सबै अर्थमा देशले नेपाली महिला फुटबलमा लगानी गर्ने हो भने त्यसको प्रतिफल चाँडै आउनेछ, अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालको सम्भावना हुनु एउटा सुन्दर पक्ष नै हो
महिलाको विश्वकप फुटबल खेल्ने हामी सबैको सपना हो । मेरो आफ्नै पनि । हामीले अहिलेसम्म साफ च्याम्पियनसिप पनि जित्न सकेका छैनौं । त्यसैले विश्वकपको सपना अलि धेरै नै महत्त्वाकांक्षी भयो भन्ने हुन सक्छ । तर हामीले राम्रोसँग योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्ने हो भने यो असम्भव जस्तो छैन ।
कम्तीमा महिलाको एसिया कप खेल्ने सपना त हामीले बुन्नुपर्छ । यसको त पूरा सम्भावना छ भन्दा नै हुन्छ ।
अन्तर्राष्ट्रिय फुटबलमा पुरुषको तुलनामा हाम्रो महिला फुटबलको सम्भावना धेरै छ । पुरुष फुटबलको तुलनामा महिला फुटबलको अन्तर्राष्ट्रिय समीकरण बेग्लै छ । अबको आउने वर्षमा विश्वकप र एसिया कपमा सहभागी हुने देशको संख्या केही बढाउने हो भने नेपालको सम्भावना अत्यधिक हुने गर्छ । पुरुष फुटबलमा अगाडि बढ्न जति गाह्रो हुन सक्छ, महिला फुटबलमा यही काम गर्न उत्तिकै गाह्रो नहुन सक्छ । अझ सजिलो नै हुनेछ भन्दा हुन्छ ।
यसका लागि चाहिने भनेको कडा मिहिनेत नै हो । अहिले घरेलु मैदानमा फोर नेसन्स कप खेल्दैछौं । हाम्रा लागि यो ठूलो परीक्षा रहनेछ । नेपाली महिला फुटबलमा यसरी चार देशसम्मिलित प्रतियोगिता यहाँ हुन लागेको पहिलो पटक हो । हामीलाई चाहिने यस्तै खाले प्रतियोगिता हो । हाम्रो दक्षिण एसियाबाहिर गएर खेल्ने अवसर धेरै बन्नुपर्छ । यस्ता अवसर नेपाली महिला फुटबललाई उकास्ने एउटा राम्रो विकल्प हुन सक्छ । नेपाली महिला फुटबलको एउटा राम्रो पक्ष के भन्दा हामीलाई हाम्रा समर्थकले असाध्यै धेरै माया गर्छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता हुनुपर्छ, रंगशालामै पुगेर फुटबल हेर्न रुचाउनेको कुनै कमी छैन । विशेषतः वाफ च्याम्पियनसिप २०२४ ले पनि महिला फुटबलको लोकप्रिता बढेको छ । यो प्रतियोगितामा नेपाली टिमले जस्तो प्रदर्शन गरेको थियो, त्यसले धेरैको मन जितेको छ । अझै पनि त्यस प्रतियोगितालाई लिएर चर्चा गर्ने प्रवृत्ति घटेको छैन ।
मैले आफैंले यस्तो प्रत्यक्ष महसुस गरेकी छु । अहिलेको फोर नेसन्स कपमा हाम्रो प्रदर्शन आधार मानेर पनि योजना बुन्न सक्छौं । महिलाको विश्वकप र एसिया कप दुवैको छनोट अबका तीन चार महिना पछि छ । अहिलेसम्म छनोटको ‘ड्र’ त निस्केको छैन । हामीले यसमै केन्द्रित भएर फोर नेसन्स कप पछि पनि थप केही मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न पाउँदा राम्रो हुन्छ । हामीलाई माथिल्लो स्तरका टिमहरूविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलहरू पनि उत्तिकै आवश्यक छन् ।
