दुबईमा तीन वर्ष बिताएर घर फर्केका युवकले अहिले रिक्सा चलाएर परिवारको आर्थिक संकट टारिरहेका छन् ।
What you should know
विराटनगर — यो सहर त विराटनगर बन्नु भन्दाअघिको हो । म यही रंगेली नगरपालिका–६, डाँगी टोलमा जन्मिएँ । पढाइ पनि यतै गरेँ, तर आर्थिक अवस्था नाजुक थियो । टेस्ट पास गरेपछि त्यसभन्दा माथि पढ्न सकिनँ । १८ वर्ष नपुग्दै बुवाले राहदानी बनाइदिनुभयो । त्यसपछि मेरो यात्रा पनि मोडियो । कमाउन भनेर खाडी मुलुकतिर हान्निएँ ।
ठूलै सपना र कल्पना बोकेर दुबई पुगेपछि मधेशको गर्मी त फिक्का लाग्न थाल्यो । ४५ डिग्रीको तातो घाममा पसिना बगाउँदै करिब तीन वर्ष दुबईमै बिताएँ । त्यो समय मैले निकै मिहिनेत गरेँ । केही पैसा जोहो गरेँ, घर फर्किने बेला बैंकमा ९ लाख रुपैयाँ थियो ।
विदेशमै हुँदा जमिन जोडेको थिएँ । चार कोठे पक्की घर बनाएको थिएँ । सन् २०१८ मा ‘फिनिस’ आएँ । किन हो किन त्यसपछि फेरि विदेश जान मन लागेन । ‘जे गर्छु स्वदेशमै गर्छु’ भन्ने साहस भित्रैबाट आयो । विदेशबाट आएको वर्ष दिनपछि घरजम गरेँ । वर्ष दिनपछि बालबच्चा जन्मिए ।
अनि लाग्यो, जिन्दगी त सोचेजस्तो सजिलो रहेनछ पो ! घर व्यवहार, बालबच्चाको स्याहारसुसारमै दिनचर्या बित्न थाल्यो । एक पटक फेरि विदेश जाउँ कि ! तर, फेरि मन सम्हालेँ । पराया देशमा पसिना बगाउनु भन्दा आफ्नै देशमा सुन फलाउँछु ।
केही समय बुटवल पुगेर एउटा कारखानामा श्रम गरेँ । तर, त्यहाँको कमाइले घर चल्लाजस्तो भएन । अनि फर्किए घरतिरै आएँ । अनि बैंकमा भएको केही रकम झिकेर सिटी रिक्सा खरिदमा लगानी गरेँ । सुरुमा त रंगेली र वरिपरिका सडकमा पाँच–सातवटा रिक्सा गुड्थे होला । अहिले मेरो टोलमै १२ वटा रिक्सा छन् । सहरका सडक हेर्दा लाग्छ, जताततै रिक्सै–रिक्सा देखिन्छ ।
हाम्रो सानो परिवार छ– बुवा–आमा, म, मेरी श्रीमती र दुई जना नानी । बुवा पनि रिक्सा चलाउनु हुन्छ । हामी दुई जना मिलेर कहिले पाँच सय, कहिले हजार रुपैयाँसम्म कमाउँछौं । हाम्रो कमाइ संयुक्त हो, एउटै घरभित्रको साझा मिहिनेत हो । हाम्रो सबैभन्दा बढी खर्च भनेको नानीहरूको पढाइ र खानपिनमै हुन्छ । कहिलेकाहीं स्वास्थ्यमा पनि अनायासै खर्च आउँछ । त्यसकारण स्वास्थ्यप्रति हामी धेरै चिन्तित र सचेत छौं । नानीहरू दुवै जना स्थानीय मन्टेश्वरी स्कुलमा पढ्दैछन् । त्यो त महँगो नै छ । दुई जनाको मासिक शुल्क १७ सय रुपैयाँ तिर्नुपर्छ ।
म जहिले सोच्ने गर्छु– सरकारले स्कुल र अस्पताल त निःशुल्क गरिदिए हुन्थ्यो । तर, यो देशमा म जस्तो मान्छेको सोच कसले सुन्ने हो र ? आफैंलाई लाग्छ, ‘मैले सोचेजस्तो कहाँ हुन्छ र ! यी दुइटै कुरामा सहुलियत मिल्यो भने त हामीजस्ता गरिबको जिन्दगी अलि सहज हुन्थ्यो नि ! रासन, पानी, सागसब्जीमा पनि खर्च ठिक्कै लाग्छ । हामी माछा–मासु खाँदैनौं, त्यसैले त्यसमा भने खर्च छैन । चाडपर्वका बेला नयाँ लुगाकपडामा खर्च थपिन्छ ।
जति मिहिनेत गरे पनि कमाइ ठीक्कै हुन्छ । खर्च भने बढिरहेकै छ । बचत त शून्यजस्तै छ । बचत नगर्ने अनि खर्च मात्र गर्ने हो भने हाम्रो अवस्था के होला ? सधैं उही उस्तै त हो नि ! विदेश गएर घर त बनाएँ, त्यो सपना पूरा भयो । अब मेरो अर्को ठूलो सपना छ, मेरा दुई छोराछोरीलाई राम्रोसँग पढाएर शिक्षित बनाउने । अहिले उनीहरूको पढाइमा लगानी गरिरहेको छु । मनमा यही प्रश्न घुमिरहन्छ, ‘पछि त कसो नतिजा राम्रो नआउँला र !’
प्रस्तुति : पर्वत पोर्तेल
