नेपालमा हाल विदेशी विश्वविद्यालयबाट सम्बन्धन पाएका करिब ५० क्याम्पस सञ्चालनमा छन् । तर तीमध्ये केही क्याम्पसको शैक्षिक गुणस्तरमाथि प्रश्न उठ्दै आएको छ ।
What you should know
काठमाडौँ — सरकारले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट विदेशी विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्ने नीतिगत व्यवस्था गर्ने घोषणा गरेको छ ।
आर्थिकवर्ष २०८३/०८४ को बजेट संसद्मा पेस गर्दै अर्थमन्त्री स्वर्णीम वाग्ले विदेशी विश्वविद्यालयलाई नेपालमा शैक्षिक कार्यक्रम सञ्चाल गर्न सरकारले प्रोत्साहन गर्ने बताए । नेपालमा हाल विदेशी विश्वविद्यालयबाट सम्बन्धन पाएका करिब ५० क्याम्पस सञ्चालनमा छन् ।
तर तीमध्ये केही क्याम्पसको शैक्षिक गुणस्तरमाथि प्रश्न उठ्दै आएको छ । विदेशी क्याम्पस नेपालमा सञ्चाल गर्न स्पष्ट कानुन पनि छैन । २०५९ सालदेखि निर्देशिकाको आधारमा विदेशी क्याम्पसहरू सञ्चालनमा रहेका छन । सरकारले शिक्षा ऐनमा संशोधन गर्दै विदेशी क्याम्पस नियमनका लागि नियमावली बनाउने घोषणा गरेको छ ।
बजेटमै स्वदेशी र विदेशी प्राध्यापकबीच प्राज्ञिक अनुभव आदानप्रदानको व्यवस्था गरिने उल्लेख छ । विश्वविद्यालयलाई वित्तीय स्वायत्तता प्रदान गर्दै लगानी साझेदारी मोडलमा सञ्चालन गरिने अर्थमन्त्री वाग्लेले बताए । वैदेशिक रोजगारीमा रहेका युवालाई नेपाल खुला विश्वविद्यालयअन्तर्गत अध्ययनको व्यवस्था गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
मुलुकभर सामुदायिक विद्यालयको पूर्वाधार आवश्यकताको म्यापिङ गर्न १ अर्ब बजेट विनियोजन गरिएको छ । सरकारले सुदूरपश्चिम प्रदेशको सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी आर्थिक वर्षदेखि एमबीबीएसलगायत ४ विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गरिने जनाएको छ । सरकारले विद्यालयदेखि विश्वविद्यालयसम्मका विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमका लागि ८ अर्ब ६० करोड बजेट छुट्टाएको छ ।
विपन्न वर्गका लागि निःशुल्क शिक्षा सुनिश्चित गर्न आवासिय विद्यालय सञ्चालन गरिने अर्थमन्त्री वाग्लेले जनाए । त्यस्तो विद्यालय चितवन जिल्लाको चेपाङ समुदायबाट खोलिने बजेटमा उल्लेख छ । शिक्षा क्षेत्रमा आगामी आर्थिक वर्षका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन भएको थियो ।
