हामी युवा अलि अराजक पनि छौं

पहिले म बुबा (संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ) सँग कराउँथें, राजनीतिमा युवा चाहिन्छ भन्नुहुन्थ्यो बुबाले, मैले भन्थें, ‘तपाईंहरूले न्यायपालिका, कार्यपालिका सबै ध्वस्त बनाउनुभयो, अनि युवा आउनुपर्छ भन्ने ? तपाईंहरूले भत्काएको सपार्न आउनुपर्ने ?’ 

फाल्गुन ७, २०८१

सुहाङ नेम्वाङ

We young people are also a bit chaotic

राजनीतिमा युवाको उपस्थिति अपरिहार्य छ । वर्तमान मात्र होइन विगत हेर्ने भने राजनीतिमा युवा कति आवश्यक थियो र छ भन्ने पुष्टि हुन्छ । एमालेका नेता मदन भण्डारीदेखि अहिले राजनीतिको केन्द्रमा रहेका केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, जो जो हुनुहुन्छ सबै युवावयदेखि नै राजनीतिमा हुनुहुन्थ्यो । 

अहिले स्थानीय तह, प्रदेश हुँदै केन्द्रसम्म युवाको राजनीतिमा लहर देख्न सक्छौं । त्यो हुनु आवश्यक पनि हो । नयाँ समस्यालाई नयाँ पुस्ताले समाधान गर्न सक्छ भनेर जनताले युवालाई म्यान्डेट दिएको हो । विगतमा पनि युवाले नयाँ ढंगले समस्या समाधान गर्न सक्छ भनेका कारणले गर्दा अहिले युवापुस्ताको लहर देख्न सक्छौं । 

मैले प्रतिनिधिसभा निर्वाचनको बेलादेखि नै युवासँगै अग्रज पनि आवश्यक छ भन्दै आएको छु । अहिले युवाको ऊर्जा आवश्यक हो र अग्रजको अनुभव पनि । युवाले आजको भोलि नै परिणाम चाहन्छौं । विकासको कुरा आजको भोलि गर्न खोज्छौं, जुन समय अवस्था र आवश्यकता‍ हामीले बुझ्न नसकेका हुन सक्छौं । त्यस्तो कुराहरू अनुभव बोकेका अग्रजले बाटो देखाउन सक्नुहुन्छ ।

समयसापेक्षता अनुसार राजनीति हुन्छ । विगतमा राजनीति, दलीय प्रतिस्पर्धा, पार्टी र संगठन निर्माणको जुन अवस्था थियो अहिले त्यो छैन । हामी युवाले इतिहास बिर्सिंदै, नजरअन्दाज गर्दै छौं कि जस्तो लाग्छ । धेरै जनाले इतिहासका यो र त्यो गरेका थियौं भन्दाखेरि अलिकति चिढिने पनि गर्छौं । तर साँच्चिकै बुझ्ने हो भने जुन धरातलमा उभिएर हामीले प्रतिस्पर्धात्मक वातावरणबाट राजनीति गरिरहेका छौं, त्यो प्राप्त गर्नका लागि हाम्रा अग्रजले लडेर, व्यवस्था परिवर्तनमा खुन पसिना बगाएर ल्याउनुभएको हो । पहिलेको र अहिलेको परिस्थित फरक छ । पहिले बन्देज थिए, अहिले स्वतन्त्रता छ । तर, अहिले पनि त्यसरी नै लडेर, ढुंगा हानेर, भूमिगत भएर, टिकाटिप्पणी गरेर राजनीति गर्नुपर्छ भन्ने छैन । परिस्थितिसँगै राजनीतिक चुनौती पनि भिन्न छन् । प्रविधिको जमाना छ । 

युवा परिवर्तनका निम्ति इच्छुक हुन्छन् । परिवर्तन खोजिरहने भएकाले युवाले प्रश्न गर्छन् । प्रश्न गर्दैमा गलत हो भनिहाल्न हुन्न । प्रश्न गर्नु र खबरदारी गर्नु ठीक छ भनेर जानुपर्छ । हाम्रा अग्रज युवा हुँदा प्रश्न नै गर्नुभएको हो । त्यो प्रश्न गरेकै कारणले आजको नयाँ युगमा प्रवेश गरेका हौं । त्यसैले प्रश्नप्रति नकारात्मक हुनु र टिकाटिप्पणी गर्नु जरुरी छैन । 

