‘सिस्नोको पाउडरभित्र छोरा र श्रीमा‍न‍्को उपचार देखिरहेकी छु’

५९ वर्षीया महिलाले गाउँमा सिस्नो टिपेर धूलो बनाउने काम गर्दै छोरा र श्रीमान‍्को उपचारका लागि रकम जुटाइरहेकी छन् ।

श्रावण २९, २०८२

कर्मकली रावल

”I am seeing the treatment of my son and husband in Sisno's powder”

What you should know

जुम्ला — गाउँमा सिस्नोलाई निकै हेला गरिन्छ । म भने अहिले गाउँलेले हेला गरेको त्यही सिस्नो बेचेर राम्रो आम्दानी गरिरहेकी छु । अहिले खलंगा बजारमा सिस्नुको धूलोको माग पनि अधिक छ । बजारमा सानो कोठा लिएर सिस्नोको पाउडर बेचिरहेकी छु । कहाँबाट प्रतिकेजी ४ सय रुपैयाँमा ग्राहकले सिस्नु किनेर लैजान्छन् ।

म जुम्ला चन्दननाथ नगरपालिका–७, मिचागाउँकी बासिन्दा हुँ । अहिले म ५९ वर्षकी भएँ । बुढेसकालले छोएपछि गह्रुंगो भारी बोक्न सक्दिनँ । धेरै हिँडडुल गर्न र काम गर्न पनि सक्दिनँ । तर अहिले बाटोका किनारा, खेतबारी र जंगलमा खेर गइरहेको सिस्नो टिपेर धूलो बनाउने काम गरिरहेकी छु । 

यस वर्ष ३ क्विन्टल सिस्नोको धूलो जिल्ला बाहिर पठाइसकेँ । जिल्लाभित्र र बाहिर सिस्नुको धूलो बेचेर हालसम्म १ लाख २० हजार कमाइसकेकी छु । घरमा २० केजी सिस्नु बाँकी छ । गत वर्ष एक क्विन्टल सिस्नु बेचेँ । ४० हजार रुपैयाँ कमाएँ । अहिले सिस्नु बेच्न थालेको तीन वर्ष भयो । पहिलो वर्ष धूलो बेचेर ३५ हजार रुपैयाँ कमाएपछि सिस्नोको व्यापारमा व्यावसायिक रूपमा लागेँ । 

अर्डरअनुसार सुर्खेत, नेपालगन्ज, कोहलपुर र काठमाडौंसम्म सिस्नु पठाइरहेकी छु । सिस्नोको तरकारी खाने चलन छ । सिस्नुको कलिला मुन्टा र फूल टिप्छु । दुई दिनसम्म घाममा सुकाएर धूलो बनाउने गरेकी छु । यो पाउडर मेरो आम्दानीको स्रोत हो । म आफैं पनि टिप्छु । अरूले टिपेको किनेर पनि ल्याउँछु । सिस्नो संकलनका लागि कालिकोटसम्म पुग्ने गरेकी छु । खलंगामा ४ सय रुपैयाँ प्रतिकेजी बेचिरहेकी मैले गाउँमा २५० मै बेचिरहेकी छु । 

मेरो उमेर घरमै नाति–नातिना स्याहारसुसार गर्ने हो । तर बुढेसकालमा दुःख गरिरहनु परेको छ । मेरो छोरा हरिचन्द्र रावल २०७३ सालमा दुर्घटनामा पर्‍यो । ऊ ट्याक्टरमा बालुवा लिन जाँदा दुर्घटना परेको हो । छोरासँगै ट्याक्टरमा बसेका एक जनाको मृत्यु भयो भने एकको खुट्टा भाँच्चिएको थियो । मेरो छोराको नसामा समस्या देखियो । छोराको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगन्ज मेडिकल कलेज हुँदै भारतको लखनउसम्म पुगेँ । उपचारका क्रममा धेरै खर्च बेहोरेँ । अहिलेसम्म छोरा पूर्ण रूपमा निको हुन सकेको छैन ।

छोराको उपचारमा घरखेत बेच्यौं । अहिले नौ महिनादेखि घरमै राखेकी छु । छिट्टै लखनउ लैजानु पर्नेछ । बसेकै ठाउँमा दिसाबपिसाब गर्छ । दुवै खुट्टा चल्दैनन् । दायाँ हातमा पनि समस्या छ । दिसापिसाब गर्न पाइप जोडिएको छ । अहिले पेटको घाउ बल्झिएको छ । घाउ सफा गर्ने र औषधि गर्ने रकम छैन । त्यही रकम जोहो गर्न पनि सिस्नुको पाउडर बेच्नुपर्ने बाध्यता छ । 

यसबाहेक घरमा अन्य कुनै आम्दानीको स्रोत छैन । कमाइ गर्ने उमेरको छोरा बिरामी छ । छोराको नामको सम्पत्ति बेचेर बस्ने घर पनि बैंकमा धितो राखेकी छु । न छोरो निको हुन्छ, न त बैंकको ऋण तिरेर घर फिर्ता गर्न सकिने अवस्था नै छ । छोराको दिसापिसाब स्याहार्न मात्र महिनामा ३ हजार रुपैयाँ बराबरको पन्जा चाहिन्छ । २० हजारको औषधि आवश्यक पर्छ । 

अहिले घाउ बल्झिँदै गइरहेको छ । ह्विल चियर पनि थोत्रो भएकाले बस्न मिल्दैन । बोकेरै अस्पताल लैजाने गरेकी छु । आउजाउ गर्न निकै कठिन छ । मासिक खाना जुटाउन कठिन हुने परिवारमा उपचारले झनै बोझ थपेको छ । 

हरिचन्द्रका बुवा अर्थात् मेरा श्रीमान् पनि पायल्सको बिरामी छन् । पेट र पायल्सको अप्रेसन बिग्रेर दैनिक जीवनयापन गर्न पनि सकस छ । हरिचन्द्रकी पत्नी भने श्रीमान् बिरामी भएपछि अर्कै युवासँग विवाह गरेर गइन् । परिवारको सबै खर्च मेरो जिम्मेवारीमा छ । हरिचन्द्रकी एक छोरी छिन् । उनलाई पनि सकी नसकी पढाइरहेकी छु । 

उपचारका लागि स्थानीय सरकारसँग हारगुहार गरे पनि सुनुवाइ भएन । तैपनि सकुन्जेलसम्म सिस्नु बेचेरै उपचार गर्ने प्रण गरेकी छु । एकै पटक बाबु र छोराको उपचार गर्नुपर्दा निकै समस्यामा परेकी छु । घरमै बसेर आराम गर्ने बेला अधिक दुःख खेपिरहेकी छु ।

लुगाफाटो, दाल, चामल, नुन, तेलजस्ता दैनिक उपभोग्य सामानको खर्च छुट्याएर बचेको सबै पैसा श्रीमान् र छोराको उपचारमा लगाउने गरेकी छु । मैले सिस्नोको पाउडरसँगै सिमी, स्याउका चाना, दाँते ओखर पनि सिजनमा बेच्ने गर्छु । 

प्रस्तुति : डीबी बुढा

कर्मकली रावल

Link copied successfully