१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘जोखिम घटाउने मुख्य जिम्मेवारी सर्वसाधारणकै हातमा’

‘लक्षणसहितका संक्रमित बढेर अस्पताल भर्ना गर्नुपर्‍यो भने सम्हाल्न नसकिने स्थिति आउन सक्छ । एकपछि अर्को जटिल अवस्था आउन सक्छ । हामीले सोचेभन्दा खराब स्थिति नआओस् भनेर तयार हुनुपर्छ ।’
फातिमा बानु

काठमाडौँ — कोभिड–१९ संक्रमण नियन्त्रण गर्न जारी गरिएको लकडाउन सरकारले हटाइसकेको छ तर संक्रमित थपिने र ज्यान जाने क्रम निरन्तर छ । काठमाडौं उपत्यकामा पछिल्लो समय लक्षणसहितका संक्रमित धेरै देखिइरहेका छन् । बुधबार मात्रै उपत्यकामा थप १०२ जनामा संक्रमण देखिएको छ ।

‘जोखिम घटाउने मुख्य जिम्मेवारी सर्वसाधारणकै हातमा’

तीव्र रुपमा स‌ंक्रमण बढिरहे मुलुककै राजधानी काठमाडौंसहितका अस्पतालमा भेन्टिलेटर र आईसीयू नपुग्ने अवस्था देखिएको छ । यसै विषयमा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनसँग कान्तिपुरका लागि फातिमा बानुले गरेको कुराकानी :

लकडाउन हटेपछि संक्रमणको जोखिम झन् बढेको हो ?

लकडाउनअघि नेपालमा कोभिड–१९ का संक्रमित २ जना मात्रै थिए । पछिल्लो समय औसत दिनमा डेढ सय जनाका दरले संक्रमित बढिरहेका छन् । संक्रमितको संख्या ओरोला नलाग्दै बिनातयारी लकडाउन हटाइयो । पछिल्लो समय संक्रमणको जोखिम बढेकै हो ।

के कारणले जोखिम बढेको हो ?

लकडाउन गर्दैमा संक्रमण रोकिने भन्ने होइन । संक्रमण फैलिन नदिनका लागि तयारी गर्न र जनमानसलाई यसबारे बुझाउन लकडाउन गरिने हो । सरकारले यसैका लागि १२० दिन लकडाउन गर्‍यो । रोकथामका लागि केही तयारी पनि भए । तर रोकथाम तथा नियन्त्रणका लागि आममानिसले पूरा गर्नुपर्ने जिम्मेवारीमा लापरबाही देखिएको छ । भीडभाडमा भौतिक दूरी कायम गर्ने, मास्क लगाएर हिँड्ने, हात धुनेजस्ता आधारभूत नियम पनि पालना नगरिदिँदा संक्रमणको जोखिम बढेको हो । लकडाउन खुल्यो भन्ने शब्दलाई जनमानसले बुझेकै छैनन् । यसलाई उनीहरूले संक्रमणमुक्त भयौं भन्ने बुझेर मनलाग्दी रूपमा हिँडिरहेका छन् ।

केहीले बुझेर पनि अटेरी गरिरहेका छन् । डराउने, सावधानी अपनाउने समूह पनि छ । पहिले रोग लाग्यो कि मरिन्छ भन्ने डर थियो । अहिले रोग लाग्लाभन्दा पनि रोग लागेपछि समाजले बहिष्कार गर्ला भन्ने डर बढी छ । यो रोगबारे समाजमा जनचेतना पर्याप्त छ तर सावधानीका उपाय व्यवहारमा लागू गर्न अटेरी गर्दा लकडाउन हटेपछि संक्रमणको जोखिम बढेको हो । यस्तै बानी व्यहोरा र चालचलनमा रहने हो भने भोलिका दिनमा समुदायमै संक्रमण फैलिने सम्भावना उच्च छ ।

उसो भए लकडाउन खोल्नै नहुने थियो ?

