बुबाको पुस्तादेखि मेरो पुस्तासम्म आइपुग्दा सांगीतिक क्षेत्रमा धेरै अवसर आएका छन्, समयसँगै यो क्षेत्र परिवर्तन पनि भएको छ, इन्टरनेटले नेपाली सांगीतिक सिर्जनाहरूलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याएको छ
मेरो जन्म सिन्धुलीमा भएको हो । घरमा रेडियो सुन्ने संस्कृति नै थियो । बुबा लोकगायक भएकाले म सानैदेखि सांगीतिक माहोलमा हुर्किएँ । म जन्मनुअघि देखि नै बुबा भोजराज काफ्ले संगीतमा लाग्नुभएको थियो । बुबाको गीत रेडियो नेपालमा बज्ने भएकाले हाम्रो ध्यान सधैं त्यतै हुन्थ्यो ।
बाल्यकालमा बुबाको गीत रेडियोमा सुन्न पाउँदा अचम्म लाग्थ्यो । गीत–संगीतहरू सुन्दै जाँदा मेरो रुचि सानैदेखि यही क्षेत्रमा विकसित भयो । बुबाले लेखेको ‘सानिमा मार्देऊ बरु बगाइदेऊ पानीमा’ बोलको गीत मेरा लागि पहिलो अनुभव थियो । जुन मैले बाल्यकालमा नै रेकर्ड गराएँ । पारिवारिक पृष्ठभूमिकै कारण म संगीतमा व्यावसायिक रूपमा अगाडि बढेको हुँ ।
बुबाको पुस्तादेखि मेरो पुस्तासम्म आइपुग्दा सांगीतिक क्षेत्रमा धेरै अवसरहरू आएका छन् । समयसँगै यो क्षेत्र परिवर्तन पनि भएको छ । इन्टरनेटले नेपाली सांगीतिक सिर्जनाहरूलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याएको छ । विभिन्न डिजिटल प्लेटफर्महरू आएका छन् । इन्टरनेटका कारण कलाकारहरूलाई धेरै राम्रा अवसरहरू प्राप्त भएका छन् । हाम्रा गीतहरू अस्ट्रेलिया, यूएई, अमेरिका जस्ता देशहरूको युट्युबको ट्रेन्डिङमा समेत आउने गर्छन् । बजार फराकिलो हुँदै गएको छ । स्टेज कार्यक्रमहरू स्वदेशबाट विदेशसम्म विस्तार भएका छन् ।
मैले सानैदेखि गीत–संगीतलाई नजिकबाट हेर्ने मौका पाएँ । यो क्षेत्रलाई अझ राम्ररी बुझ्न मद्दत भयो । पहिला अवसरको माध्यम एउटा रेडियो नेपालमात्रै थियो । त्यहाँसम्म जो पुगेर गाउन सक्यो उसका लागि मात्रै अवसर सिर्जना हुन्थ्यो । पछि बिस्तारै एफएम रेडियो, टेलिभिजनहरू खुल्न थाले । त्यहाँबाट नयाँ अवसरहरू सिर्जना भए । तर सामान्य मान्छेले यहाँ सहजै पहुँच पुर्याउन सक्थेन । अहिले इन्टरनेटले सांगीतिक उद्योगलाई नयाँ आयाम दिएको छ । कोही राम्रो गाउन सक्छ भने कुनै एउटा कुनामा बसेर गाएको भिडियोले सामाजिक सञ्जाललाई तरंगित बनाउन सक्छ । उक्त व्यक्ति रातारात स्टर हुन सक्छ । यसरी हेर्दा, अहिले सांगीतिक क्षेत्रको गोल्डेन टाइम चलेको छ ।
