आर्ट ग्यालरीको आकर्षण

कुनै प्रदर्शनी र महोत्सव पर्खन नपर्ने ग्यालरीमा जहिले पसे पनि भित्ताभरि चित्र छन्, त्यसले तन्नेरी पुस्तालाई आकर्षित गरिरहेछ
मधु शाही

काठमाडौँ — मन बहलाउने माध्यम अनेक छन् । त्यसका लागि अलिकति डिजिटल दुनियाँदेखि बाहिरनुपर्छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत धापासीका विराट मगरले मनोरञ्जन लिने उपायमध्ये ग्यालरी भिजिट पहिलो रोजाइमा राखेका छन् । उनी भन्छन्, ‘फुर्सद निकालेर साताको एक दिन ग्यालरी पुग्छु ।’ 

मगरको आँखामा चित्र हेर्ने कला छ । त्यसैले उनी ग्यालरी भिजिटर बन्न पुगे । सुरुमा ग्यालरी पुग्नु उनका लागि सास्ती जस्तै थियो । उनकी एक केटी साथी कला पारखी थिइन् । उनी जहिले ग्यालरीमा भेट्न रुचि देखाउँथिन् । चित्र हेर्दै छलफलमा घण्टौं बितेको पत्तो पाउँदैनथे विराट । एक वर्षमा उनको साथीसँगको लगाबमा ब्रेक लाग्यो । तर, उनले चित्रकला हेर्ने र ग्यालरीमा घुम्ने लत भने बसालेर गइन् । २४ वर्षे विराटलाई अहिले कलासँग अगाध प्रेम छ । पाटनको चाकुपाटस्थित एमक्युब ग्यालरी उनको कलेजबाट नजिक पर्छ । त्यहाँ कफी खाँदै चित्र हेर्ने सुविधा पनि छ ।

एक्युब ग्यालरीका प्रमुख एवं चित्रकार मनीषलाल श्रेष्ठका अनुसार नेपालमा युवा आकर्षित गर्ने ग्यालरीको अभाव छ । व्यवस्थित ग्यालरी नहुँदा कलाकारले खुलेर कला अभिव्यक्ति दिन पाएका छैनन् भने कला पारखीले रमाइलो वातावरणमा चित्र नियाल्ने थलो खोज्दै छन् । यी अभाव पूरा गर्न मनीषले आफ्नै आर्ट स्टुडियोमा ग्यालरी सञ्चालन गरेका हुन् । १२ वर्षदेखि सञ्चालित ग्यालरी दिन प्रतिदिन विकसित हुँदै छ । ‘यद्यपि लगानीअनुसारको प्रतिफल भने नेपालमा पाउनै गाह्रो छ,’ मनीष भन्छन्, ‘युवा ग्यालरीसम्म आकर्षित हुन थालेका छन्, यही नै उपलब्धि मानेको छु ।’

पाटनमै अर्को क्लासिक ग्यालरी छ, कलाकार सरिता डंगोलले सञ्चालन गर्दै आएको । सन् २०१४ देखि सञ्चालित ग्यालरीमा अहिले २० जना कलाकारका चित्र प्रदर्शनीमा छन् । कोभिडका बेला ठप्पै भएको ग्यालरी पछिल्लो समय भने तंग्रिँदै छ । दैनिक दुई दर्जनभन्दा बढी कला पारखी चित्र हेर्न आउने गरेका सरिताले बताइन् । ‘व्यापार अपेक्षाकृत छैन,’ उनी भन्छिन्, ‘चित्रले लोभिएर हेर्न आउने दर्शक भने बढ्दै छन् ।’ ग्यालरी रोचक, आनन्ददायी र आकर्षित बनाउन भरपूर मिहिनेत गर्नुपर्छ । चित्रसँगै रमाइलो अनुभूति दिलाउन सकेमात्र दर्शकको मन तान्न सकिने सरिता बताउँछिन् । त्यसैले उनी डेकोरेसनमा विशेष ध्यान दिन्छिन् ।