महामारी नियन्त्रण गर्न लकडाउन अन्तिम उपाय होइन । यो खोल्नैपर्ने थियो । सधैं लकडाउन गर्दा मुलुकमा आर्थिकलगायतका धेरै समस्या आउँछन् । तर लकडाउन गर्ने र खोल्ने दुवै तरिका मिलेन । लकडाउनभर सिकेका कुरा अब व्यवहारमा उतार्नुपर्छ । संक्रमणको झन् जोखिम भएकाले पहिलेभन्दा बढी सावधानी अपनाउनुपर्छ ।

पछिल्ला दिनमा लक्षणसहितका संक्रमित बढेका छन् नि ?

पहिले पीसीआर पोजिटिभ आएका ९९ प्रतिशत संक्रमित लक्षणविहीन हुन्थे । अहिले अस्पतालमा लक्षणसहितका बिरामी आउन थालेका छन् । उनीहरूमा ज्वरो रुघाखोकी, सास फेर्न गाह्रो हुने खालका लक्षण छन् । तर, यो कोभिड–१९ कै लक्षण हो भन्न हतार गर्नु हुँदैन । स्क्रबटाइपस, इन्फ्लुएन्जा, स्वाइनफ्लुलगायत अन्य संक्रामक रोगमा पनि यस्तै लक्षण देखिन्छन् । यी रोगका सर्ने तरिका र बच्ने उपाय पनि उस्तै हुन् । साउन, भदौ फ्लुको मौसम पनि हो । अहिले कोभिड–१९ नभएको भए यस्ता लक्षण लिएर आउने बिरामीलाई हामीले फ्लुकै उपचार गरिरहेका हुन्थ्यौं । कोभिड र गैरकोभिडमा स्वाद र गन्ध थाहा नपाउने लक्षण मात्रै फरक छ । त्यसैले लक्षण नदेखिएकामा अचानक कसरी लक्षण देखिन थाल्यो, कसरी ‘ट्वीस्ट’ आयो भनेर पहिचान गर्न कोभिड–१९ सँगै अन्य फ्लुको पनि परीक्षण गरेर हेर्नुपर्छ अनि मात्रै केही निष्कर्ष निकाल्न सकिन्छ ।

लकडाउन खुलेको अवस्थामा जोखिम कम गर्न जनजीवन कस्तो हुनुपर्छ ?

लकडाउन हटेपछि आममानसको जिम्मेवारी झनै बढेको छ । घरबाहिर आवतजावत धेरै छ, भेटघाट बढेको छ । बजार, रेस्टुरेन्ट र सार्वजनिक यातायात खुला छ । तर सर्वसाधारणले सही तरिकाले सावधानी अपनाइरहेको देखिँदैन । जोखिम न्यूनीकरण गर्ने मुख्य जिम्मेवारी उनीहरूकै हातमा छ । लापरबाही गर्ने हो भने भोलि जे जस्तो नतिजा आउँछ, त्यसको भागीदार उनीहरू नै हुनेछन् । यो महामारी राज्य र जनता दुवैले मिलेर लड्नुपर्ने लडाइँ हो । सावधानीबारे सबैले सुनेका, बढेका र बुझेका छन् । व्यवहारमा लागू गरिदिए ठूलो खतरा हुनबाट बच्न सकिन्छ ।

संक्रमण बढ्यो भने कस्तो खतरा हुन सक्छ ?

लगभग सबै मुलुकमा कोभिड–१९ को संक्रमण फैलिसक्यो । केही मुलुकबाहेक कतै भयावह स्थिति आएको छैन र नेपालमा पनि आउँछ नै भन्ने छैन । हाम्रो देशका अस्पतालको अवस्था र स्वास्थ्य पूर्वाधार कस्तो छ, सबैलाई थाहै छ । भयावह स्थिति आयो भने थेग्न सकिँदैन । उपत्यकामा जनघनत्व बढी छ, आवतजावत बढी छ । त्यसैले जोखिम पनि यहाँ नै बढी छ । संक्रमण बढ्यो भने यहाँका अस्पतालले धान्न सक्छन् जस्तो लाग्दैन ।

