‘सीप पुस्तान्तरण गर्न नपाएकामा चिन्तित छु’

श्रावण ८, २०८२

चङ्खबहादुर पर्वते

”I am worried about not being able to transfer skills”

What you should know

ताप्लेजुङ — हरेक सातामा एक दिन कम्तीमा दुई तीन किलो मासु खान्छौं । साताको २५ सय रुपैयाँजति यसैमा खर्च भइहाल्छ ।  बिहान खाना, दिउँसो खाजा, बेलुका खाना नियमित नै भइहाल्यो । यसका अलावा आँप, स्याउ, सुन्तला लगायतका सिजन अनुसारका फलफूल ल्याएर परिवारलाई खुवाउँछु ।

तीन जना मसिना बालबालिका छन् । तिनलाई स्कुल जाँदा खर्च दिनुपर्छ । यसको बन्दोवस्त मैले नै मिलाउँछु । ५० किलो चामलको बोराको अट्ठाइस सय जति पर्छ । तरकारीचाहिँ खासै किनेर खानु पर्दैन । यसको मेसो मैले मिलाउँछु । 

फुङलिङ नगरपालिका–७ दोखु, ताप्लेजुङमा मेरो जन्म भएको हो । म २०१६ सालमा जन्मिएको हुँ । अहिले ६६ वर्षको भएँ । ६ भाइ छोरामध्ये कान्छो मात्रै घरमा छ । अरु सबै विदेशमा छन् । अहिलेसम्म घरखर्च चलाउन मैले अरु कसैको भर पर्नु परेको छैन । 

मेरो आम्दानीको स्रोत पनि राम्रै छ । सातामा दुईवटा खुकुरी बनाउँछु । एउटाको कम्तीमा पनि पाँचदेखि सात हजार रुपैयाँमा बिक्री हुन्छ । कुनै साता एउटा मात्रै बनाउँछु । तर त्यो आठ, दश हजारमा जान्छ । मेरो औसत कमाइ दिनमा १५ सय हुन्छ । महिनामा ६०/७० हजार त कमाउँछु । यसमा खर्च पनि छ । कोइला महिनामा चार/पाँच हजारको खपत हुन्छ । लाहा चाहिन्छ । लाहा धरानबाट ल्याउनु पर्छ । एक महिना पुग्ने लाहालाई १२ सय जति लाग्छ । फलामचाहिँ सस्तै छ । तीन हजारको फलाम ल्याएँ भने एक महिनाका लागि पुग्छ । 

म जत्तिको खुकुरी बनाउने सायदै औंलामा गन्नु पर्छ यतिबेला । हसियाँ, कोदालोदेखि फलामका सबैखाले सामान बनाउँछु । अहिले बिक्रीमा पनि समस्या छैन । चटक्क नक्सासहितको बनाउने भएकाले होला मान्छेहरु तपाईंले नै बनाइदिनु भन्छन् । फलाम कुट्नेको चाहिँ साह्रै नै समस्या छ । छोराबुहारीलाई समय माग्नु पर्छ । उनीहरुलाई पनि खर्च त दिनु पर्यो नि । तर दिनको यति नै अथवा एउटा बनाएबापत यति भनेर चाहिँ अहिलेसम्म पैसा छुट्याएको छैन ।

कमाएको पैसा घरमै खर्च हुन्छ । पुरानो घर, बुढो मान्छेको घर महिनामा ३०/३५ हजार रुपैयाँ त खर्च भई नै हाल्छ नि । त्यही अनुसारको कमाइ पनि हुन्छ र खासै हिसाब पनि राख्दिनँ । जाँड, रक्सी, बियर केही पनि खाँदिनँ । चुरोट खैनी पनि खान्नँ । तर खोइ सुगर र प्रेसरले दुःख दिन थालेको छ  । 

मेरो सीपलाई आफ्ना छोराले पनि खासै ध्यान दिएनन् । अरुलाई आफ्नो सीप सिकाएर मर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । तर खै कसैले त्यो खालको वातावरण पनि मिलाइदिएनन् । सीप सिक्ने मन हुनेलाई पैसा चाहिँ दिन सक्दिनँ । आए भने सित्तैमा सिकाउँछु भनेको छु । अहिले त यस्तोमा ध्यान दिने मान्छे नै पाइँदैन । बडो दुःख लाग्छ । आठ वर्षको हुँदादेखि सिकेको सीप अरुलाई सिकाउन नपाई मरिने भैयो भन्ने चिन्तामा छु । 

घरेलुमा दर्ता हुँदा तालिम दिन्छन् भनेर त्यहाँ पनि गएँ, खै दिएनन् । मैले बनाएका खुकुरी कञ्चनजंघा महोत्सवमा आउँदा तत्कालीन प्रधानमन्त्रीले पनि खुव मन पराउनु भयो । ताप्लेजुङ अड्डाका हाकिमहरु प्रायःले खुकुरी किनेर लगेका छन् ।

मेरो घर पहिला त मिक्वा खोला हो । बजार छेउमा भइयो भने बिक्रीमा सजिलो हुन्छ, आफ्नो सीप धेरैले देख्न, हेर्न र सिक्न पाउँछन् भनेर यता बजार नजिकमा आएको हुँ । बजारको पनि कहिल्यै खाँचो भएन । कहिलेकाहीँ आन्दोलन के के हुँदा चाहिँ अर्डर गर्ने थुप्रो आउँछन् । त्यतिबेला खुकुरी लगेर उपद्रो पो गर्छन् कि भनेर अलिक मन पोल्छ । हाम्रो त व्यवसाय त हो नि । त्यही अनुसारकाले व्यवहार गर्छौं । व्यवसाय भन्दा पनि घर परिवारमा चाहिने कुरा नै बनाउने हो । 

एउटा सीपले यत्तिका छोराछोरी, बुहारीलाई के खान दिऊँ, के लाउन दिऊँ भन्ने अहिलेसम्म समस्या भएको छैन । जग्गा जमिन थोरै छ । गरेर खान पुग्दैन । के गर्ने होला भन्ने चिन्ता पनि भएन । फलाम कुट्ने काम सजिलो त कहा हुन्छ र ? तर पनि एउटा दर्बिलो व्यवसाय पनि भएको छ । बाबुबाजेको पेसालाई पनि निरन्तरता दिएको छु । अब चाहिँ पछिकाले यस्तो राम्रो नगर्लान् कि भन्ने मात्रै चिन्ता छ ।

प्रस्तुति : आनन्द गौतम

चङ्खबहादुर पर्वते

Link copied successfully