खेलकुदको फराकिलो दायरा

मलाई लाग्छ हिजोका दिनमा खेलकुद एउटा रुचि र प्रतिष्ठाको क्षेत्र मात्रै थियो होला तर अहिले विश्व बजारमा खेलकुदको परिभाषा फराकिलो बनिसकेको देख्न सक्छौं 

फाल्गुन ७, २०८१

एरिका गुरुङ

A wide range of sports

नेपाल कराते महासंघका अध्यक्ष युवराज सर (लामा) ले हालै करातेको दुई वर्षको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको थियो । ती ऐतिहासिक उपलब्धिहरूको मुख्य पात्रका रूपमा मैले आफूलाई पाउँदा अत्यन्तै गौरव अनुभूति भयो । नेपाली करातेले यस अवधिमा ठूलाठूला सफलता आत्मसात् गरेको छ भने करातेबाट देशको सान र मान पनि उँचो भएको छ । 

सन् २०२३ मा चीनमा भएको हाङझाउ एसियाडबाट मैले देशलाई रजत पदक दिलाउन सफल भएँ । त्यो नेपाली करातेले एसियाडमा जितेको पहिलो ठूलो पदक थियो । देशकै यति ठूलो सफलताको पात्र हुन पाउँदा मैले आफूलाई भाग्यशाली ठानेको छु । यसभन्दा २५ वर्षअघि मात्र नेपालले एसियाली खेलकुदमा रजत पदक जितेको रहेछ । सन् १९९८ को बैंकक एसियाली खेलकुदमा तेक्वान्दोकी सविता राजभण्डारीले व्यक्तिगततर्फ रजत जित्नुभएको रहेछ । जतिबेला त म जन्मेको पनि थिइनँ । अहिले मैले त्यही सफलता दिलाउन पाउँदा गौरव महसुस भयो ।

एसियाडमा चीन पुग्नु एक महिनाअघि इन्डोनेसियामा भएको एसियन सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भएँ । त्यो मेरो पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । पहिलो सहभागितामै देशलाई स्वर्ण दिलाएको थिएँ । एसियन सितोरियोमा पनि नेपालले पहिलो पटक स्वर्ण जितेको थियो । त्यसले मलाई थप ऊर्जा दिलायो, मेरो आत्मविश्वास बलियो बनायो । गुरुहरूले पनि हौसला बढाउनुभयो । एसियाली खेलकुदमा पनि स्वर्ण जित्न सक्छौं भनेर प्रेरित गरिरहनुभयो ।

त्यही प्रेरणा र आत्मविश्वासले हाङचाउमा पुगेकी थिएँ । सुरुका खेलहरूमा राम्रो प्रदर्शन दिएँ । नतिजा पनि आयो । तर, फाइनलमा थुप्रै अन्तर्राष्ट्रिय पदक जितिसकेकी विपक्षीको सामर्ना गर्नुपर्दा उनको अनुभवसामु मेरो कुनै जोर चलेन र स्वर्ण गुमाएँ । तर, त्यो स्वर्ण जित्ने अठोट बरकरार छ । राष्ट्रिय खेलकुद परिषद्ले अघि सारेको ‘मिसन २०२६’ को लक्ष्यमा दत्तचित्त भएर लागेको छु । २० औं एसियाली खेलकुद २०२६ मा जापानको नागोयामा हुनेछ । त्यसका लागि परिषद्ले मिसन २०२६ भनेर विभिन्न खेलको राष्ट्रिय टिमलाई प्रशिक्षणमा राखेको छ ।

एसियाडमा पदक जितेपछि मेरो परिचय नै बदलियो । एउटी कराते खेलाडीमात्र रहिनँ । एसियाडमा ऐतिहासिक रजत पदक जित्ने खेलाडीका रूपमा चिनिन पुगें । यो मेरो मात्र उपलब्धि थिएन । समग्र नेपाली कराते र खेलकुदको थियो । कराते खेल नै पुनर्ताजगी बन्यो । देशको इतिहास रच्ने खेल बन्छ भन्ने सन्देश दिन कराते सफल भयो ।

त्यसपछि मैले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएँ । आफूले सहभागिता जनाएका सबै प्रतियोगिताबाट पदक दिलाउन सकेको छु । चाहे त्यो अमेरिकामा भएको यूएसए ओपन च्याम्पियनसिपको स्वर्ण होस् कि हाङझाउमै भएको २० औं एसियन सिनियर कराते च्याम्पियनसिपमा जितेको रजत । यसमा पनि नेपाली खेलाडीकै पहिलो ठूलो उपलब्धिको हकदारको रूपमा मैले आफूलाई उभ्याउन पाएको छु । यति छोटो अवधिमै यी सारा उपलब्धि प्राप्त गर्नु मेरो लागि त विशेषभन्दा पनि विशेष रह्यो । नेपाली करातेका लागि पनि यी उपलब्धिहरूले पक्कै ठूलो अर्थ राख्ने विश्वास छ ।

