‘घरखेतको मायाले गाउँमै बसेको छु, सीपले मूल्य पाएको छ’

एक्लै गाउँमा बसेर काठका सामग्री बनाउँदै जीवन चलाउने धुर्कोटका वृद्धको प्रेरणादायी कथा, जसले सीपको महत्त्वलाई उजागर गर्दछ।

श्रावण १८, २०८२

कृष्णप्रसाद भण्डारी

”I have stayed in the village for the love of farming, skills have gained value”

What you should know

गुल्मी — अहिले ६८ वर्षको भएँ । घरमा एक्लै बस्छु । श्रीमती चुमकुमारी भण्डारीले साथ छोडेर स्वर्गवास भएको पनि ७ वर्ष भयो । उनलाई बाथसम्बन्धी समस्या थियो । उपचारका लागि बुटवलसम्म लगे पनि निको पार्न सकिनँ ।

मेरा दुई छोरा र एक छोरी छन् । छोराबुहारी बुटवलमा बस्छन् । म धुर्कोट गाउँपालिका–५ गानटारीमा बस्छु । घरमा एक्लै भएपछि सहर लैजान छोराबुहारीले खोजिरहेका छन् । तर म गाउँमै बस्ने रहरले यहीँ छु । सहर जान मन छैन । घरखेतको माया लाग्छ, यसले छोडेर नजान भनेजस्तो लाग्छ । 

घर एक्लै भए पनि यत्तिकै बस्ने कुरा भएन । म काम गरेरै समय बिताउँछु । एउटा भैँसी पालेको छु । यही साउन २० मा भैँसी ब्याउने छ । त्यसैलाई घाँस काट्ने र गोबरसोत्तर गरेर बसिरहेको छु । एउटा गाई पनि पालेको थिएँ । अहिले गाई पाल्न नसकेर अर्कैलाई दिएँ । अहिले भैँसी मात्रै पालेको छु । 

पहिलेदेखि नै घरमा हजुरबुबा र हजुरआमासँग बस्थेँ । कक्षा ८ मा पढ्दापढ्दै गुलेली खेलाउन लागेर पढाइ छोडेँ । पछि छुट्टै बस्न थालेपछि केही न केही गर्नुपर्ने भयो । त्यसपछि मैले सानै हुँदाको सीपलाई पेसाका रूपमा अगाडि बढाएँ । गुललीबाट सिकेको सीप काठका विभिन्न सामग्री तयार गर्नेसम्म पुगेँ । 

अहिले मैले २ सय रुपैयाँको गुलेलीदेखि १ हजार ५ सय रुपैयाँसम्मको हलो र जुवा बनाएर बेच्ने गरेको छु । यसको अलावा मैले मदानी, लठ्ठी, नेती, खोक र नाम्लोसहित काठबाट बन्ने अन्य सामग्री पनि तयार गर्छु । पहिले तयार गरेर राख्ने अनि पछि बेच्ने गर्दथेँ । बिस्तारै बजारमा माग घट्दै गयो । त्यसपछि मैले माग आएमा मात्रै काठका सामग्री तयार गर्न थालेको छु ।  

मैले तयार पारेको नाम्लोलाई हेरर ५ सय रुपैयाँसम्म पर्दछ । दुई दिनमा एउटा नाम्लो तयार गर्छु । लठ्ठीलाई १ हजार २ सय रुपैयाँसम्म पर्दछ । हलो र जुवा १ हजार ५ सय रुपैयाँसम्ममा बिक्री हुन्छन् ।

यही पेसाबाटै मैले घरखर्च चलाउने, छोराछोरी पढाउने र स्वास्थ्य उपचार लगायतका कामहरू गर्दै आएको छु । अहिले आम्दानीभन्दा पनि घरखर्च राम्रैसँग चलेको छ । 

मैले खेतमा मकै र धान खेती पनि गरेको छु । वर्षमा १५ मुरी मकै, ३० मुरी धान, ८ मुरी गहुँ र १५ क्विन्टल आलु उत्पादन हुन्छ । यही उत्पादनलाई आˆनो पसिनाको मुल्य मानेको छु । यस वर्ष काँक्रा, घिरौला, लौका र करेलाका विरुवा पनि थोरैधेरै बिक्री गरेँ । यसबाट पनि घरखर्चलाई केही न केही सहयोग पुगेको छ ।  

आफ्नो सीप गाउँमा समय बिताउने र घरखर्च चलाउने माध्यम बनेको छ । वर्षभरमा कम्तीमा पनि डेढ लाख रुपैयाँ आम्दानी हुन्छ । खासै हिसाबकिताब राख्ने गरेको त छैन । त्यही पनि १ लाख रुपैयाँ लगानीमै खर्च हुन्छ । अरु पैसाले घरखर्च चल्छ । घरकै धानले भात खान पुगेको छ । केही मात्रामा धान, मकै, गहुँ र आलु बेच्ने गरेको छु । मलाई घरलाई पुगेर बाँकी रहेको बिक्री गर्छु । त्यसैले घरखर्चमा त्यति ठूलो खर्च हुँदैन । लुगाफाटामा पनि मेरो त्यस्तो खर्च छैन ।

काठका सामग्री बनाउन थालेको अहिले त ३० वर्ष पुग्यो । विदेश भनेपछि कतै गएकै छैन । नुन बोक्न सुनौलीसम्म गएको याद छ । होइन भने म त्यसभन्दा टाढा गएको छैन । गाउँघरमै सन्तुष्ट छु । समयमा सिकेको सीप अहिले घरखर्च र समय बिताउने माध्यम बनेको छ । केही न केही सीप चाहिँ आवश्यक रहेछ भन्ने लागेको छ । 

अहिले यस्ता हलो, जुवा, मदानी, काठकै लठ्ठी, नेती, नाम्लो र गुलेली जस्ता सामग्रीको प्रयोग बिस्तारै घट्दै गएको छ । सहरमा त यी सामग्री चिन्न पनि छाडिसके । तर गाउँमा हल्काफुल्का भए पनि प्रयोगमा आएका छन् । 

हाम्रो पछिल्लो पुस्ताले यस्तो सीप सिक्दैन । यसैलाई व्यावसायिक रुपमा पेसा नभए पनि सीपचाहिँ आवश्यक छ । सीप भएमा भोके मर्नु पर्दैन । केही न केही सीप आवश्यक छ । जस्तो भए पनि सीप चाहिन्छ, सीप सिकेको मान्छे कहिल्यै पछि पर्दैन । सीप सानो र ठूलो हुँदैन । सीपको सम्मान आवश्यक छ ।  

प्रस्तुति : सन्तोष महतारा

कृष्णप्रसाद

Link copied successfully