कुनै पनि देशमा फुटबलको विकास त्यसै हुने हुँदैन । यसका लागि चाहिने सबैभन्दा ठूलो आधार भनेको उमेर समूहको फुटबल नै हो । फिफाले ‘ग्रासरुट’ फुटबललाई धेरै महत्त्व दिएको कारण यही नै हो । मेरो सबैभन्दा ठूलो मत के छ भने नेपालले महिला उमेर समूहको फुटबलमा सक्दो बढी ध्यान दिनुपर्छ । म भाग्यमानी रहें, किनभने मैले उमेर समूहबाटै सिक्दै खेल्दै यहाँसम्मको यात्रा तय गर्न पाएँ । उमेर समूहको फुटबलले खेलाडीलाई धेरै ठूलो शिक्षा दिने गर्दछ ।
मैले फुटबल सिकेको भनेको लगभग एकेडेमी जस्तैबाट हो । त्यसैले उमेर समूहको फुटबलकै लागि भने एकेडेमी स्थापना गर्नुपर्ने हुन्छ । लहरले खेलेको फुटबल र एकेडेमीमा सिकेको फुटबलमा फरक हुन्छ नै । आजभोलिको फुटबल भनेको निकै प्राविधिक खेल हो । फुटबल खेल्ने शैली, यसका प्राविधिक पक्ष र दर्शन बुझ्न आवश्यक नै हुन्छ । त्यसैले एकेडेमी सबैभन्दा ठूलो आवश्यकता हो । उमेर समूह–समूहमै लिगहरू पनि आवश्यक हुन्छ ।
दक्षिण एसियाकै अन्य देशमा महिला फुटबलकै लागि भनेर एकेडेमी बनिसकेका छन् । उमेर समूहको लिग फुटबल सुरु भइसकेको छ । हामीले यसमा ढिला गर्नुहुन्न । यू–१४, यू–१६ वा यू–१८ स्तरमा हुने लिगले खेलाडीलाई परिपक्व बनाउने गर्छ । यस्तै लिगबाट त हो, प्रतिभाशाली नयाँ नयाँ खेलाडी आउने । मलाई के लाग्छ भने हाम्रो महिला फुटबलका लागि प्रतिभाशाली खेलाडीको कुनै कमी छैन, तिनलाई अवसर र सुविधामात्र दिन सक्नुपर्छ ।
हाम्रो महिला घरेलु लिग पनि आफैंमा बलियो छैन । कतिपय अवसरमा हामीसँग खेल्न अवसर नै हुन्न । यो वर्ष भने महिला फुटबलका लागि सुखद नै रह्योभन्दा हुन्छ, किनभने यसपल्ट महिलाको लिग लामै भयो । धेरै खेल भए । हामीलाई चाहिने भनेको यस्तै लिग नै हो । खेलाडीले धेरैभन्दा धेरै खेल्ने अवसर पाए । यसपल्ट जस्तो लिग भएको छ, त्योभन्दा पनि राम्रो लिग अबको वर्षमा हुनुपर्छ ।
यो क्रम रोकिनुहुन्न, यसलाई अझ बृहत् बनाउँदै जानुपर्छ । लिगलाई फुटबलको मेरुदण्ड त्यसै भनिएको होइन । हामीलाई बढीभन्दा बढी महिला टिम पनि आवश्यक हुन्छ । प्रदेश–प्रदेश र सहर–सहरको आफ्नै टिम भयो भने त्यो त अद्वितीय नै हुने गर्छ । सानै स्तरमा भए पनि प्रदेश प्रदेश पनि आफ्नो छुट्टै लिगको आयोजना सुरु गरे हुन्छ । नेपाली महिलाका लागि अन्य नकआउट प्रतियोगिता पनि चाहिन्छ ।
सबै अर्थमा देशले नेपाली महिला फुटबलमा लगानी गर्ने हो भने त्यसको प्रतिफल चाँडै आउनेछ । यो अरू क्षेत्रमा जस्तो लगानी गर्दा खेर जाने डर हुन्न । मैले जति समय खेल्ने अवसर पाएकी छु । विदेशमा गएर अनुभव बटुलेकी छु, त्यसको निचोड के हो भने साँच्चै नै नेपाली महिला फुटबलको सम्भावना धेरै छ । हामीले अलिकति मात्रै बढी मिहिनेत गर्नुपर्छ, हाम्रा उपलब्धि त्यसको अनुपातमा धेरै हुनेछ । अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालको सम्भावना हुनु एउटा सुन्दर पक्ष हो ।
