हाम्रा ऐतिहासिक कथाहरू, परम्परागत मूल्यहरू अनि समयक्रममा ओझेल परेका संस्कृति थिएटरमा पर्याप्त आएका छैनन्, नयाँ पुस्ताले यी विषयवस्तुलाई उजागर गर्न सक्छन्
रंगमञ्च मेरो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । मैले थिएटर यात्रा थालेको १०–११ वर्ष भइसकेको छ । अहिले म शिल्पी थिएटरसँग आबद्ध छु । ‘लस्ट एन्ड फाउन्ड’ नामक नाटकको तयारीमा छौं हामी ।
तर, मेरो यात्रा सुरुदेखि नै थिएटरप्रति केन्द्रित थिएन । थिएटर सिक्ने उद्देश्यले काठमाडौं आएकी होइन । माओवादी द्वन्द्वकालको समयमा काठमाडौं आइपुगेकी थिएँ । जब विद्यालयहरू बन्द भएका थिए । मलाई नाटकबारे केही नै थाहा थिएनभन्दा हुन्छ ।
एसएलसी सकिएपछि कम्प्युटर सिक्ने योजना बनाएको थिएँ । घरमा त्यही भनेको थिएँ । तर डाँटेर म डान्स क्लासतिर लागें । क्लासमा साथीहरूले अभिनय सिक्दै गरेको देखें । उनीहरूले मलाई नि अभिनय सिक्न आग्रह गरे । तीन महिनाको कोर्स लिएँ । त्यहीं हो, मैले पहिलो पटक अभिनय, नवरस, पात्र निर्माण आदिबारे सिक्ने मौका पाएँ । त्यही प्रशिक्षण क्रममा म शिल्पी थिएटरसँग जोडिन पुगें । संयोगले म शिल्पीको पहिलो ब्याचकी विद्यार्थी भएँ ।
शिल्पी थिएटरमा प्रवेश गरेपछि मैले रंगमञ्चबारे गहिराइमा बुझ्न थालें । थिएटर भनेको के हो ? यसले समाजमा के प्रभाव पार्न सक्छ ? यसको माध्यमबाट कति धेरै कुरा व्यक्त गर्न सकिन्छ भन्ने थाहा पाएँ । शिल्पीले मुक्त रंगमञ्च र बन्द रंगमञ्च दुवैको अभ्यास गराउँछ । मुक्त रंगमञ्चको अनुभवले मलाई फरक समुदायमा पुग्न, भाषागत विविधता बुझ्न, लैंगिक विभेदसम्बन्धी चेतना पाउन र समाजमा विद्यमान विभिन्न समस्याको प्रत्यक्ष अध्ययन गर्न सहयोग गर्यो ।
थिएटरप्रति मेरो झुकाव समयक्रमसँगै गहिरिँदै गयो । त्यसपछि मैले यसलाई पेसा नै हो भन्ने सोच्न थालें । अहिले नयाँ कलाकारको सहभागिता हेर्छु, धेरै युवाहरू यसमा संलग्न हुन चाहँदैनन् । केही रुचि भएरै यसमा आउँछन् । तर, अभिभावकको दबाबका कारण निरन्तरता दिन सक्दैनन् । युवा पुस्तामा धेरैको रुचि घट्दो क्रममा देख्छु । केही समयमै निराश भएर जाने प्रवृत्ति बाक्लो छ । नाटक लोकप्रिय पेसा होइन । धेरै अभिभावकले आफ्ना सन्तानलाई डाक्टर, इन्जिनियर बनाउन चाहन्छन्, कलाकार बनाउन होइन । समाजको सोच त्यस्तै छ । फेरि धेरै युवा चाँडै चर्चित हुन चाहन्छन्, दुई–तीन महिना सिकेपछि ठूला काम पाउनुपर्ने अपेक्षा राख्छन् । थिएटर भनेको लामो यात्रा कला हो ।
नाटक पेसागत रूपमा अँगाल्न सजिलो छैन । नाटक गर्छु भन्नेबित्तिकै परिवार र समाजबाट ‘पैसा कहाँबाट कमाउँछौ ?’ भन्ने प्रश्न आउँछ । मेरा लागि नाटक नै पेसा हो भन्नसमेत गाह्रो छ । अझ महिलाहरूका लागि झन् कठिनाइ छ । यो पेसाबाट पनि जीवन धान्न सकिन्छ भन्ने बुझाउन सक्नुपर्छ । निरन्तर लागिरहनुपर्छ । अभिनयलाई पेसा बनाएका मान्छेहरूलाई अझै पनि समाजले ‘यसबाट बाँच्न सकिन्छ ?’ भनेर प्रश्न गर्छ ।
