विश्वभर नै विशेषतः महिला शृङ्गार गर्न मन पराउने हुन्छन्, यो चाहना पनि बढ्दो छ, यसको प्रयोग कसरी बढिरहेको छ भनेर विभिन्न माध्यमका सामाजिक सञ्जालबाट पनि देख्छौं, यसमा विभिन्न व्यक्तिले मेकअपमा आधारित भएर कन्टेन्ट बनाइरहेका छन्, मेकअप गर्न र गराउन नै त्यस्ता कन्टेन्ट बनेका हुन्, यो चलन नेपालमा पनि बढ्दो छ
नेपालमा पार्लरसम्बन्धी गुणस्तरीय सेवा दिएको पाइरहेको थिइनँ । बजारमा यसको माग थियो तर त्यो अपुग्दो थियो । त्यसैले मैले विवाह समारोहलाई केन्द्रमा राखेर बिहेसम्बन्धी मेकअप सेवा दिने व्यवसाय सुरु गरें । यसका लागि एउटा सानो टिम तयार बनाएँ ।
२१ वर्षे उमेरबाट मेरो व्यवसाय यात्रा सुरु भयो । अहिले ३२ वर्ष पुगिसकेको छु । मेरो व्यवसायले दशक पार गर्यो भन्दा हुन्छ ।
खासमा मेरो हुर्काइ सिंगापुरमा भयो । बुवा सिंगापुर पुलिस फोर्सको चिफ इन्स्पेक्टर हुनुहुन्थ्यो । मेरो बाल्यकाल उतै बित्यो । १७ वर्षको उमेरमा नेपाल आएँ । यहाँ आइसकेपछि हाइस्कुल जानुअघि ६ महिनाको छुट्टी थियो । मलाई मेकअपप्रति रुचि भएकाले यसको क्लास लिएँ । ए लेभल अध्ययनका लागि रातो बंगलामा भर्ना भएँ । पढाइसँगै मैले विभिन्न फोटोग्राफर र एड्भाइजिङ म्यागजिनसँग सम्पर्क गरें । मैले मेरो सीपबारे बताएँ । सहकार्यका लागि मलाई सम्झनु भनेर अनुरोध गरें । मलाई एक जना फोटोग्राफरको काम एकदमै राम्रो लाग्थ्यो । उहाँलाई आफूसँग काम गर्न अनुरोध गरें । उहाँको सुटमा मैले मेकअप र हेयरको काम गर्न थालें । बिस्तारै उहाँले अरू पैसा लिने काममा मलाई सिफारिस गर्नुभयो । त्यसपछि मैले स्कुलको पढाइ पनि सिध्याएँ । पढाइ सकेपछि फेसन डिजाइनिङ, फेसन शो कोरियोग्राफी, शो डाइरेक्सनतिर लागें । यी सबै काम मैले नेपाल आएको चार वर्षमा गरिसकेको थिएँ ।
सिंगापुरमा हुँदा पनि मैले पिज्जाहटमा काम गर्थें नै । त्यतिबेलै सेवा क्षेत्रमा आबद्ध भएर व्यवसायी बन्छु भन्ने इच्छा मभित्र पलाएको थियो । यही इच्छाले व्यवसाय सुरु गरें ।
अर्को त सानैदेखि स्कुलमा पनि प्ले ग्रुप र थिएटरमा भाग लिने सहपाठीलाई सिँगार्ने काममा अघि सर्थें । मैले जाने जति सीपले सिँगार्थें । पछि मलाई यसमै रुचि बस्यो ।
दशक लामो व्यवसायमा मैले एउटा एकेडेमी पनि सुरु गरेको छु । जहाँ म र मेरो टिमले ब्युटिसियनसम्बन्धी तालिम र कक्षा दिन्छौं । व्यवसाय सञ्चालन गर्न परिवारले पनि सहयोग गर्नुभएको छ ।
यस क्षेत्रमा अवसर धेरै छ । यो करियरले मलाई धेरै कुरा दिएको छ । यसले मलाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ । यसमा धेरै युवाले रोजगार पाएका छन् । कसरी सिकाउँदा राम्रो हुन्छ भन्नेमा ठूलो जिम्मेवारी बोकेको छु । प्रत्येकलाई राम्रोसँग सिकाउनु मेरो ठूलो जिम्मेवारी हो जस्तो लाग्छ । त्यसरी मैले यस क्षेत्रबाट सिकेका सीपलाई अरूमाझ बाँड्न चाहन्छु ।
मैले व्यवसाय सुरु गरेपछि धेरै परिवर्तन आइसकेको छ । जुन मैले पनि आशा गरेको थिइनँ । मकहाँ आउने क्लाइन्टमार्फत र टिमबाट सहयोग पाइरहेको छु । चुनौती यो क्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा हुन्छ । यसको समाधान भनेको उदार र खुला विचारबाटै हुनुपर्छ । हामीले आस नगरेको कुरा हुँदा र हुन नसक्दा हामी त्यसमा उदार भइदिनुपर्छ । यसबाट हामी प्रभावित पनि हुनु हुँदैन ।
