‘रिल्स’ युगमा साहित्यको आराधना 

‘रिल्स–युग’मा नेपाली साहित्यले जीवन्त खोज गर्नुपर्नेछ— सांस्कृतिक पहिचानको, खिइएका मूल्यहरूको र संरचनागत रूपान्तरणको । दिशाबोधको धमिलो प्रकाशले रुमल्लिएको नेपाली साहित्यमा निराशाको घेरा मात्र छैन, उत्साह र उमंगका रङ पनि छन् ।

फाल्गुन ७, २०८२

दीपक सापकोटा

Worship of literature in the era of 'reels'

What you should know

नेपाली साहित्य हिँडेको बाटो असलमा दुःखदेखि सुखसम्मको लामो यात्रा हो । रामकृष्ण शर्माको ‘टाक्सिएको नेपाली कविता’ अब उनैको पवित्र इच्छाझैं ‘पहारिलो बाटो’ मा प्रवेश गरेको छ । तर, सवाल उठिरहेकै छ– कविताका नाउँमा रसहीन काव्य–वाचनले पाठकमा काव्यप्रति नै वितृष्णा त जगाउँदैन ? जीवनदायी, प्रेरणादायी र आनन्ददायी कविता कतै दुर्गन्धित आहालमा जाकिँदै त छैन ? 

आजको पुस्ता ३० सेकेन्डको रिल्समा भाव खोज्छ, गीतसमेत ट्रेन्डिङ भएको ५–१० सेकेन्ड मात्रै याद हुन्छ । गहकिला कविताले त समय माग्छ, धैर्य जताउँछ । के ‘रिल्सको गति’ र ‘कविताको धैर्य’ सँगै बाँच्न सक्छन् ? चोक–चौतारोमा बडो चिन्तित सुनिन्छन् पुराना कविहरू– कविता पढ्ने बानी घट्नु संवेदनशीलता पनि घट्नु हो, के मान्छे अब रिल्सको अन्तिममा पञ्चलाइन हुन्छ भनेर कुर्न सक्छन् ? डिजिटल भाइरल युगमा लाइक र भ्युले साहित्यिक मूल्य निर्धारण गर्न थाल्यो भने साहित्य कता जान्छ ? 

२०४६ पछिको नेपाली साहित्यको असली परिदृश्य हो— नेपालीमा धेरै लेखिएको छ, सायद पढिएको पनि । किताब बिक्रीले मानकै स्थापना गरेको छ । लेखकहरू ‘ह्यान्ड्सम’ रोयल्टी पाउँछन्, व्यावसायिक प्रकाशन गृहबाट छापिएका किताबको लेआउट र छपाइ सानदार छ ।वर्तमानको डिजिटल पुस्ता छिटो भावनात्मक प्रतिक्रिया दिन्छ, लामो पाठ पढ्ने धैर्य उसँग छैन । हाम्रो ‘स्क्रोल संस्कृति’ ले भावनालाई पनि स्क्रोल गरेको छ । र, ट्रेन्ड पछ्याउने लेखकको अन्तरआत्मामा दीर्घकालीन बाँच्ने रहर पनि यथावतै छ । ‘स्क्रोल संस्कृति’ मा मग्नमस्त जुनियरदेखि सिनियर कविसम्ममा ‘सेलिब्रिटी’ हुने होडबाजी तीव्र छ । ती हरदम सुन्न चाहन्छन्— आहा, हैट, कडा आयो, अहो, क्याबात्, गज्जब र अति राम्रो...! 

आखिरमा भ्रम र भ्रमहरूको लामो यात्रा र तारिफमै मन्त्रमुग्ध कविहरूको यो परिदृश्य नै सम्पूर्ण नेपाली साहित्य हेर्ने आँखिझ्याल हो । जसरी संसारको रीत हो परिवर्तन, साहित्य लेखनको शैली र प्रवृत्ति पनि समयानुसार परिवर्तन भइरहन्छ । तर, हाम्रो परिवर्तित साहित्यमा के छ, के छैन ? कस्तो छ त्यो परिर्वतनको सग्लो अनुहार ? २०४६ को आन्दोलनबाट प्राप्त बहुदलीय प्रजातन्त्रपछि नेपाली साहित्य हिँडेको त्यो लिक कस्तो छ ? 

ब्रेख्तले भनेझैं मानिस अँध्यारो समयमा अँध्यारोकै गीत गाउँछन् । कुन लेखनको सार्थकता कति ? त्यो तय गर्ने समय नै हो । सयौं वर्षको तानाशाह एकै पटकको आन्दोलनमा ढल्छ । के त्यसमा विगत शताब्दीमा सत्ताविरुद्ध लेखिएको साहित्य, संगीतको भूमिका हुँदैन ? 