तर, स्थिर भविष्यको ग्यारेन्टी त कुनै पेसामा पनि हुँदैन, होइन र ? आर्थिक अस्थिरताको डरले थिएटरलाई पूर्ण रूपमा पेसाका रूपमा अपनाउन कठिन भए नि यसभित्र अनेक अवसरहरू छन् । उदाहरणका लागि नृत्य, संगीत, लेखन र निर्देशनमा विशेषज्ञता बढाउन सकिन्छ । मैले नृत्यमा स्नातक गर्न सफल भएँ । यसले मलाई नाटकसँगै नृत्य सिकाउने अवसर दिलायो । थिएटर डिजाइन, म्युजिक, लाइटिङ, स्टेज म्यानेजमेन्ट, प्रप्स र कस्टुम डिजाइन जस्ता अतिरिक्त सीपहरूले कलाकारलाई वैकल्पिक स्रोत दिन सक्छ । धेरै कलाकारले नाटक लेखन वा अभिनय प्रशिक्षणबाट पनि आम्दानी गर्न गरिरहेका छन् ।
यदि हामी यो कुरा बुझ्न सक्छौं भने थिएटरलाई पनि एउटा स्थिर पेसाका रूपमा स्थापित गर्न सकिन्छ । आर्थिक रूपमा चिन्ता लिनुपर्ने भए पनि सही ढंगले काम गर्न सकियो भने यसैबाट आत्मनिर्भर बन्न सकिन्छ । अभिभावकहरूले आफ्ना सन्तानको इच्छा बुझेर नाटक पनि पेसा हो भनेर बुझ्नुपर्छ । हाम्रो समाजमा अहिले भाइरल, चर्चित भएका कामतर्फ आकर्षण बढेको छ । नाटक वा थिएटर भने अलि लामो यात्रा हो । निरन्तरता दिएर धैर्यसाथ लागेमा यस क्षेत्रमा भविष्य बनाउने सम्भावना छ ।
थिएटर भनेको मात्र अभिनय गर्ने ठाउँ मात्र होइन । यो समाज बुझ्ने माध्यम हो । जस्तै, थिएटरले शिक्षालाई सहज बनाउँछ । विभिन्न विद्यालयहरूमा नाटकहरू प्रदर्शन गरिन थालेका छन्, जसले विद्यार्थीको सिकाइ प्रभावकारी बनाउँछ ।
थिएटरले आत्मबोध गराउँछ । मैले आफैंलाई चिन्न, आफ्नो भावना बुझ्न र समाज बुझ्न थिएटरबाट सिकें । समग्रमा समाज, वरपरको वातावरण र आफैंलाई बुझ्ने माध्यम हो । थिएटर सामाजिक विभेदविरुद्धको हतियार हो । रंगमञ्चले लैंगिकता, भाषिक विविधता तथा विभिन्न सामाजिक मुद्दाहरू बुझ्न सघाउँछ । नाटक हेर्नु भनेको समाजका विविध पाटाहरू बुझ्नु पनि हो ।
नाटकलाई अझ प्रभावकारी बनाउन आवश्यक पर्ने मुख्य पक्ष भनेको डिजिटल युगमा यसको प्रवर्द्धन हो । हाल डिजिटल युगमा छौं, तर डिजिटल माध्यमको प्रयोग थिएटरमा न्युन छ । थिएटरकर्मीहरूले आफ्ना नाटकलाई डिजिटल प्लेटफर्मबाट कसरी ‘सेल’ गर्न सकिन्छ भनेर सोच्नुपर्छ । डिजिटल मार्केटिङको सही प्रयोग गर्न सकियो भने थिएटरको प्रभाव अझ फैलिन सक्छ ।
काठमाडौंबाहिर नाटक लैजान कठिन छ । धेरै ठाउँमा थिएटर नै छैनन् । नाटक बुझ्ने, हेर्ने, चासो राख्ने व्यक्तिहरू कम छन् । तर, जब हामी राजधानीबाहिर नाटक देखाउन जान्छौं, राजधानीको भन्दा बेग्लै अनुभव हुन्छ । त्यहाँका दर्शकहरू नाटक हेर्न आउँछन्, आफ्नो जीवनका घटनाहरू त्यसमा देख्छन् अनि संवाद गर्छन् । समाजको ऐनाजस्तो भएर नाटक उनीहरूलाई प्रतिविम्ब देखाउने माध्यम बन्छ । तत्काल परिवर्तन नआउला तर दर्शकहरूले घर फर्किंदा नाटकका विषयमा बहस गर्न थालेको पाउँछौं ।
