‘बाढीले घर बगेदेखि श्रीमान्–श्रीमती अगल–अलग बस्दै आएका छौं’

प्यूठानका लीलाबहादुर नेपाली बिहानको खाना नियमित खान्छन्, साँझको भर हुँदैन । कमाइ भएको दिन खाना खाएर सुत्छन्, कमाइ नभएका दिन भोकभोकै ।

भाद्र २, २०८२

लीलाबहादुर नेपाली

”Since the house was swept away by the flood, the husband and wife have been living separately”

What you should know

प्यूठान — पसिना र आँसुको कुनै मूल्य छैन । कसैले लेखाजोखा पनि गर्दैनन् । वैंश रहुन्जेल भारतका विभिन्न ठाउँमा जुठा भाँडा माझेरै बित्यो । त्यहाँको कमाइले खासै केही गर्न सकिएन । जीवनमा केही गर्न मन नभएको भने होइन । तर, गतिलो कमाइ नभएपछि यो गर्छु, त्यो गर्छु भनेर पनि नहुने रहेछ ।

अहिले ७० वर्षको भएँ । ३७ वर्ष त भारतमा काम गरेर बिताएँ । भारतमा गरेको दुःखले तीन छोरा र एउटी छोरीलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउन सकेँ । अहिले चार छोराछोरी आ–आफ्नो परिवारका साथ छन् । भारतमा लामो समय बसेर फर्किएपछि जुत्ता सिलाउने काम सुरु गरेँ । प्यूठान नगरपालिका–९ मजुवामा मेरो जुत्ता पसल छ । यो काम गर्न थालेको पनि १२ वर्ष भयो । 

अहिले मजुवाको सडक छेउमा सानो काठको खोका भाडामा लिएर पसल चलाएको छु । काठको घुम्टीको पनि महिनामा दुई सय भाडा तिर्नुपर्छ । नयाँ बनाउने होइन, पुराना फाटेका जुत्ताचप्पल सिलाउने गर्छु । एक जोर जुत्ता सिलाएबापत ८० रुपैयाँ कमाइ हुन्छ । दिनमा दुई–तीन जोर जुत्ता सिलाउँछु । एक दिनको कमाइ दुई/ढाई सय रुपैयाँमात्रै हो । 

जुत्ता–चप्पल सिलाएको पैसाले एक छाक पनि राम्रोसँग खान पुग्दैन । एक गाँस मिठो खाउँ भने पनि तीन सय रुपैयाँ पर्छ । कमाइभन्दा खर्च धेरै छ । धन्न सरकारले भत्ता दिएको छ र जीवन चलेको छ । नत्र भोकै मरिन्थ्यो होला । १२ वर्षकै उमेरमा भारत जानु पर्‍यो । घरको जेठो छोरा भएकाले परिवारको जिम्मेवारी चाँडै मेरो थाप्लोमा आइलाग्यो । म ४/५ वर्षको हुँदै बुवा बित्नु भएको हो रे ! भारतमा धेरै वर्ष जुठा भाँडा माझेपछि बल्ल कोठीमा काम मिलेको थियो । भारतको कमाइले छोराछोरीलाई दुई–चार कक्षा पढाएँ । बुढादेवीमा थोरै धान फल्ने खेत किनेँ । 

सुरुसुरुमा जुत्ता पसल राम्रै चल्थ्यो । घरखर्च पुग्थ्यो । दिनमा पाँच सय रुपैयाँसम्म कमाइ हुन्थ्यो । श्रीमती र छोराछोरी खुसीसाथ बसेका थियौं । ११ वर्षअघि श्रीमती आँखा नदेख्ने भइन् । उपचारका लागि बुटवल र भैरहवा लगायत धेरै ठाउँ डुलाएँ । खर्च लाग्यो तर निको भएन । त्यहीँबाट ऋण लाग्न सुरु भयो । पछि ऋणधन गरेर बुढादेवीमा एक तले घर बनाएको छु । त्यही घर पनि बाढीले बगाइदियो । घर बगेदेखि श्रीमती र म अगल–अलग बस्दै आएका छौं ।

