‘फोटो स्टुडियो चलाएपछि घाँस काट्नु परेको छैन’

आर्थिक अवस्था कमजोर हुँदा उच्च शिक्षा पढ्न नसकेकी युवतीले गाउँमै फोटो स्टुडियो सञ्चालन गर्दै समाजमा बालविवाहविरुद्ध अभियान चलाइरहेकी छन्।

श्रावण ३१, २०८२

सावित्रा सिम्खाडा 

”After running a photo studio, I don't have to mow the grass”

What you should know

कालीकोट — घरमा खाने मुख धेरै, परिवारको आयस्रोत थोरै । घर चलाउनकै लागि बुवा र दाइ मजदुरीका लागि भारत जानुपर्ने बाध्यता थियो मेरो घरमा । बुबाआमा, भाइबहिनी, दाजुभाउजू, काकाकाकी, मसहित १० जनाको परिवार छ । खेतबारीको उत्पादनले पाँच महिना खान पुग्छ । बाँकी समय खाद्यान्न किन्नुपर्छ । भाइबहिनी पढाउनै पर्‍यो । बुवालाई परिवारको लालनपालन र शिक्षादिक्षाको बोझ छ । पढ्नलाई कापीकलम, झोला, ड्रेस जुटाउनै मुस्किल छ ।

जेनतेन मैले कानुन संकायबाट १२ पास गरेँ । प्लस टू पढ्न पनि दैनिक ३ घंण्टा हिँडेर छिमेकी पालिका रास्कोटस्थित कालाशिल्ला मावि पुग्थेँ । १२ पास गरेपछि उच्च शिक्षा पढ्न जिल्लाबाहिर जाने इच्छा भए पनि आयस्रोत नहुँदा गाउँमै रोकिएँ । 

घरको आर्थिक अवस्था कमजोर भएकाले उच्चशिक्षा पढ्न नसकेर दुई वर्ष घरमै बसेँ । घरमा बस्दा भैंसीलाई घाँस काट्ने, घरको रेखदेख गर्ने काममा व्यस्त रहेँ । दुई वर्षअघि गाउँका विपन्न युवा महिलाका लागि खुलेको फोटो स्टुडियो तालिमको अवसरले मेरो जीवनमा नयाँ मोड ल्यायो । 

०८० को फागुनमा सान्नीत्रिवेणी गाउँपालिकामा प्लानर किर्डाक नेपालको साझेदारीमा संचालित सशक्त बालिका परियोजनाअर्न्तगत युवा स्वरोजगार उद्यमशीलता तालिममा छनोट भएँ । तालिमको लक्ष्य मजस्ता बेरोजगार युवालाई सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्ने र बालविवाह पनि रोक्ने रहेछ । मेरो गाउँमा फोटो खिच्न सदरमुकाम मान्म वा छिमेकी रास्कोट नगरपालिका पुग्नुपर्ने बाध्यता रहेकाले व्यवसाय चल्छ भन्ने लाग्यो । त्यही रोजेँ । मेहेलमुडीमा तालिम लिएँ । तीनमहिने आवासीय तालिममा कम्प्युटर र फोटो स्टुडियोसम्बन्धी सीपसहित आम्दानी र खर्चको हिसाब राख्न पनि सिकेँ । 

०८१ को वैशाखदेखि असारसम्म चलेको ३ सय ९० घण्टे तालिम लिएपछि साउनबाट आफ्नै घरमा फोटो स्टुडियो संचालन गरेँ । तालिममा सीप सिकाएपछि आयोजक संस्थाले नै कम्प्युटर, प्रिन्टर, मसी, प्रिन्ट पेपरसहित ७१ हजार ९ सयको सामग्री दिएको छ । वडा कार्यालयनजिकैको आफ्नै घरमा स्टुडियो चलाएकी छु ।

फोटो खिच्ने क्यामेरा छैन । मोबाइलबाट खिचेको फोटो कम्प्युटरबाट प्रिन्ट गर्दा एकप्रतिको २० रुपैयाँका दरले लिने गर्छु । घरमै बसेर दैनिक २ देखि ३ सय रुपैयाँ कमाइ हुन्छ । वैशाखमा विद्यार्थी भर्ना, असार साउनमा सामाजिक सुरक्षा अद्यावधिक गर्ने समयमा राम्रै आम्दानी हुन्छ । यही कमाइबाट घरखर्च चलाउन र आफूलाई चाहिने सामान किन्न पुगेको छ । 