अहिलेको हकमा अग्रजको आवश्यकता युवापुस्तालाई संयम बनाउन र सही बाटो देखाउनका लागि छ । हाम्रो प्रश्न ठीक छ तर प्रश्न गराइमा कमीकमजोरी छ भने अग्रजले हामीलाई सम्हालेर, संयम बनाएर यसरी जाउँ भनेर बाटो देखाउने काम गर्नुपर्छ । फेरि पनि जोड दिन चाहन्छु कि अहिले युवाको ऊर्जा आवश्यक छ । परिवर्तनको हुटहुटी बोक्ने ऊर्जा छ, त्यो अहिलेको आवश्यकता हो । हाम्रा अग्रजले अनुभव बोक्नुभएको छ । त्यसले संयम बनाउने उहाँहरूको काम हो । 

राजनीतिमा सूचना प्रविधिको नकारात्मक पाटोबारे चर्चा गर्न चाहन्न । प्रविधिलाई हामीले प्रयोग गर्ने हो, प्रविधिले हामीलाई प्रयोग गर्ने होइन । वर्तमान दृष्टान्त हेर्नुहुन्छ भने प्रविधिले हामीलाई प्रयोग गरेको जस्तो छ । अहिले पढेलेखेका युवामा नै पनि प्रविधिले नकारात्मक प्रभाव पारेको छ । अर्को कुरा, अहिले सामाजिक सञ्जालमा जुन प्रकारको अफवाह, नैराश्यता, नकारात्मकता बढी भेट्छौं ।

हामीले खबरदारी गर्नुपर्छ । सञ्चारमाध्यमले पनि सत्य समाचार ल्याउनका लागि मिहिनेत गरेका छन् । ती कन्टेन्ट हेर्दा फरक परेन तर जुन तरिकाले सत्य र तथ्य काटकुट गरेर नकारात्मकता फैलाउने गर्दा युवा साथीको मस्तिष्कमा अराजक गतिविधि र नकारात्मक कन्टेन्टबाहेक केही पनि हेर्न पाउनुहुन्न । त्यसको कारणले आजको युवा भड्काउमा परेको छ । त्यसको अभिव्यक्ति हो ‘देश बन्दैन’ । त्यसको परिणाम हो निराश भएर विदेश पलायन हुने । त्यसैले सूचना प्रविधि र सामाजिक सञ्जाल प्रयोग गर्दा फिल्टर आवश्यक छ । 

म राजनीतिसँग चिरपरिचित भएको लामो समय भयो । आफू राजनीतिमा थिइनँ तर राजनीतिक चेतनाको कुरा गर्दा बुबा (संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ) सँग राजनीतिक विषयमा बातचित भइराख्थ्यो । अहिले उहाँको असामयिक निधनपछि म चुनावमा होमिएँ । सांसद बनेको १० महिना भयो । सांसद बन्नु पहिलेको र यो १० महिनाको राजनीतिक बुझाइमा ठूलो अन्तर आएको छ । 

पहिले म बुबासँग कराउँथे । राजनीतिमा युवा चाहिन्छ भन्नुहुन्थ्यो बुबाले । मैले के भन्थें भने तपाईंहरूले न्यायपालिका, कार्यपालिका सबै ध्वस्त बनाउनुभयो । अनि युवा आउनुपर्छ भन्ने ? हामी तपाईंहरूले भत्काएको सपार्न आउनुपर्ने ? हामीलाई त सहज वातावरण बनाउनुपर्छ ता कि नयाँ तरिकाले सोच्ने युवा आउँदा नयाँ नयाँ समस्या समाधान गर्न सकिन्छ भन्थे । तर, अहिले १० महिना कानुन निर्माणको क्षेत्रमा रहँदा यो क्षेत्र फरक पाएँ । यो १० महिनाको अन्तरालमा संसदीय समिति बैठकहरूमा सहभागी भइरहेको छु । दुई वटा विदेशमा आयोजित कार्यक्रममा सहभागी भएँ, दक्षिण कोरिया र चीन । विकास निर्माण र जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा ती देशमा सहभागी भएको थिएँ ।

