‘बंगुर पाल्दाको ऋण तिर्न फलफूल खेतीमा लागेको छु’ 

डाक्टर बन्ने सपना अधुरो रहे पनि स्वदेशमै कृषि फर्म स्थापना गरेर आर्थिक समृद्धिको बाटो खोज्दै ।

श्रावण १९, २०८२

मदन घर्ती 

”I am engaged in fruit farming to pay the loan of Bangur Palda”

What you should know

सल्यान — स्थानीय विद्यालयमा कक्षा ६ मा पढ्दै थिएँ । उमेर त्यस्तै १३/१४ वर्षमात्र थियो । आर्थिक अवस्था कमजोर भएपछि परिवार धान्नै मुस्किल भयो । अनि त २०६९ मा साथीहरूसँग भारतको कालापहाड गएँ । 

त्यसबेला भारतको हिमाचल प्रदेश र गुजरातमा कृषि तथा बंगुर फर्ममा काम गर्ने अवसर पाएँ । झन्डै ६ वर्ष निरन्तर बंगुर फर्ममा काम गरेपछि अब आफ्नै घरमा केही गर्नु पर्यो भनेर २०७५ तिर स्वदेश फर्किएको हुँ । त्यतिबेलै पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट बंगुर पालनसम्बन्धी तालिम लिने अवसर मिल्यो र बंगुर पालनमा लागेँ । 

दुई–चारवटाबाट सुरु गरी १२/१५ वटा बंगुर पुगेपछि फर्म दर्ता गरेँ । बैंकबाट सहुलियत दरमा १० लाख ऋण लिएर व्यावसायिक रूपमा बंगुर पालन गर्न थालेँ । सुरुसुरुमा बंगुरका पाठापाठी मासुका लागि बिक्री गर्दा राम्रै आम्दानी भयो र घरखर्च सजिलै टर्यो । त्यसबाट केही रकम कमाएँ पनि । त्यसलाई अझ बढाएर लैजान्छु भन्ने सोच बनाइरहेको बेला २०७८ सालमा रोग लागेर बंगुरका पाठा र माउ सबै मरे । झन्डै १६ लाख बराबरको घाटा भयो । क्षतिपूर्ति कतैबाट पाउन सकिनँ । बैंकले साँवा–ब्याजका लागि ताकेता गर्न थाल्यो । ऋण तिर्न गाह्रो भएपछि अहिले नर्सरीतर्फ लागेको छु । 

सबैले नर्सरी संचालन गरेको देखेर मैले पनि फलफूलको नर्सरी संचालन गरेँ । अहिले चार वर्ष हुन थाल्यो । नर्सरीमा भएका पाँचवटा टनेलमा सुन्तला, कागती, टिमुर, ओखरका विरुवा छन् । नर्सरी संचालन गरेपछि मैले यसपालि सुन्तला प्रतिबेर्ना ५५ रुपैयाँका दरले ६ हजार, ६५ का दरले कागतीका ३ हजार र १८ रुपैयाँका दरले टिमुरका १३ हजार बिरुवा बिक्री गरेर यस वर्ष ४ लाख रुपैयाँजति कमाइ गरेँ । गत वर्षमा पनि यही हाराहारीमा कमाइ गरेको थिएँ । यही नर्सरीबाट कमाएको रकमले ५ जनाको परिवार पालिरहेको छु भने बंगुर पालन गर्दा लागेको १६ लाख ऋणमध्ये ९ लाख रुपैयाँ तिरेको छु ।

अहिले २८ वर्षको भएँ । आफ्नो उमेरका साथीभाइ सबै विदेश गएका छन् । मेरो चाहना विदेश जानेभन्दा मुलुकमै पढेर डाक्टर बन्ने थियो । आर्थिक अवस्था कमजोर भएकाले घरखर्चको सबै जिम्मेवारी आफ्नै काँधमा पर्‍यो । त्यसपछि पढ्दा पढ्दै कमाइ गर्न कालापहाड जानु परेपछि मैले आफ्नो चाहना अधुरै रह्यो । 

डाक्टर बन्ने चाहना अधुरै रहे पनि आफ्नै देशमा केही गरेर देखाउने उद्देश्यका साथ कृषि तथा पशु फर्म संचालन गरे । रोगका कारण बंगुर पालनमा सफलता मिल्न सकेन तर हरेस खाइनँ । निरन्तर बिहान, दिउँसो र बेलुकी नभनी नर्सरीको काममा खटिएको छु । यही नर्सरी अहिले मेरो जीवनको अभिन्न अंग र विगतमा लागेको ऋण तिर्ने माध्यम बनिरहेको छ ।

विगतमा जसरी सानै उमेरमा घरखर्चका लागि म पढाइ छाडेर भारतको कालापहाड जान बाध्य भएको थिएँ । अब कतै जान पर्दैन । यसबाटै मलाई र मेरो परिवारलाई रोजगारी मिलेको छ । नर्सरीमा पाँचवटा प्लास्टिक टनेल थिए । जसमा सुन्तला, कागती, टिमुर, ओखरका विरुवा थिए । यसपालि सबै सुन्तला, टिमुर र कागतीका विरुवा जिल्लाभित्रका किसानलाई बिक्री गरेपछि अहिले पुनः बेर्नाका लागि बीउ रोपेको छु भने कलमी पनि बनाइरहेको छु । 

अब किवी, ओखर र घाँसका बेर्ना तयार गर्नु छ । हुन त म कृषि विषय पढेको विद्यँर्थी त हैन तर केही अनुभव र केही प्राविधिक सहयोगका आधारमा नर्सरीको काम गरिरहेको छु । नर्सरी संचालन गर्दा सिँचाइमा भने केही समस्या भएको छ ।

घरनजिकैको सानो मुहानको पानी संकलन गरी हजार लिटरको ड्रममा जम्मा गरेर थोपा सिँचाइ गरिरहेको छु । सिँचाइका लागि सम्बन्धित निकायमा माग राखे पनि कुनै सहयोग मिल्न सकेको छैन । नर्सरीबाट कमाएको रकमले अहिले दुई छोराछारीलाई पढाइरहेको छु भने आफू पनि प्लस टू पढिरहेको छु । 

फलफूल नर्सरीमा लागेपछि अहिले श्रीमती र आमाले मलाई काममा सघाइरहेका छन् । दिन–प्रतिदिन बढ्दै गएको महँगीले नेटो काटिरहेको छ । पढेलेखेका मानिसहरू बेरोजगार भएपछि धमाधम विदेशिएका छन् । विदेशिने क्रम बढ्दै जाँदा जिल्लाका ग्रामीण क्षेत्रमा युवा पुस्ता देखिन छाडेको छ । मेरो अबको एउटै चाहना भनेको विदेशिँदै गरेको युवा पुस्तालाई रोकेर कृषि कर्ममा फकाउने हो । कृषिबिना आर्थिक समृद्धि सम्भव छैन । त्यही भएर युवापुस्तालाई कृषि कर्ममा लगाउन चाहन्छु । 

प्रस्तुति : विप्लव महर्जन

मदन घर्ती 

Link copied successfully