मलाई लाग्छ हिजोका दिनमा खेलकुद एउटा रुचि र प्रतिष्ठाको क्षेत्र मात्रै थियो होला तर अहिले विश्व बजारमा खेलकुदको परिभाषा फराकिलो बनिसकेको देख्न सक्छौं
नेपाल कराते महासंघका अध्यक्ष युवराज सर (लामा) ले हालै करातेको दुई वर्षको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको थियो । ती ऐतिहासिक उपलब्धिहरूको मुख्य पात्रका रूपमा मैले आफूलाई पाउँदा अत्यन्तै गौरव अनुभूति भयो । नेपाली करातेले यस अवधिमा ठूलाठूला सफलता आत्मसात् गरेको छ भने करातेबाट देशको सान र मान पनि उँचो भएको छ ।
सन् २०२३ मा चीनमा भएको हाङझाउ एसियाडबाट मैले देशलाई रजत पदक दिलाउन सफल भएँ । त्यो नेपाली करातेले एसियाडमा जितेको पहिलो ठूलो पदक थियो । देशकै यति ठूलो सफलताको पात्र हुन पाउँदा मैले आफूलाई भाग्यशाली ठानेको छु । यसभन्दा २५ वर्षअघि मात्र नेपालले एसियाली खेलकुदमा रजत पदक जितेको रहेछ । सन् १९९८ को बैंकक एसियाली खेलकुदमा तेक्वान्दोकी सविता राजभण्डारीले व्यक्तिगततर्फ रजत जित्नुभएको रहेछ । जतिबेला त म जन्मेको पनि थिइनँ । अहिले मैले त्यही सफलता दिलाउन पाउँदा गौरव महसुस भयो ।
एसियाडमा चीन पुग्नु एक महिनाअघि इन्डोनेसियामा भएको एसियन सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भएँ । त्यो मेरो पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । पहिलो सहभागितामै देशलाई स्वर्ण दिलाएको थिएँ । एसियन सितोरियोमा पनि नेपालले पहिलो पटक स्वर्ण जितेको थियो । त्यसले मलाई थप ऊर्जा दिलायो, मेरो आत्मविश्वास बलियो बनायो । गुरुहरूले पनि हौसला बढाउनुभयो । एसियाली खेलकुदमा पनि स्वर्ण जित्न सक्छौं भनेर प्रेरित गरिरहनुभयो ।
त्यही प्रेरणा र आत्मविश्वासले हाङचाउमा पुगेकी थिएँ । सुरुका खेलहरूमा राम्रो प्रदर्शन दिएँ । नतिजा पनि आयो । तर, फाइनलमा थुप्रै अन्तर्राष्ट्रिय पदक जितिसकेकी विपक्षीको सामर्ना गर्नुपर्दा उनको अनुभवसामु मेरो कुनै जोर चलेन र स्वर्ण गुमाएँ । तर, त्यो स्वर्ण जित्ने अठोट बरकरार छ । राष्ट्रिय खेलकुद परिषद्ले अघि सारेको ‘मिसन २०२६’ को लक्ष्यमा दत्तचित्त भएर लागेको छु । २० औं एसियाली खेलकुद २०२६ मा जापानको नागोयामा हुनेछ । त्यसका लागि परिषद्ले मिसन २०२६ भनेर विभिन्न खेलको राष्ट्रिय टिमलाई प्रशिक्षणमा राखेको छ ।
एसियाडमा पदक जितेपछि मेरो परिचय नै बदलियो । एउटी कराते खेलाडीमात्र रहिनँ । एसियाडमा ऐतिहासिक रजत पदक जित्ने खेलाडीका रूपमा चिनिन पुगें । यो मेरो मात्र उपलब्धि थिएन । समग्र नेपाली कराते र खेलकुदको थियो । कराते खेल नै पुनर्ताजगी बन्यो । देशको इतिहास रच्ने खेल बन्छ भन्ने सन्देश दिन कराते सफल भयो ।
त्यसपछि मैले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएँ । आफूले सहभागिता जनाएका सबै प्रतियोगिताबाट पदक दिलाउन सकेको छु । चाहे त्यो अमेरिकामा भएको यूएसए ओपन च्याम्पियनसिपको स्वर्ण होस् कि हाङझाउमै भएको २० औं एसियन सिनियर कराते च्याम्पियनसिपमा जितेको रजत । यसमा पनि नेपाली खेलाडीकै पहिलो ठूलो उपलब्धिको हकदारको रूपमा मैले आफूलाई उभ्याउन पाएको छु । यति छोटो अवधिमै यी सारा उपलब्धि प्राप्त गर्नु मेरो लागि त विशेषभन्दा पनि विशेष रह्यो । नेपाली करातेका लागि पनि यी उपलब्धिहरूले पक्कै ठूलो अर्थ राख्ने विश्वास छ ।