अहिलेको समयमा कसैले पनि नयाँ पहिचान बनाउनका लागि धेरै संघर्ष गर्नु पर्दैन । अहिले आफूलाई चिनाउनका लागि उत्कृष्ट समय हो । पहिले र अहिलेका संघर्षको प्रारूप बदलिएको छ । पहिलेको संघर्ष आर्थिक कठिनाइसँग जोडिएको थियो । गाउँबाट राजधानी आएर टिक्नु नै चुनौती थियो । अहिले पनि त्यो संघर्ष छ । तर अहिले कलाकारका रूपमा मुख्य संघर्ष सामाजिक सञ्जालमा छ जस्तो लाग्छ । सामाजिक सञ्जालमा फलोअर्स बढाउनु, गीतलाई भाइरल बनाउनु र ट्रेन्डिङमा पुर्याउने संघर्ष । कलाकारका लागि यो स्वाभाविक पनि हो । यसले कलाकारको सिर्जना दर्शकमाझ पुर्याउन सहयोग गर्छ । आम्दानीसँग जोड्छ । त्योभन्दा ठूलो कुरा भविष्यको बाटो पनि सामाजिक सञ्जाल भएको छ ।
कतिपयले सस्तो लोकप्रियताको पछाडि दौडिएको महसुस गर्छन् । भाइरल हुने प्रवृत्ति आयो भन्छन् । तर अन्ततः गुणस्तरीय सांगीतिक सिर्जनाले नै जित्छ । पहिले म्युजिक कम्पनीमा भर पर्नुपर्थ्यो, अहिले कलाकार आफैं मिहिनेत गरेर सफल हुन सक्छ । आम्दानीका माध्यम पनि फरक भएका छन् । पहिले क्यासेट बिक्री हुन्थ्यो, अहिले युट्युब भ्युज, डाउनलोड्स र स्टेज कार्यक्रमहरू ।
डिजिटल प्लेटफर्म र स्टेजबाट कलाकारहरू सोझै आम्दानीसँग जोडिन्छन् । सिर्जनशील प्रतिभालाई कसैले रोक्न सक्दैन । पहिला रेडियो नेपाल र म्युजिक कम्पनीको भर पर्नुपर्ने हुन्थ्यो । अहिले एउटा कलाकार उसको एकल मिहिनेतले पनि चिनिने क्षमता राख्दछ । त्यो अहिले आएको सबैभन्दा ठूलो परिवर्तन हो । क्षमता भएको मानिस आफ्नै मिहिनेत र स्रोतले पनि दर्शक र श्रोतासँग छिटो नजिक हुन सक्छ । अहिले रेकर्डिङ स्टुडियोको कन्सेप्ट पनि परिवर्तन भएको छ । होम स्टुडियोहरू पनि सुरु भएका छन् ।
अहिले म पूर्णकालीन रूपमा सांगीतिक क्षेत्रमा छु । संगीतबाहेक मेरो अन्य कुनै पेसा व्यवसाय छैन । पत्रकारिता पेसा त्यागेर म सांगीतिक यात्रामा आएको हुँ । कुनै समय अस्ट्रेलिया जाने सोच बनाएको थिएँ । लोक सेवाको फाराम पनि भरें । सिनेमा खेल्ने रहर पनि थियो । तर, प्रविधिको विकाससँगै सांगीतिक क्षेत्रमा अथाह सम्भावना देखें र यही क्षेत्रमा समर्पित भएर लागेको छु । मैले संगीतबाट जे पाएको छु । सायद अर्को कुनै पेसा व्यवसायबाट प्राप्त गर्न गाह्रो हुन्थ्यो होला ।
जुनसुकै काममा समर्पित भएर लाग्यो भने सफलता प्राप्त हुने रहेछ भन्ने अनुभूति नै गर्न पाएँ । सबै क्षेत्रमा मिहिनेत र निरन्तरता चाहिन्छ । गीत–संगीतमा मिहिनेत र राम्रो उत्पादन गर्न सक्यो भने गीत गाएर बाँच्न सकिन्छ । जो आफ्नो सिर्जनालाई उन्नत बनाउन मिहिनेत गर्छ, उसले सांगीतिक क्षेत्रबाट राम्रो नाम र आर्थिक उन्नति पाएका छन् । गाउँबाट काठमाडौं आएर घरजग्गा जोड्ने कलाकारहरू धेरै छन् । एकदमै निम्न वर्गीय परिवारबाट आएकाहरूले गरेको प्रगति अनुसरणीय छ । सामान्य गाउँबाट आएर काठमाडौंमा घरघडेरी, गाडी जोड्नु ठूलो उपलब्धि हो । संघर्ष नगरी यो सम्भव हुँदैन । जसलाई दर्शकले मञ्चमा देख्छन्, सम्झिन्छन्, उनीहरूका लागि यो क्षेत्र निकै फलदायी छ ।
