समाज र जीवनको दोभान : थिएटर

हाम्रा ऐतिहासिक कथाहरू, परम्परागत मूल्यहरू अनि समयक्रममा ओझेल परेका संस्कृति थिएटरमा पर्याप्त आएका छैनन्, नयाँ पुस्ताले यी विषयवस्तुलाई उजागर गर्न सक्छन्

फाल्गुन ७, २०८१

पवित्रा खड्का

The intersection of society and life: theatre

रंगमञ्च मेरो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । मैले थिएटर यात्रा थालेको १०–११ वर्ष भइसकेको छ । अहिले म शिल्पी थिएटरसँग आबद्ध छु । ‘लस्ट एन्ड फाउन्ड’ नामक नाटकको तयारीमा छौं हामी । 

तर, मेरो यात्रा सुरुदेखि नै थिएटरप्रति केन्द्रित थिएन । थिएटर सिक्ने उद्देश्यले काठमाडौं आएकी होइन । माओवादी द्वन्द्वकालको समयमा काठमाडौं आइपुगेकी थिएँ । जब विद्यालयहरू बन्द भएका थिए । मलाई नाटकबारे केही नै थाहा थिएनभन्दा हुन्छ । 

एसएलसी सकिएपछि कम्प्युटर सिक्ने योजना बनाएको थिएँ । घरमा त्यही भनेको थिएँ । तर डाँटेर म डान्स क्लासतिर लागें । क्लासमा साथीहरूले अभिनय सिक्दै गरेको देखें । उनीहरूले मलाई नि अभिनय सिक्न आग्रह गरे । तीन महिनाको कोर्स लिएँ । त्यहीं हो, मैले पहिलो पटक अभिनय, नवरस, पात्र निर्माण आदिबारे सिक्ने मौका पाएँ । त्यही प्रशिक्षण क्रममा म शिल्पी थिएटरसँग जोडिन पुगें । संयोगले म शिल्पीको पहिलो ब्याचकी विद्यार्थी भएँ । 

शिल्पी थिएटरमा प्रवेश गरेपछि मैले रंगमञ्चबारे गहिराइमा बुझ्न थालें । थिएटर भनेको के हो ? यसले समाजमा के प्रभाव पार्न सक्छ ? यसको माध्यमबाट कति धेरै कुरा व्यक्त गर्न सकिन्छ भन्ने थाहा पाएँ । शिल्पीले मुक्त रंगमञ्च र बन्द रंगमञ्च दुवैको अभ्यास गराउँछ । मुक्त रंगमञ्चको अनुभवले मलाई फरक समुदायमा पुग्न, भाषागत विविधता बुझ्न, लैंगिक विभेदसम्बन्धी चेतना पाउन र समाजमा विद्यमान विभिन्न समस्याको प्रत्यक्ष अध्ययन गर्न सहयोग गर्‍यो । 

थिएटरप्रति मेरो झुकाव समयक्रमसँगै गहिरिँदै गयो । त्यसपछि मैले यसलाई पेसा नै हो भन्ने सोच्न थालें । अहिले नयाँ कलाकारको सहभागिता हेर्छु, धेरै युवाहरू यसमा संलग्न हुन चाहँदैनन् । केही रुचि भएरै यसमा आउँछन् । तर, अभिभावकको दबाबका कारण निरन्तरता दिन सक्दैनन् । युवा पुस्तामा धेरैको रुचि घट्दो क्रममा देख्छु । केही समयमै निराश भएर जाने प्रवृत्ति बाक्लो छ । नाटक लोकप्रिय पेसा होइन । धेरै अभिभावकले आफ्ना सन्तानलाई डाक्टर, इन्जिनियर बनाउन चाहन्छन्, कलाकार बनाउन होइन । समाजको सोच त्यस्तै छ । फेरि धेरै युवा चाँडै चर्चित हुन चाहन्छन्, दुई–तीन महिना सिकेपछि ठूला काम पाउनुपर्ने अपेक्षा राख्छन् । थिएटर भनेको लामो यात्रा कला हो । 

नाटक पेसागत रूपमा अँगाल्न सजिलो छैन । नाटक गर्छु भन्नेबित्तिकै परिवार र समाजबाट ‘पैसा कहाँबाट कमाउँछौ ?’ भन्ने प्रश्न आउँछ । मेरा लागि नाटक नै पेसा हो भन्नसमेत गाह्रो छ । अझ महिलाहरूका लागि झन् कठिनाइ छ । यो पेसाबाट पनि जीवन धान्न सकिन्छ भन्ने बुझाउन सक्नुपर्छ । निरन्तर लागिरहनुपर्छ । अभिनयलाई पेसा बनाएका मान्छेहरूलाई अझै पनि समाजले ‘यसबाट बाँच्न सकिन्छ ?’ भनेर प्रश्न गर्छ । 

