सानो तालिमपछि सुरु भएको ढाका उद्योगले महिलाको जीवनमा ल्याएको परिवर्तनको प्रेरणादायी कथा।
What you should know
पर्वत — जीवनमा के–के आइपर्छ पत्तै हुँदैन । मेरो जीवनमा पनि यस्तै उतारचढाव छन् । १७ वर्षअघिसम्म बालुवा बोकेर गुजारा गर्थें । घरखर्च चलाउनै मुस्किल थियो । ज्यान पाल्नकै लागि अनेक दुःख–कष्ट गरेँ ।
कास्कीको घाचोकबाट सानै उमेरमा विवाह गरेर श्रीमान्को घर बाजुङ आएँ । परिवार विपन्न थियो । केही वर्ष गाउँघरमै खेती किसानी गर्यौं । बिहान–बेलुकी छाक टार्न पनि मुस्किल भएपछि दुई साना छोराछोरी बोकेर सहर झर्ने निर्णय गर्यौं ।
२०६३ सालमा हालको मोदी गाउँपालिकाको डिमुवामा आयौं । एउटा सानो कोठा भाडामा लियौं । गाउँ छाड्दा काम सजिलै पाइने आस थियो । सहर आएपछि त्यो भ्रम हट्यो । महिनौं कामविहीन भएर बस्दा फेरि गाउँ फर्कनुपर्ने हो कि भन्ने चिन्ता लाउँथ्यौं । तर छोराछोरीको भविष्यका लागि भए पनि सहरमै बस्नुपर्छ भनेर अठोट गरेँ । त्यसपछि बल्लतल्ल बालुवा बोक्ने काम पाइयो । श्रीमान र मैले मोदी खोलाबाट बोरामा बालुवा बोकेर डिमुवा बजारमा निर्माण भइरहेका घरघरमा पुर्याउने काम गर्यौं । सहरको रहरले दुई–तीन वर्ष यसरी धकेल्दै लग्यो ।
अहिले आएर विगतलाई फर्केर हेर्दा रमाइलो लाग्छ । दुःख थियो । अभाव थियो । सपना थियो र त सङ्गर्ष गर्यौं । कहिलेकाहीँ दिमागमा यस्तो सोँच आउँछ, ‘ढाका उद्यमसित नजोडिएको भए म कहाँ हुन्थेँ होला ?’
२०६५ सालमा पहिलो पटक ढाका बुन्ने तालिममा सहभागिता बनेकी थिएँ । अहिले मोदी गाउँपालिकाकी उद्यम विकास संयोजक हुनुहुन्छ, सीता कुमारी शर्मा म्याडम, उहाँले मेरो कोठामै आएर तालिममा सहभागी बनेर उद्यमी बन्न सकिने कुरा बताउनु भयो । २० दिनको तालिमपश्चात् सीप मात्र नभई आत्मनिर्भर बन्न सक्ने विश्वास पनि जगायो ।
डिमुवा बजारमा एक तले पक्की घर बनाएकी छु । दुईवटा कोठामा तीनवटा तान राखेर अहिले काम गर्छु । श्रीमान् नजिकैको बैंकमा सुरक्षा गार्डको नोकरी गर्नु हुन्छ । ढाकाको कपडा बिक्रीबाट महिनाको १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्छु । आफ्नै घरमा साँझ–बिहानको कामकाज सकेर यतिको कमाइ गर्नु नराम्रो होइन । ढाकामा आवश्यक पर्ने कच्चा पदार्थ पनि ल्याएर बिक्री गर्छु । धेरथोर नाफा हुन्छ । प्रशिक्षक पनि भएकाले वडाहरूदेखि म्याग्दी, बागलुङ र पोखरा लगायतका सहरसम्म पुगेर सीप सिकाउने गर्छु । सबै जोड्दा राम्रै आम्दानी हुन्छ । घरखर्च सहजै चलेको छ भनौं ।
पहिलो पटक ढाकाको सानो पछ्यौरी बुन्न सिकेकी थिएँ । अहिले आफ्नै कल्पना ढाका उद्योगमा सारी, कुर्ता, सर्ट, कोट, टोपी, पछ्यौरी लगायतका कपडा बुन्ने गरेकी छु । घरमा सिक्न आउने महिला दिदीबहिनीलाई निःशुल्क सिकाउँदै पनि आएकी छु । सबैभन्दा महँगो १० हजारमा ढाकाको सारी बेचेकी छु । सस्तोमा चाहिँ पछ्यौरी १५ सयमा बेच्दै आएकी छु । सुरुवाती समयमा उत्पादन गरेका सामान बेच्नै सकिना । चिनजानका कोही थिएनन् । लगभग छाड्ने स्थितमै थिएँ । पछि लघु उद्यममै काम गर्ने डिमेघा भन्ने संस्थाले प्रचार र बिक्रीमा सहयोग गरेपछि बिस्तारै सहज भयो ।
ढाका बुन्न लाग्ने मिहिनेत र समयको तुलनामा पाउने मूल्य ज्यादै न्यून छ । फेरि बजारमा मेसिनले बनाएका ढाकाका कपडा सस्तोमा पाइन्छन् । यसले गर्दा पनि हामीले तानमा बुन्ने परम्परागत ढाका बिक्रीमा समस्या आउने देखेकी छु । किनभने मेसिनले बनाउने ढाका सस्तो हुने भयो । प्रतिस्पर्धा गर्न सकिन्न नि ! मेसिन र हामीले हातैले बनाएको हेर्दा एउटै देखिने हुनाले नबुझ्नेले महँगो भयो भनेर मुख फाल्नु हुन्छ । उहाँहरूलाई कसले बुझाउने । हातले बनाएको ढाका बलियो र राम्रो हुन्छ भनेर ।
हामीले पनि मेसिनले ढाका बुन्न सक्थ्यौं । उत्पादन र आम्दानीसमेत बढी हुन्थ्यो होला । तर हामीले ढाकालाई व्यवसाय मात्र नभएर परम्परा र संस्कृति मान्दै आएका छौं । नेपालमा जति दुःख गरे पनि पैसा कमाउन सकिन्न भनेर छोरा पोर्चुगल गयो । छोरी पनि जाने तयारीमै छिन् । उनीहरूले हाम्रो दुःख देखेरै होला, ‘तपार्इंहरूले गर्ने दुःख हामीले गर्न सक्दैनौं । दुःख गरेजति पैसा हुन्न भन्छन् ।’
प्रस्तुति : सुमनजंग थापा
