‘सशस्त्र प्रहरीको गणदेखि बगरपाटाको पसलसम्म’

बन्दुकको साटो मेसिन मर्मतको सीपले जीवन बद्लिएको कथा, जहाँ सशस्त्र प्रहरीको अनुशासनले जीवनको नयाँ पाटो खुल्यो।

श्रावण १५, २०८२

खडक ठकुराठी

From 'armed police force to bagarpata shop'

What you should know

डडेल्धुरा — अहिले मलाई कतिपयले ‘रेडियो मर्मत गर्ने मान्छे’ भनेर चिन्छन् । कसैले मिक्सरको तार मिलाउँदा देखेका छन्, कसैले टीभी खोल्ने औजार समातिरहेका बेला भेटेका छन् । कोही मलाई बगरपाटाको टिनको पसलमा, त्यो सानो कोठाभित्र बिहानैदेखि बेलुकासम्म झुकेको देख्छन् । तर तिनै आँखाबाट सायद थोरैले देखेका होलान्– म सशस्त्र प्रहरीको गणमा १६ वर्षसम्म जागिरे थिएँ ।

हो, सशस्त्रमै हुँदा मेरो जीवनको अर्को पाटो सुरु भएको थियो । बन्दुक मात्र चलाउने होइन, मेसिन खोल्ने, बिग्रिएको तार सुल्झाउने, स्पिकरको आवाज खोज्ने काम पनि त्यहीँ सिकेँ । सायद कुनै दिन यो सीप काम लाग्ला भन्ने अनुमान थिएन, तर जीवनले मोड लियो । जागिर छाडेपछि सबैभन्दा पहिले यही हातका भरमा जिन्दगी चलाउने सोच बनाएँ । त्यो १२ वर्षअघिको कुरा हो । बगरपाटाको एक कुनामा मैले सानो पसल खोलेँ, भाडा महिनाको चार हजार । 

टिनको छानो, पुराना मेचकुर्सी, केही स्क्रु र मेसिनका पुराना पार्टपुर्जा थिए । सुरुमा दिनमा दुई–तीन जना ग्राहक आउँथे । रेडियो, टेप, टर्च ल्याएर आउँथे । त्यतिबेलै दैनिक दुई–तीन हजारसम्म कमाइ हुन्थ्यो । त्यो समयमा त्यो रकम राम्रै थियो । म आफैं सशस्त्रबाट आएको मान्छे । अनुशासन थियो, कदर गर्न सक्ने भावना छ । अहिले पहिलाजस्तो कमाइ नभए पनि घरखर्च चलाउन राहत पुगेको छ ।

अहिले पनि काम चलेको दिन सात/आठ सय कमाइ हुन्छ । सागपात, चामल, नुनतेलको खर्च जोहो गर्न पुगेको छ । बिहान–बेलुकाको भान्साको खर्च चलेको छ । मेरो घर यहीँ सदरमुकामको बजारको छेउमै छ । दुई छोरा–छोरी, म र श्रीमती, चार जनाको परिवार । घर सानो छ तर मिलेको छ । टाढा जानु पर्दैन । बिहान पसल खोलेपछि घर फर्कन १० मिनेट लाग्दैन । एकछिनका लागि पनि बच्चालाई हेर्न वा चिया खाएर फर्कन सजिलो छ ।

श्रीमती नापी कार्यालयमा काम गर्छिन् । सरकारी जागिरे भएकाले मासिक आम्दानी हुन्छ । म भने मेरो सीपले आफ्नो संसार चलाइरहेको छु । पेन्सन पनि आउँछ । काम पनि चलिरहेको छ । त्यसैले हाम्रो घरमा कोरिया जाने, जापान जाने कुरा कहिल्यै उठेन । मेरा लागि यही बगरपाटा जापान हो, यही कोरिया हो । कतिपय साथीहरू देख्छु– सेना, प्रहरी, सशस्त्र प्रहरीमा २०–२५ वर्ष काम गरेपछि पनि विदेश पसेका छन् । ट्याक्सी हाँकिरहेका छन्, भवन निर्माणमा लागेका छन् । कसैले पैसा कमाएका पनि होलान्, तर मैले यही ठाउँमा आफ्नो सीप देखाएर काम गरिरहेछु ।

पसलमा अब पहिलेभन्दा फरक प्रकारका सामान आउँछन् । अब रेडियो मात्र होइन, स्मार्ट टीभीका रिमोटदेखि झिलिक्क बल्ने एलईडी लाइटहरू, टर्च, पंखा, मिक्चर लगायत भान्साका उपकरण पनि मर्मतका लागि ल्याइन्छ । डिजे सेटहरू पनि कहिलेकाहीँ ल्याउँछन् । टेप आउन छोडे । आज पनि मेरो पसलमा कोही टर्च लिएर आउँछन्, कोही स्पिकर । म मुस्कुराउँदै भन्छु, ‘सके आजै दिन्छु, नभए भोलि बिहानसम्म मर्मत गरेर राखिदिन्छु ।’ पसलमा पंखा घुमिरहेको हुन्छ, पुराना रिमोटहरू थुप्रिएका हुन्छन् । अनि त्यो टिनले बारेको सानो कोठाभित्र एउटा सपना पलाइरहेको हुन्छ । त्यही सपना जसले मलाई सशस्त्र प्रहरीको गणदेखि बगरपाटाको पसलसम्म ल्याएको हो ।

मेरो काम १०–४ को होइन । कहिले बिहानै ग्राहक आउँछन्, कहिले बेलुकासम्म अल्झिन्छु । तर म सन्तुष्ट छु । बिहानको चियापछि पसल पुग्छु, एक–एक गरेर सामान मिलाउँछु । सधैंजसो भात, तरकारी खान पाइन्छ । कहिलेकाहीँ मासु पनि पाक्छ । घरभित्र तातो चिया, बाहिर पसलको चहलपहल, बढी के चाहियो र जीवनमा ?

२०७९ सालको स्थानीय तहको चुनावमा भागेश्वर गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दिएको थिएँ । मेरो एजेन्डा अनौठो थियो । ‘३६५ दिन दसैँ बनाउने’– जुन गरिब वर्ग लक्षित थियो । किसानका लागि ‘हेलिकप्टरबाट खेतमा बीउ छर्ने’ एजेण्डा बनाएँ । धेरैलाई हाँसो लाग्यो । कतिपयले भाइरल बनाए । म हारेँ, तर सोच जित्यो । आज पनि त्यो सोच बाँकी छ ।

अहिले सोच्दैछु, आगामी चुनावमा प्रदेशतिर उम्मेदवारी दिनुपर्ला । म त्यस्तो मान्छे हुँ, जो आफ्नो कामसँग सधैं जोडिएको छु । सशस्त्र प्रहरी हुँदा जुन काम सिकेँ, अहिले त्यसैले म बाँचिरहेको छु । अनि राजनीति पनि मेरा लागि सेवा हो । बगरपाटामा पसल चलाउँदै, बत्ती झल्काउँदै, रेडियो बनाउँदै सोच्ने गर्छु, कसरी हामीजस्ता आमनागरिकका लागि योजना बनाउने ? कसरी गाउँमा नै सीप विकास गराउने ? किन युवा विदेशिनु पर्ने ? किन हामी आफैं काम गरेर बाँच्न सक्दैनौं ? मैले सधैं चाहेको छु, कामबाट जीवन चलोस्, सन्तोषबाट जीवन रमाओस् र मलाई लाग्छ, त्यो म सफलतापूर्वक गरिरहेको छु ।

प्रस्तुतिः तर्कराज भट्ट

खडक ठकुराठी

Link copied successfully