आर्थिक अवस्था कमजोर हुँदा उच्च शिक्षा पढ्न नसकेकी युवतीले गाउँमै फोटो स्टुडियो सञ्चालन गर्दै समाजमा बालविवाहविरुद्ध अभियान चलाइरहेकी छन्।
What you should know
कालीकोट — घरमा खाने मुख धेरै, परिवारको आयस्रोत थोरै । घर चलाउनकै लागि बुवा र दाइ मजदुरीका लागि भारत जानुपर्ने बाध्यता थियो मेरो घरमा । बुबाआमा, भाइबहिनी, दाजुभाउजू, काकाकाकी, मसहित १० जनाको परिवार छ । खेतबारीको उत्पादनले पाँच महिना खान पुग्छ । बाँकी समय खाद्यान्न किन्नुपर्छ । भाइबहिनी पढाउनै पर्यो । बुवालाई परिवारको लालनपालन र शिक्षादिक्षाको बोझ छ । पढ्नलाई कापीकलम, झोला, ड्रेस जुटाउनै मुस्किल छ ।
जेनतेन मैले कानुन संकायबाट १२ पास गरेँ । प्लस टू पढ्न पनि दैनिक ३ घंण्टा हिँडेर छिमेकी पालिका रास्कोटस्थित कालाशिल्ला मावि पुग्थेँ । १२ पास गरेपछि उच्च शिक्षा पढ्न जिल्लाबाहिर जाने इच्छा भए पनि आयस्रोत नहुँदा गाउँमै रोकिएँ ।
घरको आर्थिक अवस्था कमजोर भएकाले उच्चशिक्षा पढ्न नसकेर दुई वर्ष घरमै बसेँ । घरमा बस्दा भैंसीलाई घाँस काट्ने, घरको रेखदेख गर्ने काममा व्यस्त रहेँ । दुई वर्षअघि गाउँका विपन्न युवा महिलाका लागि खुलेको फोटो स्टुडियो तालिमको अवसरले मेरो जीवनमा नयाँ मोड ल्यायो ।
०८० को फागुनमा सान्नीत्रिवेणी गाउँपालिकामा प्लानर किर्डाक नेपालको साझेदारीमा संचालित सशक्त बालिका परियोजनाअर्न्तगत युवा स्वरोजगार उद्यमशीलता तालिममा छनोट भएँ । तालिमको लक्ष्य मजस्ता बेरोजगार युवालाई सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्ने र बालविवाह पनि रोक्ने रहेछ । मेरो गाउँमा फोटो खिच्न सदरमुकाम मान्म वा छिमेकी रास्कोट नगरपालिका पुग्नुपर्ने बाध्यता रहेकाले व्यवसाय चल्छ भन्ने लाग्यो । त्यही रोजेँ । मेहेलमुडीमा तालिम लिएँ । तीनमहिने आवासीय तालिममा कम्प्युटर र फोटो स्टुडियोसम्बन्धी सीपसहित आम्दानी र खर्चको हिसाब राख्न पनि सिकेँ ।
०८१ को वैशाखदेखि असारसम्म चलेको ३ सय ९० घण्टे तालिम लिएपछि साउनबाट आफ्नै घरमा फोटो स्टुडियो संचालन गरेँ । तालिममा सीप सिकाएपछि आयोजक संस्थाले नै कम्प्युटर, प्रिन्टर, मसी, प्रिन्ट पेपरसहित ७१ हजार ९ सयको सामग्री दिएको छ । वडा कार्यालयनजिकैको आफ्नै घरमा स्टुडियो चलाएकी छु ।
फोटो खिच्ने क्यामेरा छैन । मोबाइलबाट खिचेको फोटो कम्प्युटरबाट प्रिन्ट गर्दा एकप्रतिको २० रुपैयाँका दरले लिने गर्छु । घरमै बसेर दैनिक २ देखि ३ सय रुपैयाँ कमाइ हुन्छ । वैशाखमा विद्यार्थी भर्ना, असार साउनमा सामाजिक सुरक्षा अद्यावधिक गर्ने समयमा राम्रै आम्दानी हुन्छ । यही कमाइबाट घरखर्च चलाउन र आफूलाई चाहिने सामान किन्न पुगेको छ ।