०००

पञ्चायतकालमा भूमिगत राजनीतिक दल मात्रै आन्दोलनरत थिएनन्, साहित्यकारहरू पनि थिए– पञ्चायतविरोधी आन्दोलनमा । २०४६ चैत ३ गते त्रिचन्द्र क्याम्पसको सरस्वती सदनमा मुखमा कालोपट्टी बाँधेर लेखकहरू आन्दोलनरत थिए । विद्रोहको लाममा उभिएका थिए— पारिजात, आनन्ददेव भट्ट, युद्धप्रसाद मिश्र, कृष्णचन्द्रसिंह प्रधान, खगेन्द्र संग्रौला, कृष्णसेन इच्छुक, रामेश, रायन, शारदा शर्मा, अशेष मल्ल, आहुति, गोविन्द वर्तमानलगायत ।

त्यो दिन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरी ट्रक र भ्यानमा हुल्यो । तर, पारिजात पक्राउ परिनन् । चैत ३ को त्यो विद्रोहको दिनकै सम्झनामा प्रत्येक वर्ष त्यही दिन एक अभियान चल्यो— ‘सिर्जना चैत ३ साहित्यिक अभियान’, जसमा हरिगोविन्द लुइँटेल, स्नेह सायमी, गोविन्द वर्तमान, नारायण ढकाल, विमल निभा, राजेन्द्र महर्जन, सुरेश किरणहरू थिए । (परिवर्तनको छहारी : पीपलबोट, कान्तिपुर) ।  

Worship of literature in the era of 'reels'नेपाली शासनमा उज्यालाभन्दा अँध्यारा दिनहरूको बाहुल्य रह्यो । र, ती दिनहरूमा पनि हाम्रा सचेत लेखक/कविहरूले सत्ताविरुद्ध लेखिरहे/बोलिरहे/सडक आन्दोलन गरिरहे । अनेक रङ वा तरंगका आन्दोलनमा स्वप्नशील लेखकहरू अग्रपंक्तिमै रहे । ती लेखकका ‘पोट्रेट’ पढिहेरे, युवाका क्रान्ति–चेतनाका विस्मय कथा थाहा हुन्छ । इतिहासले नै पल्टाउँछ प्रसंगहरू, जस्तो राणाकाल वा पञ्चायतकालमा सत्ताको बुटविरुद्ध लेखकहरू भूमिगत, अर्धभूमिगत वा खुला रूपमा अनेकन संघसंस्थामार्फत सक्रिय सहभागी थिए । 

मोती मण्डली (१९३८), हलन्त बहिष्कार (१९६५), मकै पर्व (१९७७), झर्रो आन्दोलन (२०१३), आयामेली आन्दोलन (२०२०), राल्फाली आन्दोलन (२०२३), अस्वीकृत जमात (२०२६), अमलेख (२०२६), यङ राइटर्स फ्रन्ट (२०३१), बुट पालिस (२०३१), सडक कविता क्रान्ति (२०३६), सर्वनाम (२०३८), रंगकर्मी आरोहण मञ्च (२०३८), लीलालेखन (२०४४), तरलवाद (२०४६), जनआन्दोलन र साहित्य (२०४६) लगायत । यी आन्दोलन वा अभियानले नेपाली साहित्यमा विशिष्ट प्रभाव पारेका छन् । र, ती आन्दोलनहरूको असली साक्षी थियो– न्युरोड पीपलबोट, जहाँ २०३६ सालको जनमतसंग्रह घोषणापछि सुरु भएको ‘सडक कविता क्रान्ति’ ले लेखकहरूको ठूलो जमातलाई पञ्चायतविरुद्ध गोलबद्ध पारेको थियो ।

पञ्चायतदेखि गणतन्त्रसम्मै सडकमा कविता सुनाउँदै हिँडिरहेका अविश्रान्त कवि श्रवण मुकारुङलाई लाग्छ, ०४६ को परिवर्तनपछि नेपाली साहित्यले गुणात्मक एवं संख्यात्मक दुवै दृष्टिमा नयाँ उचाइ चुम्यो र स्रष्टाहरूले अभिव्यक्ति स्वतन्त्रताको भरपूर उपभोग गर्दै आफूलाई निर्भीकसाथ अभिव्यक्त गरे । ‘खासगरी राजनीतिक परिवर्तन र सामाजिक न्यायको पक्षमा तिनका हस्तक्षेपकारी लेखनले नयाँ विमर्श नै जन्मायो । जसकारण पहिचान र सीमान्तीकरणको लेखन जबर्जस्त मूलधार बन्यो । र, यो गणतन्त्रको बिम्ब बन्यो । अझ, विषय विशेष मात्रै नभई शैली वा संरचनामा पनि नयाँ र मौलिकपन देखापर्‍यो,’ उनी भन्छन् । 

