कम्फर्ट जोनमा बसेपछि नयाँ चरित्र बन्न छुट्छ, छुट्नु भनेको मैले गरेका काम उस्तै देखिनु हो, मैले कतिपय फिल्मको कथा सेटमै गएर पढेको पनि छु, त्यो हाम्रै दोष हो, कहिलेकाहीँ परिबन्धमा परिन्छ, कहिलेकाहीँ साथीहरूलाई दिएको वचन टार्न नसकेर त कहिलेकाहीँ अर्थकै लागि पनि यस्तो गल्ती गरिन्छ
मलाई लाग्थ्यो, ‘कुनै पनि इतिहास एक समयपछि टुट्छ ।’ सिनेमा क्षेत्रमा संकटकाल लागिरहेकै बेलामा ‘लुट’ आयो । ‘लुट’बाट फिल्म क्षेत्रमा नयाँ आयामाको सुरुवात भयो । त्यसपछि म आफैंले अभिनय गरेको फिल्म ‘कबड्डी’ आयो ।
‘लुट’ र ‘कबड्डी’हरूले फिल्ममा भएको नवीन प्रयोगलाई स्थापित गरे । त्यसपछि हिरोको मानक पनि भत्कियो । खासमा चरित्रहरू हिरो हुन थाले । त्यतिबेला नै अनुमान गरेको थिएँ, ‘फेरि कुनै न कुनै बेलामा कोही आउँछ अनि यो ट्रेन्डमा पनि ट्विस्ट गर्छ ।’
यसपालि फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले १२ वटाभन्दा बढी रेकर्ड ब्रेक गर्यो । व्यापारले पनि अनपेक्षित रेकर्ड राख्यो । सधैं सहायक पात्र भएर चरित्र निर्वाह गरिरहेको मैले प्रमुख पात्र भएर काम गर्ने संकल्पचाहिँ राखोको थिएँ । तर मैले प्रमुख पात्र भएर निर्वाह गरेको पहिलो फिल्मले नै इतिहास बनाउँछ वा ट्विस्ट गर्छ भन्ने कुरा कहिल्यै सोचिनँ । म आफैंमा ‘सरप्राज्इड’ भएँ ।
हुन त फिल्ममा मेरो सुरुवात नै धार परिवर्तन भइरहेको अवस्थाबाट भयो । त्यतिबेला दयाहाङ राई, सौगात मल्लहरूले आफूलाई केही फिल्मबाटै प्रमाणित गरिसक्नुभएको थियो । हाम्रो यात्राचाहिँ अबको समयको फिल्ममा प्राकृतिक तथा मौलिक प्रस्तुतिमा जोड थियो । जस्तो कि अभिनयको फरक स्वाद । हाम्रो अभिनय नै कोहीसँग बोल्दै गर्दा आफ्नै मान्छेसँग बोलेको जस्तो अनुभूति गर्ने खालको थियो ।
‘नो एक्टिङ’ अर्थात् एक्टिङ नै नगर्ने शैली । अभिनयको परम्परागत शैली ब्रेक गरेर अगाडि बढ्यौं । हुन पनि हाम्रो परिवेश तीन वटा लेयरमा हुन्छ– हिमाल, पहाड, तराई । भूगोलअनुसार भाषा र लवजमै विविधता हुन्छ । हामीलाई त्यतिबेला लाग्यो, ‘हाम्रो चरित्र लाउड हुनसक्छ । लाउडनेस हुँदै गर्दा पनि चरित्र हामीजस्तै हुनुपर्छ । हाम्रो अनुहारजस्तै मिलेका हुनुपर्छ र हामीलाई बाटोमा हिँड्दा कसैलाई चिन्नै भएन ।’ किनकि हामी आम अनुहार हौं । भीडबाट फरक देखिने अनुहार हैनौं ।
