बुढाबुढीको जिउने सहारा वृद्धभत्तामात्रै

बुढेसकालमा सरकारी भत्ताको सहारा, पसलको सानो आम्दानीले दैनिक खर्च धान्न मुस्किल।

भाद्र ३, २०८२

तिलबहादुर विक 

Old age allowance is the only support for old people

What you should know

तनहुँ — सात दशक लामो जिन्दगीको यात्रामा धेरै कुरा सिकियो । अझ भन्दा जिन्दगीले सिकायो भनौं न ! जब जिन्दगी बुझिन्छ, जिउन सजिलो हुने रहेछ । तनहुँको ऋषिङ गाउँपालिका–१ गेजामा बसोबास थियो । अहिले गेजाको घर छाडेर ऋषिङ–१ झापुटारमा बस्न आइपुगेको छु । श्रीमती लालकुमारी पनि मेरै उमेरकी छन् । अहिले उनी ७० वर्षकी भइन् । उनी र म २ वर्षदेखि झापुटारमा दुईवटा कोठा भाडामा लिएर बसिरहेका छौं ।

मेरा एक छोरा र एक छोरी छन् । उनीहरू अहिले आ–आफ्नै सुरमा लागिसके । नाति–नातिना र पानाति पनि भइसके । सन्तान सुख भए पनि अहिले बुढाबुढी मात्रै छौं ।

घरमा यताउता डिंगाबस्तु पनि छैनन् । भएको भए पनि सेवाचक्कर गर्न सकिने रहेनछ । खेतीपाती पनि गर्न सकिँदैन । केही सागसब्जी लगाऊँ भने पनि बाढीपहिरोले गरेर खाने जग्गा पनि निमास बनाइदियो, अहिले ढुङ्गामुडा थुप्राएर खोल्साखाल्सा बनाएर राखेको छ । तैपनि, यो उमेरमा सक्रिय भएर घरबारीको काम गर्न पनि सकिँदैन । 

हातखुट्टा नचल्ने भएपछि पसल गरेर बसेका छौं । दिनभरि पसल रुङेर दुई–चार रुपैयाँ हात पर्छ । समय कटाउने बाटो र बेलाबेला मिठोमसिनो खाने मेसो बनेको छ । बुढाबुढीलाई भात खाना सरकारले दिएको भत्ताले जसोतसो पुग्छ । 

हाम्रो भत्ता हरेक तीन/तीन महिनामा २४ हजार रुपैयाँ आउँछ । जसोतसो त्यही भत्ताको पैसाले घरखर्च पुर्‍याउने कोसिस गरिरहेका छौं । पसलबाट त्यस्तो आम्दानी हुँदैन । त्यही हो– कहिलेकाहीँ भत्ता ढिलो आउँदा पसलबाट आम्दानी भएको धेरथोर पैसाले बुढाबुढीको छाक टार्ने काम भएको छ । 

कहिलेकाहीँ दिनमा त्यही ४/५ सय रुपैयाँको आम्दानी हुन्छ । अलि ठाउँमा पसल राख्न सकेको भए आम्दानी पनि राम्रो हुन्थ्यो होला । तर त्यस्तो खट्टिएर गर्न सक्ने उमेर पनि छैन । दिनभरिको कमाइ सँगालो ४/५ दिनमा के समान सकिन्छ, त्यही ल्यायो । यसैमा ठिक्क छ । पसलबाट आम्दानी भएर जोगाएर राखौंला भन्ने छैन । 

अब जोगाउन पनि कसका लागि जोगाउने ! छोराछोरी सबै आ–आफ्नै सुरमा छन् । भारी बोकेर छोराछोरी हुर्काएँ, अहिले उनीहरू पनि कर्म गरेर आ–आफ्नै छोराछोरीलाई हुर्काउनतिर लागेका छन् । यस्तै रहेछ संसारको रित, कसैसँग केही गुनासो छैन । दुःख बिमार पर्दा कहिलेकाही छोरीले हेर्दिन्छे, नभए हामी बुढाबुढी जसोतसो बाँचिरहेका छौं । 

यहाँ दुई कोठा लिएर बसेका छौं । महिनाको २ हजार रुपैयाँ तिर्छौं । महिनामा खर्च धेरै तर आम्दानी छैन । पैसो आउने बाटो भनेकै सरकारले उपलब्ध गराएको वृद्धभत्तामात्रै हो । यो पनि नभएको भए बाँच्न बडो मुस्किल हुने रहेछ ।

कहिलेकसो पाहुनापासा लाग्छन् । जहाँ बुढाबुढी छन्, त्यहीँ लाग्छन् आफ्नो इस्टमित्रहरू । माउ दुब्लो छ भनेर पाडाले दुध खान छोड्दो रहेनछ । भेटघाटका लागि आउँछन्, चाडपर्वमा आउँछन्, खर्च भइराख्छ । यहाँ आफ्नो बारी छैन, तरकारीदेखि नुन, भुटुन, चामल, मरमसला, खाना पकाउने ग्यास सबै किन्ने हो । पानी र बत्तीको पनि मासिक ५ सय रुपैयाँको हाराहारी तिर्नुपर्छ ।

दुई जना बुढाबुढीमात्रै भए पनि खर्च धेरै छ । कहिले त भत्ताको पैसाले पनि पुग्दैन । यसो मिठोमसिनो खान मन लाग्दा, पाहुन लाग्दा पसलबाट भएको कमाइले पनि साथ दिएको छ । अरु दिनहरू त सामान्य नै बितिरहेका हुन्छन् तर चाडपर्वमा खर्च धान्न भने धौधौ हुन्छ । 

जे गरे पनि अन्तिममा एकअर्काको सहारा बुढाबुढी नै हुने रहिछ । कहिलेकाहीँ आफ्नो जिन्दगी देखेर उराठ लाग्छ तर फेरि संसार यही त हो भनेर चित्त बुझाउँछु ।

प्रस्तुतिः सम्झना रसाइली

तिलबहादुर विक 

Link copied successfully