दिनभरि पसलमा काम गरेपछि साँझ घर जान्थेँ । श्रीमान् श्रीमती सँगसँगै बस्थ्यौं । तर डेढ वर्षअघि भुसवाङ खोलामा आएको बाढीले घर पुरिदियो । श्रीमती गाउँमा जेठो छोरासँग बस्छिन् । म त यही खोका पसलमै रात बिताउँछु । दिनभरि काम गर्छु, साँझ परेपछि यही कुनामा पल्टिन्छु । खाना बनाउने चुल्हो केही राखेको छैन । यताउति गरेर पेट पालेको छु । कमाइ हुँदा पैसा तिरेर खान्छु, नत्र भत्ता आएपछि तिरौंला भनी पेट पाल्ने गरेको छु । वर्षौंदेखि यहीँ बसेकाले पनि साहुले उधारो पत्याउँछन् । बिहानको खाना नियमित खान्छु, साँझको भर हुँदैन । कमाइ भएको दिन खाना खाएर सुत्छु, कमाइ नभएका दिन भोकै सुत्नुपर्छ । मेरो घर, डेरा, पसल जे भने पनि खोका हो ।

बुढेसकालमा श्रीमान् श्रीमती अलग्गिएर बस्नु पर्दा निकै मन रुन्छ । जीवनकै एक मात्र सपना त्यही एउटा घर थियो । त्यहीँ पनि बाढी पसेको देख्दा मन छियाछिया हुन्छ । बाढीसँगै आएको भेलले घर भरिएको छ । सरकारले बाढी पसेको घर सोरिदिँदैन, मेरो सोहोर्ने क्षमता छैन । घर छेउमै खोला बग्दा समेत केही गर्न नसकेकामा आफ्नै जीवन देखेर धिक्कार लाग्छ । परिवारका सदस्य सँगै नहुँदाको पीडा त मनमा छँदै छ । दुःखसुखमा साथ दिने जीवनसंगिनीसँग पनि अलग बस्नु परेको छ । योभन्दा पीडा के हुन्छ ! 

दिनभरि मन थामेरै काम गर्छु । बुढेसकाल लागेर होला दिनभरिको कामले साँझ निकै थकाइ महसुस हुन्छ । बुढेसकाल लागेपछि यही जुत्ता सिलाउन पनि गाह्रो हुँदै गएको छ । दिनभरि काम गरे साँझ हातकुम दुख्छन् । कहिलेकाहीँ त अर्को दिनसम्म पनि दुखाइ हराउँदैन । तर दुखाइ भए पनि पापी पेटका लागि संघर्ष गर्न छोडेको छैन । 

बेलुका भएपछि श्रीमती, छोराछोरी र बाढीले पुरेको घर सम्झिन्छु, आँखाबाट आँसु झर्छन् । दुःख कसैलाई देखाउँदिनँ । धेरैलाई घरबारविहीन भएर बसेको थाहा छ । तर मनमा परेको पीडा कसलाई सुनाउनू ? बरु पसल बन्द गरेपछि एक्लै रुन्छु । आफैंलाई आफैंले सम्हाल्छु । मैले पिर बिसाउने ठाउँ नै पाइनँ । जहिल्यै दुःखमात्रै झेलिरहेँ । 

दमको बिरामी भएको वर्षौं भयो । डाक्टरले औषधि चलाउनु पर्छ भनेका छन् । तर अहिलेसम्म औषधि खाएको छैन । जुत्ता सिलाएको पैसाले एक छाक खान पुग्दैन । औषधि कसरी किन्नू ! यताउता हिँड्यो भने सास बढ्छ, दुई पाइला पनि हिँड्न मुस्किल पर्छ । जीवन दुःख गर्दागर्दै बित्ने बेला भयो । अहिले खासै केही गरौं भन्ने जाँगर छैन । सानैदेखि दुःखमा हुर्किएकाले दुःख धेरै भोगियो, सुखको अनुभूति नै भएन । अब त बाँच्दासम्म श्रीमतीसँगै बसेर एक गाँस खान पाए हुन्थ्यो भन्ने मात्रै छ । 

हरेक दिन भगवान् सम्झिन्छु । प्रार्थना गर्छु । मर्ने बेला बुढाबुढी सँगै मर्न पाऊँ भन्छु । कहिलेकाहीँ श्रीमतीलाई भेट्न जान्छु । भेट्न जाँदा केही मिठा खानेकुरा लगिदिन मन लाग्छ । तर पैसै हुँदैन । भत्ता बुझेको बेला श्रीमतीलाई जहिल्यै खानेकुरा किनिदिन्छु र भेट्न जान्छु । अरू बेला त्यता हतपति जानै मन लाग्दैन । किनभने, बाढीले पुरेको घर त्यही बाटोमै पर्छ । जीवनको लामो समय ओत दिएको र अहिले बाढीले पुरिएको त्यो घर यी आँखाले हेर्नै सक्दैनन् । 

प्रस्तुति : शमशेरविक्रम जीसी 

लीलाबहादुर

Link copied successfully