बन्दुकको साटो मेसिन मर्मतको सीपले जीवन बद्लिएको कथा, जहाँ सशस्त्र प्रहरीको अनुशासनले जीवनको नयाँ पाटो खुल्यो।
What you should know
डडेल्धुरा — अहिले मलाई कतिपयले ‘रेडियो मर्मत गर्ने मान्छे’ भनेर चिन्छन् । कसैले मिक्सरको तार मिलाउँदा देखेका छन्, कसैले टीभी खोल्ने औजार समातिरहेका बेला भेटेका छन् । कोही मलाई बगरपाटाको टिनको पसलमा, त्यो सानो कोठाभित्र बिहानैदेखि बेलुकासम्म झुकेको देख्छन् । तर तिनै आँखाबाट सायद थोरैले देखेका होलान्– म सशस्त्र प्रहरीको गणमा १६ वर्षसम्म जागिरे थिएँ ।
हो, सशस्त्रमै हुँदा मेरो जीवनको अर्को पाटो सुरु भएको थियो । बन्दुक मात्र चलाउने होइन, मेसिन खोल्ने, बिग्रिएको तार सुल्झाउने, स्पिकरको आवाज खोज्ने काम पनि त्यहीँ सिकेँ । सायद कुनै दिन यो सीप काम लाग्ला भन्ने अनुमान थिएन, तर जीवनले मोड लियो । जागिर छाडेपछि सबैभन्दा पहिले यही हातका भरमा जिन्दगी चलाउने सोच बनाएँ । त्यो १२ वर्षअघिको कुरा हो । बगरपाटाको एक कुनामा मैले सानो पसल खोलेँ, भाडा महिनाको चार हजार ।
टिनको छानो, पुराना मेचकुर्सी, केही स्क्रु र मेसिनका पुराना पार्टपुर्जा थिए । सुरुमा दिनमा दुई–तीन जना ग्राहक आउँथे । रेडियो, टेप, टर्च ल्याएर आउँथे । त्यतिबेलै दैनिक दुई–तीन हजारसम्म कमाइ हुन्थ्यो । त्यो समयमा त्यो रकम राम्रै थियो । म आफैं सशस्त्रबाट आएको मान्छे । अनुशासन थियो, कदर गर्न सक्ने भावना छ । अहिले पहिलाजस्तो कमाइ नभए पनि घरखर्च चलाउन राहत पुगेको छ ।
अहिले पनि काम चलेको दिन सात/आठ सय कमाइ हुन्छ । सागपात, चामल, नुनतेलको खर्च जोहो गर्न पुगेको छ । बिहान–बेलुकाको भान्साको खर्च चलेको छ । मेरो घर यहीँ सदरमुकामको बजारको छेउमै छ । दुई छोरा–छोरी, म र श्रीमती, चार जनाको परिवार । घर सानो छ तर मिलेको छ । टाढा जानु पर्दैन । बिहान पसल खोलेपछि घर फर्कन १० मिनेट लाग्दैन । एकछिनका लागि पनि बच्चालाई हेर्न वा चिया खाएर फर्कन सजिलो छ ।
श्रीमती नापी कार्यालयमा काम गर्छिन् । सरकारी जागिरे भएकाले मासिक आम्दानी हुन्छ । म भने मेरो सीपले आफ्नो संसार चलाइरहेको छु । पेन्सन पनि आउँछ । काम पनि चलिरहेको छ । त्यसैले हाम्रो घरमा कोरिया जाने, जापान जाने कुरा कहिल्यै उठेन । मेरा लागि यही बगरपाटा जापान हो, यही कोरिया हो । कतिपय साथीहरू देख्छु– सेना, प्रहरी, सशस्त्र प्रहरीमा २०–२५ वर्ष काम गरेपछि पनि विदेश पसेका छन् । ट्याक्सी हाँकिरहेका छन्, भवन निर्माणमा लागेका छन् । कसैले पैसा कमाएका पनि होलान्, तर मैले यही ठाउँमा आफ्नो सीप देखाएर काम गरिरहेछु ।
पसलमा अब पहिलेभन्दा फरक प्रकारका सामान आउँछन् । अब रेडियो मात्र होइन, स्मार्ट टीभीका रिमोटदेखि झिलिक्क बल्ने एलईडी लाइटहरू, टर्च, पंखा, मिक्चर लगायत भान्साका उपकरण पनि मर्मतका लागि ल्याइन्छ । डिजे सेटहरू पनि कहिलेकाहीँ ल्याउँछन् । टेप आउन छोडे । आज पनि मेरो पसलमा कोही टर्च लिएर आउँछन्, कोही स्पिकर । म मुस्कुराउँदै भन्छु, ‘सके आजै दिन्छु, नभए भोलि बिहानसम्म मर्मत गरेर राखिदिन्छु ।’ पसलमा पंखा घुमिरहेको हुन्छ, पुराना रिमोटहरू थुप्रिएका हुन्छन् । अनि त्यो टिनले बारेको सानो कोठाभित्र एउटा सपना पलाइरहेको हुन्छ । त्यही सपना जसले मलाई सशस्त्र प्रहरीको गणदेखि बगरपाटाको पसलसम्म ल्याएको हो ।
मेरो काम १०–४ को होइन । कहिले बिहानै ग्राहक आउँछन्, कहिले बेलुकासम्म अल्झिन्छु । तर म सन्तुष्ट छु । बिहानको चियापछि पसल पुग्छु, एक–एक गरेर सामान मिलाउँछु । सधैंजसो भात, तरकारी खान पाइन्छ । कहिलेकाहीँ मासु पनि पाक्छ । घरभित्र तातो चिया, बाहिर पसलको चहलपहल, बढी के चाहियो र जीवनमा ?
२०७९ सालको स्थानीय तहको चुनावमा भागेश्वर गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दिएको थिएँ । मेरो एजेन्डा अनौठो थियो । ‘३६५ दिन दसैँ बनाउने’– जुन गरिब वर्ग लक्षित थियो । किसानका लागि ‘हेलिकप्टरबाट खेतमा बीउ छर्ने’ एजेण्डा बनाएँ । धेरैलाई हाँसो लाग्यो । कतिपयले भाइरल बनाए । म हारेँ, तर सोच जित्यो । आज पनि त्यो सोच बाँकी छ ।
अहिले सोच्दैछु, आगामी चुनावमा प्रदेशतिर उम्मेदवारी दिनुपर्ला । म त्यस्तो मान्छे हुँ, जो आफ्नो कामसँग सधैं जोडिएको छु । सशस्त्र प्रहरी हुँदा जुन काम सिकेँ, अहिले त्यसैले म बाँचिरहेको छु । अनि राजनीति पनि मेरा लागि सेवा हो । बगरपाटामा पसल चलाउँदै, बत्ती झल्काउँदै, रेडियो बनाउँदै सोच्ने गर्छु, कसरी हामीजस्ता आमनागरिकका लागि योजना बनाउने ? कसरी गाउँमा नै सीप विकास गराउने ? किन युवा विदेशिनु पर्ने ? किन हामी आफैं काम गरेर बाँच्न सक्दैनौं ? मैले सधैं चाहेको छु, कामबाट जीवन चलोस्, सन्तोषबाट जीवन रमाओस् र मलाई लाग्छ, त्यो म सफलतापूर्वक गरिरहेको छु ।
प्रस्तुतिः तर्कराज भट्ट