कला बजारको मुख्य केन्द्र ठमेलमा थुप्रै ग्यालरी छन् । कन्टेम्प्ररीदेखि लोककलासम्मका पारखीले रोजीरोजी चित्र किन्न सक्छन् । त्यही उद्देश्यले दशकअघि खोलिएको मिथिला येँ आर्ट ग्यालरीले मिथिला क्षेत्रका कला प्रवर्द्धन गरिरहेको छ । तर, व्यापारको दृष्टिले अरू कलासमेत प्रदर्शन गर्ने स्थान बनाएको ग्यालरीका सञ्चालक श्यामसुन्दर यादव बताउँछन् । उनी आफैं मिथिला कला सर्जक हुन् । मिथिला कलालाई आधुनिक शैलीमा पस्किने उनी ग्यालरीमा यस्तै कलाको प्रवर्द्धन गर्न रुचाउँछन् ।


पुराना कलाकार गेहेन्द्रमान अमात्यका अनुसार नेपालमा ग्यालरीको स्थिरतामा चुनौती छ । सरकारी अनुदानमा सञ्चालित नेपाल कला परिषद् र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको अरनिको आर्ट ग्यालरीबाहेक अरू निजीस्तरका ग्यालरी खोलिने र बन्द हुने क्रम जारी छ । निजी ग्यालरीमा सिद्धार्थ आर्ट ग्यालरी, पार्क ग्यालरी, अरूपर्ण आर्ट ग्यालरी, भाव आर्ट ग्यालरी, लाइट एन्ड सेड आर्ट ग्यालरी, निर्वाण आर्ट ग्यालरी, जे आर्ट ग्यालरीलगायत दर्जन आर्ट ग्यालरी छन् ।

नेपालको आर्ट ग्यालरीको इतिहासमा नेपाल आर्ट काउन्सिलको चित्र संग्रहालयको महत्त्वपूर्ण योगदान छ । मृगेन्द्रशमशेर जबराको परिकल्पना र योजनामा स्थापना भएको आर्ट काउन्सिलको संरक्षक राजा महेन्द्र, अध्यक्ष कीर्तिनिधि विष्ट, सदस्य सचिव लैनसिंह वाङदेल, कोषाध्यक्ष ज. मृगेन्द्रशमशेर जबरा र सदस्यमा बालकृष्ण सम, सत्यमोहन जोशी, रमेशजंग थापालगायत थिए ।

ग्यालरीको निजी इतिहास हेर्ने हो भने, राणा शासनकालको समय महत्त्वपूर्ण छ । कलाको माया र संरक्षण राणाकालीन समयमा अधिक भएको कलाकार एवं अरूपर्ण आर्ट ग्यालरीका प्रमुख रमेश खनाल बताउँछन् । उनी भन्छन्, ‘राणाहरू कलाप्रेमी थिए, अहिलेका सत्ताधारी विरसिला छन् । त्यसैले कला सौन्दर्य ओझेलमा छ ।’

तस्बिरहरू : केशव थापा/कान्तिपुर

कलाकार अमात्य भने ग्यालरीको आयु लम्बाउन र कला पारखी जन्माउन सरकारले लगानी गर्नुपर्ने बताउँछन् । ललितकला प्रज्ञा प्रतिष्ठानले प्रदान गर्ने राष्ट्रिय पुरस्कार विधामा उत्कृष्ट ग्यालरीलाई समेत पुरस्कार प्रदान गरिनुपर्ने उनको धारणा छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले विगतमा प्रतिष्ठानले कला प्रवर्द्धनमा सक्दो योगदान गर्दै आएको र भविष्यमा पनि ग्यालरी जोगाउन योजना ल्याउने बताउँछन् ।

अरूपर्ण म्यागेजिनमा प्रकाशित ‘ललितकलाको विकासमा आर्ट ग्यालरी’ लेखमा गेहेन्द्रमानले राणाकालीन समयमा कलाको विकास समेत समेटेका छन् । राणाकालीन समयको संग्रहकर्ता नरोत्तमदास श्रेष्ठले कालीमाटीमा काठमाडौं आर्ट ग्यालरी खोलेका थिए । यही नै नेपालको पहिलो आर्ट ग्यालरी भएको लेखमा उल्लेख छ । ग्यालरीले नाम चलेको कलाकारका घरैमा पुगेर कलाकृति संकलन गरी राणा शासकहरूका दरबारमा लगेर बेच्ने गर्दथ्यो । नरोत्तमदास श्रेष्ठलाई आनन्दमुनि शाक्य र जुजुरत्न शाक्यले सहयोग गरेका थिए ।

