नेपालमा बेलायतका २८ सहित विदेशी विश्वविद्यालयका ५६ कलेज

शिक्षा मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा बढी बेलायतका विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २८ वटा कलेजहरु नेपालमा सञ्चालनमा रहेका छन् ।

चैत्र २४, २०८२

सुदीप कैनी

56 colleges of foreign universities, including 28 from the UK, in Nepal

काठमाडौँ — नेपालमा विदेशी विद्यालयको सम्बन्धनमा ५६ वटा कलेजले नेपाली विद्यार्थीलाई उच्चशिक्षा पठनपाठन गराउँदै आएको पाइएको छ ।

शिक्षा मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा बढी बेलायतका विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २८ वटा कलेजहरु नेपालमा सञ्चालनमा रहेका छन् । त्यसपछि मलेसियाका विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजको संस्था धेरै छ । 

मलेसियाका विश्वविद्यालयबाट सम्बन्धन लिएका २० वटा कलेज रहेको शिक्षा मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अमेरिका, थाइल्याड र भारतका विश्वविद्यालयबाट सम्बन्धन लिएका २/२ वटा कलेज सञ्चालनमा रहेका छन् । त्यस्तै अस्ट्रेलिया र स्वीजरल्याण्डका विश्वविद्यालयबाट सम्बन्धन लिएका १/१ कलेज सञ्चालनमा छन् ।

मन्त्रालयकाअनुसार यी अधिकांश कलेजहरु काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका छन् । स्नातक र स्नातकोत्तर तहमा विदेशी सम्बन्धनका कलेजहरुले व्यवस्थापन, विज्ञान तथा प्रविधि, कम्प्युटर विज्ञान, सूचना प्रविधि, मानविकी, साईबर सेक्युरेटी, व्यापार प्रशासन, नेटवर्क इन्जिनियरिङ, मोबाइल एप्लिकेसन डेभलमेन्ट, डाटा साइन्स, डाटा एनलाइसिस, सफट्वयेर इन्जिनियरिङ, हस्पिटालिटी म्यानेजमेन्ट, मानव संशाधन व्यवस्थापन, फेसन डिजाईनलगायतका संकाय र विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धमा उच्च शिक्षाका कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त शिक्षण संस्थाहरुको विवरण सार्वजनिक गरेको हो । जसमा सम्बन्धन दिने विश्वविद्यालय, सञ्चालित कलेज र अनुमति प्राप्त विषय र कार्यक्रमहरु समावेश रहेका छन् । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ को आधारमा कलेजहरु स्थापना र सञ्चालन हुँदै आएका छन् । निर्देशिकाले कलेज स्थापना, सञ्चालन, अनुगमन, शुल्क, नियमनसम्बन्धी व्यवस्थाहरु तोकेको छ । निर्देशिका टाइम्स हायर एजुकेशन र सांघाई जिओतोङको विश्व वरीयतामा एक हजारभित्रका विश्वविद्यालयले मात्र नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने व्यवस्था छ ।

२०५६ सालमा पहिलो पटक विदेशी सम्बन्धनमा खुलेका शिक्षण संस्थालाई नियमन गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको थियो । त्यसअघि नै कलेजहरु खुलेका थिए । त्यसको तीन वर्षपछि २०५९ मा निर्देशिका जारी भएको थियो । 

ए लेभल र सोसरहका विदेशी कार्यक्रम पनि नेपालमा सञ्चालन हुँदै आएका छन् । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ र विद्या भट्टराईले विदेश सम्बन्धनका कलेज सञ्चालनका विषयमा विज्ञ सम्मिलित कार्यदल गठन गरी विविध विषयमा अध्ययन गरेका थिए । अध्ययन प्रतिवेदन भने कार्यान्वयन भएको छैन ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully