‘चिया बेचेर तीन छोरा र तीन छोरी पढाएँ’

गाउँमा भण्डारी बा चिया पसलबाट १९ वर्षदेखि परिवारको भविष्य उज्यालो बनाउँदै, ६ विवाहको खर्च पनि त्यहीबाट धानिएको।

श्रावण २७, २०८२

काशीराम भण्डारी

”I educated three sons and three daughters by selling tea”

What you should know

जुम्ला — हाम्रो पुर्ख्यौली बसोबास चन्दननाथ नगरपालिका–२, भण्डारीबाडा गाउँमा हो । तर, अहिले चन्दननाथ–५, शेराजिउलो नजिकै चिया पसल गरेर गुजारा चलाइरहेको छु ।

अहिले  ६४ वर्षको भएँ । यही चिया बेचेर तीन छोरा र तीन छोरी हुर्काएँ । चियाको धूवाँसँगै जीवन उडेर गैगयो । अहिले गाउँठाउँमा ‘भण्डारी बा’ को चिया पसल भनेर चिन्छन् । स्वादिलो र सस्तो चिया पाइने भएकाले चिया पसलमा ग्राहकको कमी हुँदैन ।   

जीवनमा रमझम कहिल्यै आएन । सानै उमेरदेखि गाईबस्तु चराएर र खेतीकिसानी गरेर जीवन बिताएँ । उतिबेला गाउँमा स्कुल थिएनन् । तैपनि, बाह्रखरीसम्म लेखपढ गर्न जान्ने भएको छु । चार दाजुभाइमध्ये म माहिलो हुँ । गरिबीका कारण पढ्न, लेख्न त धेरै टाढाको विषय थियो । एक छाक खानै मुस्किल हुन्थ्यो । सुरुको अवस्था हेरी त खलंगा बजारमा चिया पसल गरेर चलाउनु पनि निकै परको विषय हुन्थ्यो । 

१५ वर्षको उमेरमा २०२९ सालमा नेपाल प्रहरीमा जागिर खाएँ । त्यस बेला उमेर बढाएर १८ वर्ष पुर्‍याएर प्रहरीमा जागिरे बनेको थिएँ । जब प्रहरीमा जागिर खाएँ, तबदेखि नै गाईबस्तुको गोठालोबाट मुक्ति पाएँ । प्रहरीमा रहँदा हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट र डोल्पा यी कर्णालीका पाँच जिल्लादेखि सुर्खेत, नेपालगन्ज र बर्दियामा जागिरे जीवन बिताएँ । उतिबेला फौजी भन्ने बित्तिकै गाउँमा छुट्टै छवि थियो ।  

प्रहरी सेवामा लामो समय टिक्न सकिनँ । २०४१ सालमा जागिर छोडेँ । प्रहरी कर्म भाग्यमा रहेनछ भनेर चित्त बुझाएँ । मसँगैका साथीहरू अहिले पेन्सन बुझ्छन् । म चियाको भाँडो कट्कट्याएर गुजारा गरिरहेको छु । 

२०३० सालमा विवाह भइसकेको थियो । एक्लै हुँदा जीवन चलाउन खासै समस्या थिएन । तर विवाहपछि जिम्मेवारी बढेको थियो । जागिरको सुरुवातमा प्रति महिना ९० रुपैयाँ तलब थियो । बजार थिएनन् । किन्ने सामान पनि थिएनन् । खेतिपाती गरेर खाइन्थ्यो । ९० रुपैयाँ पनि बचत हुन्थ्यो । जागिर छोड्दा ४ सय ५० रुपैयाँ तलब थियो । परिवार पाल्न यत्ति धेरै रुपैयाँ थियो । गाउँमा पैसाको भ्यालु थिएन । जिन्सी सामान साटासाट गरेर चलाउने चलन थियो । 

