‘घरमा भोकै बस्नुपरेपछि माइतीको सहारामा आयौं’

कमाउने र घरखर्च चलाउने श्रीमान् बिरामी भई १० महिनादेखि ओछ्यान परेपछि परिवारको बिचल्ली भएको विमला भुलले गुनासो गरेकी छन् ।

श्रावण ३०, २०८२

विमला भुल

”After we had to stay hungry at home, we came to Maiti's help”

What you should know

बैतडी — श्रीमान‍्ले दिनमा ६ प्रकारका औषधि सेवन गर्नुपर्छ । प्रत्येक दिन औषधिका लागि ४/५ सय रुपैयाँ चाहिन्छ । आफूसित बचत भएको सबै पैसा पतिको उपचारमा सकियो । अहिले दैनिक औषधि किन्न पैसा छैन ।

अहिले २८ वर्षकी भएँ । दशरथचन्द नगरपालिका ̵४ बाडीलेकमा घर छ । आठ वर्षअघि यसै नगरपालिकाको ९ नम्बर वडाका हरिश भुलसँग मागी बिहे भयो । कमाउने उमेरमै श्रीमान् थला परेपछि उनकै स्याहारमा दिनरात बिताइरहेकी छु । बिमारी श्रीमान‍्को स्याहारमा खटिँदा घरखर्च चल्न बन्द भएको छ । त्यसैले हामी अहिले मेरो माइती घरमा बस्छौं । माइतीका पनि आफ्नै समस्या छन् । घरमा भोकभोकै बसेको थाहा पाएपछि माइतीले बोलाएका हुन् । बुढाबुढी भोकै बसेर पनि छोराहरूलाई खुआउँथ्यौं । आफूभन्दा पनि मलाई श्रीमान‍्ले औषधि खान नपाउँदा र छोराहरू भोकै बस्दा सारै दुःख लाग्छ ।

माइतीको पनि स्थिति कमजोर छ । बुबाको मृत्यु भइसक्यो, आमा मात्र छन् । दाइभाइ छुट्टिसके । आफूलाई गाह्रो गरेर भए पनि मेरो परिवार बस्न एक गोठ दिएका छन् । मेरो चार जनाको परिवार पालिदिएकै छन् । उपचारमा पनि ऋण निकालेरै भए पनि सहयोग गरेका हुन् । मलाई माइतीप्रति र आफन्तप्रति कुनै गुनासो छैन । मेरो भाग्य नै यस्तै रहेछ । जेनतेन गरी खाना त माइतीले दिएका छन् । तर श्रीमान‍्को औषधि किन्ने पैसा कहाँबाट ल्याऊँ ! 

श्रीमान् ओछ्यानमै पल्टेको १० महिना भयो । श्रीमान् कमाउने उमेरमा बिरामी भई थला परेपछि मेरो परिवारको बिचल्ली हुन पुग्यो । श्रीमान‍्ले भारतमा रोजगारी गरेर छोरा र मलाई महेन्द्रनगरमा कोठा भाडा लिएर राखेका थिए । मैले छोराहरूलाई राम्रै विद्यालयमा पढाइरहेकी थिएँ । मेरा ८ र ५ वर्षका दुई छोरा छन् । भगवान‍्को खेल कतिबेला के हुन्छ, कसैलाई थाहा हुँदैन ।

हामीलाई दसैँमा भेट्न उनी घर आएका हुन् । दसैँले दशा लगाइदियो । सायद घर नआएको भए उनलाई यस्तो हुने थिएन कि जस्तो लाग्छ । शौचालय जाँदा आँगनमा चिप्लिएर ढले । १० महिना भइसक्दा पनि उठ्न सकेका छैनन् । उनको उपचारमा उनले कमाएको सबै सम्पत्ति सकियो । त्यसपछि ऋणधन गरेर भारतको बरेली, देहारादुनका अस्पतालसम्म पुर्‍याएँ, तर बीसको उन्नाइस भएको छैन ।

