भाषा र भाका जगाउँदै देउडा

हाम्रो गाउँमा दिदीबहिनी, आमा, भाउजूहरू कति राम्रो देउडा, ठाडी भाका गाउनुहुन्छ तर यहाँसम्म आइपुग्न सक्नुभएको छैन, उहाँहरूलाई हाम्रो समाजले गायकगायिका बन्न दिँदैन ।

फाल्गुन ७, २०८१

इब्सल सन्ज्याल

Deuda awakening language and speech

देउडा र दोहोरी हुँदै गीतसंगीतको क्षेत्रमा सक्रिय रहेको छु । चार वर्षदेखि यो क्षेत्रमा सक्रिय छु । म मोडलिङ हुँदै गायनमा लागेको हो । हाम्रोतिर चल्ने देउडा गीतको थुप्रै भिडियोमा अभिनय गरेपछि गायनमा लागें ।

मेरो घर कालीकोट हो तर सांगीतिक क्षेत्रमा मेरो प्रवेश मामाघर बाजुराबाट भएको हो । कानुन व्यवसायीसमेत रहेका संगीतकार हर्क खडायतले मलाई यो क्षेत्रमा अवसर दिनुभएको हो । उहाँले मलाई ‘पापी बुढीगंगा’बोलको गीतमा अभिनय गर्ने अवसर दिनुभएको थियो । त्यो समयमा बुढीगंगा बाढीले थुप्रै बस्ती बगाएको थियो । त्यो समय सान्दर्भिक गीत थियो । त्यसमा अभिनय गरेपछि थप दुई/तीन गीतमा अभिनयको अफर आयो । त्यसपछि म प्लस टू अध्ययनका लागि धनगढी आएँ ।

त्यसपछि मलाई कालिकोट बोलाइयो । खगेन्द्र न्यौपाने गुरुले कालिकोट बोलाएपछि त्यहाँ बसेर गीत संगीतसँग जोडिएर थुप्रै काम गरियो । म कलाकार बन्नमा खगेन्द्र न्यौपानेको ठूलो भूमिका छ, कला क्षेत्रमा उहाँ नै मेरो गुरु हो । 

त्यतिबेला धेरै गीतहरूमा अभिनय गरें । कर्णाली र सुदूर कर्णालीमा चर्चित गीतका भिडियोहरूमा अभिनय गर्नका लागि थुप्रै बस्ती पुगें । ती बस्ती हिँडेरै पुगेको थिएँ । कालिकोटमा अझै पनि यातायातको सुविधा छैन । त्यतिबेला मलाई लाग्यो कि संस्कृति जगेर्ना गर्नॅ सबैभन्दा ठूलो कुरा हो । हामी पूर्वेली गीतहरूमा नाच्छौं । अरू संस्कृतिका गीतहरूमा नाच्छौं । हाम्रो गाउँमा कार्यक्रम भएमा मगर समुदायले लगाउने पहिरन लगाएर नाच्ने गरेका छौं । तर हाम्रोमा मगर बस्ती थिएन । 

हाम्रो पहिरन लगाउनुपर्छ र प्रचारप्रसार गर्नॅपर्छ भन्ने मलाई लाग्यो । हाम्रो पहिरन, संस्कृतिको संरक्षण हामीले गर्नॅपर्छ भन्ने लागेको थियो । मान्छे जन्मिएपछि एउटा समाजमा हुर्किएको हुन्छ । बोटबिरुवा हुर्किनका लागि जरा चाहिएजस्तै हाम्रो सांगीतिक क्षेत्रको जरो भनेको देउडा हो । सिन्जा हो । भाषा त्यतैबाट उत्पत्ति भयो । बस्ती बुझ्दै र देउडाका भिडियोमा अभिनय गर्दैगर्दा मैले कहिले गीत गाए सबैभन्दा पहिला देउडा नै गाउँछु भन्ने प्रण थियो । 

मलाई ‘झुपडी’ भन्ने गीत असाध्यै मन पर्‍यो । त्यो गीत पुरुषको स्वरमा आइसकेको थियो । कुशल अधिकारीको स्वर र खगेन्द्रप्रसाद न्यौपानेको शब्द रहेको त्यो गीत रेकर्ड गर्न काठमाडौं आएर पहिलो गीत रेकर्ड गरेको थिएँ । 