तर, स्थिर भविष्यको ग्यारेन्टी त कुनै पेसामा पनि हुँदैन, होइन र ? आर्थिक अस्थिरताको डरले थिएटरलाई पूर्ण रूपमा पेसाका रूपमा अपनाउन कठिन भए नि यसभित्र अनेक अवसरहरू छन् । उदाहरणका लागि नृत्य, संगीत, लेखन र निर्देशनमा विशेषज्ञता बढाउन सकिन्छ । मैले नृत्यमा स्नातक गर्न सफल भएँ । यसले मलाई नाटकसँगै नृत्य सिकाउने अवसर दिलायो । थिएटर डिजाइन, म्युजिक, लाइटिङ, स्टेज म्यानेजमेन्ट, प्रप्स र कस्टुम डिजाइन जस्ता अतिरिक्त सीपहरूले कलाकारलाई वैकल्पिक स्रोत दिन सक्छ । धेरै कलाकारले नाटक लेखन वा अभिनय प्रशिक्षणबाट पनि आम्दानी गर्न गरिरहेका छन् ।

यदि हामी यो कुरा बुझ्न सक्छौं भने थिएटरलाई पनि एउटा स्थिर पेसाका रूपमा स्थापित गर्न सकिन्छ । आर्थिक रूपमा चिन्ता लिनुपर्ने भए पनि सही ढंगले काम गर्न सकियो भने यसैबाट आत्मनिर्भर बन्न सकिन्छ । अभिभावकहरूले आफ्ना सन्तानको इच्छा बुझेर नाटक पनि पेसा हो भनेर बुझ्नुपर्छ । हाम्रो समाजमा अहिले भाइरल, चर्चित भएका कामतर्फ आकर्षण बढेको छ । नाटक वा थिएटर भने अलि लामो यात्रा हो । निरन्तरता दिएर धैर्यसाथ लागेमा यस क्षेत्रमा भविष्य बनाउने सम्भावना छ ।

थिएटर भनेको मात्र अभिनय गर्ने ठाउँ मात्र होइन । यो समाज बुझ्ने माध्यम हो । जस्तै, थिएटरले शिक्षालाई सहज बनाउँछ । विभिन्न विद्यालयहरूमा नाटकहरू प्रदर्शन गरिन थालेका छन्, जसले विद्यार्थीको सिकाइ प्रभावकारी बनाउँछ ।

थिएटरले आत्मबोध गराउँछ । मैले आफैंलाई चिन्न, आफ्नो भावना बुझ्न र समाज बुझ्न थिएटरबाट सिकें । समग्रमा समाज, वरपरको वातावरण र आफैंलाई बुझ्ने माध्यम हो । थिएटर सामाजिक विभेदविरुद्धको हतियार हो । रंगमञ्चले लैंगिकता, भाषिक विविधता तथा विभिन्न सामाजिक मुद्दाहरू बुझ्न सघाउँछ । नाटक हेर्नु भनेको समाजका विविध पाटाहरू बुझ्नु पनि हो ।

नाटकलाई अझ प्रभावकारी बनाउन आवश्यक पर्ने मुख्य पक्ष भनेको डिजिटल युगमा यसको प्रवर्द्धन हो । हाल डिजिटल युगमा छौं, तर डिजिटल माध्यमको प्रयोग थिएटरमा न्युन छ । थिएटरकर्मीहरूले आफ्ना नाटकलाई डिजिटल प्लेटफर्मबाट कसरी ‘सेल’ गर्न सकिन्छ भनेर सोच्नुपर्छ । डिजिटल मार्केटिङको सही प्रयोग गर्न सकियो भने थिएटरको प्रभाव अझ फैलिन सक्छ । 

काठमाडौंबाहिर नाटक लैजान कठिन छ । धेरै ठाउँमा थिएटर नै छैनन् । नाटक बुझ्ने, हेर्ने, चासो राख्ने व्यक्तिहरू कम छन् । तर, जब हामी राजधानीबाहिर नाटक देखाउन जान्छौं, राजधानीको भन्दा बेग्लै अनुभव हुन्छ । त्यहाँका दर्शकहरू नाटक हेर्न आउँछन्, आफ्नो जीवनका घटनाहरू त्यसमा देख्छन् अनि संवाद गर्छन् । समाजको ऐनाजस्तो भएर नाटक उनीहरूलाई प्रतिविम्ब देखाउने माध्यम बन्छ । तत्काल परिवर्तन नआउला तर दर्शकहरूले घर फर्किंदा नाटकका विषयमा बहस गर्न थालेको पाउँछौं ।

