रोजगारीकै लागि उदयपुरबाट झापा झरेका एक युवकको संघर्षको कथा ।
What you should know
झापा — समय र परिस्थिति हाम्रो परिवार अनुकूल चलेन सायद ! दुःख, अभाव र संघर्षले ढोका ढकढक्याइरह्यो । नभए यतिबेला म हातमा किताब समातेर क्याम्पस पढिरहेको हुने थिएँ । तर, म बूढो साइकल चलाएर गाउँ–गाउँ डुल्दै दुनोट–पाउरोटी बेचिरहेको छु ।
म ५ वर्षको हुँदै खेरी बा खसे । हाम्रो जमिन धेरै थिएन, सबै थोक किनेर खानु पर्थ्यो । ६ धुर जग्गामा सानो घर थियो । घरमा आमा, दाइ र म थियौं । अनेक दुःखका साथ आमाले ज्याला मजदुरी गरेर जसोतसो कक्षा १० सम्म पढाइन् ।
तर, एक जनाको कमाइले तीन जनाको परिवार पाल्न कहाँ सहज थियो र ! एसईईपछि पढ्न सकिनँ । अहिले २१ वर्षको भएँ । उदयपुरको गाईघाटस्थित पुरानो बजार, जहाँ मेरो बाल्यकाल बित्यो, अहिले घर पनि त्यहीँ छ । घरमा आमा र दाइ हुनुहुन्छ । म चाहिँ काम गर्ने र पैसा कमाउने उद्देश्य लिएर झापा झरेको हुँ ।
गाईघाटकै त्रियुगा नमुना माविबाट एसईई परीक्षा दिएँ । त्यसपछि घरको दुःख नियाल्दै काम खोज्न हिँडेँ । काम पाउन कहाँ सहज थियो र ! बल्ल–तल्ल काम पाएँ । सुरुमा गाउँमै ट्याक्टरमा ढुंगा, बालुवा लोड–अनलोड गर्ने काम गर्न थालेँ ।
तर, कलिलो उमेर । ढुंगा, बालुवाको त्यो भारी काम धेरै समय गर्न सकिनँ । झापाको सुरुंगामा मावली घर छ । झापा त सुगम जिल्ला हो, सहज काम कसो नपाइएला भन्ने सोचेर म मावल आएँ । कुनै सीप सिकेको थिइनँ, काम जानेको पनि छैन ।
काम खोज्दै जाँदा सीमावर्ती सहर काँकरभिट्टामा दुनोट–पाउरोटी बनाउने उद्योगमा काम पाएँ । महिनाको १० हजार तलब थियो । जसोतसो काम गरेँ । १७ महिना बित्यो । त्यसपछि नयाँ आइडियो फुर्यो । साहुकै साइकल थियो । यही दुनोट–पाउरोटीलाई गाउँ–गाउँ डुलाएर बेच्दा कसो नबिक्ला र भन्ने भयो ।
त्यसपछि दुनोट–पाउरोटी तथा अन्य बेकरी आइटम लिएर साइकलमा गाउँ–गाउँ डुल्न थालेँ । आज यसरी गाउँ–गाउँ डुलेर सामान बेच्न थालेको पनि चार महिना बितिसकेछ । अहिले म काँकरभिट्टास्थित पुरानो भन्सारमा कोठामा बस्छु । कोठा भाडा नै तीन हजार बुझाउनुपर्छ । पानी, बत्तीको बिल गरेर महिनाको ३५ सय ४ हजार त कोठा भाडामै खर्च हुन्छ ।
बिहान ४ बजे नै उठ्छु । फ्याक्ट्री पुग्छु र सामान लोड गरेर गाउँ–गाउँ पुग्छु । राम्ररी बिक्यो भने दिनको ५–६ सय रुपैयाँ कमाइ हुन्छ । पानी परेका बेला खासै बिक्दैन । दिनको १–२ बजेसम्म डुल्दा पनि बिक्री नभएपछि कमाल समाएर बस्छु ।
कमाएको पैसा कोठा भाडा तिर्दा, दाल–चामल किन्दा सकिन खोज्छ । बेलाबेला माछा, मासु नि खानुपर्यो । तर, पनि केही रकम बचाउँछु । बचाएको पैसा धेरै बनाएर घरमा आमालाई पठाउन मन छ । दसैँमा आमा र दाइलाई नयाँ कपडा किनिदिने रहर छ । आफूलाई पनि नयाँ कपडा नकिनेको धेरै भयो । दसैँमा नयाँ कपडा किनेर लगाउने ठूलो धोको छ ।
यो साइकल पनि साहुकै हो । दिनभरि सामान बेचेर कमाएको पैसामध्येबाट सामानको पैसा साहुलाई बुझाउँछु । साहुलाई बुझाएर बाँकी रकम मेरो कमाइ हो । मलाई पनि ठूलो देश जाने, धेरै पैसा कमाउने रहर नभएको कहाँ हो र ! तर, घर छाडेपछि बुझिँदो रहेछ । यो समय त पैसाको न रहेछ ।
हामीसँग न पैसा छ, न कसैले ऋण नै पत्याउँछ । तर पनि सपना देख्न छोडेको छैन । मेरा धेरै सपना छन् । तिनै सपना पूरा गर्न घामपानी नभनी संघर्ष गरिरहेको छु । आखिर देखेकै सपना त साकार हुन्छ नि, होइन र !
प्रस्तुति : नवराज सुवेदी