यो १० महिनालाई किन फरक भनेको भने बाहिरबाट हेर्दा जति सहज देखिन्छ, जति भोकल हुन सकिन्छ, त्यतिभित्र हुन सकिँदैन । आफ्ना कुरा राख्न पाइन्छ, ढुक्कसँग राख्न पाइन्छ । आफूले कुरा राख्दाखेरि के कुरा जनतासँग जोडिएको र आवश्यक हो भनेर फोकस भइन्छ । अझ विशेष गरेर कानुन निर्माणका बेला कुनै पनि खालको ‘लुपहोल’ छोड्नुहुन्न भन्ने मानसिकता पहिला पनि थियो र संसद्मा पनि छ । तर कानुन निर्माणमा पनि नीति र नियम हुन्छ । त्यसैअनुसारको वातावरण हुन्छ ।

संसद्मा फरकफरक विचार हुन्छन् । फरक विचारको पनि सम्मान गरेर कानुन निर्माण गर्ने बेलामा देश र जनताको हितका लागि भन्ने सोचेर आएका हुन्छौं । त्यसमा हामी संयमित भएर लाग्नुपर्ने देखिन्छ । कानुन समितिमा यो १० महिनामा धेरै विधेयक पारित गरेका छौं । बुबा संलग्न भएर अगाडि बढाएको संक्रमणकालीन विधेयक पास गर्ने बेलामा म थिएँ । बाहिरबाट कानुन निर्माण जति सहज देखिए पनि मिहिनेत १० गुणा बढी लाग्ने, त्यसैअनुसारको संवेदनशीलतालाई हेरेर अगाडि बढ्नुपर्ने छ । आज दीर्घकालीन सोच राखेर कानुन निर्माण गर्नुपर्छ । 

बाहिरबाट धेरै युवा साथीले फोन गर्नुहुन्छ कि तपाईं सदस्य भएको समितिमा फलानो विधेयक छ । खबरदारी गर्नुहुन्छ । कानुन निर्माण गर्ने बेलामा विधेयकको संवेदनशीलता र त्यसको आशय पनि हेरेर अगाडि बढाउनुपर्ने हुन्छ । कतिपयले त्यो खारेज गर्नुपर्छ भन्नुहुन्छ भने कतिले यो विषयवस्तु थप्नुपर्छ भन्नुहुन्छ । तर, जति बाहिरबाट भन्न सजिलो छ त्यति सहज संसद्मा हुन्न । हामीले विधेयक ल्याउने सरकारको कुरा सुन्नुपर्छ, सरोकारवालाका कुरा सुन्नुपर्छ । शतप्रतिशत हामी मात्र सही हुन्छौं भन्ने हुँदैन । हामीले आफ्ना धारणा राख्ने हो । सबै जनाको विविध परिस्थितिलाई मनन गरेर कानुन निर्माण गर्नुपर्ने हुन्छ । बाहिरबाट हेर्दा संसद् हो । तर संसद्मा विविधता हुन्छ । 

कानुन निर्माण होस् कि विकास निर्माणका कुरा हुन्, हामीले प्रक्रियागत हिसाबले अगाडि बढ्नुपर्छ । संसद्मा जे कुरा भइरहेका छन् ती नियमावलीअनुसार हुन्छन् । युवाको ऊर्जामा ब्रेक लगाउनका लागि विभिन्न प्रक्रियाको व्यवस्था गरिएको होइन । त्यस्तो गरिएको छ भने त्यो तोड्नुपर्छ । 

