विदेशमा काम गर्न नसकेर फर्किएका दशरथचन्दका एक युवकले घरमै निगालोको काम गर्दै ६ जनाको परिवार पालेको र आमाको उपचारका लागि संघर्ष गरिरहेको बताएका छन् ।
What you should know
बैतडी — बसेरमात्र भएन भनेर निगालोबाट डोको, सुपो, डाली तयार गर्छु । यिनै सामान बेचेर घरखर्च चलाएको छु । आफूले पढ्न नपाए पनि छोराहरूलाई पढाउने ठूलो इच्छा छ । छोराले राम्रोसँग पढिदिए मैले पनि सकुन्जेल पढाउने सोचेको छु । छोराछोरीले पढे भने सजिलो पेसा गरेर गरिखालान् भन्ने आशा छ ।
मैले पढाइको महत्त्व बुझेको छु । मैले पनि पढेको भए यसरी डोको बुनेर बस्नुपर्ने थिएन । यत्तिले घरखर्चमात्र चल्छ, बचत हुँदैन । बचत नभएपछि घर–जग्गा जोड्न सकिँदैन । ऋण खोजेर घरबार जोडौं भने त्यसमै डुब्ने डर छ । ऋण लिन राम्रै आयस्रोत चाहिन्छ । निगालोको कामबाट सम्भव हुँदैन । यो त गुजारामात्र हो ।
अहिले ४१ वर्षको भएँ । दशरथचन्द नगरपालिका–२, चौसेरी गाउँमा जन्मिएको हुँ । मेरा तीन छोरा छन् । दुई छोराले १० र एउटा ६ मा पढ्छ । दिनमा एउटा डोकोमात्र बनाउन सकिन्छ । तीनदेखि चार सयमा एउटा डोको बिक्री गर्छु । मजदुरी गरेको भए दिनमा ७ सय रुपैयाँ आउँथ्यो । सधैं मजदुरी पाइँदैन ।
ठूलो प्रगति गर्न नसके पनि यही डोको बेचेर आमासहित ६ जनाको परिवार राम्रैसँग पालेको छु । बढी माग डोकोकै आउँछ । सुपो, थाली, डालीको माग कहिलेकाहीँ मात्र आउँछ । मागअनुसार बनाउने गरेको छु । बैतडीमा सुपो भनेको धान कुटेर भुस उडाउन प्रयोग गरिन्छ । थालीलाई अनाज सुकाउन प्रयोग गरिन्छ । डाली भनेको निगालाबाट बनेको भकारी आकारजस्तै हुन्छ । डालीमा अनाज भण्डारण गरिन्छ । यसमा भण्डार गर्दा किरा लाग्दैन भन्ने मान्यता छ ।
म ९ वर्षको हुँदा प्यारालाइसिस भएर बुबाको मृत्यु भयो । हामी एक भाइ र दुई बहिनी हौं । बुबाको मृत्युपछि हामी मामाघरमै हुर्कियौं । मेरो बचपना मामा घरमा बित्यो । मामाहरूको पनि आर्थिक अवस्था कमजोर थियो । त्यसैले पढ्न पाइएन । म औंठाछाप हुँ । १८ वर्षको भएपछि मात्र गाउँ फर्केका हौं । गाउँ फर्केपछि आफ्नो र बहिनीको बिहे गरेँ । अहिले आमा बिरामी छन् । ऋण निकालेरै भए पनि आमालाई अस्पताल लगेँ । डाक्टरले पिठ्युँको हड्डी खिइएको र एक नसो अलि फुलिएको बताए । यसको उपचारका लागि धेरै खर्च लाग्ने भन्यो । केही दिनको औषधि ल्याएर घर ल्याएँ । पैसाको जोहो गर्न पाए आमाको उपचार गराउने धोको छ ।
वर्षभरि खान पुग्ने जग्गा छैन । सबै किनेरै खानु पर्छ । दिनभरि बनाएको डोको साँझ देहिमान्डौ बजार गएर बेच्छु । त्यही पैसाबाट रासन किनेर ल्याउँछु । मिठो मसिनो खान त तिहार नै कुर्नु पर्छ । यो डोको नबनाए भोकै बसिन्थ्यो कि जस्तो लाग्छ । ठूलो सपना देखेर विदेश (दुबई) पनि गएँ । दुई वर्षमै घर फर्कें । म नपढिलेखेकोलाई विदेशमा के काम पाइन्थ्यो र ! दलालले नपढेकोलाई पनि राम्रै काम पाइन्छ भनेर लग्यो । उसकै लहैलहैमा लागेर ऋण निकालेर दुबई पुगेको थिएँ । त्यहाँ कम्पनीमा काम त पाइयो । म नपढेको भएर काम गर्न सकिनँ । जसोतसो दुई वर्ष काटेर ऋण तिरेँ । काम गर्न साह्रै दुःख भएपछि घर फर्किएँ ।
दुबईमा मेरो तलब नेपाली ३० हजार रुपैयाँ थियो । यो तलबले के हुन्थ्यो प्रगति ! घर फर्केर त्यही पुस्तौंदेखि गर्दै आएको पेसा निगालोको काम सुरु गरेँ । निगालोको काम त मलाई बचपनदेखि आउँथ्यो । हाम्रो पुस्तौंदेखिको पेसा नै निगालोको काम हो । अहिलेको पिढी त यस्तो काम गर्न खोज्दैन । घामपानीमा काम गर्न सक्दैन । वडाबाट वडाध्यक्षज्यूले टिन सहयोग गरिदिनु भयो । टिनैटिनको सानो घर बनाएको छु । यो घर बनाएपछि त घामपानीबाट मात्रै बचिएन, लाइट बालेर राती पनि काम गर्न सजिलो भयो । कहिलेकाहीँ पसलेले डोका बनाउन ठेक्का दिन्छन् । राम्रो डोको एक वर्ष जति टिक्छ । बनाएका डोका गाउँघरभन्दा पनि देहिमान्डौ बजारमा बेच्ने गरेको छु ।
देहिमान्डौं बजारबाट डोका तराईको कैलाली, कञ्चनपुरसम्म पठाइन्छ । त्यसैले उक्त बजारमा डोका तुरन्तै बेचिन्छन् । यसले गर्दा डोकोको बजार राम्रो छ । यो पेसाले भोको राख्दैन । डोकोको बिटका लागि बाडो चाहिन्छ । बाडो (डोकोको टुप्पोमा गोलाइ निकाल्ने काठ) अैरी (एक प्रकारको झाङ भएको रुख) नजिक पाइँदैन । एक दिन लाग्छ जंगलबाट खोजेर ल्याउन । सामुदायिक वनमा पाइन्छ, त्यहाँ सधैं जान पाइँदैन । जान दिएको दिन महिना दिनलाई पुग्ने गरी ल्याउँछु । यो पेसा गरेर कसैसँग हात थाप्नु पर्दैन ।
विदेशको दुःखभन्दा आफ्नै घर–आँगनमा गर्न सकिने यो पेसाले म सन्तुष्ट छु । इज्जतका साथ काम गरिरहँदा आत्मसन्तुष्टि पनि मिल्दो रहेछ ।
प्रस्तुति : मोहन चन्द