यो क्षेत्रमा प्रवेश गर्दैगर्दा युवाहरूलाई परिवारको समर्थन हुन्न । बाआमाको चिन्ता हुन्छ कि यो पेसा गलत हो कि भन्ने । मेरो परिवारमा सबैजना सरकारी जागिरे छन् । मेरो यात्रा अर्कैतर्फ मोडिँदा मेरो भविष्यलाई लिएर परिवारमा चिन्ता थियो । अहिले पनि म संघर्षमै छु । यत्तिको पनि हुन्छ कि हुन्न भन्ने चिन्ता भने परिवारमा थियो । पहिलो पटक यो क्षेत्रमा लाग्छु भन्दा बुबा रिसाउनुभएको थियो । गीतसंगीतको क्षेत्रको बारेमा बुझ्दै नबुझेको मान्छे एक्कासि यसै क्षेत्रमा लाग्दा चिन्ता हुनु स्वाभाविक थियो । 

हाम्रो गाउँमा कुखुरा पाल्ने चलन थिएन । बाहुनको घरमा झन् कुखुरा हुँदै हुन्न । त्यो चलन नभइराख्दा कुनै बाहुनले कुखुरा पाल्यो भने पाप गर्‍यो, अनर्थ गर्‍यो भन्छन् । त्यही कुखुरा पाले बराबर भयो म यो क्षेत्रमा लाग्नु । कालिकोटबाट यो क्षेत्रमा अग्रज गायक हुनुहुन्थ्यो । महिला खासै हुनुहुन्थेन । 

पेसागत रूपमा खट्नुभएको थोरैमात्र हुनुहुन्थ्यो । डर पनि हो । तर सबैभन्दा ठूलो सपोर्ट र समर्थन परिवारको हुन्छ, चाहिन्छ । 

म यो क्षेत्रमा अगाडि बढ्दै गएपछि बुबाआमाले नै सम्झाउन थाल्नुभयो, समर्थन गर्न लाग्नुभयो । अहिले त बुबाआमा म यो क्षेत्रमा लागेको देखेर खुसी हुनुहुन्छ । मार्गदर्शन गरिरहनुभएको छ । 

परिवारले कर गरेपछि म काठमाडौंको इन्द्रेणीमा गीत गाउन आएको हो । ‘बाटो खुल्यो मोटर चल्यो जुम्ला कालिकोटको’ बोलको दोहोरी गीत गाएँ । त्यसले चर्चा दियो । त्यसपछि परिवारले नै काठमाडौं पठायो । त्यसबीचमा थुप्रै लाइभ दोहोरी गाउने अवसर मिल्यो ।

पहिला क्यासेटमार्फत गीत श्रोता कहाँ पुग्यो । अहिले सामाजिक सञ्जालका कारण गीतलाई श्रोतासम्म पुर्‍याउन धेरै सजिलो भएको छ । व्यक्तिमा भएको कला दर्शकश्रोतामाझ लैजानका लागि सामाजिक सञ्जालहरू साह्रै उपयोगी भएका छन् । 

जुम्ला कालीकोटमा यातायात चल्दैन, तर हातहातमा मोबाइल पुगेको छ र टिकटक पुगेको छ । त्यहाँका मान्छेले पनि गीतसंगीत हेर्छन् । त्यसमा पहुँच पुर्‍याएका छन् । सामाजिक सञ्जालमार्फत गीतसंगीत हेर्छन् । टिकटकलगायतका सामाजिक सञ्जालले सांगीतिक क्षेत्रलाई धेरै राम्रो गरेको छ । टिकटक बन्द हुँदा कति धेरै गीत व्यावसायिक रूपमा डुबेका छन् । टिकटकमा गीतले राम्रो चर्चा पायो भने व्यावसायिक रूपमा पनि चल्छन् । 

कुनै पनि कुराको राम्रो र नराम्रो दुवै पाटो हुन्छ । ५० प्रतिशत राम्रो हुँदा अर्को ५० प्रतिशत नराम्रो हुन्छ । कुनलाई हेर्ने भन्ने व्यक्तिमा भर पर्छ । 

गीतसंगीतमा सम्भावनाका कुरा गर्दा, एउटा जागिरमा लाग्ने हो भने त्यसमै जिन्दगी जान्छ । कलाकारको जिन्दगी फरक छ । उसले हजारौं दर्शक र श्रोता कमाएको हुन्छ । त्यसले सुरुमा आर्थिक रूपमा सक्षम नबनाए पनि, आफ्ना दर्शक र श्रोताको मायाले खान नपुगे पनि पहिचान बन्छ । हाम्रै क्षेत्रको कुरा गर्दा हाम्रो पुस्ता गीतसंगीतमा लागेपछि कालीकोट, हुम्ला, जुम्ला, मुगुका प्रतिभाहरू देउडा र दोहोरी लिएर आएका छन् । त्यहाँको स्थानीय भाषा, भाका र संस्कृतिलाई गीतसंगीतमार्फत अगाडि बढाइरहेका छन् । 