नियमित प्रशिक्षणले खेलाडीहरू खारिन पाउँछन् । पछिल्लो समय हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पनि पाइरहेका छौं । त्यसले एकपछि अर्को प्रतियोगितामा आफ्नो प्रदर्शनमा सुधार गर्न पाइरहेका छौं । पछिल्लो समय कराते महासंघको ट्रेनिङ प्लान र सुविधाले आफूहरू पनि मिहिनेत गर्न खेलाडी प्रोत्साहित भइराखेका छन् । जसले मिहिनेत गर्छ, उसले नै राम्रो गर्न सक्छ भन्ने छ । त्यसले गर्दा म जस्ता धेरै खेलाडीले मिहिनेत गरिरहेका छन् । सफलता पनि पाइरहेका छन् । भविष्यमा करातेमा अझ राम्रो नतिजा ल्याउन सक्छौं भन्ने विश्वास छ ।
•••
उपलब्धि एक ठाउँमा छ, त्यसलाई जोगाउने चिन्ता अर्को ठूलो चुनौतीको पाटो हुन्छ । मैले जे उपलब्धि पाएँ, त्यसपछि मबाट करातेले, समर्थकले वा राज्यले थप आशा गर्छ नै । त्यो मेरा लागि अवसर हो भने उपलब्धि जोगाउने चुनौती पनि ।
त्यसका लागि म तयार छु । मैले गर्न सक्ने मिहिनेत करातेमा कहिल्यै कम हुने छैन । जस्तो कि एसियनपछि वर्ल्ड च्याम्पियनसिप वा ओलम्पिक जस्ता ठूला प्रतियोगितामा पदक जित्ने सपना वा योजना मैले बुन्नैपर्छ । त्यो सपना पूरा गर्न पहिला तयार हुनुपर्ने त म आफू नै हो । मिहिनेत गर्ने त मैले नै हो ।
तर, त्यसका लागि मलाई आडभरोसा र हौसला भने चाहिन्छ । त्यो भनेको सुविधा हो । सुविधा प्रविधिमा होस् वा अत्यावश्यक सामग्री या नियमित प्रशिक्षण । त्यसमा राज्यले कन्ज्युस्याइँ गर्न पाइन्न ।
कहिलेकाहीं मन विचलित हुन खोज्छ । मैले आदर्श मानेका, नजिकबाट चिनेका, प्रशिक्षणमा सँगै सहभागी भएका साथीहरू, सिनियर दाइ–दिदीहरू विदेश पलायन भइरहेको देख्छु । त्यसले मन अमिलो मात्र हुँदैन, कहिलेकाहीँ आफूलाई पनि कमजोर बनाउन खोज्दो रहेछ । तर, लक्ष्यको अगाडि म कत्ति पनि विचलित छैन ।
युवाहरूको नजरबाट हेर्ने हो भने देशकै स्थिति पनि ठिक देखिँदैन । झन् खेलकुदको कुरा गर्ने हो भने त राम्रो अवस्थामा छ भन्न गाह्रै हुन्छ । अहिले पनि कतिपय खेलमा देख्छु, खेलाडीहरूले प्रतियोगिता नभएर आफ्नो क्षमता देखाउन पाइरहेका छैनन् । उत्साहित खेलाडीहरू राम्रो वातावरण नपाउँदा खेल क्षेत्रबाटै टाढिरहेको देख्छु ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता एउटा उदाहरण हुन सक्छ । थुप्रै खेलका जिल्लादेखि नै म जस्ता हजारौं खेलाडीहरू प्रतियोगिता आयोजना हुन्छ भनेर पर्खिरहे । तर, निश्चित मितिमा नहुँदा उनीहरू निराश मात्र भएको पाएकी छैन, पलायनकै बाटोमा पुगिसकेको देखेको छु । राष्ट्रिय खेलकुद नयाँ–नयाँ खेलाडी निस्कने मार्ग हो । जुन मार्ग नै बन्द छ भने कसरी नयाँ र राम्रो खेलाडी पहिचान गर्न सक्छौं ? मेरै कुरा गर्ने हो भने नवौं राष्ट्रिय खेलकुदबाटै उदाएकी खेलाडी हुँ म । त्यसैले प्रतिभा खोजका लागि राष्ट्रिय खेलकुद हाम्रा लागि ठूलो प्लेटफर्म बन्न सक्छ । त्यो राज्यले गम्भीर भएर बुझ्नुपर्छ ।