म बेरोजगार हुँदा बिहेको सल्लाह दिनेहरू अचेल व्यवसायी बनेपछि स्याबासी दिन्छन् । कमाइ नभएपछि सबैले हेप्ने रहेछन् । अचेल त बिहेको दबाब पनि छैन । मेरो गाउँमा सानैमा बिहे गर्ने चलन अझै छ । ‘बिहेबारी २० वर्षपारि’ भन्ने नारा र प्रचारले पहिलेजस्तो बिहे गर्दा जन्ती, बाजागाजा, भोजभतेरको चलन हटे पनि अभिभावकको मिलेमतोमा लिभिङ टू गेदरमा बस्ने चलन बढेको छ । जात र घरको आर्थिक अवस्था मिलेन भने मात्र बालविवाह भयो भनेर उजुरी गर्छन्, नत्र तैं चुप मै चुप । त्यही भएर गाउँमा बालविवाह घट्न सकेको छैन । 

मेरो बुझाइमा उच्चशिक्षाको अवसर नहुनु, छोरीलाई बोझका रूपमा लिनु र गरिबीले बालविवाह हुने गर्छ । गाउँमा मेरो उमेरका सबै साथीहरूको बिहे भइसक्यो । मलाई पनि बिहे गर्न दबाब नआएको होइन । बिहेभन्दा आफ्नो खुट्टामा उभिन सके दुःख पाइँदैन भन्ने लागेर बिहे गरिनँ । अरूलाई पनि २० वर्ष नपुगी बिहे गरे दुःख पाइन्छ भनेर सम्झाउने गरेकी छु । त्यही भएर गतवर्ष वडा कार्यालयले बालविवाह निषेधित घोषणा सभामा मलाई सम्मान गर्‍यो । 

समाजमा हुने सबैखाले हिंसा, विभेदविरुद्ध आवाज उठाउन कानुन विषयमा १२ पास गरे पनि शिक्षक बन्ने मेरो धोको छ । त्यही पूरा गर्न शिक्षा संकायमा अचेल गाउँको डाफे मावि मुम्रामा १२ कक्षामा पढ्दै छु, जहाँबाट एसईई गरेकी थिएँ । घरमा फोटो खिच्न आउनेलाई सेवा पनि दिएकै छु । कानुनमा १२ पास गरेपछि आयश्रोत नहुँदा उच्चशिक्षा पढ्न टाढा जान सकिएन । बेरोजगार भएर घरमा बस्दा विवाहको कुरा चल्यो । आफ्नो खुट्टामा उभिन सक्ने भएमात्र बिहे गर्ने अठोटसहित उद्यमशीलतातर्फ लागेँ । अचेल गाउँमा बालविवाहविरुद्धकी अभियन्ताका रूपमा चिनिएकी छु । 

गाउँमै फोटो खिच्ने सुविधा पाएपछि सान्नीत्रिवेणी–७ क्युरीका स्थानीय खुसी छन् । पहिले पैसा खर्च गरेर टाढा जानुपर्थ्यो । क्युरी गाउँमा मैले संचालन गरेको फोटो स्टुडियोमा नागरिकताको सिफारिस, छोराछोरीको जन्मदर्ता, विवाहदर्ता, पोषण भत्ता र विद्यालयमा छोराछोरी भर्ना गर्न चाहिने फोटो खिच्ने सुविधा छ ।

फोटो खिच्नकै लागि मान्म आउनजानमात्र ३ हजार खर्च गर्ने गाउँबासीलाई एक सय रुपैयाँमा ४/५ वटा बेच्छु । गाउँलेका लागि सुविधा र मेरा लागि आम्दानीको स्रोत । सबै खुसी । 

मेरो फोटो स्टुडियोले फोटोसहित विद्यालय भर्ना गर्न र इमिस अपडेट गर्न पनि सहज भएको छ । गाउँमै फोटो स्टुडियो हुँदा वडाका सबै बालबालिकाको अचेल ३५ दिनभित्र जन्मदर्ता हुने गरेको छ । फोटो स्टुडियोबाट घरखर्च चलाउन परिवारलाई सहयोग पुगेकामा खुसी छु । कमाइ मुख्य होइन, कहिले धेरै हुन्छ, कहिले थोरै । उद्यमीको सम्मान पाएकी छु, त्यसैमा खुसी छु ।

प्रस्तुति : तुलाराम पाण्डे

सावित्रा सिम्खाडा 

Link copied successfully