पञ्चायतको त्यस अँध्यारो समयमा एक थियो– साझा प्रकाशन, जसले साहित्यको असाध्यै गह्रुँगो भारबहन गरेको थियो । नेपाली साहित्यका ‘मास्टरपिस’ आख्यान/गैरआख्यान वा कविता पञ्चायतकालमै लेखियो । त्यसपछिको बहुदल र गणतान्त्रिक कालमा पनि नेपाली साहित्यमा ‘मास्टरपिसै’ लेखियो भन्छन् आख्यानकार नारायण ढकाल । उनको विचारमा ‘साहित्य खास खास घटनापछि राम्रो हुने वा नहुने’ भन्ने नै हुँदैन । ‘तर, पूर्ववर्ती कुराले प्रभावित पारिरहेकै हुन्छ । ०४६ अघिको नेपाली साहित्य उर्वर थियो, त्यसपछि पनि उत्कृष्ट कृति आएका छन् । बढी दमन भयो भने साहित्य राम्रो हुन्छ भन्ने भाष्य नै गलत हो ।’ 

ढकालले भनेझैं ठ्याक्कै त्यस्तै मात्रै होइन, साहित्य हिँडेको यो बाटो उबडखाबड पनि छ । २०४६ अघिको पञ्चायत र त्यसपछिको खुकुलो समाजको नेपाली साहित्यको परिदृश्य केही दुःखदायी छ । 

आख्यानकार विष्णु सापकोटा सोचिबस्छन्— पञ्चायतको समयमा नेपाली पाठकको चेतनाको स्तर उति ‘उन्नत’ थिएन, तर साहित्य सिर्जनामा लागेका लेखकचाहिँ समाजको चेतना–स्तरभन्दा माथिल्लो बौद्धिकताको प्रतिनिधित्व गर्थे । पाठकीय वृत्त सानो थियो, तर ती स्थापित लेखकलाई प्रायःले पढ्थे । विष्णुको विचारमा, ०४६ पछि र खासगरी विगतका दुई दशकमा यो दृश्य ठ्याक्कै उल्टो देखिन्छ । कसरी ?

काठमाडौं र देशका अन्य स्थानमा अंग्रेजी माध्यमका विद्यालय–महाविद्यालय बढ्दै गएपछि विद्यार्थीहरू अंग्रेजीमा सलल पढ्न सक्ने भए । अंग्रेजी भाषाका अन्तर्राष्ट्रिय स्तरका साहित्यमा तिनको पहुँच पुग्यो । तर, नेपाली साहित्यमा सक्रियमध्ये धेरैको बौद्धिक चेतना पाठकको त्यो फरक वर्गसँग मेल खान सकेन । ‘नेपाली साहित्यमा अहिले लेख्ने र समालोचना गर्नेमध्ये धेरै यो विश्वविद्यालयका ‘मेजर नेपाली’ परम्पराका छन्, जसका मानक कृति भनेकै त्यही २०२०, ३० र ४० को दशकमा लेखिएका केही साहित्य छन् । त्योबाहेक संसारभरका साहित्यिक ट्रेन्ड के–के छन् भन्नेसँग उनीहरूको साक्षात्कर छैन,’ सापकोटा भन्छन् ।

०४६ पछिको नेपाली साहित्यको असली परिदृश्य हो— नेपालीमा धेरै लेखिएको छ, सायद पढिएको पनि । किताब बिक्रीले मानकै स्थापना गरेको छ । लेखकहरू ‘ह्यान्ड्सम’ रोयल्टी पाउँछन्, व्यावसायिक प्रकाशन गृहबाट छापिएका किताबको लेआउट र छपाइ सानदार छ । ०४६ अघिदेखि अहिलेसम्मै कविता नै साहित्यको मूलधारमा रह्यो, यद्यपि कविताको बिक्रीले मानक बनाउन सकेन, तर सत्ता र शक्तिविरुद्ध कविता लेखिइरहे ।