लक्षणसहितका संक्रमित बढेर अस्पताल भर्ना गर्नुपर्‍यो भने सम्हाल्न नसकिने स्थिति आउन सक्छ । एकपछि अर्को जटिल अवस्था आउन सक्छ । हामीले सोचेभन्दा खराब स्थिति नआओस् भनेर तयार हुनुपर्छ । सतर्कता अपनाउनुपर्छ । कोभिड–१९ सँगै अहिले अन्य संक्रामक रोग थपिन थालेका छन्, त्यसलाई नजरअन्दाज गर्नु हुँदैन । भाइरसले कुनै पनि बेला रूप फेर्न सक्छ, जटिलता पैदा हुन सक्छ र यो जनस्वास्थ्यकै लागि ठूलो चुनौती खडा हुन सक्छ ।

अन्य मुलुकसँग तुलना गर्दा नेपालमा संक्रमणको स्थिति कस्तो छ ?

अहिलेसम्म अन्य मुलुकको तुलनामा हाम्रो स्थिति खराब छैन । निको भएर गएका संक्रमित फर्केर आएका छैनन् । अन्य मुलुकमा जस्तो कडा रोगी र वृद्धवृद्धाको मृत्युदर यहाँ छैन । वृद्धवृद्धा हुँदैमा मानवीय क्षति हुन्छ भनेरचाहिँ बुझ्नु हुँदैन । उमेर हद नहुनु रोगबाट बच्नु भन्ने होइन । पक्षघात, क्षयरोग या अन्य कडा रोग छ भने युवालाई पनि यो रोगको खतरा उत्तिकै छ ।

नेपालमा मृत्यु भएका संक्रमितको तथ्यांकले पनि यही देखाएको छ । समुदायमा संक्रमण फैलिएको छ, छैन भन्ने अहिले तर्क–वितर्क चलिरहेको छ । अहिलेको संकेत हेर्दा हामी समुदाय संक्रमणको मुखैमा छौं । ठोकुवा गरेर भन्नचाहिँ एकपटक समुदायमा परीक्षण गर्नुपर्छ । संक्रमण फैलिएको क्षेत्रमा, उपत्यका जस्तो मानिस धेरै आवतजावत हुने ठाउँमा परीक्षण गर्न आवश्यक छ । अन्तर्राष्ट्रिय उडान बन्द हुँदासम्म धेरै जोखिम छैन ।

कोभिड–१९ संक्रमणका कारण नेपालमा मृत्युदर कम देखिएको हो ?

हाम्रो देशमा संक्रमण फैलिरहेकाले अहिले नै मृत्युदर कम या धेरै भनेर हिसाब गरिहाल्न मिल्दैन । प्रायः दिनमा एक जना संक्रमितको मृत्यु भइरहेको छ । अन्य मुलुकको तुलनामा मृत्युदर कम नै हो भन्न सकिन्छ । मृत्युदर कम हुनुका धेरै कारण पत्ता लाग्नै बाँकी छ । दक्षिण एसियाली मुलुकमा यो भाइरस कमजोर रूपमा छ पनि भनिएको छ तर यो अनुमान मात्रै हो । यहाँको वातावरण र जीवनशैलीका कारण पनि यो भाइरसले कडा रूपमा असर नगरेको हो कि पनि भन्न सकिन्छ । तर यसको कुनै वैज्ञानिक प्रमाण छैन ।

संक्रमण रोक्न राज्यको प्रणाली कस्तो हुनुपर्छ ?

अहिलेको अवस्थामा सर्वसाधारणले सावधानी अपनाउनु नै मुख्य उपाय हो । परीक्षणको दायरा बढाउनुपर्छ । लक्षणसहितका संक्रमित बढेकाले अस्पतालमा आईसीयू र भेन्टिलेटरको संख्या पनि बढाउन आवश्यक देखिन्छ ।

प्रकाशित : श्रावण २२, २०७७ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?