मिस नेपाल भनेपछि सौन्दर्य प्रतियोगिताको कोणबाट मात्र हेर्छौं, तर यो प्रतियोगिता आफ्नो देशको झन्डा र नाम बोकेर अन्तर्राष्ट्रियस्तरमा देशलाई चिनाउन जाने अवसर हो, सौन्दर्य मात्रै नभएर बौद्धिकतालाई पनि उत्तिकै प्राथमिकता दिने प्रतियोगिता हो यो
नेपालमै बसेर केही गर्न मन थियो । त्यही भएर सानै उमेरमा अनलाइनमार्फत व्यापार सुरु गरें । काठमाडौंकै थोक विक्रेताबाट सौन्दर्य सामग्री र विभिन्न सौन्दर्यका सामग्री किनेर त्यसैलाई अनलाइनमा बिक्री गरेर व्यवसाय सुरु गरेको थिएँ ।
सुरुमा केही गर्छु भन्ने इखले आफ्नो बुद्धिले भ्याएसम्म बुद्धि लगाएर व्यापारमा होमिएकी हुँ । पछि मलाई आयात र निर्यातमा रुचि भयो । बिस्तारै अनलाइनबाट त्यता प्रवेश गरें । अहिले म नेपालमा व्यवसाय गर्न चाहने तर सामान बाहिरबाट ल्याउन नसक्ने वा सामान ल्याउनका लागि ‘इम्पोर्ट सोर्सिङ’ को काम गर्छु । हामीले ‘बी टु बी’ र ‘बी टु सी’ लगायत धेरै प्रकारका आयातको काम गर्छौं ।
मैले विशेष गरेर सेवाग्राहीसँगको सम्बन्ध हेर्छु । कानुनी पाटा हेर्न छुट्टै टिम छ । व्यापारीकै आवश्यकताअनुसार चीनबाट सामान आयात गरिदिन्छौं । यहाँका व्यापारीका लागि सामान ल्याइदिन सहयोग गर्छौं । मैले सुरुमा कस्मेटिक प्रोडक्टबाट अनलाइन व्यापार सुरु गरेकाले यसको काम धेरै हुन्छ । यसका लागि चीन र नेपाल दुवैतर्फका व्यापारीसँग मेरो सम्बन्ध राम्रो छ । म नेपालमा बनेका तयारी सामग्री पनि निर्यात गर्छु । आयात धेरै पहिलादेखि गर्न थाले पनि दुई वर्षयता निर्यातलाई पनि बढाइरहेको छु ।
नेपालबाट बनेका हस्तकलाका सामानहरू विदेशमा निर्यात गर्छौं । अहिले मेरो रुचि निर्यात व्यापारमा बढेको छ । नेपाली सामानलाई विदेशी बजारसम्म पुर्याउन लागिपरेको छु । कुन सामग्रीको माग कहाँ छ भनेर आफैंले अध्ययन पनि गरिरहेको हुन्छु । नेपाली मौलिकता र पहिचान बोकेका सामग्रीको विश्व बजारमा माग राम्रो छ । हामीले त्यो क्षेत्रमा बजार सिर्जना गर्न सक्छौं । काम गर्न सजिलो छैन तर गर्ने जोस र आँट भए असम्भव पनि छैन । नेपालमा धेरै अवसरहरू देख्छु । समग्रमा अहिले प्रायः सबै नेपाली निराश छन् । नेपालको प्रणाली युवामैत्री नभएकैले धेरै विदेशिएका छन् । व्यवसाय सञ्चालन गर्न पनि कठिन नै छ । करहरू बढिरहेको हुन्छ । अहिले मेरो व्यवसाय पनि ओरालो लागेको छ ।
अरूले काम दिएपछि मात्रै मेरो काम बढ्ने हो । अहिले निकै सुस्त छ । सायद हाम्रो अर्थतन्त्र नै तल झरेकाले होला । तर केही समययता अर्थतन्त्र उकासिने खोजेको भान भइरहेको छ । नेपालमा युवा उद्यमीलाई जताततै कठिनाइ छ । सुरुमा कसैले विश्वास नै नगर्ने परिपाटी छ । सानो उमेरमा महिलाले व्यापार सुरु गरेकाले पनि धेरैले पत्याएनन् । सामान खरिद गरेर बिक्री गर्छुभन्दा धेरै प्रश्नहरू गरिन्थे । तर, अगाडि बढ्दै जाँदा अप्ठ्याराहरू सहज हुँदै गए । अर्थतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण भूमिका उद्यमीले खेल्छौं । नेपालमा उद्यममैत्री नीतिहरू हुनुपर्छ । नेपालमा केही गर्छु भन्नेले वातावरण र अवसर नपाएर बिदेसिने गरेका हुन् । नेपाल सरकारले मात्रै रोजगारी सिर्जना गर्न सक्दैन । उद्यमलाई प्रवर्द्धन गरे रोजगारीका अवसरहरू बढ्छन् । मैले नै १२–१३ जनालाई रोजगारी दिएको छु ।