म बेरोजगार हुँदा बिहेको सल्लाह दिनेहरू अचेल व्यवसायी बनेपछि स्याबासी दिन्छन् । कमाइ नभएपछि सबैले हेप्ने रहेछन् । अचेल त बिहेको दबाब पनि छैन । मेरो गाउँमा सानैमा बिहे गर्ने चलन अझै छ । ‘बिहेबारी २० वर्षपारि’ भन्ने नारा र प्रचारले पहिलेजस्तो बिहे गर्दा जन्ती, बाजागाजा, भोजभतेरको चलन हटे पनि अभिभावकको मिलेमतोमा लिभिङ टू गेदरमा बस्ने चलन बढेको छ । जात र घरको आर्थिक अवस्था मिलेन भने मात्र बालविवाह भयो भनेर उजुरी गर्छन्, नत्र तैं चुप मै चुप । त्यही भएर गाउँमा बालविवाह घट्न सकेको छैन ।
मेरो बुझाइमा उच्चशिक्षाको अवसर नहुनु, छोरीलाई बोझका रूपमा लिनु र गरिबीले बालविवाह हुने गर्छ । गाउँमा मेरो उमेरका सबै साथीहरूको बिहे भइसक्यो । मलाई पनि बिहे गर्न दबाब नआएको होइन । बिहेभन्दा आफ्नो खुट्टामा उभिन सके दुःख पाइँदैन भन्ने लागेर बिहे गरिनँ । अरूलाई पनि २० वर्ष नपुगी बिहे गरे दुःख पाइन्छ भनेर सम्झाउने गरेकी छु । त्यही भएर गतवर्ष वडा कार्यालयले बालविवाह निषेधित घोषणा सभामा मलाई सम्मान गर्यो ।
समाजमा हुने सबैखाले हिंसा, विभेदविरुद्ध आवाज उठाउन कानुन विषयमा १२ पास गरे पनि शिक्षक बन्ने मेरो धोको छ । त्यही पूरा गर्न शिक्षा संकायमा अचेल गाउँको डाफे मावि मुम्रामा १२ कक्षामा पढ्दै छु, जहाँबाट एसईई गरेकी थिएँ । घरमा फोटो खिच्न आउनेलाई सेवा पनि दिएकै छु । कानुनमा १२ पास गरेपछि आयश्रोत नहुँदा उच्चशिक्षा पढ्न टाढा जान सकिएन । बेरोजगार भएर घरमा बस्दा विवाहको कुरा चल्यो । आफ्नो खुट्टामा उभिन सक्ने भएमात्र बिहे गर्ने अठोटसहित उद्यमशीलतातर्फ लागेँ । अचेल गाउँमा बालविवाहविरुद्धकी अभियन्ताका रूपमा चिनिएकी छु ।
गाउँमै फोटो खिच्ने सुविधा पाएपछि सान्नीत्रिवेणी–७ क्युरीका स्थानीय खुसी छन् । पहिले पैसा खर्च गरेर टाढा जानुपर्थ्यो । क्युरी गाउँमा मैले संचालन गरेको फोटो स्टुडियोमा नागरिकताको सिफारिस, छोराछोरीको जन्मदर्ता, विवाहदर्ता, पोषण भत्ता र विद्यालयमा छोराछोरी भर्ना गर्न चाहिने फोटो खिच्ने सुविधा छ ।
फोटो खिच्नकै लागि मान्म आउनजानमात्र ३ हजार खर्च गर्ने गाउँबासीलाई एक सय रुपैयाँमा ४/५ वटा बेच्छु । गाउँलेका लागि सुविधा र मेरा लागि आम्दानीको स्रोत । सबै खुसी ।
मेरो फोटो स्टुडियोले फोटोसहित विद्यालय भर्ना गर्न र इमिस अपडेट गर्न पनि सहज भएको छ । गाउँमै फोटो स्टुडियो हुँदा वडाका सबै बालबालिकाको अचेल ३५ दिनभित्र जन्मदर्ता हुने गरेको छ । फोटो स्टुडियोबाट घरखर्च चलाउन परिवारलाई सहयोग पुगेकामा खुसी छु । कमाइ मुख्य होइन, कहिले धेरै हुन्छ, कहिले थोरै । उद्यमीको सम्मान पाएकी छु, त्यसैमा खुसी छु ।
प्रस्तुति : तुलाराम पाण्डे
