‘गिट्टी लग्ने ठेकेदारले पैसा दिए भने छोरालाई जिल्ला अस्पताल लैजानु छ’

७३ वर्षीया वृद्धा गिट्टी कुटेर छोराको हेरचाहमा जुटेकी छन्, कान्छो छोरो बिरामी हुँदा परिवारको जिम्मेवारी उनकै काँधमा आइपरेको छ।

श्रावण १४, २०८२

धौली भुल 

”If the ballast laying contractor gives the money, the son will be taken to the district hospital”

What you should know

काठमाडौँ — दशरथचन्द नगरपालिका–४ गोठलापानी बजारमा घर छ । घर भए पनि कमाएर दिने भर छैन । त्यसैले बुढ्यौलीमा सडक किनारमा बसेर गिट्टी कुट्छु । यसरी गुजारा गरेको ११ वर्ष भयो । दिनभर गिट्टी कुटेमात्र साँझ–बिहान घरमा चुलो बल्छ ।

मसित एउटा छोरा छ । ममात्रै भए त नखाए पनि हुन्थ्यो, तर छोरो भोकै बसेको देख्न सक्दिनँ । त्यसैले बैतडी सदरमुकाम छेउछाउका सडक किनारमा घामपानी नभनेरै गिट्टी कुटेर गुजारा चलाइरहेकी छु । बसेर गिट्टी कुट्न सहज लाग्छ । गाह्रो–साह्रो काम गर्न सक्दिनँ । शरीरमा बल भएकाहरू त मजदुरी गर्छन् । म त अब त्यो पनि गर्न सक्दिनँ ।

अहिले ७३ वर्षकी भएँ । कुटो चलाउँदा पाखुरा थाक्छन्, जीउ गल्छ, मेरो जीवन छउन्जेल यही कुटोको सहारामै दिनभरिको बास यही सडकमा हुन्छ कि जस्तो लाग्छ । पहिलेको जस्तो जाँगर पनि छैन, वरपरबाट ढुंगा बटुलेर ल्याउन सक्दिनँ । सकीनसकी पनि बोक्नै पर्छ । छन त मेरा ३ छोरा, बुहारी, नाति–नातिना छन् । उनीहरू सबै छुट्टीभिन्न भइसके । कान्छाकी श्रीमतीले नाति–नातिना लगेर माइतीमै बसेको तीन वर्ष भइसक्यो । सानैदेखि माया गरेको कान्छोलाई अहिले पनि पाल्नु परेको छ ।

कैयौँ वर्ष पैदल झुलाघाटबाट व्यापारीका सामान बोकेँ । पछि गाडी चल्न थालेपछि सामान बोक्ने काम छुट्यो । अहिले पनि पारि (इन्डिया) बाट झोलामा सामान ल्याउन सके गुजारा चल्ने थियो । सक्दिनँ । अब त उकाली ओराली हिँड्न पनि नसक्ने भएँ । मेरो परिवारको गुजारा चलाइदिने पहिले गोठालापानीका व्यापारी थिए, अहिले ठेकेदार छन् ।

बिहान घाम देखिने बित्तिकै आउँछु । मैले नास्ता खाएर कान्छो छोरालाई खाना राखेर आउँछु । कहिले आफूलाई दिउँसोका लागि रोटी बोकेर ल्याउँछु । कहिले त्यत्तिकै निस्कन्छु, रोटी नल्याएको दिन पानी पिएर भोक मेटाउँछु । दिनभरिको मेरो सहारा भनेको यही एक छाता छ, घाम लागे पनि, पानी परे पनि यसैले ओत दिएको छ ।

बुहारीले कान्छा छोराका नाममा माइतबाटै छोडपत्र (सम्बन्धविच्छेद) मुद्दा हालेकी छे । कान्छो छोरा पहिले ठेकेदारको ट्याक्टर चलाउँथ्यो । एक वर्षअघि कम्मरको बिरामी भएदेखि घरमै बसेको छ । केही दिनअघि घरभन्दा मुनिको भीरबाट लडेर घाइते भएपछि थला पर्‍यो । अस्पताल लग्ने पैसा नभएर घरेलु उपचार गरिदिएकी छु । गिट्टी लग्ने ठेकेदारले पैसा दिए भने जिल्ला अस्पताल लग्नुपर्ने छ । भाग्यमा यस्तै लेखेको रहेछ । म मरेपछि छोराले कसरी गरी खाने हो, यही चिन्ताले खाइरहेको छ । 

गिट्टी किन्नेहरू पनि समयमा पैसा दिँदैनन्, कुनै दिन चामल किन्ने पैसा नपाएर भोकै बस्छौं । दिनभरि एक कट्टा मात्र गिट्टी कुट्न सक्छु । त्यसको ८० रुपैयाँ आउँछ । यत्तिले त तरकारी किन्न पनि पुग्दैन । मिठोमसिनो खान चाडपर्व नै कुर्नुपर्छ । चाडपर्वमा पनि गिट्टी कुट्न छोडे कमाइ हुन्न । कहिले त गिट्टी कुट्ने हतौडा किन्न पनि पैसा हुँदैन । 

वर्षातमा गिट्टी बिक्री नहुने भएकाले थन्क्याएर राख्छु । हिउँदमा त्यो बिक्री हुन्छ । म ‘पायल्स’की बिरामी छु । डाक्टरले अप्रेसन गर्नुपर्छ भनेका छन् । जिल्ला अस्पतालमा उपचार हुँदैन भन्छन् । अन्त जान खर्च पनि छैन, अस्पताल पनि देखेकी छैन । 

टन्टलापुर घाममा बसेर काम गर्दा साह्रै पीडा हुन्छ । उता अदालतमा बुहारीले बोलाएको बोलायै छ । सम्बन्धविच्छेद गरेर खुब राम्रोसँग खाउँला भन्ने सोचेकी होली । सदरमुकामै घर छ । बालबच्चा सानै छँदा श्रीमान् बिते । झुलाघाटबाट भारी बोकेर छोरा हुर्काए । बिहे गरेपछि टाढा भए ।

मलाई छोराबुहारीप्रति कुनै गुनासो छैन, आफ्नो परिवार पाले पनि धेरै हो । मैले जिन्दगीभर दुःख भोगेँ, अब त सुख आउला भनेको कान्छोको दुर्दशाले झन् दुःख आइपर्‍यो । कसैलाई त भगवानले सधैं दुःख नै दिने रहेछन् । अझै पनि कान्छोलाई सन्चो लागेर सुखका दिन आउने आशा मारेकी छैन । म अबका केही वर्षपछि गिट्टी पनि कुट्न सक्ने छैन, त्यसपछि सरकारले दिने वृद्धभत्ताको सहाराले जीवन चलाउनु पर्ने हो ।

प्रस्तुति : मोहन चन्द

धौली भुल 

Link copied successfully