त्यसपछि २००४ सालतिर कालीदास श्रेष्ठ र उनका भाइ भगवतीदास श्रेष्ठले वसन्तपुरको आफ्नै निवासमा मोडर्न आर्ट ग्यालरीको नामबाट आर्ट ग्यालरी खोलेका थिए । २०१२ सालतिर पाकोमा कृष्णगोपाल रञ्जितकारले हिमाल पर्वतको सिन सिनेरीको चित्र राखेर आर्ट ग्यालरी खोलेका थिए । यसै समयमा खिचापोखरीमा साइनबोर्ड राखेर गेहेन्द्र आर्ट ग्यालरीको नाममा गेहेन्द्रमान अमात्यले आफ्नै घरको दलानमा आर्ट ग्यालरी खोलेका थिए । २०२२ सालमा तत्कालीन युवराजा वीरेन्द्रले नेपाल ललितकला संस्थाको स्थापना गरेका थिए । नेपाल ललितकला संस्था स्थापना गर्न २०२० सालमा सरकारले राष्ट्रियकरण गरेको भीमशमशेर जबराले आफ्नी कान्छी श्रीमती सीता राज्यलक्ष्मी राणाका लागि निर्माण गरिएको सीता भवन प्राप्त भएको थियो । तत्कालीन बडामहारानी रत्नराज्यले सीता भवनको आधा भाग बाल मन्दिरका लागि र आधा भाग तत्कालीन युवराज वीरेन्द्रले ‘नाफा’ (नेपाल एकेडेमी अफ फाइन आर्ट) का लागि दिलाइदिएका थिए । नाफाको भागमा परेको कोठाहरूमा नाफा आर्ट ग्यालरी, लुम्बिनी आर्ट ग्यालरी र मिथिला आर्ट ग्यालरीले कला संग्रहालय पनि खोलेका थिए ।

हाल नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापना भएपछि नाफा आर्ट ग्यालरीको नाम फेरेर अरनिको आर्ट ग्यालरी नामकरण गरियो । मिथिला र लुम्बिनी आर्ट ग्यालरीको अस्तित्व समाप्त पारेर सदस्य सचिव र प्राज्ञका लागि कार्यालय बनाइएको थियो । २०२४ सालमा म्याक्स म्याथुले कान्तिपथमा म्याक्स ग्यालरीको स्थापना गरेका थिए । ग्यालरी बन्द भएपछि भवनमा जर्मन राजदूतावास स्थापना गरेका थिए । २०२६ सालमा उत्तम नेपाली र नारायण जबराले पृथ्वी आर्ट ग्यालरीको नामले लालदरबारको बैठकमा आर्ट ग्यालरी खोलेका थिए । पृथ्वी आर्ट ग्यालरी बन्द भएपछि उत्तम नेपालीको पहलमा योङ आर्टिस्ट ग्रुप (याग) द्वारा राष्ट्रिय नाचघरतिर २०२९ सालमा सिर्जना आर्ट ग्यालरी खोलेका थिए । नेपालमा तीसको दशकमा ग्यालरीहरू धेरै खुलेका थिए ।

एक जर्मन नागरिकले रत्नपार्कमा पार्क ग्यालरी खोलेका थिए । पछि आफ्नो देश फर्कन लागेपछि ग्यालरी रामानन्द जोशीले केही वर्ष चलाए र पछि पुल्चोकस्थित आफ्नै निवासमा सारे । रामानन्द जोशीकी छोरी नीरा प्रधान जोशी र छोरा नवीन जोशीले पार्क ग्यालरीलाई विकास गर्दै लाजिम्पाट उत्तर ढोकामा पनि अर्को पार्क ग्यालरी खोलेका छन् । नवीनले बाबुको घरलाई अहिले म्युजियम बनाउन लागेको बताए । कलासँग सम्बन्धित विद्यार्थी, अनुसन्धानकर्ता र कला पारखीले बसेर अध्ययन गर्न, हेर्न र समय बिताउन पार्क ग्यालरी रोजाइमा हुन सक्ने उनी बताउँछन् । भन्छन्, ‘बुबाको घरलाई ग्यालरी, म्युजियमसँगै आर्ट हबकै रूपमा विकास गर्न थालेको हुँ ।’