०६२/६३ पछि ‘लिट्रेरी एक्टिभज्म’ का लागि कवि/लेखक खुलेरै सडकमा आए । उपन्यासको श्रीवृद्धि यही कालमा भयो । यसलाई पठन संस्कृति उदाएको युग भन्न सकिन्छ, जुन पहिचान लेखनको उकालो युग पनि हो, जुनबेला जनजाति लेखकहरूले सचेततापूर्वक आफ्ना मुद्दा लेखे । विदेशी साहित्यको अनुवादले गति पायो । फेमिनिस्ट लिट्रेचरको उदय यहीबेला भयो । किताब सम्पादन र आवरण–कलामा त क्रान्ति नै भयो, टेकवीर मुखियाको युगबाट माथि उठेको किताब–कलाको प्राविधिक पक्ष भव्यतम् सफल रह्यो । 

तर, नेपाली साहित्यका पाठकमा दुई वर्ग छन्— एक, अर्को भाषा नजान्ने भएकाले यहीँ जे छापिएको छ– त्यही अलिअलि पढ्छ । दुई, सहरिया ठूलो वर्ग छ– जो नेपाली साहित्यलाई कुनै बालै दिँदैन । उसले आफूलाई ‘त्यो’ स्तरभन्दा माथि राख्छ । 

नेपालमा पछिल्लो समय तीव्र आयोजना भइरहेका लिटरेचर फेस्टिभलहरूले ‘पढ्नुपर्छ’ को संस्कृतिलाई असाध्यै सहयोग गरेका छन्, तर पुरस्कार संस्कृतिले भने स्तरीय साहित्य फस्टाउन होइन, साँघुर्‍याउने काम गरेका छन् । ‘पारिवारिक घराना–सम्बन्ध र राजनीतिक झुकावका आधारमा दिइने स्थापितमध्येकै पुरस्कारले नेपाली पाठक बिच्क्याएका छन् । यत्तिको पुरस्कार पाएको किताब पढ्नलायक होला भनेर किन्यो, तर २० पाना पढ्न पनि सकस,’ सापकोटा भन्छन् ।

पछिल्लो समय नेपाली साहित्य लेखनको ‘ट्रेन्ड’ को केन्द्रमा छ— सामाजिक उत्पीडनका थिम । यो समय उन्मुक्त र स्वच्छन्द साहित्य असाध्यै कम लेखिएको छ । सापकोटालाई लाग्छ, ‘साहित्यमार्फत समाज सुधार्छु’ भन्नेले गतिलो साहित्यको फैलावट रोक्छन्, जुन नेपालको अर्को विडम्बना हो । ‘बृहत् रूपमा पाठकको नयाँ वर्ग जन्मेको छ, तर खोजेर पढ्ने स्तरको, सिर्जनात्मकता, बौद्धिकतामा गहन र  पछिसम्मै मानक बन्ने किताब पछिल्ला दशक कम छापिएका छन्,’ उनी भन्छन् । 

लेखन र सम्प्रेषणमा नयाँ–नयाँ उपक्रम विकास हुनुअघि लेखक निजी आन्तरिकता, विचार, शिल्प र भाषाको कसरत मिसाएर लेख्थे । तर, अहिले सिर्जनात्मकता शुष्क बन्दै जाँदै छ । लेखक अब निजी आस्थाबाट होइन, सञ्जाल र भूमण्डलीय संस्कृतिको सूत्रबाट लेख्छ । 

नेपाली साहित्यको वर्तमान कस्तो छ ? समीक्षक राजकुमार बानियाँ लामो समयदेखि नेपाली साहित्यको पोस्टमार्टम–समीक्षा गरिरहेका छन् । भन्छन्, ‘हामी किताब धेरै निकालिरहेका छौं, तर कृति कम जन्माइरहेका । साहित्यको सबैभन्दा ठूलो संकट लेखनको होइन, इमानदार समालोचनाको अभाव हो, समस्या लेखन होइन—इमानदार असहमतिको अभाव । साहित्यलाई अहिले प्रतिभा होइन, साहसी समालोचक चाहिएको छ— नत्र हामी सबै एकअर्काको प्रशंसक मात्रै बन्नेछौं । क्षणिक लोकरञ्जनभन्दा दीर्घकालीन कृतित्व महत्त्वपूर्ण हुन्छ ।’ 