हाम्रो ठाउँको ठेट भाका र भेषभूषासहित देउडा र दोहरी सार्वजनिक भइरहेका छन् । हाम्रोतिरको वास्तविक देउडा, ठाडी भाका अहिले सार्वजनिक भइरहेका हुन् । एउटाले अगाडि बढ्दा अरूका लागि पनि बाटो खुलेको छ । अब त्यस क्षेत्र सम्हाल्ने जिम्मा नयाँ पुस्ताको हो । 

देशको राजधानीले हाम्रो क्षेत्रलाई हेर्ने दृष्टिकोण धेरै फरक छ त्यसले मलाई देउडा र दोहोरीमा लाग्न प्रेरित गरेको हो । पहिलेको कर्णाली भनेको हुम्ला, जुम्ला, कालिकोट, मुगु र डोल्पा हो । प्रदेश बन्दा १० जिल्ला भएको छ । अहिले कर्णालीमा जोडिएका पाँच जिल्लाले हाम्रो क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक छ । यस्तो अवस्थामा मैले मेरो तर्फबाट आफ्नो गाउँठाउँ, भाषा संस्कृतिका लागि के गर्न सकिन्छ भन्ने लागेर यो क्षेत्रमा छु । भाषा संस्कृतिको जगेर्ना हाम्रै ठाउँका मान्छेले गर्ने हो । विदेशीले त केही टिपेर राख्ने हो, जगेर्ना गर्ने होइन ।

गीतसंगीतमा स्थानीय प्रतिनिधित्व हुनुपर्छ भन्ने लाग्छ । गायकले देउडा र दोहोरी मात्रै गाउनुपर्छ भन्ने होइन, जस्तो गीत पनि गाउन सक्नुपर्छ । भर्सटाइल हुनुपर्छ तर आफ्नो क्षेत्रको भाका, भाषा र संस्कृतिलाई छोड्नुहुन्न । 

गीतसंगीतमा संस्कार र संस्कृति सँगसँगै नलगे समस्या उत्पन्न हुन्छ । हाम्रो फुली, बुँलाकी कसले लगाउने ? कपालमा टालो कसले लगाउने र धोतीचोली कसले लगाउने ? अरूले हाम्रो संस्कृतिलाई त बढावा दिँदैन । संस्कृति आदानप्रदान हुन जरुरी छ, त्यसका लागि आफ्नो संस्कृतिलाई अगाडि बढाउनुपर्छ । मैले आफ्ना कार्यक्रममा सकेसम्म हाम्रै कर्णालीको भाषा, भेषभूषा र पहिरन लगाउने गरेको छु । दोहोरी र देउडा गाउँदा फुली, बुलाकी, टालो बाँधेर चोली र धोती लगाउने गर्छु । साडीमा पनि त्यो काम गर्न सकिन्छ तर मेरो प्राथमिकतामा कर्णालीको संस्कृतिलाई पहिचान दिनुपर्छ भन्ने छ । गीतसंगीतमार्फत संस्कृतिले पनि चर्चा पाउँछ । हामी यस्तो लुगा लगाउँछौं भन्नका लागि पनि त्यस्तो गर्छौं । 

देउडा र दोहोरीमा ‘बाज, सुवा’ लगायतका भाका विरलै सुनिन्थे । अहिले व्यापक बनेको छ । पहिले देउडाका साथै कर्णाली र सुदूरपश्चिमलाई हेर्ने नजर राम्रो थिएन । हाम्रो भाषा, भाका र लय सुन्दैमा नकारात्मक भाव देखाउनेहरूले अहिले हाम्रो देउडा र भाकालाई मन पराउन थालेका छन् । 

देउडामा छोटो लुगा लगाएर गीत गाउनु र धोतीचोलोमा गीत गाउनुमा फरक हुन्छ । दर्शकको दृष्टिकोणमा नै फरक पर्छ । त्यसैका आधारमा ट्यागसमेत लगाइन्छ । फलानो संस्कारी, फलानो उट्पट्याङ छ भन्ने गर्छन् । कुनै आयोजकले मलाई ‘नानी आइदिनुपर्‍यो’ भन्छन् भने अर्को कसैलाई त्यो भाषामा बोलाइन्न । त्यसमा हामीले बोकेको भाषा भेषभूषा र संस्कृतिले गर्दा नै हो । त्यसले फरक पार्छ । समाजले हामीलाई हेर्ने दृष्टिकोणमा नै बदलाव ल्याउँछ । यो क्षेत्र आज काम गर्‍यो सकियो भन्ने हैन । यो क्षेत्रमा गरेको काम पुस्तौंसम्म रहिरहन्छ । हाम्रो काम सन्ततिले हेर्ने हो । हामीले बोकिरहेको संस्कृतिले भावी पुस्तालाई पनि शिक्षा दिने भन्ने सन्देश बोकेको हुन्छ । 

