धरानमा संघर्ष : एक युवतीको प्रेरणादायी कथा
What you should know
धरान — गाउँबाट सपना बोकेर मानिसहरू सहर बसाइँ सर्छन् । त्यस्तै व्यक्तिमध्ये म पनि एक थिएँ । धनकुटाको जितपुरस्थित एक सामान्य परिवारमा मेरो जन्म भएको थियो । बुवा–आमाले दुःख गरेर हामी छोराछोरीलाई हुर्काउनु भयो । गाउँमा विद्यालय त थिए । तर, घरबाट टाढा भएकाले एक घण्टा हिँडेर विद्यालय जानु पर्थ्यो ।
हाम्रा दुःखको कुनै सीमा थिएन । गाउँमा पिउने पानीको पनि असाध्यै दुःख थियो । त्यो दुःख अझै हटेको छैन । घण्टौं हिँडेर एक घैला पानी ल्याउनु पर्छ । पानीका लागि सास्ती खेपेर बाल्यकाल बित्यो । कहिलेकाहीँ पानी लिन जाँदा विद्यालय छुटाउनु पर्ने परिस्थिति थियो । यस्तै कष्ट सहेर जीतपुरको जनता माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेँ । त्यही विद्यालयबाट मैले कृषि विज्ञानमा कक्षा १२ पनि उत्तीर्ण गरेँ ।
हाम्रो बस्ती विकसित थिएन । सवारी साधन चढ्न र किनमेल गर्न बजार पुग्न घण्टौं हिँड्नु पर्छ । मैले प्लस टू पास गरेदेखि थप पढ्न मन लागेन । त्यसैले करिब दुई वर्ष पढाइलाई रोकेँ । त्यही दुई वर्षमा मेरो जिन्दगी पूरै बदलियो । त्यो बदलाव सम्झिँदा आज पनि मलाई सपना जस्तै लाग्छ ।
त्यसपछि गाउँबाट सहर बसाइँ सर्ने निधो गरेँ । गाउँमा जति नै गर्छु भन्दा पनि काम गर्ने वातावरण थिएन । त्यसैले धरान आएर पढाइ पूरा गर्ने सोच बनाएँ । यसमा परिवारले पनि साथ दियो । दुई वर्ष भयो धरान आएको पनि । धरान एकदमै नौलो सहर थियो । मलाई मन पर्ने सहर पनि हो । यहाँ आएपछि डेरामा बस्न थालेँ ।
सहरमा आफन्त भन्ने कोही थिएनन् । गाउँकै चिनेको मान्छेहरू चाहिँ थुप्रै थिए । गाउँमा बोलचाल नभएका छिमेकी पनि अन्जान सहरमा भेट्दा आफन्तजस्तै लाग्दा रहेछन् । अहिले म महेन्द्र बहुमुखी क्याम्पसमा मानविकी संकायतर्फ स्नातक तहमा भर्ना भएर पढिरहेकी छु ।
धरान आएपछि मेरो संघर्ष सुरु भयो । आफूसित रोजगारीको अनुभव थिएन । यहाँ तीन हजारको काम पाउन पनि तीन वर्षको अनुभव खोजिन्थ्यो । गाउँबाट काम गर्दै पढ्छु भनेर आएकी थिएँ । चिनेका मान्छे भेट्ने बित्तिकै काम खोज्दिनु न हौ भन्थेँ ।
बल्लतल्ल एक नातेदार बहिनीले दोकानमा काम खोज्दिइन् । त्यहाँ महिना दिनसम्म अडिएँ । गाह्रो काम थियो । त्यसपछि मैले जब लिंकमा फर्म भरेँ । एक होटलमा वेटरको कामका लागि १० हजार तलब राखिएको थियो । पैसा ठिकै लागेकाले मैले एप्लाई गरेँ । होटलमा बिहान ९ देखि राति १० बजेसम्म काम गर्नु पर्थ्यो । एकछिन आराम मिल्थेन । सुरु सुरुमा त मेरो खुट्टा सुन्निएका थिए । एकछिन बिसाउन परे शौचालय जान्थेँ । काम गर्ने ठाउँमा उभिन पनि मनाही थियो ।
मैले जेनतेन डेढ महिना काम गरेँ । त्यहा काम गर्दा मेरो पढाइमा असर पुग्ने भयो । तर, कोठाभाडा, पढाइ र घरखर्चका लागि काम गर्नैपर्ने थियो । आफ्नो खर्च आफैं जुटाउनु पर्ने थियो । तर जहाँ जे काम गरे नि ५ हजारदेखि मरेर १० हजारको काम पाइन्छ । त्यसपछि मैले दोकानमा काम गरेँ । त्यहाँ दिनको १० घण्टा काम गर्दा पनि महिनाको ५ हजार तलब थियो । यसले घरखर्च चलाउन पनि पुग्थेन । कोठा भाडामात्रै महिनाको तीन हजार छ । पानी, बिजुली, बत्ती, खानपिन साथै कहिलेकसो हिँडडुल गर्दा ५ हजारले महिना काटाउन हम्मेहम्मे पर्छ ।
अहिले मोबाइल दोकानमा काम गर्न थालेको डेढ महिना हुँदैछ । ७ हजार तलब छ । राम्रो काम गरे बढाइदिन्छु भन्नु भएको छ । बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म काम हुन्छ । काममा जाँदा सिटी सफारी भाडा ४० रुपैयाँ लाग्छ । खाजा खाँदा थप ६० रुपैयाँ खर्च हुन्छ । दशैं तिहारमा घर गइन्छ ।
घर जाँदा एक हजार गाडी भाडा लाग्छ । बुवाआमालाई नयाँ लुगा, सामान लग्दिन मन लाग्छ । आफूले कमाएको पैसामध्येबाट केही रकम आमाबुवालाई पठाइदिन मन लाग्छ तर कहिल्यै भनेजसरी पठाउनै सकेकी छैन ।
प्रस्तुति : एलिना राई