प्रहरी जागिर छोड्ने बित्तिकै २०४२ देखि स्याउ बगैंचा बनाएँ । बगैंचामा एक सयभन्दा धेरै विरुवा थिए । बर्सेनि ५० हजारदेखि एक लाख रुपैयाँसम्म कमाइरहेको छु । व्यापारीहरू गाउँमै आए । यातायातको सुविधा नहुँदा बगैंचामै स्याउ गाइबस्तुलाई दिनुपरेको  पीडाले अहिले पनि झस्काउँछ । अहिले त गाउँमै व्यापारी पुगेर लैजाने गरेका छन् । 

जागिर छाडे पनि मेरो जीवनमा धेरै उत्तारचढाव आए । सदरमुकाम खलंगाका ६ स्थानमा त चिया पसल गरें । तीन वर्षसम्म त चिया बेचेर घर फर्किने गरेँ । अहिले १९ वर्षदेखि एकै स्थानमा छु । दैनिक ६० माना दुध खपत हुने गरेको छ । स्थानीय जातको गाईभैंसीको दुध किनेर राख्ने भएकाले ग्राहक पनि चियाखान आइरहन्छन् । दैनिक तीन हजार रुपैयाँको दुध किन्छु । ४ सय २० गिलासभन्दा बढी चिया बेच्छु । चिया बेचेरै दैनिक ८ हजार ४ सय रुपैयाँ कमाइ हुने गरेको छ । ५ हजार ४ सय रुपैयाँ दैनिक बचत हुने गरेको छ । कहिलेकाहीं त मासिक १ लाख ६२ हजार रुपैयाँसम्म कमाइ हुन्छ । अहिले नाति नातिना जन्मिएका छन् । परिवारको संख्या बढेर १० जना पुगेको छ । कान्छी छोरीलाई अनमि पढाएको छु । अहिले कर्णाली मावि अनामनगरमा अस्थायी शिक्षिका छिन् । छोराहरू खेती किसानीमा छन् । 

यति ठूलो परिवार चिया बेचेको रकमले धानिरहेको छु । उसो त छोराछोरी सबैको विवाह खर्च पनि यहींबाट चल्यो । अहिले सम्म ६ विवाह गरेँ । सबै चिया बेचेको रकमले चलेको हो । मेरो तथ्यांकमा विवाहमा मात्रै ३० लाख रुपैयाँजति खर्च भइसकेको छ । सबै सन्तान पढाउने सोच बनाएको थिएँ । पढ्न मानेनन् । बजारमा चियाको मूल्य घटबढ भइरहन्छ । तर स्थापनादेखि नै मेरो पसलमा एउटै मूल्य छ । प्रतिगिलास २० रुपैयाँ मात्र । म दुधको पनि एक गिलासको २० रुपैयाँ लिन्छु । मलाई मेरो श्रीमतीले साथ दिएकी छिन् । 

मैले चिया बेचेर जग्गा जमिन त जोड्न सकिनँ तर कुनै पनि सन्तानलाई दुःखी बनाइनँ ।  अहिले मसँग ५ हजार मात्र क्रृण छ । म ६० वर्ष लागेदेखि नै सामाजिक सुरक्षा भत्ता पाइरहेको छु । श्रीमान श्रीमतीको गरेर १६ हजार रुपैयाँ चार महिनामा बुझ्छौं । अहिले मेरो छावलमा साथीहरू पनि चिया खान आइरहन्छन् । हाम्रो काम देखेर उनीहरू छक्क पर्छन् । 

चियाको स्वाद देखेर मख्ख पर्छन् । चिया बेचेर रुपैयाँ बचत त गर्न सक्दैन त परिवार भोको राखेको छैन ।  कहिलेकाहीं चिया बेचेको रकमले देशका विभिन्न तीर्थस्थलमा घुम्न गइरहेका हुन्छौं । महिनामा २६ सय रुपैयाँ पसलको भाडा दिंदै आएको छु । चिनी, चियापत्ती र मरिचसमेत यही रकमले किन्दै आएको छु । 

प्रस्तुति : डीबी बुढा

काशीराम

Link copied successfully