घरखर्च चलाउन फुटपाथमा तरकारी बेच्ने आमाले सन्तानलाई निजी स्कुलमा पढाउन गरेको संघर्षको प्रेरणादायक कथा
What you should know
विराटनगर — म अहिले ३५ वर्षकी भएँ । यो उमेरसम्म आइपुग्दा मैले जिन्दगीमा धेरै अभाग, अन्याय, अत्याचार र हन्डरहरू भोगेँ । धेरै कुरा गुमाएकी छु, केही कुरा जितेकी पनि छु । मेरो जीवन कुनै उपन्यासको पाना त होइन तर पसिना बगाएर लेखिएको एउटा अध्याय भने पक्का हो । जसमा दुःख, अभाव, आँसु, हाँसो, आसा–निरासा र बग्रेल्ती संघर्षहरू छन् ।
म १२ वर्षकी थिएँ । खेल्ने, रमाउने उमेर थियो । किताब बोकेर स्कुल जान मन थियो । तर, ती सबै इच्छा सिसाझैं चकनाचुर भए । किनकि खाउँखाउँ लाउँलाउँको त्यो उमेरमा दुलही बनेर दुलहाको घर जानुपर्ने बाध्यता आइलाग्यो ।
२०५८ जेठ १९ मा राजा वीरेन्द्रको वंश नाशको खबरले देश धुरुधुरु रोइरहेको थियो । त्यति नै बेला म पनि बेहुली बनेर परायाको घर जानु पर्दा भक्कानिएर रोएकी थिएँ । शंकर कामतसँग मेरो विवाह भयो । उनी पनि १५/१६ वर्षका थिए । तर, मजस्तो अनपढ र गँवार थिएनन् ।
किताब बोक्ने कलिला हातमा गह्रुंगो बोझ आइलाग्यो । मलाई कहिल्यै पाठशालाले बोलाएन, सधैं घरधन्दाको पाठशालामै अल्झिएँ । भाँडावर्तन, झडुकुचोमा केही समय बित्यो । त्यसपछि जिम्मेवारी अझै बढ्यो, जब बालबच्चा जन्मिन थाले ।
औपचारिक रूपमा पढ्न त पाइनँ तर जीवनका हरेक मोड पढ्दै गएँ, कहिले आँखा खोलेर, कहिले मन बुझाएर । घर, श्रीमान्, सासू–ससुरा, बालबच्चा, बिहानको चुलो, बेलुकाको चिन्ता, यी सबै मेरो जिन्दगीका पानाहरू बनेर पल्टिन थाले । पढेर केही गर्ने, आफ्नै खुट्टामा उभिने सपना त थियो । त्यो सपना काँचो रहरझैँ चुँडियो ।
अहिले विराटनगर महानगरपालिका–२ केसलिया खोलानजिकैको बस्तीमा बसोबास छ । हाम्रो सानो माटोको घर छ । म बिहान सबेरै उठ्छु, तरकारी किनेर ल्याउँछु र बजारमा लगेर बेच्छु । तरकारी किन्न कहिले बर्जु पुग्छु त कहिले अलि परको बजार ।
पहिला दिनहुँ हटिया धाउँथेँ । जब २०७७ मा कोरोनाको महामारी सुरु भयो, त्यसपछि लकडाउन भयो । हटियाहरू बन्द भए । सँगै हाम्रो परिवारको रोजीरोटी पनि खोसिने सम्भावना सुरु भयो । लकडाउनको केही महिना त तरकारी बेच्न सकिएन । तर, जब लकडाउन बिस्तारै कम हुँदै गयो, तवदेखि म टोलकै छेउमा बसेर तरकारी बेच्न थालेँ । त्यसो गर्न थालेको पनि अब त तीन वर्ष बितिसकेको छ ।