यस्तो विषम परिस्थितिका बीच पनि नेपालमा प्रतिभाशाली खेलाडीको भने कुनै कमी देखिँदैन । सबै खेलमा त्यत्तिकै प्रतिभावान् खेलाडीहरू छन् । म उनीहरूलाई सफलता पाउनु अगाडि धैर्य, मिहिनेत वा आफ्नो खेलमा साधना गर्न भन्छु । त्यो धैर्य नगुमाउन अपिल गर्न चाहन्छु । किनकि हामी युवाहरू नै देशको उदाहरण बन्ने हो । बन्नुपर्छ । आजको मितिमा मैले त्यस्तो अभाव भोगेको छैन । तर, म देख्छु नेपाली खेलकुदमा म जस्ता धेरै एरिका छन् । जसलाई हौसला दिन सके भोलिका दिनमा नेपाली खेलकुदले अन्तर्राष्ट्रियस्तरमा ठूलो उपलब्धि प्राप्त गर्नेछ ।
•••
मलाई लाग्छ हिजोका दिनमा खेलकुद एउटा रुचि र प्रतिष्ठाको क्षेत्रमात्रै थियो होला । तर, अहिले विश्व बजारमा खेलकुदको परिभाषा फराकिलो बनिसकेको हामी देख्न सक्छौं । खेलकुद अहिले प्रतिष्ठामात्र होइन । अर्थतन्त्र, व्यापार, मनोरञ्जन, आपसी सम्बन्ध, देशको गौरव, कूटनीतिको मुख्य खम्बा बनिसकेको छ ।
हाङचाउमा मैले करातेको राम्रो हल वा सुविधासम्पन्न व्यवस्थापनमात्र देखिनँ । त्यहाँ आउने दर्शक । उनीहरूले देशप्रति देखाएको समर्थन देखें । एसियाली खेलकुद ठूलो व्यापार हो भन्ने महसुस गरें । समृद्धिको मानक रहेछ भन्ने ठानें । पयर्टनको प्रचुर सम्भावना बोकेको क्षेत्र रहेछ बुझें । त्यसैले उनीहरूले खेलकुदमा प्रशस्त लगानी गरेका छन् । सानैदेखि खेलाडी बनाउन राज्यले लगानी गरिरहेको छ ।
नेपाल पनि कमजोर त छैन । दक्षिण एसियाली खेलकुदमा त्यसको झलक देखेको थिएँ । तर, एसियाली खेलकुदमा जस्तो ठूलोचाहिँ थिएन । हामीले पनि त्यस्ता खेलकुद आयोजना गर्न सके देशको अर्थतन्त्र र पर्यटनमा टेवा पुग्ने विश्वास छ । क्रिकेटको एनपीएल जस्तो प्रतियोगिता हुँदा कैयौं देशका खेलाडीहरू आएर खेले । क्रिकेट ठूलो उद्योग बनेको सबैको मुखबाट सुन्न पाइयो । ठूलो प्रतियोगिता आयोजनाका साथै उपलब्धि हासिल गर्न सके हरेक खेलमा त्यो सम्भावना छ । नेपाली खेलाडीमा पनि प्रचुर क्षमता पनि छ ।
त्यसका लागि सरकार र खेलकुद निकाय गम्भीरचाहिँ हुनैपर्छ । खेलकुद क्षेत्र के हो ? किन लगानी गर्ने ? भन्ने विषयलाई गहन रूपले बुझ्न जरुरी छ । खोक्रो आश्वासन वा कुराहरूले मात्र खेलाडीहरू दीर्घकालीन रूपमा प्रेरित हुन सक्दैनन् ।
सफलता भन्ने कुरा एकैचोटि आउने होइन । सफल खेलाडी बन्न निरन्तर मिहिनेत र साधना चाहिन्छ । पारिवारिक सपोर्ट आवश्यक पर्छ । खेलाडी, प्रशिक्षक र सम्बन्धित संघको मिहिनेत मात्र भएर पुग्दैन । त्यसका लागि राज्यस्तरबाट सहयोग र पहल हुनुपर्छ । खेलाडीलाई निश्चिन्त भएर खेल्ने वातावरण बनाइदिनुपर्छ । हाम्रो जस्तो मुलुकमा खेलेर मात्र गुजारा चल्ने स्थिति छैन । त्यसले गर्दा आफ्नो रोजीरोटीका लागि अन्यत्र ध्यान दिनुपर्दा खेलाडीले आफ्नो खेलमा प्रगति गर्न सक्दैनन् । खेलाडीको प्रगति हुन नसक्नु भनेको ऊबाट राज्यले सफलता लिन नसक्नु पनि हो ।
