‘आरन मेरो मन्दिर हो, सीप मेरो भगवान्’

भारतमा संघर्ष गर्दै सीप सिकेको र त्यसैको बलबुतामा परिवारको जीविका चलाएको जीवन कथा

श्रावण १०, २०८२

जोखबहादुर कसेरा

”Aran is my temple, skill is my God”

What you should know

प्यूठान — बाघमुखे चुलेसी भन्ने बित्तिकै प्यूठानको नाम आउँछ । यसले अहिले देशैभरि परिचय पाएको छ । तर, त्यो चुलेसी बनाउने मलाई चिन्ने भने कमै छन् । पाको पुरानो पुस्ता छाडेर अन्यलाई बाघमुखे चुलेसी बनाउने मै हुँ भनेर चिनारी दिनुपर्छ ।

म यही गाउँमा छु । तर, मैले बनाएका चुलेसी विदेशसम्म पुगेका छन् । मैले विदेश टेकेको भनेको त्यही भारत मात्र हो । त्यहाँ पनि घुम्न गएको होइन । सानै उमेरमा कमाउन गएको थिएँ । अहिले म कुवाको भ्यागुत्तोसरी बनेको छु ।

पहिलोपटक भारत जाँदा १६ वर्षको थिएँ । त्यहाँ १७ वर्ष काम गरेँ । भारत जानुभन्दा पहिल्यै मेरो बिहे भइसकेको थियो । बाजेले 'नातिनी-बुहारीको हातबाट पानी खाएर मर्ने मन छ' भनेपछि परिवारले मल्लरानी गाउँपालिका–४, पाण्डेडाँडाकी केटीसित बिहे गरिदिएका हुन् रे । मेरो घर पनि मल्लरानी–४, भञ्ज्याङ्गमा छ । अहिले ६० वर्षको भएँ । म १२ वर्षको हुँदा ७ दिनको अन्तरमा बाजे र बुवा बिते । आमाले दुःख खेपेर हुर्काएकी हुन् । म त भारतबाट फर्किएँ । तर कान्छो भाइ अहिलेसम्म फर्किएको छैन । अत्तोपत्तो पनि छैन । माइलो भाइका परिवार पनि भारतमै छन् ।

अभावै अभाव भएको परिवारमा जन्मिएकाले पढ्न पाइएन । स्कुल त नजिकै थियो । त्यसबेला दलितले पनि पढ्नुपर्छ भन्ने नै थिएन । बुवा–आमाले स्कुल भर्ना गरिदिनु भएको थियो । तर, म कहिल्यै स्कुल गइनँ । बुवा चाँडै बिते, जेठो छोरो भएकाले सबै जिम्मेवारी आइलाग्यो । त्यसपछि साथीहरू स्कुल गएको हेर्दै आफू भने भारततिर लागेँ । । १६ वर्षको उमेरमा पहिलोपटक चप्पल लगाउन पाएको हुँ ।   

गाउँकै साइला बुवाको भरमा भारत गएको हुँ । बर्खाको बेला थियो, झिमरुक खोला वारपार थियो । पहिले त पुल पनि थिएन । खोलावारि बसेर हेरिरहेका बेला एक जना गाउँलेले ‘काटम खोली घाँस, रुदै काजानी लाग्यो बर्खा मास’ भन्ने गीत गाउँदा म रुँदै भारततर्फ लागेको अहिले पनि झलझली याद आइरहन्छ । भारतमा काम गर्दा दिनको १ रुपैयाँ तनखा थियो । एक महिना काम गरेपछि ३० रुपैयाँ कमाउँथे । गाउँमै बस्नलाई पाखो बारीको मकैले चार महिना खान पुग्थेन । 

भारतबाट फर्किएपछि चुलेसी बनाउन सिकेको हुँ । त्यही बेलाको सीपले अहिलेसम्म घरखर्च चलेको छ । जेठा बुवाले माटो कुट्नेदेखि चुलेसी बनाउन सिकाए । उनकाे मन्त्र नै थियो, 'सीप सिके खान पाइन्छ, नत्र भोकै मरिन्छ ।' उनकै डरले नै मैले चुलेसी बनाउन सिकेँ । अहिले त नुनतेलको जोहो यसैले गरेको छु । लुगाफाटो र चाडपर्वमा मिठोमसिनो खान लाउन पुगेको छ । यसबाहेक फरक केही गर्न सकिएको छैन । 

मेरा दुई छोरा र एक छोरी छन् । दुवै छोरा भारतमै छन् । छोरीको बिहे भइसक्यो । चुलेसी बनाएरै छोराछोरीलाई आँखा देख्ने बनाएँ । अहिले आ–आफ्नो खुट्टामा उभिने भएपछि सबै लाखापाखा लागे । घरमा बुढाबुढी र नाति–नातिना बस्छौं । जेठा छोरा–बुहारी पहिले छुट्टिएर बसेका थिए । जेठी बुहारी अर्को बिहे गरेर गएपछि नाति–नातिना मैले नै स्याहारेर बसेको छु । छोराको कमाइ सुको देखेको छैन । बुढाबुढी जसोतसो पालिएकै छौं । खाली पेट सुत्न परेको छैन । अहिले नाति–नातिनासँगै बस्दा खर्च थपिएको छ । तर जसोतसो चलेकै छ । केटाकेटी सानै छन् । खर्च धेरै छैन । 

हामी बुढाबुढीको बोझ छोरालाई के बोकाउनु जस्तो लाग्छ । आफ्नो जिम्मेवारी आफैंले धानेका छौं । एउटा चुलेसी बनाएपछि एक महिनालाई नुन तेल खर्च पुग्छ ।  एउटा चुलेसी अहिले १२ सय रुपैयाँमा बिक्री हुन्छ । एउटा चुलेसी एक दिनमै तयार हुन्छ । तर सुक्न  समय लाग्छ । पहिले पहिले महिनामा २०/२५ हजार कमाइ हुन्थ्यो । अहिले बजारमा माग घटेपछि आम्दानी पनि घटेको छ । अहिले त महिनामा ५/७ हजार पनि कमाइ हुन छोडेको छ । 

पैसा नभएका बेला 'साहुलाई पख्नु है' भनेपछि एक बोरा चामल पत्याउँछन् । यसैगरी चलेको छ जीन्दगी । घरको नजिकै आरन बनाएको छु । त्यही आरनमा चुलेसी बनाउन थालेको ३२ वर्ष भयो । आरन मेरा लागि मन्दिर हो । सीप मेरो भगवान् हो । गाउँमा अहिले त चुलेसी जानेको म मात्रै छु । मेरो पनि उमेर ढल्कँदै छ । म मरेँ भने चुलेसी पनि हराएर जान्छ होला ।

पहिले पहिले चुलेसीको माग निकै हुन्थ्यो । घरमै आएर चुलेसी किनेर लैजान्थे । पित्तल सस्तो थ्यो, देबलको माटो पनि सहजै पाइन्थ्यो, अहिले त पित्तल ६ सय रुपैयाँ किलो भएको छ । देबलको माटो पनि पाइन छोड्यो । आरन बन्द भएको दुई/तीन साता भयो । माग नभएपछि आरन बन्द गरेर बाख्रापालन गरिरहेको छु । दुई/चार बाख्रा छन् । चुलेसीको माग बढेपछि फेरि आरन सुरु गर्ने हो । 

प्रस्तुति : शमशेरविक्रम जीसी

जोखबहादुर कसेरा

Link copied successfully