योगमाया र झमकको कथा पर्खिरहेको रजतपट

समाजमा महिला जतिसम्म सशक्त छ, सिनेमाले पनि त्यति नै देखाइरहेको हुन सक्छ, फेरि सिनेमा समाजको त्यस्तो ऐना बनोस्, जसले समाजको भविष्य चित्रित गर्न सकोस्

फाल्गुन ७, २०८१

अञ्जना बराइली

The silver screen awaits the story of Yogamaya and Jhamak

यस क्षेत्रमा मेरो करियर सुरुआत सन् २०१७ देखि भयो । खास मेरो मिस नेपालमा भाग लिने इच्छा थियो । त्यहाँ जाँदा केही अनुभव बटुलेर र बलियो भएर जाऊँ जस्तो महसुस भयो । त्यही सोचले मैले २०१७ मा ‘मिस फेसनिस्टा’मा भाग लिएँ । विजेता पो भएँ ।

यो कम्पिटिसनको टाइटल क्राउन आफ्नै टाउकोमा आएपछि मलाई म्युजिक भिडियो गर्न अफर भयो । एक्टिङभन्दा पनि डान्सिङ म्युजिक भिडियो थियो त्यो । जुन मलाई दीपु मल्लले अफर गर्नुभएको हो । त्यो भिडियोबाट मैले दर्शकको राम्रै प्रतिक्रिया पाएँ । 

त्यसपछि अरू म्युजिक भिडियोहरूमा अफर हुन थाले । सँगै मोडलिङतिर पनि काम पाउन थालें । मोडलिङको काम त अहिले पनि आइरहेकै हुन्छ । फेसनप्रति रुचि भएकाले अझै पनि काम आउँदा र भ्याउँदा म मोडलिङ गरिरहेकै हुन्छु । मोडलिङले व्यक्तिको बाहिरी मात्र नभएर भित्री व्यक्तित्वसमेत विकास गर्छ । किनभने आत्मविश्वास नभई तपाईं मोडलिङ गर्न सक्नुहुन्न ।

एकातिर मोडलिङ र अर्कोतिर म्युजिक भिडियो सँगै अघि बढिरहेको थियो । त्यही बेला, सुजन चापागाईंको ‘घुमी घुमी’ मा मैले काम गर्ने मौका पाएँ । ‘घुमी घुमी’ को काम बाहिरिएसँगै मेरो करियर पनि अंग्रेजीको ‘यू’ जसरी घुम्यो । अनि, म भित्रिएँ फिल्म क्षेत्रमा ।

म्युजिक भिडियोमा भन्दा ‘घुमी घुमी’ मा अलि बढी म हराएँ । दर्शकले पनि त्यो गीतमा मेरो कामलाई खुब रुचाइदिनुभयो । त्यो गीतपछि नै मलाई पहिलोपटक चिन्ने दर्शकहरू बढ्नुभयो । अर्को शब्दमा भन्नुपर्दा ‘घुमी घुमी’ ले मलाई पेजेन्टले दिएकोभन्दा बढी पपुलारिटी दियो । अनि त्यही पपुलारिटीले दियो ‘पुजार सार्की’ र ‘पूर्ण बहादुरको सारङ्गी’ । त्यसो त सन् २०२५ सम्म आइपुग्दा मैले पाँचवटा फिल्ममा काम गरिसकेको छु । 

तर, सबैभन्दा सन्तोषजनक अनुभव मैले ‘पुजार सार्की’ गर्दा पाएँ । किन होला भने त्यसमा मैले निर्वाह गरेको पात्रले कताकता मेरो वास्तविक जीवनका भावनाहरू बोकेको थियो । यो पात्र बाँच्दा आफूले आफ्नै यथार्थ जीवनमा खुलेर व्यक्त गर्न नसकेका भावना, संवेदना अभिनयमार्फत भए पनि खुलेर व्यक्त गर्न पाएँ । त्यसैले एक किसिमले यो पात्रमार्फत व्यक्तिगत जीवनमा आफैंसँग खुल्न पाएजस्तो लाग्छ । यसका निर्देशक दिनेश राउतसँग काम गर्न मलाई निकै सजिलो लाग्यो । 

