‘आमा ! आज भुटेको चिउरा बनाइदिनूस्,’ छोरीले कहिलेकाहीँ भन्छे । यस्तो बेला श्रीमती लजाउँदै भन्छिन्, ‘चिउरा त छ तर तेल सकिएको छ ।’
What you should know
विराटनगर — कान्छो छोरो बिहानै झोलामा किताब राख्दै ‘बाबा, ट्युसनको पैसा तिर्ने दिन भैसक्यो है,’ भन्दै थियो । मैले उसको अनुहार हेरेँ । आँखामा लाजको हल्का छाया देखिन्थ्यो । उसको मनोबल किन खस्कियो भन्ने मलाई थाहा छ ।
हरेक महिना यस्तै दिन आउँछ अनि मैले उसको झोलामा पैसा राखिदिनु पर्छ । यसपटक खल्तीमा तीन सय मात्र थियो । ट्युसनको शुल्क पाँच सय छ । ‘छोरो दिउँसोसम्म कमाइ भए अरु २ सय थपिदिउँला है’ भनेर मैले पनि मुस्कुराउने कोसिस गरेँ । तर त्यो मुस्कान आफैंलाई झूटो लाग्यो ।
म विराटनगर महानगरपालिका–५ मा बस्छु । महानगरभित्रको सानो टोलमा हाम्रो सानै घर छ । फुसको छानो, साँघुरो कोठा अनि घरको अगाडि एक मिटरको खुला आँगन । आँगनमा बिहानको घाम पर्छ, त्यही घाममा छलिँदै श्रीमती भाँडा माझ्छिन् ।
म यसरी सडकमा ठेला गुडाउँदै हिँडेको दुई वर्षजति भयो । त्यसअघि एउटा कारखानामा काम गर्थें । बिहान सातदेखि बेलुकी सात बजेसम्म पसिना बगाउँथेँ । मालिकले ‘तलब १५ हजार’ दिन्छु भनेका थिए । तर, महिनाको अन्त्यमा १२ हजार रुपैयाँ मात्रै हात लाग्यो । त्यो पनि कहिल्यै समयमा मिल्थेन । धेरै महिना यस्तै आपत् सहेपछि अन्ततः जागिरै छाडेँ ।
अर्कालाई मालिक बनाउनु भन्दा आफैं मालिक बन्छु भनेर सडकमा तरकारी बेच्न सुरु गरेँ । तरकारी व्यापार सुरु गर्ने पैसा पनि साथमा थिएन । छिमेकीसँग चर्को व्याजमा ऋण लिएर व्यापार सुरु गरेँ । ‘काम छाडेर के गर्ने ?’ श्रीमतीले त्यो दिन डराएको स्वरमा सोधिन् । मैले ‘सडकमा व्यापार गर्छु’ भनेँ । अर्कालाई पोस्नुभन्दा आफैं कमाउँछु, खान्छु भनेपछि उनले चित्त बुझाइन् ।
आजको दिनमा मेरो र जेठो छोराको कमाइ जम्मा गरेर महिनामा ३० हजारजति हुन्छ । जेठो छोराले स्टिल उद्योगमा काम गर्छ । बिहानदेखि बेलुकीसम्म घोटिन्छ । मेरो जस्तै उसको हात पनि रुखो भइसकेको छ । घरखर्च जति घटाउन खोजे पनि घट्दैन । छोरी ११ कक्षामा पढ्छे । ट्युसन, किताब, पोसाक सबैमा खर्च छ । कान्छो छोरो ९ कक्षामा, उसको पनि उस्तै खर्च । सरकारी विद्यालय हो तर पढाइ राम्रो गराउन ट्युसन अनिवार्यजस्तै छ ।
हामीले खाने चिज बजारबाटै किन्ने हो । सागसब्जी, सातु, चामल, दाल, नुन, तेल सबै किन्छौं । गाउँमा जस्तो खेतबारी छैन । अर्काले उब्जनी गरेको तरकारी महँगो मूल्यमा किन्नु परेको छ । ‘आमा ! आज भुटेको चिउरा बनाइदिनूस्,’ छोरीले कहिलेकाहीँ भन्छे । यस्तो बेला श्रीमती लजाउँदै भन्छिन्, ‘चिउरा त छ तर तेल सकिएको छ ।’
कहिलेकाहीँ एक दिनको सबै व्यापार छोडेर परिवारलाई पार्कमा घुमाउन लैजान मन लाग्छ । डुलिसकेपछि रेस्टुरेन्ट छिरेर मिठोमसिनो खाउँजस्तो लाग्छ । तर, सोचेजस्तो नहुने रहेछ जिन्दगी । एक दिन नकमाउँदा भोलि हातमुख कसरी जोड्ने भन्ने समस्या हुन्छ । हाम्रा लागि घुम्ने, रमाउने कुरा त सपनाजस्तै हुन्छ ।
पछिल्लो होलीमा कान्छोले भन्यो, ‘बाबा ! मलाई नयाँ टि–सर्ट ल्याइदिनूस् न, साथीहरूसँग पुरानै लगाउँदा लाज लाग्छ ।’ मैले उसको निधारमा हात राख्दै ‘अब दिपावलीमा ल्याइदिन्छु है’ भनेँ । त्यो दिन मलाई साह्रै अपसोच पनि लाग्यो । छोराको रहर पनि पूरा गर्न सकिनँ भन्ने भयो । उसको अनुहारमा प्रस्ट देखिएको निरासाको रेखाले मन भतभती पोल्यो ।
बेलुकी भात खाइसकेपछि छोराछोरीले पढ्ने कोठामा किताब खोल्छन्, म भने भोलिको व्यापारका लागि टोकरी सफा गर्छु । श्रीमती सोध्छिन्, ‘ठूलो घर बनाउने तपार्इंको सपना अझै छ ?’ म मन्द मुस्कान दिन्छु । अनि भन्छु, ‘सपना देख्न छाडियो भने बाँच्नु बेकार हो ।’
सडकमा ठेला गुडाउँदै हिँड्दा कहिलेकाहीँ हावाले रुमाल उडाउन सक्छ, तर मेरो मनको बोझ उडाउन सक्दैन । बिहान सात बजे घरबाट निस्किन्छु, विभिन्न गल्ली–चोक घुम्छु । कहिले बजारमा राम्रो बिक्री हुन्छ, कहिले ठेलाभरि सामान लिएर साँझ घर फर्किनुपर्छ । ‘आज बिक्रीबट्टा कस्तो भयो ?’ श्रीमतीको पहिलो प्रश्न यही हुन्छ । ‘ठीकै, आज पाँच सय नाफा भयो भनेर झूट बोल्छु । तर कहिलेकाहीँ त्यो पनि हुँदैन ।’
एक दिन यस्तै भयो । पूरा दिन पसल लगाएँ । तर बिहानदेखि ओइरिएको आरी घोप्टे वर्षा साँझसम्मै जारी रह्यो । ग्राहकका नाममा चरोमुसो कोही आएनन् । साँझ ठेला तानेर घर पुगेको मात्रै थिएँ, कोठाभित्रबाट मसिनो आवाज आयो, ‘बाबा ! ट्युसनको सरलाई तिर्ने दिन भयो त ?’
मैले खल्ती छामेँ, रित्तो थियो । त्यो रात निद्रा परेन । श्रीमतीलाई मनको वह पोखेँ । उनले हौसला दिइन् । कति बेला हो भुसुक्कै निदाएँछु । बिहान थोरै भुइँकटहर लिएर बजार गएँ । दिनभरमा त्यो सबै बेचेपछि छोराको ट्युसनको पैसा जम्मा गरेँ । त्यो दिन म सोच्दै थिएँ, जिन्दगी साँच्चिकै ‘लुटी ल्यायो, भुटी खायो’ जस्तै छ । आज कमायो भने मात्र भोलि खान पाइन्छ, नभए भोकै ।
भविष्यका लागि केही बचत गर्न सकिएको छैन । छोरा छोरीको भविष्यको चिन्ताले धेरै सताइरहन्छ । तर, यति कठिनाइबीच पनि म कर्ममै विश्वास गर्छु । बिहानको घाम देख्दा मलाई लाग्छ, आज फेरि प्रयास गर्न पाइनेछ । ‘जिन्दगी लडाइँ हो,’ म भन्छु । श्रीमती हाँस्दै भन्छिन्, ‘तपाईंलाई यो लडाइँ कहिले जितिन्छ जस्तो लाग्छ ?’
प्रस्तुतिः पर्वत पोर्तेल