प्रकाशित : चैत्र १२, २०७९ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

सुका माना घ्यू खानेहरू

१०२ वर्षका जहानसिं राई, ९३ वर्षका डण्डीप्रसाद धमला, ९२ वर्षका मकरबहादुर घिमिरे र भैरवबहादुर श्रेष्ठ परिवर्तनशील समयको आरोहअवरोह साक्षी छन् । सन्तुलित खानपान र अम्मलरहित दैनिकी उनीहरूको दीर्घायुको रहस्य छ । 
कुम्भराज राई

ओखलढुंगा — नुन लिन सिरहाको मिर्चैया, गोदार पुग्थे । घरबाट हिँडेको सातौं दिनमा काठमाडौं टेक्थे । २२ पाथी (८४ किलो) को भारी बोक्थे । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ तलुवा बतासेका ९२ वर्षीय मकरबहादुर घिमिरेले यति कुरा फटाफट सुनाएपछि लामो खुइय लामो सास ताने र भने, ‘पुराना कुराहरू धेरै बिर्सिएँ ।’


पाँच भाइ छोरा र दुई छोरीका बाबु, अनि २२ नातिनातिना, १४ पनातिपनातिनाका मियो मकरबहादुर उमेरको उपल्लो बिन्दुमा पनि प्रत्येक दिन बिहान–बेलुकी पारेर खुट्टा तन्काउन घर बाहिर निस्किन्छन् । दिनमा एक/दुई किलोमिटर भए पनि छिचोल्ने उनले भने, ‘रोग यही भन्ने छैन तर अब ज्यान आफैं कमजोर भइसक्यो । बूढो भइयो । पहिलेजस्तो कहाँ हिँड्न, काम गर्न सकिन्छ र ?’

बूढो भएको स्वीकारोक्ति भए पनि उनी थाकेजस्ता देखिन्नन् । दुई वर्षअघि उनी निकै बिरामी परेका थिए । त्यही बिमारले आफ्नो स्मरणशक्ति खाइदिएको उनको बुझाइ छ । यसका अलावा अरू बिमारले उनको शरीरमा घर गरेको छैन । उनी बिहानै उठ्नेबित्तिकै दूध तताउँछन् । दूधसँग चिउरा, रोटी खान्छन् । ११–१२ बजेतिर मात्रै खाना खान्छन् । दाँतचाहिँ ४० वर्ष उमेरभित्रै झरिसकेका थिए । तर, मासुको स्वाद लिन उनले छोडेका छैनन् । अनि खानामा दुई मुठी घ्यू पटक्कै टुट्दैन । पहिले बिँडी पिउँथे । तर त्यस्ता सबै अम्मल छाडेको वर्षौं भइसक्यो ।

नयाँ पुस्ताका निम्ति मकरबहादुरका सबै कुरा कथाजस्तै लाग्छन् । उनले उमेरमा सातवटा भैंसी पालेकादेखि १२–१५ वटा गाईगोरु स्याहारेको बताए । उनको पालामा नेपाली सेनामा म्यादीजस्तै तीन र ६ महिने जागिर खुल्थ्यो । उनले तीनमहिने नेपाली सेनाका जागिर खाए ।

