७३ वर्षीया वृद्धा गिट्टी कुटेर छोराको हेरचाहमा जुटेकी छन्, कान्छो छोरो बिरामी हुँदा परिवारको जिम्मेवारी उनकै काँधमा आइपरेको छ।
What you should know
काठमाडौँ — दशरथचन्द नगरपालिका–४ गोठलापानी बजारमा घर छ । घर भए पनि कमाएर दिने भर छैन । त्यसैले बुढ्यौलीमा सडक किनारमा बसेर गिट्टी कुट्छु । यसरी गुजारा गरेको ११ वर्ष भयो । दिनभर गिट्टी कुटेमात्र साँझ–बिहान घरमा चुलो बल्छ ।
मसित एउटा छोरा छ । ममात्रै भए त नखाए पनि हुन्थ्यो, तर छोरो भोकै बसेको देख्न सक्दिनँ । त्यसैले बैतडी सदरमुकाम छेउछाउका सडक किनारमा घामपानी नभनेरै गिट्टी कुटेर गुजारा चलाइरहेकी छु । बसेर गिट्टी कुट्न सहज लाग्छ । गाह्रो–साह्रो काम गर्न सक्दिनँ । शरीरमा बल भएकाहरू त मजदुरी गर्छन् । म त अब त्यो पनि गर्न सक्दिनँ ।
अहिले ७३ वर्षकी भएँ । कुटो चलाउँदा पाखुरा थाक्छन्, जीउ गल्छ, मेरो जीवन छउन्जेल यही कुटोको सहारामै दिनभरिको बास यही सडकमा हुन्छ कि जस्तो लाग्छ । पहिलेको जस्तो जाँगर पनि छैन, वरपरबाट ढुंगा बटुलेर ल्याउन सक्दिनँ । सकीनसकी पनि बोक्नै पर्छ । छन त मेरा ३ छोरा, बुहारी, नाति–नातिना छन् । उनीहरू सबै छुट्टीभिन्न भइसके । कान्छाकी श्रीमतीले नाति–नातिना लगेर माइतीमै बसेको तीन वर्ष भइसक्यो । सानैदेखि माया गरेको कान्छोलाई अहिले पनि पाल्नु परेको छ ।
कैयौँ वर्ष पैदल झुलाघाटबाट व्यापारीका सामान बोकेँ । पछि गाडी चल्न थालेपछि सामान बोक्ने काम छुट्यो । अहिले पनि पारि (इन्डिया) बाट झोलामा सामान ल्याउन सके गुजारा चल्ने थियो । सक्दिनँ । अब त उकाली ओराली हिँड्न पनि नसक्ने भएँ । मेरो परिवारको गुजारा चलाइदिने पहिले गोठालापानीका व्यापारी थिए, अहिले ठेकेदार छन् ।
बिहान घाम देखिने बित्तिकै आउँछु । मैले नास्ता खाएर कान्छो छोरालाई खाना राखेर आउँछु । कहिले आफूलाई दिउँसोका लागि रोटी बोकेर ल्याउँछु । कहिले त्यत्तिकै निस्कन्छु, रोटी नल्याएको दिन पानी पिएर भोक मेटाउँछु । दिनभरिको मेरो सहारा भनेको यही एक छाता छ, घाम लागे पनि, पानी परे पनि यसैले ओत दिएको छ ।
बुहारीले कान्छा छोराका नाममा माइतबाटै छोडपत्र (सम्बन्धविच्छेद) मुद्दा हालेकी छे । कान्छो छोरा पहिले ठेकेदारको ट्याक्टर चलाउँथ्यो । एक वर्षअघि कम्मरको बिरामी भएदेखि घरमै बसेको छ । केही दिनअघि घरभन्दा मुनिको भीरबाट लडेर घाइते भएपछि थला पर्यो । अस्पताल लग्ने पैसा नभएर घरेलु उपचार गरिदिएकी छु । गिट्टी लग्ने ठेकेदारले पैसा दिए भने जिल्ला अस्पताल लग्नुपर्ने छ । भाग्यमा यस्तै लेखेको रहेछ । म मरेपछि छोराले कसरी गरी खाने हो, यही चिन्ताले खाइरहेको छ ।
गिट्टी किन्नेहरू पनि समयमा पैसा दिँदैनन्, कुनै दिन चामल किन्ने पैसा नपाएर भोकै बस्छौं । दिनभरि एक कट्टा मात्र गिट्टी कुट्न सक्छु । त्यसको ८० रुपैयाँ आउँछ । यत्तिले त तरकारी किन्न पनि पुग्दैन । मिठोमसिनो खान चाडपर्व नै कुर्नुपर्छ । चाडपर्वमा पनि गिट्टी कुट्न छोडे कमाइ हुन्न । कहिले त गिट्टी कुट्ने हतौडा किन्न पनि पैसा हुँदैन ।
वर्षातमा गिट्टी बिक्री नहुने भएकाले थन्क्याएर राख्छु । हिउँदमा त्यो बिक्री हुन्छ । म ‘पायल्स’की बिरामी छु । डाक्टरले अप्रेसन गर्नुपर्छ भनेका छन् । जिल्ला अस्पतालमा उपचार हुँदैन भन्छन् । अन्त जान खर्च पनि छैन, अस्पताल पनि देखेकी छैन ।
टन्टलापुर घाममा बसेर काम गर्दा साह्रै पीडा हुन्छ । उता अदालतमा बुहारीले बोलाएको बोलायै छ । सम्बन्धविच्छेद गरेर खुब राम्रोसँग खाउँला भन्ने सोचेकी होली । सदरमुकामै घर छ । बालबच्चा सानै छँदा श्रीमान् बिते । झुलाघाटबाट भारी बोकेर छोरा हुर्काए । बिहे गरेपछि टाढा भए ।
मलाई छोराबुहारीप्रति कुनै गुनासो छैन, आफ्नो परिवार पाले पनि धेरै हो । मैले जिन्दगीभर दुःख भोगेँ, अब त सुख आउला भनेको कान्छोको दुर्दशाले झन् दुःख आइपर्यो । कसैलाई त भगवानले सधैं दुःख नै दिने रहेछन् । अझै पनि कान्छोलाई सन्चो लागेर सुखका दिन आउने आशा मारेकी छैन । म अबका केही वर्षपछि गिट्टी पनि कुट्न सक्ने छैन, त्यसपछि सरकारले दिने वृद्धभत्ताको सहाराले जीवन चलाउनु पर्ने हो ।
प्रस्तुति : मोहन चन्द