युवा उद्यमीहरूलाई सहयोग पुग्ने गरी आर्थिक नीतिहरू बनेमा नेपालको समग्र अर्थतन्त्रलाई नै सहयोग पुग्छ । म नेपालमा सम्भावना र अवसरहरू देख्छु । पर्यटन क्षेत्रमा नेपालका लागि प्रचुर सम्भावनाहरू छन् । पर्यटकीय सुन्दरताका लागि हामीले वरदान नै पाएका छौं । संस्कृति, कला र ऐतिहासिक सम्पदामा हामी निकै धनी छौं । यसलाई पुँजीमा रूपान्तरण गर्न सक्नुपर्छ । नेपालको अर्थतन्त्रमा पर्यटनले धेरै नै योगदान गरेको छ । यस्तो ‘प्रिमियम टुरिज्म डेस्टिनेसन’ लाई बढावा दिन धेरै युवा उद्यमीहरू लागेका छन् । त्यसलाई प्राथमिकता दियौं भने अर्थतन्त्रमा ठूलो सहयोग हुन्छ । नेपालको अर्थतन्त्र रेमिट्यान्सको भर परेको छ । यो राम्रो होइन । रेमिट्यान्सबाट प्राप्त भएको रकमलाई सदुपयोग गरेर यहाँ अवसरहरू सिर्जना गर्नु जरुरी छ ।
नेपालमा सूचना प्रविधि (आईटी) को क्षेत्रमा पनि प्रचुर सम्भावना छ । हामीले नेपाललाई पनि आईटी हब बनाउने गरी नीतिहरू निर्माण गर्न जरुरी छ । हाम्रा युवाहरूको विश्वको आईटी क्षेत्रमा ठूलो माग पनि छ र उनीहरूले योगदान पनि गरेका छन् । नेपालमा अहिले पनि सफ्टवेयरसम्बन्धी धेरै कामहरू हुन्छन् । त्यसलाई संगठित बनाएर अझ बृहत् बनाउँदै लैजान सक्नुपर्छ ।
नेपालको अर्थतन्त्र युवामैत्री र लगानीमैत्री बनाउन सकियो भने यो देश सुन्दरसँगै समृद्ध पनि हुन्छ । नेपाली युवाले विदेश पलायन हुनुपर्दैन । म महिलाको शक्तिमा असाध्यै विश्वास गर्ने मान्छे हुँ । नेपालको जनसंख्या हेर्ने हो भने पनि महिलाको संख्या धेरै छ । तर अर्थतन्त्र र उद्यमको सवालमा महिलाको योगदान पुरुषको तुलनामा कम देखिन्छ । त्यही भएर पनि महिलालाई उद्यमशील बनाएर अगाडि ल्याउन जरुरी छ । महिलाको आर्थिक क्षमतालाई अगाडि बढाउन चाहेकाले मिस वर्ल्डको ‘ब्युटी विथ द प्रपोज’ प्रोजेक्टका लागि यसै क्षेत्रमा काम गरिरहेको छु ।
उक्त प्रोजेक्टअन्तर्गत हामीले देशको कुनै पनि समुदायमा सकारात्मक प्रभाव पर्ने, जीवनमा सुधार हुने, समाजमा केही परिवर्तन आउने काम गर्नुपर्छ । मिस वर्ल्डमा सौन्दर्य मात्र होइन आफ्नो देश र समाजमा के गर्नुहुन्छ भन्ने कुराको असाध्यै ठूलो महत्त्व हुन्छ ।
मैले यसअघि ‘शक्ति’ भन्ने प्रोजेक्टमा काम गरेको थिएँ । जहाँ मैले ५ जना महिला दिदीबहिनीसँग काम गरेको थिएँ । जसलाई जेमा रुचि छ त्यहीअनुसार प्रोजेक्टमार्फत सहयोग गरेको थिएँ । उहाँहरूसँग काम गर्ने जाँगर थियो तर सीप, पैसा र आर्थिक सहयोगको अभाव थियो । उहाँहरूलाई मैले आफ्नै बलबुतामा तालिम दिएँ । तालिम पाएकामध्ये पाँचै जना अगाडि बढ्नुभयो भनेर भन्न सक्दिनँ । तर गोरखाको एक जना दिदीले आफ्नो गाउँमा ‘टेलर’ खोलेर छोरालाई पढाइरहनुभएको छ । एक जना मात्रै आत्मनिर्भर भएको देख्दा पनि खुसी मिलेको छ । अन्यलाई पनि अगाडि बढाउन सक्दो कोसिस गरिरहेको हुन्छु ।
अहिले हामी मिस नेपाल भनेपछि सौन्दर्य प्रतियोगिताको कोणबाट मात्र हेर्छौं । तर यो प्रतियोगिता आफ्नो देशको झन्डा र नाम बोकेर अन्तर्राष्ट्रियस्तरमा देशलाई चिनाउन जाने अवसर पनि हो । सौन्दर्य मात्रै नभएर बौद्धिकतालाई पनि उत्तिकै प्राथमिकता दिने प्रतियोगिता हो यो । त्यही भएर यो मञ्चले मलाई तान्यो । आफ्नो आवाजलाई सबैमाझ पुर्याउने अवसर दियो । म समाज सेवाको विद्यार्थी भएकाले पहिला पनि समाजलाई उपयोगी हुने कामहरूमा सहभागी हुन्थें । अहिले मैले गर्ने कार्यलाई धेरैले सहयोग र समर्थन गर्नुहुन्छ । मैले थप नयाँ अवसर पाइरहेको छु । अझै धेरै संघसंस्थासँग जोडिएर काम गरेर यसलाई ठूलो र प्रभावकारी बनाउन सक्छु ।