‘बोलेको कुरा एकैछिनमा बिर्सिनुहुन्छ,’ साइँला छोरा हर्कबहादुरले भने, ‘जतिखेर सम्झिएर भन्नुभयो भने सबै थाहा हुन्छ । त्यही कुरा एकछिनपछि सोध्दा बिर्सिसक्नुहुन्छ ।’ २५ पैसा (सुका) माना घ्यू बेचेका घिमिरे बतासे गाउँकै ज्येष्ठ नागरिक हुन् । एक शताब्दी छेउछाउमा पनि स्वस्थ हुनुका पछि बुबाको व्यवस्थित रुटिन जीवन प्रमुख कारण हुन सक्ने कान्छा छोरा हरिबहादुर घिमिरेले बताए । ‘उहाँको सुत्ने, उठ्ने, खाने, आराम गर्ने सबै तालिका छ,’ उनले भने, ‘तालिकाभन्दा हेरफेर केही हुन्न । त्यसैले यो उमेरमा पनि यत्तिको हुनुभएको होला ।’

मकरबहादुरकै भन्दा उमेरको उपल्लो सिढीमा छन, चिशंखुगढी गाउँपालिका–८ माम्खाका जहानसिंह राई । आजभन्दा ८० वर्षअघि सन् १९४३ मा उनी तत्कालीन भारतीय सेनामा भर्ती हुँदा विश्वयुद्ध चलिरहेको थियो । त्यसैले तालिम सक्न नपाउँदै उनी बेलायती सेनाका रूपमा बर्मामा युद्ध लड्न पुगे । १९४५ को सेप्टेम्बरमा विश्वयुद्ध सकियो । गोर्खाली सेनालाई बेलायतले विभिन्न ठाउँमा पल्टन छुट्याइलग्यो । उनी मलायाको पल्टनमा परे । १९५० मा पल्टनबाट नाम काटेर उनी घर फर्किए । भर्तीबाट नाम काटेपछि उनले पेन्सन पाएनन् । पछि विसं.२०५१ सालदेखि च्यारिटी पेन्सन भने पाए ।

जहानसिंह अहिले १०२ पूरा भए । तर, उनलाई देख्नेले उमेर पत्याउँदैनन् । उनका ७३ वर्षका जेठा छोरा देवानसिंह देखेपछि भने बाबुको उमेर नपत्याएर सुखै छैन । जहानसिंहको दैनिकी अहिले पनि फौजीकै जस्तो छ । बिहान सबेरै उठ्छन् । एक गिलास दूध तनतन पार्छन् । त्यसपछि चार कान्लामुनि रहेको पुरानो मूलघर पुग्छन् । चुल्होमा आगो बाल्छन् । कुलपितृ सम्झना गरिने मूलघरको चुल्होमा हरेक दिन बिहान, दिउँसो र बेलुकी आगो बाल्ने उनको नियम छ ।

मूलघरमा आगो बालेर फर्केपछि बिहानको ९ बजेभित्र खाना खाइसक्छन् । खानामा एक मुठी घ्यू अनिवार्य खान्छन् । खाना खाएपछि आराम गर्छन् । छोरा बुहारीले सिरानीमा रम (मदिरा) र बिस्कुट, तातोपानी राख्दिन्छन् । भोक लाग्दा धेरैजसो बिस्कुट र तातोपानी खान्छन् । बेलाबेला चुसुक्क रम पिउँछन् । साँझमा बेलैमा खाना खाएर सुत्छन् । उपचार गर्नैपर्ने, नियमित औषधि खानुपर्ने रोगव्याधि उनको ज्यानमा देखिएको छैन । श्रवणशक्ति चाहिँ थोरै कमजोर छ । तैपनि ठूलो स्वरमा बोलाए उनले सुनिहाल्छन् ।

उमेरले एक शताब्दी नाघेका उनको शारीरिक तन्दुरुस्ती देख्ने जोकोही छक्क पर्छन् । बेलायती सेनाबाट फर्किएपछि केही समय राणाशासकका सेनाको रूपमा काम गर्न गएका जहानसिंह आफैंमा इतिहास भइसके । प्रजातन्त्र आएपछि राणाको फौज छाडेर घरै फर्किर्ए । भोट (तिब्बत) बाट ल्याएको नुन ६ पैसा माना र मधेशबाट ल्याएको नुन ८ पैसा माना खाएको उनलाई याद छ ।

जहानसिंह बडो अनुशासित छन् । चुरोट–बिँडी पिउँदैनन् । नशा लाग्ने गरी मदिरा लिँदैनन् । सबै कुराको नियमितता छ उनमा । ‘अझै हलो जोतेर खेती गरौं, भैंसी पालौंजस्तो लाग्छ,’ उनले स्वर थोरै मधुरो पार्दै भने, ‘तर के गर्नु सक्दिनँ ।’

