सुरुमा बालिघरे अर्थात् गाउँलेले जति अन्नपात दिन्थे, त्यसबाटै गुजारा चलाउँथे । अहिले त्यही आरन व्यवसायबाट रुपन्देहीका शिवलाल लोहारले दुई पक्की घर जोडेका छन् ।
What you should know
रूपन्देही — उखुम गर्मीमा बिजुलीले धोका दिएका बेलामात्र आरन छाड्छु । नत्रभने दिनभरि फलामलाई आकार दिएर औजार बनाउँदै बित्छ । पहिलेजस्तो आरन चलाउन दुःख छैन । आधुनिक प्रविधि जडान गरेर आरन पनि औजार कारखाना बनेको छ ।
दिनहुँ गर्ने कामको ठेगान भए पनि बिजुलीले धोका दिने हुँदा जेनेरेटर पनि राखेको छु । मैले आरन सम्हालेको १८ वर्ष भयो । पहिले बुवा रामवरणले पुस्तैनी पेसा धान्नु भएको थियो । बुवाले धेरै दुःख सहनु पर्यो । बुवाबाटै औजार बनाउन सिकेको हुँ । तर, मलाई पहिलेजस्तो धम्पना हुँदैन । अहिले पनि काम टन्नै मिलिरहेको छ ।
रूपन्देहीको शुद्धोधन–७, सिसहवामा बसोबास छ । घर नजिकै मूल सडक किनारमा आरन छ । बजारमा रेडिमेड मिल्ने भए पनि धेरै जना औजार बनाउन मैकहाँ आउनु हुन्छ । धारिलो र आकर्षक बनाउने भएकाले भीड लाग्छ । हँसिया, दाउ, कोदालो, बन्चरो, कुटो, खुर्पा, खुँडा बनाउँछु । यीमध्ये हँसिया, कोदालो, दाउ र बन्चरो धेरै बिक्छन् । सानो हँसियाको दुई सय लिन्छु । ठूलो हँसियाको ५ सय पर्छ । दाउको मूल्य हेरी हेरी छ । कोदालोको साढे दुईदेखि ८ सयसम्म लिन्छु । ६ सयदेखि २ हजार ५ सयसम्ममा बन्चरा बिक्छन् । कुटोको साढे दुई सय र खुँडाको ८ हजारसम्म मूल्य राखेको छु ।
औजारको कामले नेपालभरिका मान्छेसित भेटघाट गराइरहेको छ । मुस्ताङ, गुल्मी, मकवानपुर, काठमाडौं, विराटनगर, हुम्ला, जुम्लाबाट औजार बनाउन आउनुहुन्छ । बजारमा अनलाइनबाट विदेशमा बिक्री गर्नेले पनि लैजानु हुन्छ । माग धेरै भएपछि आरनलाई कारखाना बनाएको छु । दुईवटा आधुनिक आरन छन् । चारवटा धार लगाउने ग्रान्डर छन् । दुईवटा रन्दा, दुईवटा ड्रिल मेसिन र एउटा वेल्डिङ मेसिन राखेको छु । जिल्लामा अन्त यत्तिको सुविधासम्पन्न आरन नभएकाले धेरैजना यतै आउनु हुन्छ । सडक छेउ भएकाले जमघट थलो बनेको छ । फुर्सदमा घरायसी र गाउँठाउँको विकासका बारे छलफल गर्छौं । जमघट हुँदा आरन चलाउँदाको दुःख पनि भुल्छु ।
कामको चाप अनुसार कमाइ हुन्छ । दिनमा कम्तीमा ५ हजार कमाउँछु । कहिले १०, १५ र कहिलेकाहीँ त दिनमै ३० हजारसम्म कमाएको पनि छु । धान काट्ने र जाडो याममा धेरै काम मिल्छ । बुटवलबाट ७० रुपैयाँ किलोमा फलाम किनेर ल्याउँछु । बोराको ३ हजार रुपैयाँमा कपिलवस्तुको महाराजगन्जबाट कोइला ल्याउँछु । दुई दिनमा एक बोरा सकिन्छ । महिनामा ३ हजार ५ सय बिजुली खर्च आउँछ । चार जना कामदार राखेको छु । उनीहरूको पारिश्रमिक महिनामा ७५ हजार खर्च हुन्छ ।
सबै खर्च पुर्याएर धेरथोर बचत भइरहेको छ । यो काम थाल्दा आफ्नो घरबास पनि थिएन । मेरो परिवार जमिनदारको घरमा आश्रित थियो । यही पेसाबाट कमाएर अहिले दुईवटा पक्की घर बनाएको छु । दुई बिघा खेत किनेको छु । बुटवल–सूर्यपूरा सडक किनारमा ३६ लाख खर्च गरेर बनाएको दुई तलाको घर भाडामा लगाएको छु । १० लाख खर्च गरेर बनाएको अर्को घरमा आफैं बस्छौं । १५ वर्षको अन्तरमा यो सब सफलता मिलेको हो ।
परिवारमा ९ जना छौं । बुवा, हामी श्रीमान्–श्रीमती, भाइबुहारी, उनीहरूका दुई छोरा, एक छोरी, मेरा दुई छोरा र एक छोरी छन् । आमा र भाइ दिवंगत भइसके । परिवारको आर्थिक अवस्था कमजोर भएकाले मैले धेरै पढ्न सकिनँ ।
सूर्यपुरा माविमा कक्षा ८ सम्म पढेँ । पढाइ छाडेदेखि बुवालाई आरनको काममा सघाउन थालेँ । अहिले मलाई बुवाले सघाउनु हुन्छ । छोरा–छोरीलाई पढाउन कुनै कसर बाँकी राखेको छैन । दुई छोरा र एक छोरी ज्ञानकुञ्ज इंग्लिस बोर्डिङ स्कुलमा पढ्छन् । उनीहरूको तीन महिनाको फिस २० हजार आउँछ । बाँकी तीन सन्तानको स्कुल जाने उमेर पुगेको छैन । चामल बाहेक भान्छामा चाहिने सबैथोक खरिद गर्नुपर्छ ।
महिनामा एक हजार रुपैयाँको दाल चाहिन्छ । चिनी–चियापत्तीमा ५/६ सय खर्च हुन्छ । ४/५ सयको तेल किन्छौं । तरकारीमै सातामा १४ सय खर्च हुन्छ । सातामा तीनपटक माछामासु खान्छौं । त्यसमा १५ सय खर्च हुन्छ । लुगाफाटो आवश्यकता हेरी किन्छौं । जसलाई चाहिन्छ, उसका लागि कपडा खरिद गर्ने हो । सुरुमा हामी बालिघरे थियौं । गाउँलेले जति अन्नपात दिन्थे, त्यसबाट गुजारा चलाउँथ्यौं । १५ वर्षदेखि नगद कमाइ भइरहेको छ ।
यही गाउँका साथीसँगी धेरै विदेश गएका छन् । मलाई यहीँ विदेशजस्तो भएको छ । आफ्नो पेसा छ । कमाइ भइरहेको छ । दुःख भनेको कोइलाको अभाव मात्र हो । नत्र यहीँ सुख मिल्या छ ।
प्रस्तुति : दीपेन्द्र बडुवाल
