‘पैसा नभएर छोराको औषधि पनि बीचमै छुट्यो’

गरिबीका कारण दुई वर्षसम्म औषधि खुवाउनुपर्ने छोरालाई औषधि दिन नसक्दा स्वास्थ्यमा असर परेको छ।

श्रावण २३, २०८२

प्रमोद भुजुवा

”Not only money, but also my son's medicine was lost in the middle”

What you should know

बर्दिया — गरिबी हालतमा कुनै समस्या आइपर्दा सामना गर्न धेरै मुस्किल हुँदो रहेछ । हुन त यसअघि समस्या नपरेको चाहिँ होइन । सानैदेखि गरिबीको समस्या झेल्दै आइरहेको छु । अभावै अभावमा हुर्किएकाले आत्तिएको भने छैन । अहिले पनि संघर्ष गर्दै अघि बढिरहेको छु ।

अहिले ४० वर्षको भएँ । स्थायी घर भारत जिल्ला बहराइच मोतीपुर थाना ग्राम सेम्री हो । हाल गुलरिया नगरपालिका–४ बाल मन्दिर स्कुलपछाडि भाडामा बस्छु ।

उता भारतस्थित घरमा सम्पत्तिका नाममा फुसको घरबाहेक केही छैन । कहिलेकाहीँ घर हेरविचार गर्न जाने गरेको छु । बुवाआमा बितिसक्नु भयो । दाइको ससुराली गुलरियातिर भएकाले यतै बस्नु भयो । दाइ गुलरिया बस्न थालेको १५ वर्ष बढी भयो । घरतिर काम नपाइने भएकाले म पनि कामको खोजीमा परिवारसहित गुलरिया पसेँ । पुँजी नभएकाले ठूलो व्यापार गर्न सकेको छैन । 

गुलरिया बसपार्क र सडक पेटीमा यसरी मौसमी ठेलाको व्यापार गर्न लागेको पनि १० वर्ष भन्दा बढी नै भइसक्यो । सिजन अनुसार व्यापार गर्छु । मकैको सिजनमा मकै पोलेर बेच्छु, मुङ्फलीको सिजनमा मुङ्फली भुटेर बेच्छु । अरु सिजनमा चाट, पानीपुरी, चाउमिन बेच्छु । अहिले बर्खाको मौसममा गुलरिया बसपार्कमा मकै बेचेर दैनिक गुजारा चलाइरहेको छु । 

अचेल गुलरिया वरिपरि मकै पाइँदैन । सबेरै ५ बजे उठेर थोत्रो साइकल लिएर गुलरियाबाट मुर्तिहा जंगल पारिको गाउँबाट पुगेर मकै खोजेर ल्याउँदा १० बज्छ । त्यति टाढा पुगेर मकै किन्दा प्रतिघोगाको १५ रुपैयाँ पर्छ । खाना खाएर मकै बेच्न बसपार्क पुग्छु । व्यापारमा मेरो श्रीमती ३७ वर्षीया किरण भुजुवा र १४ वर्षीय ठूलो छोराले सघाउँछन् । बुढाबुढी दुवै जना मिलेर मकै पोल्छौं, ठूलो छोराले पोलेको मकै बसपार्कमा रोकिने गाडीमा लगेर बेच्छ । गुलरिया बसपार्क भएर आवागमन गर्ने गाडीका यात्रु हाम्रा ग्राहक हुन् । के गर्ने छोरालाई स्कुल पठाउने उमेरमा सँगसँगै मकै बेच्न पठाउनुपर्ने बाध्यता छ । बुढाबुढी हामी र तीन छोरा गरी ५ जनाको परिवार छ । 

७ वर्षीय माइलो छोराको औषधी गराउँदा गराउँदै हैरान भइसकेँ । डेढ वर्षअघि मङ्फली सुकाउने क्रममा एक तल्ले छतबाट लडेर छोराको टाउकोमा चोट लगेको थियो । नेपालगन्जमा उपचार गराउँदा धेरै खर्च भयो । चोट लागेको दुई महिनापछि तरकारी लिन गएका बेला छाडा गाईले फेरि उसैलाई टाउकोमा हान्यो । केही दिनपछि स्कुल गएको बेला पुनः लडेर टाउकोमै चोट लाग्यो । टाउकोमा पटक–पटक चोट लागेकाले बाबुको दिमागमा असर परेकाले लगातार दुई वर्षसम्म औषधि चलाउनु पर्ने लखनउका डाक्टरले भनेको थिए। 

महिनैपिच्छे औषधि लिन लखनउ जाँदा ४ हजार ५ सय भारु खर्च हुन्थ्यो । सकी नसकी करिब एक वर्ष औषधि खुवाएँ । त्यसपछि गरिबीका कारणले छोरालाई औषधि खुवाउन सकेको छैन । छोरालाई दुई वर्षसम्म नियमित खुवाउनुपर्ने औषधि पैसा नभएरै दुई महिनादेखि छुटेको छ । औषधि छुटेरै होला, भनेको केही मान्दैन, जिद्दी गर्छ, टाउको दुख्छ भन्छ, बेला बेलामा रुन्छ, स्कुल जानै मान्दैन । 

५ वर्षीय कान्छो छोरा बाल मन्दिरमा २ कक्षामा पढ्छ । सरकारी स्कुल भएकाले खर्च व्यहोर्नु परेको छैन । हाम्रो नेपाली नागरिकता नभएकाले ऋण लिएर अन्य राम्रो व्यापार गर्ने सोच बनाए पनि सम्भव छैन । 

चरम महँगी छ । दिनभरि बसपार्कमा मकै पोलेर बेच्दा पनि ४–५ सय बढी कुनै दिन कमाइ हुँदैन । पोलेको मकै प्रतिघोगा २५ रुपैयाँमा बिक्री हुन्छ । बसपार्कमा बसेर व्यापार गरेको दिनको २० रुपैयाँ तिर्नुपर्छ । मकै पोल्न कोइला किन्नै पर्छ । कोठा भाडाको मासिक १ हजार ५ सय तिर्नुपर्छ । चामल, दाल, नुन, तेल, तरकारी, मसला, लत्ताकपडामा मासिक १२ हजार हाराहारी खर्च भइहाल्छ । ठेलाको व्यापारले बचत गर्ने जति कमाइ गर्न सकिएको छैन । दिनहुँ कमाएर बालबच्चा पाल्नै ठिक्क छ ।

प्रस्तुति : रामप्रसाद चौहान

प्रमोद

Link copied successfully