जहानसिंहलाई यत्तिका उमेर बाँचेकोमा कुनै दिक्दारी छैन । जीवनसँग रमाएकै छन् । अझै ६ बिसा (१२० वर्ष) बाँच्ने रहर छ । ‘६ बिसा बाँचौं भनेको,’ उनले हाँस्दै सुनाए, ‘तर अब बाँच्छु होला । ६ बिसा पुग्नु धेरै पनि त छैन ।’

सिद्धिचरण–१० बेतेनीका डण्डीप्रसाद धमला ९३ वर्षका भए । धमलाका युवा अनुभव सुन्दा अहो π कस्तो समयको जंघार तरेर नेपाली समाज अघि बढेको रहेछ भनेजस्तो हुन्छ । घरमै साधारण लेखपढ गरेका उनी २००६ सालतिर पढ्न भनेर गाउँकै साथी लीलाराम पराजुलीलाई लिएर काठमाडौं पुगेका रहेछन् । ६ दिन पैदल हिँडेर काठमाडौं गए । पढाउने मान्छे र पढ्ने विद्यालय नभेटेपछि त्यसै घर फर्किएका रहेछन् ।

७ वर्षकै उमेरमा बाबुले विवाह गरिदिएपछि उनी गाउँघरकै खेतीपातीमा व्यस्त भएका रहेछन् । ११ बहिनी पछिको दुई भाइ भएकाले उनले खानाकै दुःख भने बेहोरेनन् । किनकि उनको खेतमा दुई सय मुरीसम्म धान फल्थ्यो । गोठमा ४० वटासम्म गाईगोरु थिए, घरमा एकै पटकमा सात वटासम्म लैना भैंसी हुन्थे । गाईभैंसी चराउन लेकमा सोलुखुम्बुको टाप्टिङसम्म लैजान्थे । उनले सुनाए, ‘सबैका आ–आफ्ना खर्क हुन्थे । लेकमा गोठ लैजाने सिजनमा लेकभरि पाँच–सात सय गाईभैंसी हुन्थ्यो ।’

उँबु चौरासतिरका राईहरू उनको गाउँमा खाँडीको कपडा बिक्री गर्न ल्याउँथे । कपडाको मूल्य गरेर सोही मूल्य बराबरको धान, मकै किनेर लैजान्थे । ‘नुन किन्नचाहिँ उदयपुरको अहिलेको कटारीदेखि पारि तावाखोला छेउमा अम्टाही बजारसम्म पुगेको थिएँ,’ उनले भने, ‘त्यतिखेर अहिलेको कटारी बजारको रूपमा थिएन । हामीले मधेशदेखि दालचामल किनेर खाएको थाहा छैन ।’ अहिलेचाहिँ छोराछोरी नातिनातिनाले चामल किनेर खुवाउने गरेको उनले बताए ।

उनले राजनीति पनि गरे प्रधानपञ्च बन्न चुनाव लडे, वडाध्यक्ष, क्षेत्रीय सदस्य बने । बहुदलपछि कम्युनिस्ट राजनीतिमा लागे । समाज सेवाका काम गरे । अझै सामान्य हिँड्डुल गरिरहेकै छन् । बिहानै उठेर मुख धोइसकेपछि पूजापाठ गर्छन् । त्यसपछि एक गिलास दूध पिउँछन् । शाकाहारी उनी बिहानको खाना १० बजेपछि खान्छन् । तर त्यसमा घ्यू चाहिन्छ नै । यत्तिका उमेरमा पनि उनको दाँत झरेको छैन । भुटेको मकै मरङमरङ चपाउँछन् । भन्छन्, ‘अहिलेसम्म औषधि खानुपरेको छैन ।’ उनका १६ नातिनातिना र २७ पनाति पनातिना छन् ।