बानियाँलाई लाग्छ, पुरस्कार पाउन सजिलो भएको दिनदेखि उत्कृष्ट हुन गाह्रो भयो । ‘हामीले चर्चा कमायौं होला, इतिहास बनाउन सकेका छैनौं । सामाजिक सञ्जालले चर्चित बनायो, तर अमर बनाउने मापदण्ड अझै जन्मिएको छैन । हामीले ‘राम्रो’ भन्न सिक्यौं, ‘कमजोर’ भन्न सक्ने हिम्मत गुमायौं । नेपाली साहित्य अहिले आत्मसन्तुष्ट छ— आत्मविश्वासी होइन । यदि समालोचना डराउँछ भने साहित्य औसत बन्नेछ । नेपाली साहित्यलाई मित्र होइन, सत्य बोल्ने शत्रु चाहिएको छ,’ बानियाँ भन्छन् ।

यो समय अत्यन्तै सक्रिय छ— कविता, कथा, उपन्यास, संस्मरण, आत्मकथा, यात्रा–वर्णन, अनुवाद— सबैमा प्रकाशनको संख्या उल्लेख्य बढेको छ । बानियाँको बुझाइमा, सामाजिक सञ्जालले लेखनलाई लोकतान्त्रिक बनाएको छ र प्रकाशक वा पत्रिकाको ढोका नढकढक्याई पनि लेखकले पाठक भेट्न सक्छ ।

साहित्यमा पसिरहेको नयाँ पुस्ता विषयगत रूपमा साहसी छन् । लैंगिकता, पहिचान, आप्रवासन, मानसिक स्वास्थ्य, सीमान्त अनुभव— अहिले खुला रूपमा अभिव्यक्त भइरहेका छन्, जसले साहित्यलाई सामाजिक यथार्थसँग जोड्छ । 

यो समयका युवाहरूका प्रिय आख्यानकार सुबिन भट्टराईको लेखन मेनुमा बहुचर्चित किताबका लस्कर छन् । बिक्रीका हिसाबले ती किताब नेपाली बजारमा बेस्टसेलर छन् । ‘समर लभ’ वा ‘इजोरिया’— उनका किताबको बिक्रीले लाखको संख्या नाघेका रेकर्ड छन् । उनी २०४६ अघिका दिनहरूमा विचरण गर्छन् । सम्झिन्छन्– जनआन्दोलनले उचाइ लिँदै गर्दा घट्टेकुलाको उनको डेरामा क्रान्तिकारी नातेदारहरू बोराका बोरा किताब लुकाउन ल्याउँथे, प्रहरी प्रशासनको खानतलासी हुँदैन भन्ने ढुक्कका साथ । त्यो एक दृश्य थियो– मान्छेका घरमा किताब हुनुसितै राज्य डराउँथ्यो । प्रजातन्त्रपछि समाज निक्कै खुकुलो भयो । तर, सुबिनलाई यो खुकुलोपना राजतन्त्रको अवसानपछि झन् बढी भएजस्तो लाग्छ । 

सुबिन साठीको दशकको मध्यदेखि सत्तरीको मध्यसम्मको समयलाई साहित्यका लागि उर्वर मान्छन् । भन्छन्, ‘साहित्यले पाएका पाठक, बजार, पुस्तकको ले–आउट, कभर, लेखकहरूको समग्र पहिचान र लोकप्रियता, साहित्यिक गतिविधिहरू, यस क्षेत्रप्रतिको आकर्षण आदि सबैका हकमा केही नयाँ क्रान्ति भयो । साहित्यले ग्ल्यामर पाएको यही बेला हो ।’ 

वर्तमानको साहित्य समीक्षामा दुई चरम धारणा भेटिन्छन् : साहित्यको स्तर खस्किँदै छ र अहिलेभन्दा सक्रिय समय कहिल्यै थिएन । यी दुवै कथन आ–आफ्नै तर्कसहित उपस्थित छन्, तर समीक्षक राजकुमार बानियाँको समालोचनात्मक दृष्टिमा नेपाली साहित्य न पूर्ण अवसानमा छ, न स्वर्णयुगमा, बरु संक्रमणबीच उभिएको छ । यही ‘बीच’ को अवस्था बुझ्न सके मात्रै नेपाली साहित्यको वास्तविक स्वरूप देखिनेछ ।

यो रिल्स–युगमा नेपाली साहित्यले जीवन्त खोज गर्नुपर्नेछ— सांस्कृतिक पहिचानको, खिइएका मूल्यहरूको र संरचनागत रूपान्तरणको । तर, दिशाबोधको धमिलो प्रकाशले रुमल्लिएको नेपाली साहित्यमा निराशाको घेरा मात्रै छैन, उत्साह र   उमंगका रङ पनि छन् । दरिलो समालोचना परम्परा, बहस–संवाद र दूरदृष्टिपूर्ण सर्जकले नै भोलिको नेपाली साहित्यको भार बोक्न सक्नेछन् ।

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully