गरिबीका कारण दुई वर्षसम्म औषधि खुवाउनुपर्ने छोरालाई औषधि दिन नसक्दा स्वास्थ्यमा असर परेको छ।
What you should know
बर्दिया — गरिबी हालतमा कुनै समस्या आइपर्दा सामना गर्न धेरै मुस्किल हुँदो रहेछ । हुन त यसअघि समस्या नपरेको चाहिँ होइन । सानैदेखि गरिबीको समस्या झेल्दै आइरहेको छु । अभावै अभावमा हुर्किएकाले आत्तिएको भने छैन । अहिले पनि संघर्ष गर्दै अघि बढिरहेको छु ।
अहिले ४० वर्षको भएँ । स्थायी घर भारत जिल्ला बहराइच मोतीपुर थाना ग्राम सेम्री हो । हाल गुलरिया नगरपालिका–४ बाल मन्दिर स्कुलपछाडि भाडामा बस्छु ।
उता भारतस्थित घरमा सम्पत्तिका नाममा फुसको घरबाहेक केही छैन । कहिलेकाहीँ घर हेरविचार गर्न जाने गरेको छु । बुवाआमा बितिसक्नु भयो । दाइको ससुराली गुलरियातिर भएकाले यतै बस्नु भयो । दाइ गुलरिया बस्न थालेको १५ वर्ष बढी भयो । घरतिर काम नपाइने भएकाले म पनि कामको खोजीमा परिवारसहित गुलरिया पसेँ । पुँजी नभएकाले ठूलो व्यापार गर्न सकेको छैन ।
गुलरिया बसपार्क र सडक पेटीमा यसरी मौसमी ठेलाको व्यापार गर्न लागेको पनि १० वर्ष भन्दा बढी नै भइसक्यो । सिजन अनुसार व्यापार गर्छु । मकैको सिजनमा मकै पोलेर बेच्छु, मुङ्फलीको सिजनमा मुङ्फली भुटेर बेच्छु । अरु सिजनमा चाट, पानीपुरी, चाउमिन बेच्छु । अहिले बर्खाको मौसममा गुलरिया बसपार्कमा मकै बेचेर दैनिक गुजारा चलाइरहेको छु ।
अचेल गुलरिया वरिपरि मकै पाइँदैन । सबेरै ५ बजे उठेर थोत्रो साइकल लिएर गुलरियाबाट मुर्तिहा जंगल पारिको गाउँबाट पुगेर मकै खोजेर ल्याउँदा १० बज्छ । त्यति टाढा पुगेर मकै किन्दा प्रतिघोगाको १५ रुपैयाँ पर्छ । खाना खाएर मकै बेच्न बसपार्क पुग्छु । व्यापारमा मेरो श्रीमती ३७ वर्षीया किरण भुजुवा र १४ वर्षीय ठूलो छोराले सघाउँछन् । बुढाबुढी दुवै जना मिलेर मकै पोल्छौं, ठूलो छोराले पोलेको मकै बसपार्कमा रोकिने गाडीमा लगेर बेच्छ । गुलरिया बसपार्क भएर आवागमन गर्ने गाडीका यात्रु हाम्रा ग्राहक हुन् । के गर्ने छोरालाई स्कुल पठाउने उमेरमा सँगसँगै मकै बेच्न पठाउनुपर्ने बाध्यता छ । बुढाबुढी हामी र तीन छोरा गरी ५ जनाको परिवार छ ।
७ वर्षीय माइलो छोराको औषधी गराउँदा गराउँदै हैरान भइसकेँ । डेढ वर्षअघि मङ्फली सुकाउने क्रममा एक तल्ले छतबाट लडेर छोराको टाउकोमा चोट लगेको थियो । नेपालगन्जमा उपचार गराउँदा धेरै खर्च भयो । चोट लागेको दुई महिनापछि तरकारी लिन गएका बेला छाडा गाईले फेरि उसैलाई टाउकोमा हान्यो । केही दिनपछि स्कुल गएको बेला पुनः लडेर टाउकोमै चोट लाग्यो । टाउकोमा पटक–पटक चोट लागेकाले बाबुको दिमागमा असर परेकाले लगातार दुई वर्षसम्म औषधि चलाउनु पर्ने लखनउका डाक्टरले भनेको थिए।
महिनैपिच्छे औषधि लिन लखनउ जाँदा ४ हजार ५ सय भारु खर्च हुन्थ्यो । सकी नसकी करिब एक वर्ष औषधि खुवाएँ । त्यसपछि गरिबीका कारणले छोरालाई औषधि खुवाउन सकेको छैन । छोरालाई दुई वर्षसम्म नियमित खुवाउनुपर्ने औषधि पैसा नभएरै दुई महिनादेखि छुटेको छ । औषधि छुटेरै होला, भनेको केही मान्दैन, जिद्दी गर्छ, टाउको दुख्छ भन्छ, बेला बेलामा रुन्छ, स्कुल जानै मान्दैन ।
५ वर्षीय कान्छो छोरा बाल मन्दिरमा २ कक्षामा पढ्छ । सरकारी स्कुल भएकाले खर्च व्यहोर्नु परेको छैन । हाम्रो नेपाली नागरिकता नभएकाले ऋण लिएर अन्य राम्रो व्यापार गर्ने सोच बनाए पनि सम्भव छैन ।
चरम महँगी छ । दिनभरि बसपार्कमा मकै पोलेर बेच्दा पनि ४–५ सय बढी कुनै दिन कमाइ हुँदैन । पोलेको मकै प्रतिघोगा २५ रुपैयाँमा बिक्री हुन्छ । बसपार्कमा बसेर व्यापार गरेको दिनको २० रुपैयाँ तिर्नुपर्छ । मकै पोल्न कोइला किन्नै पर्छ । कोठा भाडाको मासिक १ हजार ५ सय तिर्नुपर्छ । चामल, दाल, नुन, तेल, तरकारी, मसला, लत्ताकपडामा मासिक १२ हजार हाराहारी खर्च भइहाल्छ । ठेलाको व्यापारले बचत गर्ने जति कमाइ गर्न सकिएको छैन । दिनहुँ कमाएर बालबच्चा पाल्नै ठिक्क छ ।
प्रस्तुति : रामप्रसाद चौहान