अहिले घरदेखि करिव चार किलोमिटर टाढा कन्चनबारीको षडानन्द चोक नजिकै फुटपाथमा तरकारी बेच्छु । बिहान बाटो पश्चिमतिर फर्किएर बेच्छु । साँझ घाम डुब्न थालेपछि पूर्वतिर फर्किन्छु । कमाइ धेरै हुँदैन । जेनतेन परिवार चलाउन पुगेको छ । महिनामा कहिले १५, कहिले २० हजारजति बच्छ । त्यतिले घरखर्च पुर्याउनै गाह्रो हुन्छ ।
सबैभन्दा धेरै खानपिनमै खर्च हुन्छ । अनि छोराछोरीको पढाइमा । खानपिनको सबै सामान किनेरै ल्याउनुपर्छ । खेतबारी छैन, आत्मनिर्भर छैनौं । श्रीमान् चप्पल कारखानामा काम गर्नुहुन्छ । उहाँको कमाइ पनि धेरै छैन, महिनामा १० हजारजति छ । त्यसैले मैले नै काँध हाल्नुपर्छ, घरखर्च धान्न ।
बच्चाहरूलाई निजी स्कुलमै पढाएकी छु । भलै पैसाको अभावले छटपटी हुन्छ । कहिले भोकै पनि सुत्यौं होला । तर पढाइमा सम्झौता गर्न मन लागेन । किनभने मलाई थाहा छ, शिक्षाले नै मान्छेलाई परिवर्तन गर्छ, ज्ञानले नै विभेद मेट्छ ।
खानपिनमा महिनामा १० हजार बढी खर्च हुन्छ । स्कुलमा पनि १० हजारै जति खर्च हुन्छ । निजी स्कुलमा फिस महँगो छ । दुःख गरेर पनि अंग्रेजी स्कुलमै पढाउन मन लाग्यो । महँगो स्कुलमा पढाएपछि खर्च त हुन्छ नि, अब के गर्ने ?
हाम्रो आठ जनाको परिवार छ । म, श्रीमान्, दुई छोरी, एक छोरा, सासू, ससुरा अनि हाम्रो साझा सपना । जेठी छोरीको विवाह भइसक्यो, तर बिहेपछि पनि ऊ पढ्दैछे । त्यो देख्दा गर्व लाग्छ । मैले जे गुमाएँ, छोरीले त्यो गुमाउनु परेन । छोरीका ससुराली पक्ष बुझकी छन्, जसले उसलाई बिहेपछि पनि पुनः पढ्न सहयोग गरे ।
कान्छो छोरा कक्षा ८ मा पढ्छ । जेठो १२ पास गरेर डिप्लोमा पढ्दैछ । कम्प्युटर पनि सिकेको छ । बिहान मलाई वाइकमा बजारमा झारिदिन्छ र आफू कम्प्युटर पढाउन जान्छ । कहिलेकाहीँ घरखर्च चलाउन उसले पनि थोरै सघाउँछ । ऊ मेरो अभिमान हो, जसले सधैं मेरो सपना पूरा गर्ने भरोसा दिलाउँछ ।
आज मलाई पढेलेखेकी छैन भन्ने चिन्ता छैन । तर, पढ्न नपाएको पीडा चाहिँ कताकता आउने रहेछ । यति हुँदा पनि मेरो सपना मरेको छैन । माटोको यो सानो झुप्रोलाई एक दिन पक्की घरको रूप दिने योजना छ ।
कहिलेकाहीँ तरकारीको मुठो सुम्सुम्याउँछु र सोच्न थाल्छु– हिजो मैले देख्न नपाएका सपना आज छोराछोरीका आँखाबाट देखिरहेकी छु । आफ्नो पसिनाको कमाइ सन्तानको पढाइमा लगाउन पाउँदा औधि खुसी छु । मैले पढ्न पाइनँ, ठीक छ । तर, मेरा सन्तानले पढ्न पाऊन्, मान्छे भएर बाँच्न पाऊन्, आफ्ना सपनामा वायुपंखी घोडाझैं उड्न पाऊन्, यही मेरो जीवनको सार्थकता हुनेछ ।
प्रस्तुतिः पर्वत पोर्तेल
