकार समाजले आपत्ति जनाएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले आइतबारदेखि सुरु भएको नेपाल विशेष सेवा विधेयकमाथिको छलफलमा समाचार संकलनमा रोक लगाएको छ ।

मामिलाका महासचिव अशोक दाहालले विज्ञप्ति जारी गर्दै संसदीय समितिले समाचार संकलनमा रोक लगाएकोप्रति आपत्ति जनाएका हुन्।


'खुला अवधारणामा आधारित मिनी संसद्को सार्वजनिक चासोको विषयमा आमसञ्चार माध्यमलाई सूचना संकलनमा निषेध गरिनु संविधानप्रदत्त आम सञ्चारको हकलाई संकुचित गर्ने नियत संसदीय समितिमा देखिएको समाजको ठहर छ,' विज्ञप्तिमा लेखिएको छ, 'सञ्चारमाध्यम कानुन निर्माणमा संसद् र नागरिकलाई जोड्ने सेतु पनि हुन्। पारदर्शी र जवाफदेही हुनुपर्ने जननिर्वाचित संस्थाले नै बन्द कोठाभित्रको छलफललाई प्रोत्साहन गर्नु आफैंमा खेदजनकसमेत छ।'

समितिमा राष्ट्रिय अनुसन्धान विभागको गठन, सञ्चालन, सुपरीवेक्षण, सेवाका शर्त, विभागीय कसुर सजायको अनुसन्धान र कारबाहीजस्ता सैद्धान्तिक विषयलाई गम्भीर राष्ट्रिय सुरक्षा र गोप्य विषय मानिनु तथ्यहीन रहेको विज्ञप्तिमा लेखिएको छ। विधेयकमाथिको छलफलमा सञ्चारकर्मीको प्रवेश निषेधलाई विधि निर्माणमा नागरिकले बुझ्न र जान्न पाउने हकविरुद्धको कदम भएको समाजको ठहर छ।

संसदीय समितिहरूले बेला बेला संचारकर्मीहरूलाई विधेयकमाथि भएका छलफलको समाचार संकलनमा रोक लगाउँदै आएका छन्।


प्रकाशित : फाल्गुन १३, २०७६ १७:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×