उमेरले भगवान्को नाम जप् भन्छ, अवस्थाले काम गरिराख् भन्छ, म बुढोलाई कसै गरे पनि सुख छैन ।
What you should know
तिलोत्तमा — सुरुमा त जिन्दगी बुझ्दा बुझ्दै समय बित्यो । उमेर बढ्दै गएपछि जिन्दगीले भोग्नुपर्ने सास्ती पनि बुझ्दै गएँ । तर, जिन्दगी त जति बुझ्यो, त्यति गहिराइ हुने रहेछ ।
हरेक बिहान आँखा खुलेपछि नयाँ चाहना, सपना र योजना सामुन्ने हुन्छन् । दिनभरि तिनै चाहना पूरा गर्न हाडछाला घोट्यो, साँझ परेपछि रातमात्र होइन– जिन्दगी नै अन्धकार देखिने । जेहोस्, जन्म लिएपछि अनेक कर्म गर्नैपर्ने रहेछ । कर्म छुटेका दिन जिन्दगी पनि रहँदैन ।
बाँचुन्जेल परिश्रम गर्न छाड्न हुँदैन । फेरि भाग्य र आगे के हुन्छ, कसले देखेको छ र ? जन्मेपछि मृत्युसम्मको के–के गर्ने ? के–के नगर्ने भनेर जीवनको संविधान पनि त छैन ।
सानै छँदादेखि दुःखमा हुर्केकाले दुःखै गर्न सिकेँ । बाँकी जीवन कष्ट गरेरै बिताउनु छ । भोलि के पर्छ लोखाजोखा छैन । अहिले परिवारमा छोरा–बुहारी, नातिनी, श्रीमती र म छौं । परिवार सानै छ । तैपनि, खानलाउन महिनाको ३५ हजारजति घरखर्च लाग्छ । भाडामा बस्दा मासिक खर्च नै ८ हजार बेसी पर्छ । छोराबुहारीले कमाएर घरखर्च चलाउँछन् । बुढेसकालमा खत्र्याकखुत्रुक गर्दा भरथेग हुन्छ भनेर म पनि पान बेच्छु । त्यसबाट मनग्गे कमाइ त हुँदैन तैपनि महिनामा ४/५ हजार सघाउन सकेँ भने ठूलो कुरा हो । अहिले ७९ वर्षको भएँ । थपक्क आराम गर्ने वातावरण बनिसकेको छैन । पिर त पर्छ, तर कसलाई सुनाउनु ? धन्न छोरा–बुहारीले काम गरेर कमाएका छन् ।
पाल्पाको माडीफाँटमा जन्मिएको हुँ । साह्रै रमणीय छ माडी । त्यहीँ बाल्यकालमा अक्षर चिनेँ । धेरै लेखपढ गएिन । ठूलो हुँदै गएपछि जिम्मेवारीले थिच्यो । अनि कमाउन भनेर भारत पसेँ । करिब ३० वर्ष भारतमा काम गरेर अलिअलि कमाएँ । माडीमा पुर्ख्यौली घर थियो । छोराले त्यहाँ छाडेर तराई जाऊँ बुवा भनेपछि बेचेर यता आइयो । सुरुमा भैरहवामा घर किनेँ । केही समय त्यहाँ पनि बसियो । पछि छोराले त्यहाँको घर पनि बेच्यो । नआत्तिनुहोस् है हुँदै जान्छ भन्छ । किन बेच्यो ? के भयो ? केही थाहा छैन । मलाई मुटुमा समस्या देखिएको धेरै वर्ष भइसक्यो । मासिक २ हजारको औषधि चाहिन्छ । श्रीमतीलाई रोग छैन, त्यसमै खुसी छु । त्यही औषधि खर्च भए पनि जम्मा गर्न भनेर ४ महिनादेखि पान पसल चलाइरहेको छु ।
बिहान ६ बजे आएर पसल खोल्छु । पान खानेहरू, विद्यालय जानेले दालमोठ, ढुंग्रा र मिठाई किन्छन् । कमाउने भन्दा पनि समय कटाउने मेसो बनेको छ । राती ८ बजेसम्म पसल खोल्छु । उमेरले घरै बस भन्छ । तर, घरमा बसेर कसरी मन बहलाउँथेँ होला र ! काम गर्नुपर्छ भन्ने भएरै काठको ट्यांकी पसल किनेर २० हजारजति लगानी गरेपछि पसल संचालन गर्न थालेको हुँ । दिनभरि टक्रक्कै बस्छु । मान्छे आइरहने पसल होइन । सडक किनारमा भएकाले यात्रु पस्छन् । किन्छन्, गफ गर्छन् । पसलमा खाली समय बिताउन भागवत् गीता पढ्छु, श्लोक याद गर्ने कोसिस गर्छु ।
मैले पान बनाएर बेचम्ला भन्ने त कल्पनै गरेको थिइनँ । काम खोज्ने सिलसिलामा २०५२ तिर बाँके पुगेको थिएँ । त्यहाँ केही मानिसले किराना पसल चलाउने जुक्ति दिए । अनि काम सुरु गरेँ । त्यहीँका मानिसले पान बनाउन सिकाइदिएका हुन् । त्यसबेला सिकेको त्यो सीप यो उमेरमा आएर काम लागेको छ ।
बुढेसकालमा तीर्थ जान पाए हुन्थ्यो भन्ने चाहना कति छ कति ! पैसा भएको भए जान्थेँ होला पनि ! पैसा भएको भए के गर्ने भनेर बुद्धि पनि आउँथ्यो होला । पैसा छैन, तीर्थ जाने तरिका पनि थाहा भएन । उमेरले भगवान्को नाम जप् भन्छ, अवस्थाले काम गरिरह भन्छ, म बुढोलाई कसै गरे पनि सुख छैन ।
प्रस्तुति : सन्जु पौडेल