थिएटरको भविष्य समाजको बुझाइमा निर्भर छ । जब समाजले नाटक आवश्यक छ भनेर महसुस गर्छ, तबमात्रै यसको भविष्य सुरक्षित हुन्छ । अहिले काठमाडौंका धेरै थिएटर बन्द हुँदै छन् । यो अवस्थामा कसले जिम्मेवारी लिने ? राज्यको नीति के हो ? यस्ता प्रश्नहरू गम्भीर छन् ।

थिएटर सिक्न आउने धेरैजसो कलाकार लामो समय टिक्दैनन् । सिक्न त आउँछन्, केही समयमै छोडेर जान्छन् । सफलताको हतारो भएकाहरू तीन महिने कोर्स सकेपछि ठूलो उपलब्धि खोज्छन् । तर, राम्रो कलाकार बन्न धैर्य चाहिन्छ, निरन्तरता चाहिन्छ ।

हालसम्म थिएटरले समेट्न नसकेका क्षेत्रहरू पनि छन् । एलजीबीटीक्यु समुदाय, अपांगता भएका व्यक्तिहरूका लागि थिएटरले अझै पनि पर्याप्त अवसर दिन सकेको छैन । महिला कलाकारका लागि अझै पनि लैंगिक संघर्ष कायम छ । समाजले महिला कलाकारलाई अझै परम्परागत सोचकै आधारमा हेर्छ । नाटकमै पनि महिला पात्रहरूलाई सधैं निरीह पात्रका रूपमा हेर्ने गर्दछ । महिलाका सशक्त भूमिकाहरू नाटकमा ल्याउन जरुरी छ । 

थिएटरले मलाई आफूलाई चिन्न सिकाएको छ । हाम्रो समाजमा छोरीहरूलाई ‘अर्काको घर जाने’ सोचले हुर्काइन्छ । तर, थिएटरले मलाई आफ्नै सपनाको बाटो बनाउन सिकायो । म आफ्नो पहिचान बनाउन चाहन्छु अनि अरूलाई प्रेरित गर्न चाहन्छु । थिएटर केवल अभिनयको माध्यम मात्र होइन, यो जीवन बुझ्ने, समाज बुझ्ने र आफूलाई चिन्ने माध्यम हो । थिएटरमा लाग्ने जो–कोहीलाई यो यात्राले एउटा गहिरो अर्थ दिनेछ । जुन केवल चर्चित हुन होइन, बरू आफूलाई खोज्न सहयोग गर्नेछ । 

आउने पुस्ताका लागि थिएटर अझ सहज बन्दै गएको छ । 

आफ्नो सीप प्रस्तुत गर्न चाहने जोकोहीका लागि यो एक खुला मञ्च हो । नयाँ प्रविधिको प्रयोग गरी डिजिटल माध्यम अपनाएर थिएटरलाई व्यापक बनाउन सकिन्छ । डिजिटल प्लेटफर्ममार्फत कसरी नाटकलाई नयाँ स्वरूप दिन सकिन्छ, कसरी फरक आइडिया प्रस्तुत गर्न सकिन्छ भन्ने सोचसाथ आउनु नयाँ पुस्ताका लागि अवसर हो । अबको पुस्ताले थिएटरलाई केवल स्टेजमा सीमित नराखी डिजिटल दुनियाँमा कसरी प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिन्छ भन्नेमा ध्यान दिन सक्नुपर्छ । 

थिएटर सिर्जनात्मक अभिव्यक्तिको एक माध्यम हो । जहाँ आइडिया छ भने त्यसलाई लागू गर्ने ठाउँ यही हो । विशेष गरी हाम्रा ऐतिहासिक कथाहरू, परम्परागत मूल्यहरू अनि समयक्रममा ओझेल परेका संस्कृति थिएटरमा पर्याप्त रूपमा आएका छैनन् । नयाँ पुस्ताले यी विषयवस्तुलाई नाटकमार्फत उजागर गर्न सक्छन् । इतिहास पुनर्जीवित गर्दै समसामयिक सन्दर्भ प्रस्तुत गर्न सकिन्छ । डिजिटल माध्यमको सहयोगमा थिएटरलाई अझ व्यापक दर्शकमाझ पुर्‍याउन सकिन्छ । जसले यसलाई केवल मनोरञ्जनको साधन होइन, सांस्कृतिक संरक्षण र परिवर्तनको प्रभावकारी उपकरण स्थापित गर्न सक्दछ ।

थिएटर भनेको अभिनय गर्ने ठाउँमात्र होइन, यो जीवनलाई नयाँ तरिकाले लैजाने गन्तव्य हो । अभिनय केवल संवाद बोल्ने कुरा होइन । यो पात्रको भाव, सोच र परिवेशलाई जिउँदो बनाउने कला हो । 

पवित्रा रंगकर्मी

Link copied successfully