हिरोको मान्यता भत्किनु चानचुने कुरा थिएन । सुगठित शरीर, चकलेटी अनुहारलाई हिरो मानिरहेको समयमा हाम्रो पुस्ताले चरित्रलाई हिरो बनाउने शैली स्थापित गर्यो । अब त हिरो न बलियो हुनुपर्थ्यो, न गोरो । अभ्यासको डेढ दशकको अन्तरालमा सबै मेकर कन्भिन्स हुनुभयो कि फिल्मको हिरो कथाको पात्र हुनुपर्छ । त्यही अन्तरालमा मैले चरित्र अभिनेताका रूपमा काम गरें । साइड क्यारेक्टरका रूपमा काम गरे पनि मेरा चरित्र कहिल्यै सहायक लागेनन् मलाई । किनकि मेरो पात्रको आफ्नो जर्नी हुन्थ्यो ।
पृष्ठभूमि हुन्थ्यो । उद्देश्य हुन्थ्यो । त्यसैले मैले आफ्नो प्रोसेस इन्जोय गरें । जब मैले ‘पूर्णबहादुरको सारङ्गी’मा प्रमुख पात्रको भूमिका निर्वाह गरें । प्रमुख हुँदा पनि सहज भयो । धेरै सहायक भूमिका गर्दा त्यतिबेला मैले बोक्दाको लोड र प्रमुख हुँदा अरूले बोकेको लोड देख्न पाएँ । प्रमुख पात्रका रूपमा काम गर्दा थाहा भयो, प्रमुख बन्नुको भार अर्कै हुँदो रहेछ । पहिला मलाई जहिल्यै फिल्ममा प्रमुख पात्रले मात्र क्रेडिट खायो जस्तो लाग्थ्यो । तर उसलाई त नचाहँदा नचाहँदै पनि धेरै भार हुँदोरहेछ । त्यही भार बहन गर्ने भएरै प्रमुख भूमिकाले बढी क्रेडिट पाउने रहेछ । त्यो पाउनु स्वाभाविक रहेछ ।
कम्फर्ट जोन
कथा, हिरोको मानक र अभिनय शैलीमा परिवर्तन त आयो । तर हामीले चाहेको जस्तो वातावरण बन्न अझै संघर्ष गर्नुपर्ने छ । फिल्म बलियो बन्नका लागि पटकथा बलियो हुनुपर्छ । कथाको पात्रहरू पनि जीवन्त देखिनुपर्छ । अहिले हाम्रो एउटा मान्यता छ, ‘राम्रा कलाकारले अभिनय राम्रो गरिहाल्छन् ।’ यो गलत हो । राम्रै अभिनय भए पनि फिल्म निर्देशकको माध्यम हो । त्यसमा तपाईंले कल्पना गरेको चरित्र देखिनुपर्छ । यसको लागि तयारी एकदमै आवश्यक छ । पछिल्लो समय कम तयारी भएको देख्छु ।
यसले कलाकारलाई कम्फर्ट जोनमा राख्छ । कम्फर्ट जोनमा बसेपछि नयाँ चरित्र बन्न छुट्छ । छुट्नु भनेको मैले गरेका काम उस्तै देखिनु हो । मैले कतिपय फिल्मको कथा सेटमै गएर पढेको पनि छु । त्यो हाम्रै दोष हो । कहिलेकाहीँ परिबन्धमा परिन्छ । कहिलेकाहीँ साथीहरूलाई दिएको वचन टार्न नसकेर त कहिलेकाहीं अर्थकै लागि पनि यस्तो गल्ती गरिन्छ । त्यस्तो बेलामै झुरै गर्ने भन्ने त हैन । किनकि एक्टर हुँ भन्ने कुरा त सोचिन्छ । एउटा एक्टरले विभिन्न चरित्रहरू ब्याकअप राखिरहेको हुन्छ । सेटमा कथा पढ्नासाथ लाग्छ– म आफ्नो ब्याकअप चरित्रलाई यसमा फ्युजन गर्छु । यद्यपि, आत्मग्लानिचाहिँ हुन्छ । अहिले पनि कुनै फिल्म सम्झँदा लाग्छ, ‘पैसाका लागि कस्तो कामचलाउ अभिनय गरियो ।’