कतै ठिक भएन, डाक्टर ठिक हुन्छ भन्छन् तर कहिल्यै ठिक हुँदैनन् । उनको उपचारमा सबै पैसा भारतका अस्पतालमा सकिएपछि हाम्रै नेपालको धनगढी सेती प्रादेशिक अस्पतालमा भर्ना गरेँ । नामको सरकारी अस्पताल रहेछ यो पनि । त्यहाँ पनि जम्मै सामान किन्नुपर्ने । सेती अस्पतालमै चार/पाँच लाख रुपैयाँ सकियो । अहिले उनी माइतीको गोठमा पल्टिएका छन् । 

मेरा जेठाजु र देवरको अवस्था पनि नाजुक नै छ । मेरो श्रीमानको भागको जमिन सबै बेचिसकेँ, अब बस्नलाई एक कोठामात्र छ । उनको (श्रीमान्) कम्मर तलको भाग चल्दैन, कम्मर तलको भागमा कसैले छोए पनि थाहा पाउँदैनन् । खुट्टामा अप्रेसन गरेर रड हालेका छन् । तर, यिनको कुनै काम छैन । कम्मरतल प्यारालाइसिस भइसक्यो । उनी ओछ्यानबाट उठ्नै सक्दैनन् ।

उनी ओछ्यानमा रातदिन पल्टेकै हुन्छन् । यताउता पल्टाइदिन अर्काको सहारा चाहिन्छ । त्यसैले म उनकै स्याहारसुसारमा हुन्छु । कहीँकतै मजदुरी गर्न पनि जान पाइरहेकी छैन । इस्टमित्र, साथीभाइ र सहकारीबाट ऋण निकालेर उपचार गरिसकेँ, ठिकै भएनन् । उनको उपचार गर्दा ९ लाखजति ऋण लागेको छ । अहिले त सोच्छु– यसरी उनको ओछ्यानकै बास हुने भए यति ऋण निकालेर श्रीसम्पत्ति बेचेर उपचार गर्ने नै थिइनँ । 

म भित्रभित्र मात्रै होइन, सबैले देख्ने गरी नै रुन्छु । मेरो यो रुवाइलाई मान्छे त के भगवानले पनि हेरेनन् । यिनले (श्रीमान्) दैनिक खाने औषधि खान नपाए भने पीडाले छट्पटिन्छन् । छोराहरू र मैले टुलुटुलु हेर्नु सिवाय केही गर्न सक्दैनौं । यस्तो बेला हामीले सक्ने भनेको केवल रुने मात्रै हो । पैसा भए औषधि किनेर ल्याउँथ्यौं । औषधिले उनको पीडा कम हुने थियो । हाम्रो रुवाइले उनलाई पीडामाथि पीडा दिन्छ जस्तो लाग्छ । 

यहीँकै सरकारी स्कुलमा छोराहरूलाई भर्ना गरेकी छु । अब छोराहरूलाई विद्यालय पठाउन सकिने स्थिति छैन । बिहान–बेलुकाको छाक टार्न त माइतीको मुख हेरेकी मैले अब कहाँबाट यिनीहरूलाई कापी–कलम किनौं ! उनलाई हेर्नुपर्ने नभए त म कहीँकतै केही काम गर्न जाने थिएँ । उनलाई प्रत्येक घन्टा वल्टाइपल्टाइ गर्नुपर्छ । दिसापिसाब, सरसफाइ गरिदिनु पर्छ । त्यसैले मैले कहीँकतै मजदुरी गर्न पनि जान पाएकी छैन ।

वडा र नगरपालिकामा सहयोगका लागि धेरै पटक अनुरोध गरिसकेँ । सहयोग गरौंला भन्छन् तर अहिलेसम्म केही सहयोग गरेका छैनन् । ‘क’ श्रेणीको अपांग परिचयपत्र मात्र बनाइदिएका छन् । परिचयपत्र अनुसारको पाउनुपर्ने भत्ता पनि समयमा पाइँदैन ।

प्रस्तुति : मोहन चन्द

विमला

Link copied successfully