प्रेमी रामका विचारमा सबै काम राम्रा हुन् । तर, कतिपय काम र सीपलाई हेर्ने मान्छेको नजरिया मात्रै खराब छ ।
What you should know
बुटवल — जुत्ता सिउनेबाहेक मसँग अर्को कुनै सीप छैन । मैले यही सीप र बुटवलको ट्राफिक चोक सडकलाई जीवनका लागि आम्दानीको सपना बनाएँ । अहिले पनि त्यसैमा रमाइरहेको छु । मैले व्यापार सुरु गर्दाको सडक र बुटवल अहिले पूरै फेरिइसक्यो । उमेर र जवानीसँगै मेरो जिन्दगी पनि बिस्तारै यसैले बदलिदियो ।
ट्राफिक चोकमै जुत्ता सिएर छोरालाई पशु डाक्टर बनाएँ । तीन छोरीको बिहेवारी गरिदिएँ । बरियापुरको कचहरिया टोलमा एक मकान बनाएँ । एक घडेरी पनि जोडेको छु । पुग्यो त, सबै खुसी छन् । आफ्नो काम र कमाइबाट म पनि खुसी नै छु ।
मैले व्यवसाय सुरु गर्दा सिंगल रहेको बाटो चार लेन भयो र अहिले ६ लेनमा विस्तार भइरहेको छ । मैले व्यापार सुरु गरेको चोकमा अहिले घन्टामै सयौं गाडी गुड्छन् । सडकको रूप फेरिएको देख्दा अचम्म लाग्छ । बाटोले रूप बदल्यो । त्यही बाटोको चोकले मेरो पनि त जीवन चलाइदियो, अझै पनि चलाइदिन्छ होला नि ! मेरो कर्मको भारी जुत्ता सिलाउने र कर्मथलो सडक हो । नगर प्रहरीले कहिलेकाहीं दुःख दिन्छन् । चल्दासम्म चलाउँदै जान्छु । पाएसम्म यहीं बस्छु । बस्न दिएनन् भने मेरै कमाइले बनाएको कचहरिया टोलकै मकानमा फर्किन्छु ।
१० वर्ष अघिसम्म मजस्तै जुत्ता सिलाउने पेसा गर्ने ट्रफिक चोकमा १६ जना थिए । चोक र बाटोको रूपसँगै समय पनि निकै धेरै फेरियो । सँगै काम गरेका कति साथी फेरिए । कोही लखेटिए । कोहीले पेसा छोडे । मान्छेको फेसन बढ्दो छ । बाटोमा सिलाएर जुत्ता चप्पल लगाउनेहरू नभएपछि जुत्ता सिलाउने पेसा गर्नेहरू घट्दै गएका हुन् । राज्यले पुराना जुत्ता सिलाउने व्यवसायलाई संरक्षण गर्न सकेको छैन । अरू पेसा गर्नेलाई रकम र सीप सिकाएर सहयोग गर्छ । तर, हाम्रो पेसालाई सहयोग गर्दैन । त्यसैले अहिले यो पेसा गर्नेहरू घट्दै गएका छन् ।
२०४४ सालतिर बुटवलको ट्राफिक चोक निकै व्यस्त र मुख्य चोक थियो । त्यसैले मैले यसलाई रोजेँ । मैले यहाँ काम सुरु गर्दा सडकमा बसेर जुत्ताको काम गर्ने कोही पनि थिएनन् । पछि सडक र बस्ती बढ्दै गएपछि थपिंदै गए । उतिबेला सडक सानो थियो । जम्मा दुईवटा गाडी चल्थे । एउटा जान्थ्यो, अर्को आउँथ्यो । मान्छे धेरै पैदल हिँड्थे, एक जोर जुत्ता तीन–चार पटक सिलाएर दुई वर्षसम्म चलाउँथे । अहिले त्यस्तो छैन हजुर । मान्छेले महिनैपिच्छे नयाँ किन्छ र पुरानो फाल्दिन्छ । सिलाएर/बनाएर लगाउने जमाना नै हरायो । ३८ वर्षअघि एक दिनमा १० जना ग्राहकबाट एक सय रुपैयाँ कमाइ हुने गरे पनि अहिले त्यस्तो छैन ।