पुस्तान्तरणसँगै देउडाको लय र भाकामा परिवर्तन भइरहेको छ । देउडा तलमाथि होला, उत्ताउलोपन बढ्दै जान्छ । त्यो अहिलेको पुस्ताको माग हो जस्तो लाग्छ । पुस्तान्तरणसँगै देउडामा आएको परिवर्तन हो । पहिले मेलापात र गाउँका चाडपर्वमा गाउने जस्तो ठेट भाका नहुन सक्छ । त्यो अनुभव नहुँदा अहिलेकोलाई त्यो नआउने भएको छ । पहिले गाउँदै गर्दा मादल बजाइन्थ्यो, सारङ्गी बजाइन्थ्यो अहिले कम्प्युटर आयो र परिवर्तन ल्यायो । त्यसरी नै संस्कृतिमा पनि केही परिवर्तन हुने हो तर मर्ने होइन । संस्कृति मार्ने गरी गीतसंगीतलाई अगाडि बढाउनुहुन्न । त्यसरी जानु दीर्घकालीन यात्रा भने हुन्न ।

देउडा र दोहोरीका क्षेत्रसँगै आउने समस्या छन् । अछाम र डोटी गएर झ्याउरे गीत गाउनुले धेरै अर्थ हुन्न, त्यता देउडा सुन्छन् । बागलुङ गएर देउडा गाउनुको अर्थ खासै रहन्न । हाम्रो देशले जिल्लैपिच्छे फरक संस्कृति बोकेको छ । तैपनि अछाममा झ्याउरे बजाइदिए दर्शक नाच्छन् भने बागलुङमा देउडा सुन्छन् । 

गीतसंगीतमार्फत फरक भाषा र संस्कृतिलाई समाजमा अन्तरघुलन गर्नॅपर्छ भन्ने हो । नेपालका जुनसुकै स्टेज चढे पनि म देउडा नगाई आफ्नो प्रस्तुति दिन सक्दिन । देउडा सुन्न आग्रह गर्छॅ । यसरी संस्कृतिको आदानप्रदान जरुरी छ । हामी लाज मान्ने पनि छौं कि म देउडा गायक हो भन्न । छाती फुलाएर म देउडा गायक हो भन्न सक्नुपर्छ । देउडा गाउन सक्नु सानो कुरा होइन । अझ देउडाको ठाडी भाका हामी गाउन सक्दैनौं । गाउँतिर गाइने ठाडी भाका हामी यो पेसामा लागेकाले पनि सक्दैनौं, कठिन हुन्छ । धक नमानेर हाम्रो पुस्ताले आफ्नो गीतसंगीत र संस्कृतिलाई अगाडि बढाउनुपर्छ ।

हामीले देउडा र दोहोरीलाई सँगसँगै लगिरहेका छौं । अब यसलाई थप अगाडि बढाउन र संरक्षण गर्नका लागि बिरुवा हुर्काउन मलजल चाहिएजस्तै सबैको साथ र सहयोग आवश्यक हुन्छ । पुस्तान्तरण यो क्षेत्रको सबैभन्दा ठूलो आवश्यकता हो । अग्रजहरूले के गर्नॅभयो भन्ने हेर्नॅपर्‍यो । उहाँहरूसँग संवाद हुनुपर्‍यो । एक/दुई गीत चल्दैमा खुट्टले भुइँ छोड्न हुँदैन । फलेको हाँगो जहिले पनि झुक्छ भनेझैं झुक्न सिक्नुपर्छ । 