पूर्णबहादुरको सारङ्गीको पात्र प्रगतिशील सोच राख्ने महिला पात्र हो । ‘छोरोलाई पढाउनुपर्छ, जातकै कारण मान्छे भएर पनि खुम्चिएर बाँच्नु हुँदैन’ भन्ने किसिमको पात्रको सोच मन परेर म त्यो सिनेमा खेल्न इच्छुक भएकी हुँ । त्यसो त यो पात्रलाई पनि नयाँ जिन्दगी थाल्न पुरुषकै साथ चाहिएको देखाइएको छ । कथालाई रोचक बनाउन त्यस्तो गरिएको हुन सक्छ । कथा लेख्दा एउटा पात्र हेरेर लेखिने होइन होला । दर्शकलाई पनि बाँधेर राख्न सक्ने हुनुपर्‍यो । अनेक कारण हुन सक्लान् । फेरि सबै कथामा महिला एक्लै पर्याप्त हुनुपर्छ भन्ने होइन । महिला र पुरुषलाई एकअर्काको साथ चाहिनु प्राकृतिक कुरा हो । यद्यपि केही सिनेमा भने त्यस्ता महिला पात्रमाथि बन्न जरुरी छ जो पुरुषको साथबिना बाँचिरहेका छन् । किनभने पुरुषबिना महिला बाँच्नै सक्दैनन् भन्ने छाप दर्शकमा नपरोस् । नत्र घरेलु हिंसा, मानसिक यातना सहेर पनि सम्बन्ध तोड्न नसकिरहेका दिदीबहिनीहरूले त्यो सकसपूर्ण जिन्दगीबाट निस्किने हिम्मत कसरी गर्लान् ? 

मलाई उपन्यास र जीवनीका किताब पढ्न खुबै मन पर्छ । सेतो धर्ती, राधा, योगमाया, जीवन काँडा कि फूलले मेरो हृदयलाई छोएको छ । बाहिरतिर किताबमाथि फिल्म बनिरहेको सुनिन्छ । अलिक महिनाअघि पनि विदेशमा बेचिएको पुरुष पात्रमाथि लेखिएको जीवनी किताबलाई भारतमा सिनेमाको रूपमा ल्याइएको थियो । दर्शकले त्यस फिल्मलाई एकदम मन पराएको प्रसंगहरू सामाजिक सञ्जालमा जताततै पढेकी थिएँ । नेपाली फिल्म निर्माताहरूले पनि नेपालका प्रेरणादायी पात्रहरूमाथि सिनेमा बनाए हुन्थ्यो जस्तो लाग्छ । झमक घिमिरेकै जीवनी ‘जीवन काँडा कि फूल’ माथि फिल्म बन्यो भने किताब नपढ्ने दर्शकले पनि त्यसले दिने प्रेरणा र सकारात्मक ऊर्जा लिन पाउँथे होलान् । हामीले चाहने हो भने ‘योगमाया’ माथि नै फिल्म बनाउन सक्छौं होला । किताब पढ्दै गर्दा त्यसका पात्रलाई फिल्ममा देख्न खोज्ने लोभ होला मैले त्यस्तो सोचेको ।

किताब पढ्नबाहेक मलाई नाच्न र गीत सुन्न मन पर्छ । पेसाले माग्दा मात्र नभएर घरमै पनि नाचिरहेकी हुन्छु । फुर्सदमा आफ्ना सौखका कामहरू गर्नुपर्छ जस्तो लाग्छ । गीतमा नेपाली र हिन्दी धेरै सुन्छु । 

फिल्म क्षेत्रमा कलाकारको रूपमा आउन चाहनेले धैर्य अनि अनुशासनचाहिँ सिकेर आउनैपर्छ जस्तो लाग्छ । यो क्षेत्रमा समयको महत्त्व बुझ्ने, आफ्नो मानसिक र शारीरिक स्वास्थ्यको ख्याल राख्ने, कोसँग कसरी अभिव्यक्त हुने भन्ने, कतिपय अवस्थामा बाउन्डरी सेट गर्ने कुरामा सचेत र अनुशासित हुनुपर्ने हुन्छ । सबैभन्दा ठूलो कुरा पारिवारिक साथ पनि हो । कलाकार भएर बाँच्न खोज्नु नेपाली समाजमा विभिन्न हिसाबले चुनौतीपूर्ण छ । नैतिक–सामाजिक र आर्थिक चुनौतीसमेत छ फिल्म क्षेत्रमा । त्यसैले आमाबुवा र विवाहित हो भने श्रीमान्को सपोर्ट त हुनैपर्छ । मलाई भने पारिवारबाट पूर्ण रूपमा सपोर्ट भएको हुँदा निकै सजिलो भएको छ । तर, त्यति हुँदाहुँदै फिल्म क्षेत्रमा हुने आर्थिक चुनौतीले बेलाबेला असर नगर्ने त होइन । कहिलेकाहीं यस्तो पनि लाग्छ कि यो लाइन छोडेर एमबीएको पढाइ उपयोग पो गरौं कि ? बिजनेस गरौं कि ? फेरि सोच्छु, यहाँसम्म आइसकेको छु । 

यही काममा मन रमाइरहेकै छ, बिजनेस नै गर्नुपरे पनि यही क्षेत्रमै किन नगरूँ ? अनि भविष्यमा फिल्म निर्माण गरेको कल्पना आउँछ । पहिला त स्थापित कलाकार बनुँ अनि भविष्यमा फिल्म निर्मात्री बन्ने सपनाले गरा जाडेको छ । 

अञ्जना बराइली अभिनेत्री

Link copied successfully