राजनीतिमा युवाका लागि अवसर नै अवसर छन् । राजनीति गर्ने देश निर्माण र जनताको हितका लागि हो । बुबाले भन्ने गर्नुहुन्थ्यो– राजनीति सेवा हो । जीवनभर तपाईंले जनता र देशको हितका लागि सेवा गर्नुपर्छ । राजनीतिमा संलग्न भएर सेवा गर्ने अवसर युवापुस्तालाई छ । स्थानीय तह, प्रदेश हुँदै संघमा युवाको उल्लेख्य उपस्थिति छ । राजनीतिमार्फत जिम्मेवारीमा आएका युवाले धेरै राम्रो काम गरिरहनुभएको छ । राजनीति अवसर र चुनौती हो । आकांक्षा र त्यसको परिपूर्तिमा पनि चुनौती देखिएका छन् । 

राजनीतिमा युवा ढ्याक्कै आउनुभएको होइन । जनताले आवश्यक ठानेर युवा नेता र नयाँ पार्टी आएका हुन् । जुन तरिकाको डेलिभरीको कुरा गर्नुहुन्छ आफूले चाह्यो भन्दैमा सबै कुरा सही हुन्छ भन्ने ठान्नुहुन्न । कानुन, नियम र प्रक्रियाले डेलिभरीमा ढिलाइ भएको पनि हुन सक्छ । संसद्मा युवा सांसदले जसरी जुन विषय उठाइरहेका हुन्छन् । उहाँहरूले समयसापेक्ष नै कुरा उठाइरहनुभएको देखिन्छ । तर, कुनै कुराको समय र व्यवहारमा लागू गर्ने सन्दर्भमा फरक हुन सक्छ । युवाले उठाएका विषयवस्तुको डेलिभरीमा ढिलासुस्ती हुनु भनेको व्यावहारिक, नियम कानुन र प्रक्रियाले पनि हुन सक्छ भन्ने अनुभव भएको छ । 

हाम्रा अग्रजले विशेष गरेर एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य पार्टीका नेतृत्वले जुन तरिकाले युवालाई अगाडि सारिराख्नुभएको छ, एमाले, माओवादी, कांग्रेस, रास्वपा जो पार्टी सदनमा छन्, सबैले युवापुस्तालाई अगाडि सार्नुभएको छ । युवा राजनीतिमा चाहिन्छ भन्ने बुझेरै यस्तो गर्नुभएको हो । नेतृत्वमा रहेका नेताले युवाको आवश्यकता राजनीतिमा छ भन्ने बुझ्नुभएन भन्ने होइन । 

नेतृत्वले युवाका कुरा कति सुन्नुहुन्छ भन्ने प्रश्न पनि उठेको हुन्छ । तर नेतृत्वले आवश्यक ठानेर नै युवालाई राजनीतिमा जिम्मेवारी दिनुभएको हो । युवा नयाँ जोस र शैलीले अगाडि बढ्छन् भन्ने हिसाबले नै जिम्मेवारीमा अगाडि सार्नुभएको होला । संसद्मा हेर्नुहुन्छ भने धेरैजस्तो युवा सांसदले आफ्ना धारणा राखिराख्नुभएको छ । सदन र संसदीय समितिमा म पनि गम्भीरताका साथ सहभागी भएको हुन्छु । अग्रजले युवाका कुरा सुनेरै जिम्मेवारी दिनुभएको हो । आवश्यकता महसुस गरेर नै युवापुस्ताले भनेका कुरा नसुन्ने भन्ने होइन ।

सँगसँगै युवा अलि अराजक छौं । के मानेमा अराजक छौं भने जे पनि आजको भोलि चाहिन्छ । त्यो एउटा हुटहुटी पनि हो र नकारात्मक हिसाबले हेर्नु हुन्न । तर, केही कुरा आजको भोलि प्राप्त गर्न सकिन्छ कि सकिँदैन भन्ने व्यवहारमा पनि हेर्नुपर्ने हुन्छ । मुलुकको आर्थिक अवस्था पनि हेर्नुपर्ने हुन्छ । नयाँ व्यवस्था ल्याएका छौं, यसबारे समाजलाई बुझाएर सम्हाल्दै टिकाएर बलियो बनाएर जानुपर्ने हुन्छ ।

सुहाङ प्रतिनिधिसभा सदस्य, एमाले

Link copied successfully