नियमित प्रशिक्षणले खेलाडीहरू खारिन पाउँछन् । पछिल्लो समय हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पनि पाइरहेका छौं । त्यसले एकपछि अर्को प्रतियोगितामा आफ्नो प्रदर्शनमा सुधार गर्न पाइरहेका छौं । पछिल्लो समय कराते महासंघको ट्रेनिङ प्लान र सुविधाले आफूहरू पनि मिहिनेत गर्न खेलाडी प्रोत्साहित भइराखेका छन् । जसले मिहिनेत गर्छ, उसले नै राम्रो गर्न सक्छ भन्ने छ । त्यसले गर्दा म जस्ता धेरै खेलाडीले मिहिनेत गरिरहेका छन् । सफलता पनि पाइरहेका छन् । भविष्यमा करातेमा अझ राम्रो नतिजा ल्याउन सक्छौं भन्ने विश्वास छ । 

उपलब्धि एक ठाउँमा छ, त्यसलाई जोगाउने चिन्ता अर्को ठूलो चुनौतीको पाटो हुन्छ । मैले जे उपलब्धि पाएँ, त्यसपछि मबाट करातेले, समर्थकले वा राज्यले थप आशा गर्छ नै । त्यो मेरा लागि अवसर हो भने उपलब्धि जोगाउने चुनौती पनि । 

त्यसका लागि म तयार छु । मैले गर्न सक्ने मिहिनेत करातेमा कहिल्यै कम हुने छैन । जस्तो कि एसियनपछि वर्ल्ड च्याम्पियनसिप वा ओलम्पिक जस्ता ठूला प्रतियोगितामा पदक जित्ने सपना वा योजना मैले बुन्नैपर्छ । त्यो सपना पूरा गर्न पहिला तयार हुनुपर्ने त म आफू नै हो । मिहिनेत गर्ने त मैले नै हो । 

तर, त्यसका लागि मलाई आडभरोसा र हौसला भने चाहिन्छ । त्यो भनेको सुविधा हो । सुविधा प्रविधिमा होस् वा अत्यावश्यक सामग्री या नियमित प्रशिक्षण । त्यसमा राज्यले कन्ज्युस्याइँ गर्न पाइन्न । 

कहिलेकाहीं मन विचलित हुन खोज्छ । मैले आदर्श मानेका, नजिकबाट चिनेका, प्रशिक्षणमा सँगै सहभागी भएका साथीहरू, सिनियर दाइ–दिदीहरू विदेश पलायन भइरहेको देख्छु । त्यसले मन अमिलो मात्र हुँदैन, कहिलेकाहीँ आफूलाई पनि कमजोर बनाउन खोज्दो रहेछ । तर, लक्ष्यको अगाडि म कत्ति पनि विचलित छैन ।

युवाहरूको नजरबाट हेर्ने हो भने देशकै स्थिति पनि ठिक देखिँदैन । झन् खेलकुदको कुरा गर्ने हो भने त राम्रो अवस्थामा छ भन्न गाह्रै हुन्छ । अहिले पनि कतिपय खेलमा देख्छु, खेलाडीहरूले प्रतियोगिता नभएर आफ्नो क्षमता देखाउन पाइरहेका छैनन् । उत्साहित खेलाडीहरू राम्रो वातावरण नपाउँदा खेल क्षेत्रबाटै टाढिरहेको देख्छु । 

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता एउटा उदाहरण हुन सक्छ । थुप्रै खेलका जिल्लादेखि नै म जस्ता हजारौं खेलाडीहरू प्रतियोगिता आयोजना हुन्छ भनेर पर्खिरहे । तर, निश्चित मितिमा नहुँदा उनीहरू निराश मात्र भएको पाएकी छैन, पलायनकै बाटोमा पुगिसकेको देखेको छु । राष्ट्रिय खेलकुद नयाँ–नयाँ खेलाडी निस्कने मार्ग हो । जुन मार्ग नै बन्द छ भने कसरी नयाँ र राम्रो खेलाडी पहिचान गर्न सक्छौं ? मेरै कुरा गर्ने हो भने नवौं राष्ट्रिय खेलकुदबाटै उदाएकी खेलाडी हुँ म । त्यसैले प्रतिभा खोजका लागि राष्ट्रिय खेलकुद हाम्रा लागि ठूलो प्लेटफर्म बन्न सक्छ । त्यो राज्यले गम्भीर भएर बुझ्नुपर्छ ।