सुदूरपश्चिमबाट पहिले नन्दकृष्ण जोशी, राजाराम भाट, भुवन दाहालले देउडालाई अगाडि ल्याउनुभयो । अहिले चक्र बम, टंक तिमिल्सिना हुनुहुन्छ । अर्को पुस्ता पनि आउँछ । किनभने यो पुस्तान्तरण भइरहेको छ । त्यसैलाई जोगाएर जानुपर्छ । यसरी नै दीर्घकालीन हुनुपर्छ । नयाँ पुस्ताले पनि संस्कृतिका कुरा भाका र भाषाको तत्त्व संरक्षण गरेर अगाडि लैजानुपर्छ । मैले देउडा र दोहोरी बाराको सिमरामा आयोजित कार्यक्रममा पनि गाएको छु । भोजपुरी गीतको प्रभाव रहेको क्षेत्रमा पनि दोहोरी सुने दर्शकले । त्यसरी संस्कृतिको आदानप्रदान गरिरहनुपर्छ ।

हाम्रो क्षेत्रका गीतसंगीतमा लाग्ने युवा पुस्ताले आफ्नो भोकल पनि पहिचान गर्नॅपर्छ । कसैको स्वर नै देउडा गीत गाउन नसक्ने वा नमिल्ने हुन्छ । कसैले देउडासँगै आधुनिक गीत पनि गाइरहनुभएको छ । र्‍यापमा समेत देउडा आइसकेको छ । तर, जतासुकै जोडे पनि देउडाको आफ्नोपन मार्न भएन । 

पछिल्लो समय डोटेली भाषा नजान्नेहरूले फिल्ममा पनि हाम्रो भाषा र गीतहरू प्रयोग गर्न लागेको देखिन्छ । दीपाश्री निरौला र दीपकराज गिरीले आफ्ना फिल्ममा हाम्रो भाषा प्रयोग गरिरहनुभएको छ । यसको अर्थ कमर्सियल फिल्ममा पनि हाम्रो भाषा पुगेको छ, यो सकारात्मक पाटो हो । यसरी नै हाम्रो भाषा र गीतसंगीतलाई अझै फिल्ममा पनि निरन्तरता हुनुपर्छ भन्ने लाग्छ । त्यसमा स्थानीयपन राख्नसके झनै राम्रो हुन्छ । यो भनेको म्युजिक इन्डस्ट्रीबाट फिल्म इन्डस्ट्रीमा पनि देउडा गीतसंगीत प्रयोग भएको र त्यो तहसम्म ठाउँ पाएको रूपमा लिनुपर्छ । फिल्ममा हाम्रो भाषा, भेषभूषा र गीतसंगीत उनीहरूले जति सक्नुभयो त्यति प्रयोग गरिरहनुभएको छ, हाम्रा लागि त्यो पनि ठूलो कुरा भएको छ । 

नयाँ पुस्ताले देउडा गाउनका लागि आफ्नोपन र आफ्नो भोकल थाहा पाउनुपर्छ । सबै जनाले देउडा नै गाउनुपर्छ र गाएर मात्रै संरक्षण हुन्छ भन्ने त छैन जताबाट सकिन्छ आफ्नो क्षमताले भ्याएको दिनुपर्छ । निरन्तरता दिनुपर्छ । 

हाम्रो गाउँमा दिदीबहिनी, आमा भाउजूहरू कति राम्रो देउडा, ठाडी भाका गाउनुहुन्छ तर यहाँसम्म आउन पुग्न सक्नुभएको छैन । उहाँहरूलाई हाम्रो समाजले त गायकगायिका बन्न फिटिक्कै दिँदैन । किनभने म पनि त्यो भोगेर आएको छु । विवाह गरेको महिलाले त झनै सक्दैन । बुहारी भइसकेपछि घरबार सबै सम्हाल्नुपर्ने हुन्छ । त्यसो हुँदा कैयौं प्रतिभाहरू, मभन्दा धेरै राम्रो गाउनेहरू बन्धनमा बाँधिनुभएको छ । त्यो लाज, धक र समाजको करले हो । जाउ छोरी, बुहारी तिमीले यो क्षेत्रमा राम्रो ख्याति कमाउन सक्छौ भने त पक्कै पनि धेरै प्रतिभा बाहिर आउँथे होला । अशिक्षा, सम्भावना र प्लाटफर्मको अभावले विगतमा धेरै प्रतिभावनले ठाउँ पाउनुभएन । तर, अहिले त टिकटकमा भिडियो खिचेर पोस्ट गरे पनि चल्छ । सम्भावनाको ढोका खुल्छ । एक पटक चल्यो भने दर्शकले खोज्दै हिँड्छ । अहिलेको पुस्ताले शिक्षा पाएको छ, देश र विदेशका कुरा थाहा पाउँछ, कहाँ के सम्भावना छ भनेर प्रविधिले सिकाएको र सहयोग पुर्‍याएको छ ।

इब्सल लोक गायिका

Link copied successfully