कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

विकृतिविरुद्ध लड्ने किशोरीहरू

डीबी बुढा

जुम्ला — माघमा हिमा–३ मोफ्लाका किशोरीले बालविवाह रोके । बिहेको तयारीमा लागेको परिवारले विवाह रोकेको भन्दै उनीहरूलाई जलाइदिने धम्की दिए । तर त्यो धम्कीले किशोरीहरू डगमगाएनन् ।

विकृतिविरुद्ध लड्ने किशोरीहरू

बरु झनै स्पात भएर लागिरहे । अहिले बालविवाह गरेका जोडीलाई आ–आफ्नो अभिभावकको जिम्मा लगाउने तयारी थालेका छन् ।

‘विवाह गर्न हुन्न भन्ने होइन,’ किशोरी जेनिशा रोकायाले भनिन्, ‘उमेर पुगेपछि विवाह गर्नुपर्छ भन्ने हाम्रो माग हो । त्यो माग सम्बोधनका लागि गाउँमा हामीहरू जुटेका छौं ।’ गाउँमा विवाह हुन लागेका बालकको उमेर १८ वर्ष थियो, किशोरी १४ वर्षकी थिइन् । २० वर्षपारि सहजै रूपमा विवाह गर्न पाइन्छ । तर उमेर नपुगी कोही कसैले विवाह गर्न र गराउन पाउँदैन । ‘बालविवाह, छुई प्रथा जस्ता हानिकारक अभ्यास रोक्न हामी सक्रिय छौं,’ जेनिशाले भनिन्, ‘परिवर्तन आफूबाटै सुरु गर्नुपर्छ भन्ने चेतना दिलाउन चाहन्छौं । त्यही भएर जोखिम मोलेर भएर पनि बालविवाह रोकिरहेका छौं, महिनावारी भएका महिलालाई घरको सुरक्षित कोठामा बस्न भनिरहेका छौं ।’

यी किशोरी दिउँसो विद्यालय शिक्षा आर्जन गर्ने र बिहान, बेलुका समाजको विकृतिहरूको सूक्ष्म अध्ययन गरिरहेका छन् । पहिले सामाजिक विषयमा सवाल उठाउँदा नपत्याउने भद्रभलादमी उनीहरूको कामप्रति साथ दिन थालेका छन् । गाउँमा देखिएका बेथिति रोक्न किशोरी सक्रिय भएपछि स्थानीयहरू पनि उनीहरूप्रति निकै भरोसा राख्न थालेका छन् । उनीहरू गाउँमा भइरहने बालविवाह, छाउपडी प्रथा, बहुविवाह, जारी प्रथा, मदिरा सेवन तथा बेचबिखनदेखि लागूऔषध दुर्व्यसनी जस्ता क्रियाकलाप रोक्न एकजुट भएर अघि बढ्न थालेका छन् । अर्की किशोरी नवीना रोकायाले अन्धविश्वासले थिलथिलो बनेको समाजलाई सुधार्न लागेको बताइन् । ‘सानै उमेरमा विवाह गर्दा पुरुषले अर्की श्रीमती लिएर भाग्ने, एक महिलाले अर्को महिलालाई दमन गर्ने, छाउपडी हुँदा गोठमै सुताउनेदेखि पोषिलो खानेकुरा नदिने जस्ता काम अहिले पनि भइराखेका छन्,’ उनले भनिन्, ‘यी समस्या निर्मूल गर्न काँधमा काँध र हातमा हात मिलाएर अघि बढेका छौं ।’

छुई हुँदा गोठमा बस्दा महिलाहरू स्वास्थ्य समस्यामा परेका छन् । ‘हरेक हिसाबले हाम्रो समाज र समाजमा बस्ने दिदीबहिनी सुरक्षित हुन् भन्ने हाम्रो चिन्ता हो,’ उनले भनिन्, ‘मुख्यतः छुई भएको समयमा घरमा बसाल्दा देवता लाग्छ भन्ने भ्रम चिर्नुछ । हामी परिवर्तन भएर अरूलाई देखाउनुछ ।’ २० वर्षपछि आफ्नो खुट्टामा उभिएर बुबाआमा पाल्ने हिम्मत राख्ने किशोरीहरू समाजमा छन् । ‘कम उमेरमा विवाह गर्दा परिवारको माया पाइँदैन,’ सिर्जना रोकायाले भनिन्, ‘हामी आफू पनि बिग्रँदैनौं । अरूलाई पनि बिग्रन दिँदैनौं ।’

किशोरीहरू यसका लागि पटक पटक अन्तरपुस्ता संवाद गर्छन् । उनीहरू बाजेबज्यै, बाआमा र छोरी, नातिनीहरूको पुस्ता एकै ठाउँमा भेला गराएर हानिकारक अभ्यासका विषयमा छलफल चलाउँदै आएका छन् । उनीहरू किशोरी कक्षा सञ्चालन गरेर बालविवाह, बहुविवाह, छाउपडी प्रथा, हिंसाजन्य घटनाका बारेमा अध्ययनसमेत गर्छन् । गैरसरकारी संस्थाले पनि सामाजिक कुरीतिका विषयमा कक्षा सञ्चालन गरेका छन् । उनीहरूले कानुनी सजायबारे पनि सचेत गराउँदै आएका छन् ।

प्रकाशित : चैत्र १०, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?