थिएटरको भविष्य समाजको बुझाइमा निर्भर छ । जब समाजले नाटक आवश्यक छ भनेर महसुस गर्छ, तबमात्रै यसको भविष्य सुरक्षित हुन्छ । अहिले काठमाडौंका धेरै थिएटर बन्द हुँदै छन् । यो अवस्थामा कसले जिम्मेवारी लिने ? राज्यको नीति के हो ? यस्ता प्रश्नहरू गम्भीर छन् ।
थिएटर सिक्न आउने धेरैजसो कलाकार लामो समय टिक्दैनन् । सिक्न त आउँछन्, केही समयमै छोडेर जान्छन् । सफलताको हतारो भएकाहरू तीन महिने कोर्स सकेपछि ठूलो उपलब्धि खोज्छन् । तर, राम्रो कलाकार बन्न धैर्य चाहिन्छ, निरन्तरता चाहिन्छ ।
हालसम्म थिएटरले समेट्न नसकेका क्षेत्रहरू पनि छन् । एलजीबीटीक्यु समुदाय, अपांगता भएका व्यक्तिहरूका लागि थिएटरले अझै पनि पर्याप्त अवसर दिन सकेको छैन । महिला कलाकारका लागि अझै पनि लैंगिक संघर्ष कायम छ । समाजले महिला कलाकारलाई अझै परम्परागत सोचकै आधारमा हेर्छ । नाटकमै पनि महिला पात्रहरूलाई सधैं निरीह पात्रका रूपमा हेर्ने गर्दछ । महिलाका सशक्त भूमिकाहरू नाटकमा ल्याउन जरुरी छ ।
थिएटरले मलाई आफूलाई चिन्न सिकाएको छ । हाम्रो समाजमा छोरीहरूलाई ‘अर्काको घर जाने’ सोचले हुर्काइन्छ । तर, थिएटरले मलाई आफ्नै सपनाको बाटो बनाउन सिकायो । म आफ्नो पहिचान बनाउन चाहन्छु अनि अरूलाई प्रेरित गर्न चाहन्छु । थिएटर केवल अभिनयको माध्यम मात्र होइन, यो जीवन बुझ्ने, समाज बुझ्ने र आफूलाई चिन्ने माध्यम हो । थिएटरमा लाग्ने जो–कोहीलाई यो यात्राले एउटा गहिरो अर्थ दिनेछ । जुन केवल चर्चित हुन होइन, बरू आफूलाई खोज्न सहयोग गर्नेछ ।
आउने पुस्ताका लागि थिएटर अझ सहज बन्दै गएको छ ।
आफ्नो सीप प्रस्तुत गर्न चाहने जोकोहीका लागि यो एक खुला मञ्च हो । नयाँ प्रविधिको प्रयोग गरी डिजिटल माध्यम अपनाएर थिएटरलाई व्यापक बनाउन सकिन्छ । डिजिटल प्लेटफर्ममार्फत कसरी नाटकलाई नयाँ स्वरूप दिन सकिन्छ, कसरी फरक आइडिया प्रस्तुत गर्न सकिन्छ भन्ने सोचसाथ आउनु नयाँ पुस्ताका लागि अवसर हो । अबको पुस्ताले थिएटरलाई केवल स्टेजमा सीमित नराखी डिजिटल दुनियाँमा कसरी प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिन्छ भन्नेमा ध्यान दिन सक्नुपर्छ ।
थिएटर सिर्जनात्मक अभिव्यक्तिको एक माध्यम हो । जहाँ आइडिया छ भने त्यसलाई लागू गर्ने ठाउँ यही हो । विशेष गरी हाम्रा ऐतिहासिक कथाहरू, परम्परागत मूल्यहरू अनि समयक्रममा ओझेल परेका संस्कृति थिएटरमा पर्याप्त रूपमा आएका छैनन् । नयाँ पुस्ताले यी विषयवस्तुलाई नाटकमार्फत उजागर गर्न सक्छन् । इतिहास पुनर्जीवित गर्दै समसामयिक सन्दर्भ प्रस्तुत गर्न सकिन्छ । डिजिटल माध्यमको सहयोगमा थिएटरलाई अझ व्यापक दर्शकमाझ पुर्याउन सकिन्छ । जसले यसलाई केवल मनोरञ्जनको साधन होइन, सांस्कृतिक संरक्षण र परिवर्तनको प्रभावकारी उपकरण स्थापित गर्न सक्दछ ।
थिएटर भनेको अभिनय गर्ने ठाउँमात्र होइन, यो जीवनलाई नयाँ तरिकाले लैजाने गन्तव्य हो । अभिनय केवल संवाद बोल्ने कुरा होइन । यो पात्रको भाव, सोच र परिवेशलाई जिउँदो बनाउने कला हो ।