एउटा तप्का छ, जो सांगीतिक कार्यक्रमका लागि कलाकार ल्याउनेको सूची बनाउँछन् । त्यो लिस्टमा पर्ने कलाकारलाई धेरै नै राम्रो हुन्छ । उनीहरूको आर्थिक पक्ष सबल भइरहेको हुन्छ । तर, जो त्यो लिस्टमा पर्न संघर्ष गरिरहनुभएको छ, उनीहरूका लागि भने कठिन छ । जुनसुकै क्षेत्रमा एउटा पल संघर्ष गर्नैपर्छ । व्यवसायीका लागि पनि सुरुवाती दिनहरू गाह्रो हुन्छन्, तर सफल भएपछि राम्रो हुन्छ ।
यति भन्दै गर्दा केही सर्जकहरू गीत–संगीत क्षेत्रबाट पलायन पनि भएका छन् । यो क्षेत्रमा स्थापित हुन सजिलो भने छैन । तर, आफू समर्पित भएर लाग्यो भने जुनसुकै पेसाबाट पनि पलायन हुनु पर्दैन । कुनै पनि क्षेत्रमा टिक्न मिहिनेतसँगै भाग्यले पनि साथ दिनुपर्ने रहेछ । जसले आफ्नो स्थान बनाएका छन्, उनीहरूको अवस्था निकै राम्रो छ ।
हाम्रो देशको राजनीति स्थिर छैन, त्यसका कारण अन्य क्षेत्रजस्तै सांगीतिक क्षेत्र पनि प्रभावित भएको छ । हामीले यो अवस्थालाई आत्मसात् गर्दै अगाडि बढ्नुको विकल्प छैन । हाम्रो मिहिनेतलाई राज्यले असर त गर्न सक्दैन । तर, हाम्रो रोयल्टीलगायत आर्थिक उपार्जनमा भने राज्यको नीतिले धेरै फरक पार्न सक्छ ।
हामीलाई सम्पूर्ण चिज दिएको यो समाजले हो । हामी कलाकार भएका कारण नै दर्शक श्रोताले हाम्रो जीवन सहज बनाइदिएका छन् । समाजको सद्भाव र माया हामीसँग सधैं छ । अहिले पनि रोयल्टीको उचित व्यवस्थापन छैन । कलाकारहरूका लागि बिमा, सामाजिक सुरक्षाजस्ता विषयमा कुनै ठोस प्रणाली छैन । सरकारले सांगीतिक क्षेत्रलाई व्यवस्थित बनाउन विशेष नीति ल्याउनु आवश्यक छ । यो क्षेत्रमा लागेका अध्ययन गरेका व्यक्तिहरूसँग छलफल गरेर राज्यले बृहत् नीति बनाउन आवश्यक छ ।
अबको दिनमा म सामाजिक सन्देश बोकेका गीतहरू ल्याउने तयारीमा छु । सांगीतिक कार्यक्रमका लागि विदेश जाऊँला, तर कर्मभूमि नेपाललाई नै बनाउने निश्चित छ । आजको पुस्ताले प्रेम गीतहरू बढी रुचाएको देखिन्छ, तर गीत–संगीतमार्फत विचार र अनुभूति व्यक्त गर्न मन छ । नयाँ पुस्ताका कलाकारहरू नवीन सिर्जनामा निरन्तर लाग्नुपर्छ । सोसल मिडिया मात्र होइन, गुणस्तरीय संगीतलाई प्राथमिकता दिनुपर्छ ।