विश्वभर नै विशेषतः महिला शृङ्गार गर्न मन पराउने हुन्छन् । यो चाहना पनि बढ्दो छ । यसको प्रयोग कसरी बढिरहेको छ भनेर विभिन्न माध्यमका सामाजिक सञ्जालबाट पनि देख्छौं । धेरैले भिडियो र सामाजिक सञ्जालमार्फत आफूले सिकेका कुराहरू देखाइरहनुभएको हुन्छ । यसमा विभिन्न व्यक्तिले मेकअपमा आधारित भएर कन्टेन्टसमेत बनाइरहेका छन् । मेकअप गर्न र गराउन नै त्यस्ता कन्टेन्ट बनेका हुन् । यो चलन नेपालमा पनि बढ्दो छ । नेपालमा विभिन्न कार्यक्रम हुँदा, दीक्षान्त समारोह, पारिवारिक जमघट कार्यक्रम, बिहे, व्रतबन्ध, पास्नीमा समेत शृङ्गार गर्ने चलन बढिसकेको छ । यसमा धेरैले वेडिङ मेकअप भनेर आफ्नो करियर नै अघि बढाएका छन् । यसरी नै आफ्नो करियर अगाडि बढाउने हो । यो राम्रो पक्ष हो । नेपालमा बिहेलाई धेरैले प्राथमिकता दिने संस्कृति छ । यसमा अरूले व्यवसाय सुरु गर्ने अवसर पाउँदा धेरै खुसी लाग्छ ।
मेकअपबारे विद्यार्थीलाई सिकाइरहँदा के भन्छु भने मेकअप यस्तो कुरा हो, तपाईंले लगाउनुहुन्छ मन परेन भने हटाउनुहोस् । यो अनुहारमा बसिरहँदैन । कहिलेकाहीं मेकअप गर्न मेरा विद्यार्थीहरू पनि डराउँछन् । म उनीहरूलाई ‘नडराऊ यो सधैंका लागि अनुहारमा बस्दैन’ भनेर सम्झाउँछु । कति व्यक्तिमा अनुहारको छालामा समस्या हुँदा मेकअपले एलर्जी हुन सक्छ । त्यसप्रति सचेत भने हुनुपर्छ ।
मेकअप भनेकै केमिकलको कम्पाउन्ड हो । अनुहारमा मात्र होइन, कपालमा पनि केमिकल नै प्रयोग गरिरहेका हुन्छौं । त्यसले एलर्जी आउँछ भने त्यो सन्चो पनि हुन्छ । यसमा आत्तिनु पर्दैन ।
मेकअप भनेको एउटा शृङ्गार वा तयार हुने अभ्यास हो । यो अभ्यासमा कुनै व्यक्तिलाई आफ्नो राम्रो सोच वा आत्मविश्वास बढ्छ भने त्यो व्यक्तिले मेकअप गराउँदा वा गर्दा गलत हो जस्तो लाग्दैन । यो आफूलाई प्रस्तुत गर्ने माध्यम हो ।
अहिले महिला मात्र नभएर पुरुषले पनि शृङ्गार गर्छन् । उनीहरूले पनि आफ्नो व्यक्तित्व बाहिर ल्याइरहेका हुन्छन् । त्यसैले यो आफू आफ्नोबारे व्यक्त गर्ने माध्यम हो । यो सिर्जना पनि हो । किनभने धेरै किसिमका प्रडक्टहरूलाई आकार दिनुपर्छ । त्यसलाई मिलाएर प्रस्तुत गर्नुपर्छ । त्यसैले यो कला हो । कसैले यसबाट आफ्नो कला प्रस्तुत गर्छन् भने त्यो नराम्रो होइन ।
मैले सिकिरहेको छु । आफूले सिकेको कुरा अरूलाई पनि सिकाउँछु । मैले बुझिरहेको कुरा भनेको म यो स्थानमा हुनुको कारण मेरो यस कामप्रतिको निरन्तरता हो । त्यसैले अब मेरो रुचिभन्दा यसमा धेरै जिम्मेवारी थपिएको छ । जुनै मैले निरन्तर गरिराख्नुपर्छ र गरिरहेको पनि छु ।
धेरैले रुचिका बारेमा कुरा गर्नुहुन्छ । रुचि हुनुपर्छ तर जिम्मेवारी महसुस गर्नुपर्छ । मेरो त रुचिभन्दा बढी यो जिम्मेवारीमा पुगिसकेको छ । हरेक कुरा समयसँगै अगाडि बढ्छ । मेरो अफिसमा ५३ जना जतिले काम गरिरहेका छन् । उनीहरूले हरेक महिना मबाट अपेक्षा गरिराखेका हुन्छन् । घरधनी, बिजुली, सप्लायर्स सबैले आस गरिरहेका हुन्छन् । यी सबै कुरा गर्दा कुनै दिन मेरो चाहना वा रुचि कम भयो भन्दैमा म रोकिन सक्दिनँ । निरन्तर अगाडि बढ्नुपर्छ । यी सबै कुरा जिम्मेवारीमा बदलिसकेको छ । आफ्नो वरिपरि के भइरहेको छ बुझ्ने अनि कतिसम्म गर्न सकिन्छ त्यो गर्ने । निरन्तर गर्दै गइरहने भनेर भन्छु ।