मैले निर्देशकहरूलाई पनि अहिले जोड दिने कुरा चरित्रको तयारीमा हो । कुनै चरित्रमा काम गर्दैछु भने केही न केही ट्विस्टिङ र ब्रेकिङ गर्नुपर्यो नि । भलै नयाँ चीज भनेर पूरै आवरण परिवर्तन गर्नु नपर्ला । तर आफूलाई मन्थन गर्नुपर्छ । अहिले मन्थनको कमी भइरहेको अवस्था छ । फिल्ममा जानुअघि गर्नुपर्ने पूर्वतयारी, चरित्रमाथि छलफल, लेखकले सोचेको चरित्र र निर्देशकले देखाउन खोजेको के हो ? त्यो एकापसमा बसेर निकाल्नुपर्छ । त्यसबाट नयाँ चरित्रको जन्म हुन्छ । नभए त आफैं भइयो नि । यो निरन्तर अभ्यासबाट आउने कुरा हो ।
पछिल्लो समय यही कुराको अभाव खड्किएको देख्छु म । अहिले प्रशस्त फिल्म बनिरहेका छन् । फिल्म धेरै बन्नेबित्तिकै कलाकारको माग आउँछ । कलाकारको माग हुनेबित्तिकै धेरै ठाउँमा काम गर्नुपर्ने हुन्छ । धेरै ठाउँमा काम गर्नेबित्तिकै लाइनअप मिलाउँदा निरन्तर एकपछि अर्को जानुपर्ने हुन्छ । त्यसरी पटकथा पनि कहिलेकाहीं उतै गएर पढ्नपर्ने अवस्था आइदिनसक्छ । यसमा मेकरको हतारो देखिन्छ । छिटो सिनेमा बनाऊँ र छिटो रिलिज गरौँ भन्ने दबाब हुन्छ । फेरि उनीहरूले छनोट गर्ने कलाकारको संख्या पनि सीमित छ । मेकरहरू चलेको अनुहार खोज्नुहुन्छ । अब्बल मान्छेहरूलाई विश्वास गर्नुहुन्न ।
मेरै हकमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चलेपछि लिडको अफर बढेको हो । हाम्रो समाजले मानेपछि मात्र मेकरले मान्नुहुन्छ । म भन्छु पनि– नयाँ अनुहार ल्याउने हो भने कास्टिङ गर्नुस् न । सीमित फिल्म बन्ने र राम्रो काम गर्यो भने एक्टरलाई तयारीका लागि पनि समय हुन्छ ।
एउटा फिल्मका लागि कम्तीमा पनि कलाकारले ३० दिन त दिनुपर्छ । यसले मन्थन गर्ने समय दिन्छ । एकपछि अर्को फिल्मको सेड्युल छ । कुनैको सेड्युल थुप्रेर बनिरहेको हुन्छ । कुनै सम्बन्धले गर्नुपरिरहेको हुन्छ । कुनै इमोसनमा जोडेर गरिन्छ । कुनै अर्थले गाह्रो पारेर गरिन्छ । फिल्म बनाउनेहरूको पनि लगानी धेरै हुन्छ । छिटो निकाल्नुपर्छ भन्ने दबाब हुन्छ । यी जोखिमयुक्त कुरा हुन् । यो कुरा फिल्म र अभिनयका लागि हानि हो ।
कथालाई लिएर लेखकको एउटा सपना हुन्छ, निर्देशकको सपना अर्को । अनि प्रोड्युसरको र अभिनेताको अर्को सपना । अन्ततः सबैको सपना दुर्घटित हुन्छ । यसमा दोषी निर्देशक हुन्छ । किनकि डिजाइनर नै उही हो । सबै कुराको नियन्त्रण निर्देशकमा हुन्छ । बलिया निर्देशकले मिलाएर सेटलडाउन गर्दै आफूलाई चाहिएको कुरा कथा र एक्टरबाट निकाल्नुहुन्छ । तर सबै निर्देशकको हकमा लागू नहुन सक्छ ।
