‘बालुवा मजदुरीदेखि ढाका उद्यमीसम्म’

सानो तालिमपछि सुरु भएको ढाका उद्योगले महिलाको जीवनमा ल्याएको परिवर्तनको प्रेरणादायी कथा।

श्रावण २१, २०८२

कल्पना नेपाली

”From Sand Laborers to Dhaka Entrepreneurs”

What you should know

पर्वत — जीवनमा के–के आइपर्छ पत्तै हुँदैन । मेरो जीवनमा पनि यस्तै उतारचढाव छन् । १७ वर्षअघिसम्म बालुवा बोकेर गुजारा गर्थें । घरखर्च चलाउनै मुस्किल थियो । ज्यान पाल्नकै लागि अनेक दुःख–कष्ट गरेँ ।

कास्कीको घाचोकबाट सानै उमेरमा विवाह गरेर श्रीमान‍्को घर बाजुङ आएँ । परिवार विपन्न थियो । केही वर्ष गाउँघरमै खेती किसानी गर्‍यौं । बिहान–बेलुकी छाक टार्न पनि मुस्किल भएपछि दुई साना छोराछोरी बोकेर सहर झर्ने निर्णय गर्‍यौं । 

२०६३ सालमा हालको मोदी गाउँपालिकाको डिमुवामा आयौं । एउटा सानो कोठा भाडामा लियौं । गाउँ छाड्दा काम सजिलै पाइने आस थियो । सहर आएपछि त्यो भ्रम हट्यो । महिनौं कामविहीन भएर बस्दा फेरि गाउँ फर्कनुपर्ने हो कि भन्ने चिन्ता लाउँथ्यौं । तर छोराछोरीको भविष्यका लागि भए पनि सहरमै बस्नुपर्छ भनेर अठोट गरेँ । त्यसपछि बल्लतल्ल बालुवा बोक्ने काम पाइयो । श्रीमान र मैले मोदी खोलाबाट बोरामा बालुवा बोकेर डिमुवा बजारमा निर्माण भइरहेका घरघरमा पुर्‍याउने काम गर्‍यौं । सहरको रहरले दुई–तीन वर्ष यसरी धकेल्दै लग्यो । 

अहिले आएर विगतलाई फर्केर हेर्दा रमाइलो लाग्छ । दुःख थियो । अभाव थियो । सपना थियो र त सङ्गर्ष गर्‍यौं । कहिलेकाहीँ दिमागमा यस्तो सोँच आउँछ, ‘ढाका उद्यमसित नजोडिएको भए म कहाँ हुन्थेँ होला ?’ 

२०६५ सालमा पहिलो पटक ढाका बुन्ने तालिममा सहभागिता बनेकी थिएँ । अहिले मोदी गाउँपालिकाकी उद्यम विकास संयोजक हुनुहुन्छ, सीता कुमारी शर्मा म्याडम, उहाँले मेरो कोठामै आएर तालिममा सहभागी बनेर उद्यमी बन्न सकिने कुरा बताउनु भयो । २० दिनको तालिमपश्चात् सीप मात्र नभई आत्मनिर्भर बन्न सक्ने विश्वास पनि जगायो । 

डिमुवा बजारमा एक तले पक्की घर बनाएकी छु । दुईवटा कोठामा तीनवटा तान राखेर अहिले काम गर्छु । श्रीमान् नजिकैको बैंकमा सुरक्षा गार्डको नोकरी गर्नु हुन्छ । ढाकाको कपडा बिक्रीबाट महिनाको १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्छु । आफ्नै घरमा साँझ–बिहानको कामकाज सकेर यतिको कमाइ गर्नु नराम्रो होइन । ढाकामा आवश्यक पर्ने कच्चा पदार्थ पनि ल्याएर बिक्री गर्छु । धेरथोर नाफा हुन्छ । प्रशिक्षक पनि भएकाले वडाहरूदेखि म्याग्दी, बागलुङ र पोखरा लगायतका सहरसम्म पुगेर सीप सिकाउने गर्छु । सबै जोड्दा राम्रै आम्दानी हुन्छ । घरखर्च सहजै चलेको छ भनौं । 

पहिलो पटक ढाकाको सानो पछ्यौरी बुन्न सिकेकी थिएँ । अहिले आफ्नै कल्पना ढाका उद्योगमा सारी, कुर्ता, सर्ट, कोट, टोपी, पछ्यौरी लगायतका कपडा बुन्ने गरेकी छु । घरमा सिक्न आउने महिला दिदीबहिनीलाई निःशुल्क सिकाउँदै पनि आएकी छु । सबैभन्दा महँगो १० हजारमा ढाकाको सारी बेचेकी छु । सस्तोमा चाहिँ पछ्यौरी १५ सयमा बेच्दै आएकी छु । सुरुवाती समयमा उत्पादन गरेका सामान बेच्नै सकिना । चिनजानका कोही थिएनन् । लगभग छाड्ने स्थितमै थिएँ । पछि लघु उद्यममै काम गर्ने डिमेघा भन्ने संस्थाले प्रचार र बिक्रीमा सहयोग गरेपछि बिस्तारै सहज भयो ।

ढाका बुन्न लाग्ने मिहिनेत र समयको तुलनामा पाउने मूल्य ज्यादै न्यून छ । फेरि बजारमा मेसिनले बनाएका ढाकाका कपडा सस्तोमा पाइन्छन् । यसले गर्दा पनि हामीले तानमा बुन्ने परम्परागत ढाका बिक्रीमा समस्या आउने देखेकी छु । किनभने मेसिनले बनाउने ढाका सस्तो हुने भयो । प्रतिस्पर्धा गर्न सकिन्न नि ! मेसिन र हामीले हातैले बनाएको हेर्दा एउटै देखिने हुनाले नबुझ्नेले महँगो भयो भनेर मुख फाल्नु हुन्छ । उहाँहरूलाई कसले बुझाउने । हातले बनाएको ढाका बलियो र राम्रो हुन्छ भनेर ।

हामीले पनि मेसिनले ढाका बुन्न सक्थ्यौं । उत्पादन र आम्दानीसमेत बढी हुन्थ्यो होला । तर हामीले ढाकालाई व्यवसाय मात्र नभएर परम्परा र संस्कृति मान्दै आएका छौं । नेपालमा जति दुःख गरे पनि पैसा कमाउन सकिन्न भनेर छोरा पोर्चुगल गयो । छोरी पनि जाने तयारीमै छिन् । उनीहरूले हाम्रो दुःख देखेरै होला, ‘तपार्इंहरूले गर्ने दुःख हामीले गर्न सक्दैनौं । दुःख गरेजति पैसा हुन्न भन्छन् ।’

प्रस्तुति : सुमनजंग थापा

कल्पना नेपाली

Link copied successfully