यस्तो विषम परिस्थितिका बीच पनि नेपालमा प्रतिभाशाली खेलाडीको भने कुनै कमी देखिँदैन । सबै खेलमा त्यत्तिकै प्रतिभावान् खेलाडीहरू छन् । म उनीहरूलाई सफलता पाउनु अगाडि धैर्य, मिहिनेत वा आफ्नो खेलमा साधना गर्न भन्छु । त्यो धैर्य नगुमाउन अपिल गर्न चाहन्छु । किनकि हामी युवाहरू नै देशको उदाहरण बन्ने हो । बन्नुपर्छ । आजको मितिमा मैले त्यस्तो अभाव भोगेको छैन । तर, म देख्छु नेपाली खेलकुदमा म जस्ता धेरै एरिका छन् । जसलाई हौसला दिन सके भोलिका दिनमा नेपाली खेलकुदले अन्तर्राष्ट्रियस्तरमा ठूलो उपलब्धि प्राप्त गर्नेछ ।

मलाई लाग्छ हिजोका दिनमा खेलकुद एउटा रुचि र प्रतिष्ठाको क्षेत्रमात्रै थियो होला । तर, अहिले विश्व बजारमा खेलकुदको परिभाषा फराकिलो बनिसकेको हामी देख्न सक्छौं । खेलकुद अहिले प्रतिष्ठामात्र होइन । अर्थतन्त्र, व्यापार, मनोरञ्जन, आपसी सम्बन्ध, देशको गौरव, कूटनीतिको मुख्य खम्बा बनिसकेको छ । 

हाङचाउमा मैले करातेको राम्रो हल वा सुविधासम्पन्न व्यवस्थापनमात्र देखिनँ । त्यहाँ आउने दर्शक । उनीहरूले देशप्रति देखाएको समर्थन देखें । एसियाली खेलकुद ठूलो व्यापार हो भन्ने महसुस गरें । समृद्धिको मानक रहेछ भन्ने ठानें । पयर्टनको प्रचुर सम्भावना बोकेको क्षेत्र रहेछ बुझें । त्यसैले उनीहरूले खेलकुदमा प्रशस्त लगानी गरेका छन् । सानैदेखि खेलाडी बनाउन राज्यले लगानी गरिरहेको छ ।

नेपाल पनि कमजोर त छैन । दक्षिण एसियाली खेलकुदमा त्यसको झलक देखेको थिएँ । तर, एसियाली खेलकुदमा जस्तो ठूलोचाहिँ थिएन । हामीले पनि त्यस्ता खेलकुद आयोजना गर्न सके देशको अर्थतन्त्र र पर्यटनमा टेवा पुग्ने विश्वास छ । क्रिकेटको एनपीएल जस्तो प्रतियोगिता हुँदा कैयौं देशका खेलाडीहरू आएर खेले । क्रिकेट ठूलो उद्योग बनेको सबैको मुखबाट सुन्न पाइयो । ठूलो प्रतियोगिता आयोजनाका साथै उपलब्धि हासिल गर्न सके हरेक खेलमा त्यो सम्भावना छ । नेपाली खेलाडीमा पनि प्रचुर क्षमता पनि छ ।

त्यसका लागि सरकार र खेलकुद निकाय गम्भीरचाहिँ हुनैपर्छ । खेलकुद क्षेत्र के हो ? किन लगानी गर्ने ? भन्ने विषयलाई गहन रूपले बुझ्न जरुरी छ । खोक्रो आश्वासन वा कुराहरूले मात्र खेलाडीहरू दीर्घकालीन रूपमा प्रेरित हुन सक्दैनन् । 

सफलता भन्ने कुरा एकैचोटि आउने होइन । सफल खेलाडी बन्न निरन्तर मिहिनेत र साधना चाहिन्छ । पारिवारिक सपोर्ट आवश्यक पर्छ । खेलाडी, प्रशिक्षक र सम्बन्धित संघको मिहिनेत मात्र भएर पुग्दैन । त्यसका लागि राज्यस्तरबाट सहयोग र पहल हुनुपर्छ । खेलाडीलाई निश्चिन्त भएर खेल्ने वातावरण बनाइदिनुपर्छ । हाम्रो जस्तो मुलुकमा खेलेर मात्र गुजारा चल्ने स्थिति छैन । त्यसले गर्दा आफ्नो रोजीरोटीका लागि अन्यत्र ध्यान दिनुपर्दा खेलाडीले आफ्नो खेलमा प्रगति गर्न सक्दैनन् । खेलाडीको प्रगति हुन नसक्नु भनेको ऊबाट राज्यले सफलता लिन नसक्नु पनि हो । 

एरिका रजत विजेता, १९ औं एसियाली खेलकुद

Link copied successfully