ओखलढुंगा बजारका ९२ वर्षीय भैरवबहादुर श्रेष्ठको विगत सुन्दा समयको लामो बाटोमा एकै झमटमा यात्रा गरेजस्तो अनुभव हुन्छ । २००५ सालमा मालअड्डामा मासिक नौ रुपैयाँ तलब हुने लेखनदासको जागिर खाएका भैरवले २००७ सालको क्रान्तिताका ओखलढुंगामा कर्मचारी भएकै कारणले निकै दुःख पाएका रहेछन् । मुक्ति सेनाले ओखलढुंगा कब्जा गरेपछि उनी घर छाडेर कैयौं दिन भागेका रहेछन् । राणाशासन हटेर प्रजातन्त्र आएपछि उनको जागिर पनि गएको थियो । २०११ सालमा नेपाल पुलिसमा भर्ना भएका उनले ८ वर्षपछि हवल्दार हुँदा जागिर छाडे । २०२० सालदेखि ७ वर्षसम्म मालअड्डामा बहिदारको नोकरी गरे ।

ओखलढुंगा सदरमुकामकै ज्येष्ठ नागरिकमध्येका भैरवले समयका विभिन्न फलकमा भएका अनेकन राजनीतिक क्रान्ति र परिवर्तनलाई नजिकबाट अनुभव गरेका छन् । २०३० सालमा ओखलढुंगा गाउँ पञ्चायतका प्रधानपञ्च, २०३९ मा क्षेत्रीय सदस्य, २०४४ मा जिविस उपसभापति बनेका उनको स्मरणशक्ति अझै निकै बलियो छ । ओखलढुंगाको इतिहास बताउन सक्ने श्रेष्ठले थाहा पाउँदा एक रुपैयाँ धार्नी खसीको मासु, १० पैसा माना वान प्याकी चामल (भोजपुरको दिङलादेखि ल्याइने चामल), सुका माना कोदो मकै, मोहर माना घ्यू थियो । एक रुपैयाँमा दौरासुरुवाल सिलाउन पुग्ने खाँडीको कपडा किन्न पाइन्थ्यो ।

सदरमुकामको हालको गणेशटोल आसपासमा १७ घर मात्र थियो । हालको रामबजार क्षेत्रमा २२ घरजति थिए । सदरमुकामका नेवार समुदायमा निकै गरिबी थियो । खानै पुग्दैनथ्यो । खेती गर्ने जग्गा जमिन नहुँदा जाँडरक्सी बेचेर जीविका चलाउँथे । पछि सदरमुकाममा हाटबजार लगाउन थालियो । बाटोमा हाट लाग्दा हिँडडुल गर्न असहज भएपछि २०१४ सालमा एक बडाहाकिमले जंगल फडाँनी गर्न लगाए, त्यो जमिनमा गह्रागह्रा बनाउन लगाइयो र सारिएको हाट अझै चल्दै छ ।

२००७ साल चैतमा एभरेस्ट मिडिल स्कुल (हालको सगरमाथा जनता मावि) स्थापना भयो । उनी सोही स्कुलको व्यवस्थापन समितिको सचिव भएका थिए । उनले चाहिँ हालको गणेश टोलमा भएको भाषा पाठशालामा साउँ अक्षरसहित हिसाब जोड, घटाउ, गुणा र भागासम्मको अध्ययन गरेका थिए ।

नौ दशक बिताइसकेका श्रेष्ठ तन्दुरुस्त नै छन् । अहिले उनी बिहानको खानामा थोरै दाल, भात तरकारी खान्छन् । बेलुकी प्रायः अण्डा, फलफूलजस्ता खाना रुचाउँछन् । श्रवणशक्ति केही कमजोर छ तर श्रवणयन्त्र लगाएर मज्जाले गफिन सक्छन् । दिनमा प्रायः नजिकै हिँडडुल गरी छिमेकीहरूसँग गफ गर्छन् । दौतरीका तुलनामा उनी अझै फूर्तिला छन् । ‘आफैंले, आफ्नै पुस्ताले कथाजस्तै लाग्ने जिन्दगी बाँचियो,’ भैरवले सुनाए, ‘आफूलाई भाग्यमानी नै मान्नुपर्ला ।’

प्रकाशित : चैत्र १२, २०७९ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×