बाराको महागढीमाई नगरपालिका–१, बरियापुर कचहरिया टोलबाट ३८ वर्षअघि यहाँ आएको हुँ । त्यतिबेला २९ वर्षको थिएँ । दुई छोरा र श्रीमती भागमती देवीलाई लिएर २०४४ सालमा बुटवल आएको थिएँ । यहाँ आउँदा मेरै बुबाले सिकाएको जुत्ता सिलाउने सीपबाहेक केही थाहा थिएन । अहिले पनि यसबाहेक खासै केही आउँदैन । केही समय मजदुरी गरेँ । तर, गुजारा चलेन । त्यसपछि बुटवलको मुख्य ट्राफिक चोकमा बुबाले सिकाएकै पेसा जुत्ता सिलाउने काम गरिरहेको छु । अहिले ६८ वर्षको भएँ । ट्राफिक चोकमा यो व्यवसाय सुरु गरेको पनि ३७ वर्ष भयो ।
बिहान ८ बजे खाना खान्छु र डेराबाट ट्राफिक चोकमा आउँछु । सामान फिजाउँछु र ग्राहकको सेवा सुरु गर्छु । मैले दिनमा एक हजारदेखि २ हजार कमाउनै पर्छ । बिहान त्यही सोचेर डेराबाट निस्किन्छु । किनकि, मैले दिनको २ सय रुपैयाँ डेराभाडा तिर्नैपर्छ । २ सयजति जुत्ताका सामानमा खर्च हुन्छ । चामल, तरकारी, चिया, खाना, ग्यास, बिजुली, पानीमा दैनिक ८ सय रुपैयाँसम्म खर्च हुन्छ । श्रीमती, छोराछोरी वा अरू कोही पाहुन आए भने अझै बढी खर्च हुन्छ । अहिले डेरामा म एक्लै छु । त्यसैले ७/८ सय रुपैयाँले खाना खर्च पुग्छ । २ हजार कमाउँदा १ हजार नै बचत हुन्छ । नभए ६ देखि ८ सय रुपैयाँ सधैं बचत हुन्छ ।
बचत गरेको रकम बरियापुरमा घरखर्चका लागि पठाउनु पर्छ । त्यहाँ श्रीमतीले घर धानेर बसेकी छन् । छोराले डाक्टरी (पशु प्राविधिक) पढेर सानोतिनो पसल गरेको छ । तर, धेरै चल्दैन । त्यसैले मैले यतैबाट पैसा पठाउनु पर्छ । दुई छोरीको विवाह भएको छ । बिहेको ऋण तिर्न बाँकी छ । घरमा पनि हर महिना २०/२५ हजार रुपैयाँ खर्च हुन्छ । त्यसैले सक्दासम्म यही काम गर्छु । नसक्दाको दिन फर्केर बरियापुर नै जाने सोचिरहेको छु ।
अहिले पनि आफ्नो सीपमा रमाएकै छु । कमाएको रकमलाई बचाउन पनि सिकियो भने अरूको आशा र कुनै चिन्ता गर्नु पर्दैन । खुसी आफैंभित्र हुन्छ । आफ्नै कमाइले दिने जस्तो खुसी अरुले सित्तैँमा दिएकामा मिल्दैन । थोरै कमाए पनि बचाउन सिक्नुपर्छ । मैले छोराछोरीलाई पनि त्यही नै भन्छु, 'थोरै कमाएर केही हुँदैन, बचाउन सिक, आफ्नै पौरखमा रमाएपछि मात्र धेरै बाँचिन्छ ।' सबै काम राम्रा हुन् । तर, कतिपय काम र सीपलाई हेर्ने अहिलेको मान्छेको नजरिया मात्रै खराब छ ।
प्रस्तुति : घनश्याम गौतम
