ह्यान्डिल र पांग्रा बिग्रिएर हर्ल्याङ, हर्ल्याङ गर्छ । कतिखेर भाँच्चिएर लडिने हो भनेर सधैं तनाव हुन्छ तर पनि त्यही रिक्सा गुडाएर आफ्नो र परिवारको साँझ-बिहानको छाक जुटाइरहेछन् कपिलवस्तुका लालबहादुर रैदास ।
What you should know
काठमाडौँ — बुढ्यौलीले च्याप्दै गए पनि हातपाउ नखियाए साँझ–बिहान चुल्हो बल्दैन । परिवार गरिब भएकाले आराम नचिताए पनि हुन्छ । कुनै आयस्रोत छैन । मेरो श्रीसम्पत्ति जे भने नि यही पुरानो रिक्सा हो ।
यही रिक्सा चलाएर कष्टसाथ हातमुख जोर्दै आएको छु । अहिले ५९ वर्षको भएँ । रिक्सा चलाउँदा पनि भगवान्सित प्रार्थना गर्छु । राम्रो आम्दानी होस् भनेर भगवान् पुकारेको होइन । रिक्सामा बसेका यात्रु सुरक्षित रहून् भनेर कामना गरेको हुँ ।
मेरो रिक्साको फर्मा र बडी ठाउँठाउँमा भाँचिन लागेको छ । वेल्डिङ गर्दै जुगाडले चलाइरहेको छु । ह्यान्डिल र पांग्रा पनि बिग्रिएर हर्ल्याङ, हर्ल्याङ गर्छ । ठाउँ–ठाउँमा कुच्चिएको छ । कतिखेर भाँच्चिएर लडिने हो भनेर सधैं तनाव हुन्छ । चिन्तामा रिक्सा चलाउनु पर्दा धौ हुन्छ । त्यही भएर अचेल मान्छेभन्दा सामान बढी ओसार्छु । भनेजस्तो त कहिले पो हुन्छ र ! त्यसैले जे पाइन्छ, त्यही ओसार्छु ।
अहिले म कपिलवस्तु नगरपालिका–३, सिकटवामा बस्छु । १२ वर्षमा खोला पनि फर्किन्छ भन्छन् । मेरो यो ५ औं रिक्सा हो । रिक्सा चलाउन थालेको १२ वर्ष भयो । नयाँ कहिले पाउँछु होला ? त्यही सोच्दै रात छर्लंग कट्छ । बिहान मुख धोइवरि खाना खाएर फेरि त्यही रिक्सा लिएर सहरबजार चहार्छु । सानो छँदा पढ्ने वातावरण थिएन । गरिब र विपन्नताले २ कक्षासम्म पढेँ । दुई छोरा र दुई छोरीलाई पनि ५/६ कक्षाभन्दा माथि पढाउन सकिनँ । दुई छोरीको विवाह गरेपछि अहिले ६ जनाको परिवार छ ।
चार धुरबाहेक जग्गाजमिन छैन । त्यही जग्गामा टिनको छानो भएको दुई कोठा र एउटा बरन्डासहितको झुपडीमा ६ जनाको परिवार बस्छौं । जेठो छोराको विवाह भएर भर्खर नाति जन्मिएको छ । भात पकाउने, खाने, सुत्ने र बस्ने त्यही कोठामा गर्छौं । त्यो पनि दुई वर्षअघि ३ लाख ८० हजारमा जनता आवास कार्यक्रमले बनाइदिएको हो । नभए माटोको गारो र फुसको छाना भएको घरमा बस्दै आएका थियौं । सबै कुरा खरिद गरेर खानु पर्छ ।
घर व्यवहार, लुगाफाटो, औषधिमूलो र चुलोचौको सबै रिक्साकै कमाइबाट पुर्याउँदै आएको छु । ५० वर्षे श्रीमती सुखनाले कहिलेकाहीँ कसैका बच्चा जन्मेपछि सुत्केरीलाई स्याहारसुसार गरेर पाउने कमाइले सहयोग पुग्छ । उता खेत अधियाँ गरेर ६ महिनालाई चामलसम्म पुग्छ । नभए अरू सबै किन्नु पर्छ । २० र १३ वर्षका छोरा छन् । उनीहरूको हातमा पनि केही सीप छैन । विदेश जाने भन्छन्, तर उनीहरूलाई पठाउन पनि खर्च छैन ।
घरमै एक–दुई वटा बाख्रा छन् । अहिले तिनैका पछि लागेर हिँड्छन् । कमाउँला र मिठोमसिनो खाउँला, राम्रो लाउँला भन्दा भन्दै उमेर गइगयो । रिक्साको कमाइ अहिले त्यति छैन । बुढ्यौली उमेरमा रिक्सा चलाउन गाह्रो पनि हुन्छ । अहिले नयाँ नयाँ ई–रिक्सा, टेम्पो र जिप आएका छन् । रिक्सा सोध्ने थोरै हुन्छन् । तर पनि, आफ्नो श्रीसम्पत्ति भन्नु यही रिक्सा हो । त्यही चलाउनु पर्यो । ठूला सपना थिएनन् र अहिले पनि छैनन् । तर, एउटा नयाँ रिक्सा कहीँकतैबाटै जोहो गर्न सके खुसी हुन्थेँ, त्यसैले राम्ररी घर व्यवहार चलाएर बस्थेँ ।
करिब ४० वर्ष भयो मैले रिक्सा चलाउन थालेको । यसअघि मैले ४ वटा रिक्सा चलाएँ । यो मेरो ५ औं रिक्सा हो । यो पनि लुम्बिनीमा एक जना भिक्षुले दान दिएका थिए । मैले सुरुमा रिक्सा चलाउँदा ६/७ हजारमा पाइन्थ्यो । अहिले ३० हजार पुगेको छ । मैले आफैं रिक्सा किन्ने कुरा त सपना हो । त्यही भएर कोही दाता भेटिए भगवान् भेटिएजस्तै हुन्थ्यो । सपना, चाहना, उद्देश्य जे भए पनि यतिमात्र हो । पहिले रिक्सा चलाएर दैनिक दुई सयदेखि एक हजारसम्म कमाउँथेँ । यसले घरपरिवार चलेको थियो । तर, अहिले त दुई सय पनि कमाउन गारो छ ।
पहिला थोरै कमाउँदा पैसा महँगो थियो । अहिले धेरै कमाउँदा पैसा सस्तो भएको छ । महँगी नियन्त्रण गर्न सरकारले नसक्दा असमानता थपिएको छ । हामी नेपाली पनि धनी झन् धनी हुने र गरिब झन् गरिब हुने अवस्था आएको छ । मेरो जीवन गाउँले गरिब मजदुरको जस्तो हुन्छ, ठ्याक्कै त्यस्तै छ । भन्छन् नि ! पसिनाले लेखिएको किताबजस्तै । हो, मेरो जीवन पनि त्यस्तै छ ।
०४९/५० तिर सदरमुकाम तौलिहवा आउन–जान रामघाटमा पुल नहुँदा रिक्साकै बढी चल्ती थियो । तौलिहवाबाट करिब साढे ३ किमि पर रामघाट जान एक जनाको रिक्सा भाडा ५ रुपैयाँ लिन्थ्यौं । तर अहिले एक जनाको रिक्सा भाडा ५० रुपैयाँ लिन्छौं । तर पनि, अहिलेभन्दा पहिलाकै ५ रुपैयाँ धेरै भएजस्तो लाग्छ ।
प्रस्तुति : मनोज पौडेल