‘फेस भ्यालु’को खोजी
हाम्रो फिल्ममा लिड क्यारेक्टरको खोजी बजार अनुसार हुन्छ । खासमा स्क्रिप्टमा लेखिएको चरित्रअनुसार खोजी गर्नुपर्ने हो । अहिले लेखकले लेख्दैमा कुनै पात्रलाई सोचेर लेखेको छ । अनि नयाँ कुरा कसरी आउँछ त ? यदि तपाईंले मलाई सोच्नुभयो भने मप्रति एउटा दृष्टिकोण होला । विजयले कमेडी गर्छ भनेर त्यहीअनुसार लेख्नुहोला । मेरो लागि त रिपिटेसन हो । मलाई त मजा आउँदैन । तपाईं फ्रि भएर जति लेख्नुहुन्छ, त्यो कुराबाट नयाँ पात्र सिर्जना हुन्छ ।
मुख्य चरित्रकै खोजीबारे मन्थन गरौं । मेरो अनुभवमा दुई वटा तरिकाले उसको खोजी हुन्छ । पहिलो त अन्तर्राष्ट्रिय बजारमा उसको चर्चा कति छ ? दोस्रोचाहिँ निर्देशकको दिमागमा को को चरित्र आउँछन् त ? अभिनय क्षमता अन्तिममा जान्छ । कलाकारको नाम लिँदै गर्दा उसको अनुहारबाट बजारमा कति पैसा उठ्छ भन्ने कुरा सोचिन्छ ।
अभिनय क्षमताका आधारमा जाने हो भने प्रशस्त एक्टर छन् । तर गुमनाम छन् उनीहरू । जसले काम पाइरहेकै छैनन् । हुनुपर्ने त अभिनय क्षमताको आधारमा हो । तर मार्केटको आधारमा खोज्दा फिल्म क्षेत्रको विकास हुन्न । नयाँ मान्छे आउन पाउँदैन । नयाँ मान्छे आउन नपाउँदा नयाँ कुरा आउन पाउँदैन । जबसम्म नयाँ मान्छेलाई दिइन्न । तबसम्म रिजल्ट थाहा हुन्न ।
गर्नुपर्ने के हो त ? तपाईं दुई जना पुरानो कलाकार लिँदै हुनुहुन्छ भने चार जना नयाँलाई अवसर दिनुस् । फिल्म क्षेत्रका टप मेकर होलान् । ती मेकरले दुई जना चलेको मान्छे लिएर चार जना नयाँ मान्छेलाई अवसर दिए भने त्यसले कम्तीमा पनि २ जना ‘खतरनाक’ मान्छे जन्माउँछ । त्यसले फिल्म क्षेत्रमा घाटा हुन्न, फाइदा हुन्छ । नत्र त हामीसँग पलायनको स्थितिबाहेक के हुन्छ ?
‘फेस भ्यालु’कै पछि लाग्ने हो भने राम्रो कथा पनि मर्छ । गजब लेखिएका कथा बजामा आउन पाउँदैनन् । ‘फेस भ्यालु’ निर्माण गर्दैगर्दा रिपिटेसन बढ्छ । ‘फेस भ्यालु’ खोज्नु भनेको केवल बजार सोच्नु हो । सोच्दा मार्केट मात्र सोचिन्छ । त्यसरी सोच्दा हाम्रो शैली खोइ ? हामीले खोजेको नेपाली सिनेमाको मौलिकता खै ? ‘फेस भ्यालु’ले यी कुरा छुट्छन् । बजारीकरणलाई मात्र ध्यान दिँदा गुदी छुट्छ । सतही कुरामा हामी बग्छौं । अबका दिनमा निर्माता वा निर्देशकले यो कुरामा गहिरो चिन्तन गर्ने हो भने फिल्म क्षेत्रमा नयाँ सम्भावनाहरूले अवसर पाउँछन् । फिल्म क्षेत्रमा नयाँ आयाम देखापर्छन् ।
