‘थोरै कमाइ हुँदा पैसाको मूल्य धेरै थियो, अहिले सस्तो भएको छ’

महँगी नियन्त्रण गर्नेतर्फ सरकारको ध्यान नपुग्दा हामी नेपाली पनि धनी झन् धनी र गरिब झन् गरिब हुने अवस्था आएको छ ।

श्रावण २६, २०८२

धनबहादुर थामी

”When there was little income, the price of money was high, now it has become cheap”

What you should know

पाल्पा — सानो छँदा पढ्ने वातावरण थिएन । तैपनि, ४ कक्षासम्म पढेँ । त्यसभन्दा माथिल्लो कक्षा पढ्नलाई परिवारको आर्थिक अवस्थाले दिएन । त्यतिबेला जसरी पनि पढ्नुपर्छ भन्ने कोही भएन ।

रिब्दीकोट गाउँपालिका–८, सोमहरमा हाम्रो बसोबास थियो । बुबा–आमा र दाजु–भाइ मात्र भए पनि खान पुग्थेन । पाखोबारीमा जति मिहिनेत गरे पनि कमाइ हुन्थेन । गाउँमा कुनै उपाय नलागेपछि धन कमाउन भनेर १८ वर्षकै उमेरमा २०४३ सालतिर साथीहरूको साथ लागेर भारतको नयाँदिल्ली पुगेँ ।

दिल्लीमा  निरन्तर १७ वर्ष होटलमा काम गर्दा पैसा राम्रै आम्दानी हुन्थ्यो । कमाएको पैसा ल्याएर बुवालाई दिन्थेँ । घरबाट फर्किने बेला भाडा मागेर जानुपर्ने हुन्थ्यो । लामो समय यस्तै चल्यो । घरमै बसेर केही गर्नु पर्‍यो भनेर २०६० सालतिर स्वदेश फर्किएँ । यहाँ आएपछि के काम गर्ने भन्ने भयो । अनि गाउँ नजिकै सानो बजार सोमहरमा होटल सञ्चालन गर्न थालेँ । 

अहिले ५७ वर्षको भए पनि जोश र जाँगरमा कमी छैन । बिहान ४ बजे उठेर काममा लाग्छु । घरमा पनि तरकारी खेती गर्ने, काफल बिक्री गर्ने लगायतका काम गर्छु । होटल ठिकै चलेको थियो । तर धेरै महँगी बढेको देख्दा चिन्ता बढेको छ । २०६२ सालतिर एक रुपैयाँमा बिक्री गर्ने पाउरोटी अहिले १० रुपैयाँ पुगेको छ । १० रुपैयाँमा एक हाफ चाउमिन बिक्री गरिन्थ्यो । अहिले ५० रुपैयाँ पर्छ । ५ रुपैयाँमा पाइने अण्डा अहिले ३० रुपैयाँ पुगेको छ । महँगी अचाक्ली बढ्यो । सरकारले यस विषयमा सोचेजस्तो लाग्दैन । 

दुर्गम गाउँमा बस्छु । आम्दानी पनि गर्छु । तर पहिला थोरै कमाउँदा पैसा महँगो थियो । अहिले धेरै कमाउँदा पैसा सस्तो भएको छ । छोराछोरी पढाउन पनि सकस छ । महँगी नियन्त्रण गर्न सरकारको हात हुन्छ । यसतर्फ सरकारको ध्यान नपुग्दा हामी नेपाली पनि धनी झन् धनी हुने र गरिब झन् गरिब हुने अवस्था आएको छ ।

होटलका भरमा घरखर्च धान्न धौ धौ हुन थालेपछि त्यससँगै अरू व्यवसाय पनि जोड्न थालेँ । सुरुमा होटलसँगै एउटा बंगुर पनि थियो । मासुका लागि बिक्री गरिन्थ्यो । दुईवटा पुर्‍याएपछि आम्दानी राम्रो भयो । दुईवटा माउले वर्षमा ८ लाखसम्म कमाएँ । पछि ‘नरीकला कृषि तथा पशु फर्म’ दर्ता गरेँ । गाउँपालिकाले पनि मेरो घरका पाठापाठी खरिद गर्न लाग्यो । अनि मलाई बंगुर थप गर्ने रहर जाग्यो ।

अहिले गाउँपालिकामै सफल पशुपालक किसानको सूचीमा मेरो नाम पनि दरिएको छ । खोरमा अहिले ९ वटा माउ बंगुर छन् । सँगै दुईवटा भाले (बिर) बंगुर पनि छन् । बंगुर पालनसँगै बाख्रापालन पनि गरेको छु । बाख्रा, बंगुर, तरकारी, होटल, काफल लगायतबाट वार्षिक १० लाखजति आम्दानी गर्न सफल भएको छु । बंगुरका पाठापाठी बिक्री गर्न कुनै समस्या छैन । बाख्रापालनबाट माउ, खसी, बोका बिक्री गर्छु । सिजन अनुसारको तरकारी पनि लगाउने गर्छु । यसमा मलाई श्रीमती नरीसराको ठूलो साथ छ । 

दुई भाइ छोरा छन् । दुवैलाई राम्रोसँग पढाएँ, लेखाएँ । अब आफैं कमाऊ भनेको छु । जेठो छोराले इन्जिनियरिङ अध्ययन पूरा गर्‍यो । कान्छो नेपाली सेनामा जागिरे भइसकेको छ । जेनतेन जीविकोपार्जन गरिरहेको समयमा बंगुरपालन मेरा लागि बलियो आम्दानीको स्रोत बनेको छ । सुरुमा निकै दुःखका साथ काम गरेको थिएँ । अहिले सबै क्षेत्रबाट सफलता पाएको छु ।

बंगुरको माउले १५ महिनामा तीनपटक पाठापाठी पाउँछ । एकपटकमा एउटा माउले कम्तीमा ८ देखि १२ वटासम्म बच्चा जन्माउँछ । सुरुमा बंगुरपालनबाट केही हुन्न कि भन्ने डर लागेको थियो । अहिले भने पाठापाठी नै सोझै बुक हुन थालेका छन् । त्यसैले हौसला बढेको छ । पाठापाठी ७ हजारमा बिक्छ । सुरुमा एक–दुई गर्दै बिस्तारै माउ बढाउँदै लगेको हो । बुढेसकालमा स्कुटर किनेको छु । घर पनि व्यवस्थित गर्दै लगेको छु । विगतमा भोगेका संघर्ष र अभावका दिन धेरै सम्झिन्छु । अहिले अप्ठेरोमा अरूलाई सघाउने भएको छु भन्दा खुसी लाग्छ । 

प्रस्तुति : माधव अर्याल

धनबहादुर

Link copied successfully